नेपालमा स्वास्थ्यवर्द्धक हाइकिङ अभियान चलाउँदै आएको प्रकृतिप्रेमी समूहले आफ्नो १६६ औं हाइकिङ काभ्रेपलाञ्चोकको नमोःबुद्ध क्षेत्रमा गरेको छ।
वैशाख २४ गते शनिबार काभ्रे भञ्ज्याङ्बाट सुरू भएको पदयात्रा कुइँकेलथोक नमोः बुद्ध, शंखु, इँटे भएर बतासेसम्म पुगेको थियो। यसरी करिब १४ किलोमिटर पदयात्रा गरिएको थियो।
यतिवेला पदमार्गभरि ऐंसेलु पाकेको छ। त्यसैले हाइकर्सहरूले ऐंसेलु खाँदै पदयात्रा गरेका थिए।
‘ऐंसेलु चाख्दै र शंखुको हरियो सुन्तला बारी हेर्दै हिँड्न यो पदमार्ग उपयुक्त छ’, समूहकी कोषाध्यक्ष एवं ‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक रामदेवी महर्जनले सेतोपाटीसँग भनिन्।
समूहले वि.सं. २०६३ सालदेखि हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। उसले पछिल्लो समय हरेक महिनाको दोस्रो शनिबार पनि हाइकिङ गराउन थालेको छ।
समूहको दोस्रो शनिबारको हाइकिङ जेठको दोस्रो शनिबार १४ गते र चौंथो शनिबारको नियमित हाइकिङ जेठ २८ गते गरिने हाइकिङविज्ञ महर्जनले जानकारी दिइन्।
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर स्वास्थ पर्यटन प्रवद्र्धन गर्दै आएको समूहको पदयात्रामा जंकफुड, फास्टफुड र मदिरा निषेध गरिन्छ। पदयात्रीलाई स्वास्थ्यवद्र्धक खाना र खाजा खुवाइन्छ।