उचित आहार, विहार र विचार (उआविवि) मार्फत प्राकृतिक स्वास्थ्य जागरण अभियान चलाउँदै आएको प्रकृतिप्रेमी समूहले यो वर्षको पहिलो मनसुन हाइकिङ सुन्दरीजलदेखि कागेश्वरी हुँदै आलापोटसम्म गराएको छ।
उसले जेठ १४ गते शनिबार आयोजना गरेको पदयात्रामा विभिन्न उमेर समूह र पेशामा आबद्ध हाइकर्सहरूको उल्लेख्य सहभागिता थियो। समूहकी कोषाध्यक्ष एवं ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनको नेतृत्वमा सुन्दरीजलको मेलम्ची गेटबाट पदयात्रा शुभारम्भ गरिएको थियो।
उनीहरू शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जबाट जंगलको बाटो भएर कागेश्वरीको शिरमा रहेको लोकतान्त्रिक शहिद उद्यानमा पुगेका थिए। यो उद्यान पिकनिक स्पटका रुपमा चर्चित छ। यहाँ कागको विशाल प्रतिमा बनाइएको छ।
पदयात्राको शुभारम्भमै सिमसिम पानी परेको थियो। हाइकर्सहरूले छाता ओढेर हिँड्दा वातावरण रंगीन बन्यो। उद्यानमा पुगेपछि त भुइँकुहिरोले कागको प्रतिमालाई बेलाबेलामा ढपक्कै ढाक्थ्यो। हाइकर्सका मुहार चिसो बनाउँथ्यो।
उद्यानमा स्वास्थ्यवद्र्धक खाना आएपछि हाइकिङविज्ञ महर्जनले अन्तरक्रिया चलाएकी थिइन्। सुरुमा उनले स्वस्थ रहन कसरी खानपान गर्ने भन्ने जानकारी बाँडेकी थिइन्।
‘स्वस्थ रहन कुनै ठूलो काम नै गर्नु पर्छ भन्ने छैन। हाम्रो खाना खाने शैली मिलाए मात्र पुग्छ जसमा हामीले सधैं लिने ठोस आहार अन्न वर्ग (भात, रोटी, ढिँडो, च्याँख्ला आदि)बाट एक भाग, हरिया तरकारीबाट एक भाग र काँचो खान मिल्ने सलाद फल वर्ग (गाजर, स्याउ आदि) बाट एक भाग गरि बरोबर मात्रा मिलाएर खानु पर्छ’, उनले भनिन्, ‘यसरी तीन बराबर आहार खाँदा मोटोपन घट्छ। स्वस्थ भइन्छ।’
हाइकर्सले मात्र होइन, बाहिरबाट त्यहाँ पिकनिक खान आएकाहरूले समेत ध्यानपूर्वक उनलाई सुनेका थिए। केहीले त स्वास्थ्य सम्बन्धी जिज्ञासा समेत राखेका थिए।
अन्तरक्रियापछि केहीबेर नाचगान गरेर समूह कागेश्वरीधाम पुगको थियो। जंगल बीचमा रहेको कागेश्वरीधाममा मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छ। कागेश्वरी मनहरा नगरपालिका–१ मा पर्ने कागेश्वरीधाममा शिवलिंगसँगै कागको पूजा गरिन्छ।
कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ। किंवदन्तीअनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे। त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे। तर, सधैं दूधको तर हराउँथ्यो।
एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन्। त्यो कागलाई गोठालाले पच्छाएछन्। पच्छ्याँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो। त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालियो।
श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवी बोकेर हिँड्दा उनको मुटु यही ठाउँमा पतन भएको थियो। नारी (सतिदेवी)को अंग पतन भएकाले कागेश्वर नभएर कागेश्वरी भन्न थालियो।
कागेश्वरीधाममा राणा प्रधानमन्त्री चन्द्र शमसेरको पालादेखि हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मेला लाग्दै आएको छ। यहाँ स्नान गरि पूजा गरेमा पाप पखालिने र मुक्ति मिल्ने जनविश्वास छ।
कागेश्वरी पदयात्रामा हाइकर्सहरू रमाए। ‘हामीले करिब १४ किलोमिटर हाइकिङ गर्यौं’, हाइकिङविज्ञ महर्जनले सेतोपाटीसँग भनिन्, ‘मनसुन हाइकिङका लागि यो रुट निकै उपयोगी छ।’
प्रकृतिप्रेमी समूहले यसैगरि महिनाको दुई पटक काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। उसले महिनाको दोस्रो शनिबार र चौंथो शनिबार हाइकिङ गराउँछ। अब जेठको चौंथो शनिबार अर्थात २८ गते अर्को हाइकिङ हुनेछ। हाइकिङमा सहभागि हुन र स्वास्थ्य सम्बन्धी परामर्श लिन ०१–५५४१९९१ मा सम्पर्क गर्न सकिने समूहले जनाएको छ।
हेर्नुहोस् तस्बिरहरू