दशकौंदेखि सूर्योदय अवलोकनका लागि प्रख्यात सराङ्कोटमा अन्नपूर्ण केबलकार सञ्चालनमा आएसँगै यहाँको चहलपहल बढेको छ।
केबलकारमा आउने यात्रुलाई लक्षित गर्दै उडि एडभेन्चर प्रालिले केबलकारको टप स्टेसनमा निर्माण गरेको जिपलाइनको मंगलबार सफल परीक्षण गरिएको छ।
परीक्षण सफल भएसँगै जिपलाइन नयाँ वर्षदेखि सञ्चालनमा आउने बताइएको छ। १ करोड रुपैयाँ लागतमा निर्माण भएको जिपलाइन सय मिटर लामो छ।
साथमा ६० मिटर लामो स्काई साइक्लिङ र जायन्ट स्विङको समेत निर्माण भैरहेको र एक हप्ता भित्र सुचारू गरिने सञ्चालक केदार थापाले बताए ।
केबलकारमार्फत् सराङ्कोट पुग्ने आन्तरिक एवम् बाह्य पर्यटकहरूलाई थप मनोरन्जन दिनका लागि जिपलाइन सञ्चालनमा ल्याएको थापाले बताए।
जिपलाइन खेल्न ३ सय, स्काई साइक्लिङको ५ सय र स्विङ खेल्न ४ सय लाग्ने थापाले जानकारी दिए।
रोज इन्टरनेसनल कम्पनीले कन्स्ट्रक्सन गरेको सो एड्भेन्चर गतिविधिमा दैनिक करिब ५ सयले सेवा लिन सक्ने बताइएको छ। सूर्योदय अवलोकनका लागि हाल केबलकार बिहान ५ बजेदेखि सञ्चालनमा रहेको छ।