बाँकेस्थित राप्ती नदीमा शुक्रबारदेखि र्याफ्टिङ सुरू भएको छ।
राप्ती सोनारी गाउँपालिका वडा नं. १ कुसुम बैरियादेखि अगैयासम्म झन्डै ८ किलोमिटर जल यात्रा भएको हो।
र्याफ्टिङमा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी सहभागि थिए।
‘झन्डै दुई घन्टा लामो जल यात्रा गर्न पाउँदा मन साह्रै रमायो,’ मन्त्री चौधरीले भने, ‘राप्ती नदी र्याफ्टिङको लागि एउटा महत्वपूर्ण सम्भावना बोकेको जलाधार हो।’
र्याफ्टिङको विकास गर्न सके त्यसले पर्यटन पवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने मन्त्री चौधरीले बताए।
‘कर्णाली र त्रिशूली नदीमा मात्रै र्याफ्टिङ हुन्छ कि भन्ने थियो,’ मन्त्री चौधरीले भने ‘नयाँ ठाउँमा नयाँ सम्भावना र्याफ्टिङको खोजी हुनुले यसक्षेत्रको विकासका टेवा पुग्ने विश्वास छ।’
मन्त्री चौधरीले राप्ती नदीको दुई ठाउँमा र्याफ्टिङ सुरू गर्ने तयारी पर्यटन मन्त्रालयले गरिरहेको बताए। प्यूठान जिल्लाको बर्दिडाँडाबाट दाङको भालुवाङसम्म र बाँकेको कुसुमबाट अगैयासम्म र्याफ्टिङको विकास गर्ने गरि योजना तयार पारिएको चौधरीले जानकारी दिए।
त्यस्तै दाङको बबई नदी अन्तर्गत बबई गाउँपालिकाको पुरन्धारा क्षेत्र र रूकुम पूर्वको सानी भेरी नदीमा पनि र्याफ्टिङको विकासका लागि टेष्टिङको प्रक्रिया सुरु भएको मन्त्री चौधरीले बताए। ‘हामी कहाँ सम्भावना प्रसस्तै रहेछन्,’ मन्त्री चौधरीले भने, ‘यसले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने मेरो विश्वास छ।’
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम चौधरीले र्याफ्टिङको सफल परीक्षणले आफूलगाएत जिल्लाबासी उत्साहित बनेको तर्क गरे। ‘ प्यूठान, दाङहुँदै बाँके भएर बग्ने सबैभन्दा ठूलो पानीको स्रोत राप्ती नदीबाट चाहे जति लाभ लिन सकिएको छैन,’ उनले भने, ‘यस्तै नयाँ सम्भावनाको खोजी गर्दै जान सक्ने हो भने नयाँ सम्भावनाको उजागर हुनेगर्छ।’
त्यसले ठाउँ चिनाउने मात्रै नभइ विकासमा पनि सहयोग पुग्ने उनले बताए।