गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल को अध्यक्षमा गोपाल थापा विजयी भएका छन्।
मञ्चको शुक्रबार काठमाडौंमा भएको २४ औं वार्षिक साधारण सभा तथा केन्द्रिय कार्य समितिको निर्वाचनबाट थापा अध्यक्षका अर्का प्रत्यासी जस्फा पाण्डेलाई १४८ मतले हराउँदै विजयी भएका हुन्।
थापाले ३०३ मत पाएका थिए भने पाण्डेले १५५ मत पाएकी थिइन्।
यस्तै कोषाध्यक्षमा थापा समूहकै शकुन्तला देवकोटा विजयी भइन्। उनले ३०० मत पाएकी छिन् भने उनका प्रत्यासी गौरी उप्रेतीले १६४ मत पाएकी थिइन्।
यस्तै अन्य पदमा भने सर्वसम्मत निर्वाचित भएका छन्।
प्रथम उपाध्यक्षमा तारालाल धरेल, द्वितीय उपाध्यक्षमा नबराज थापा, सचिवमा दिपक पाण्डे, महासचिवमा निषेश थापा , सह कोषाध्यक्षमा मनहरी दाहाल, सदस्यमा शैलेश लामिछाने, हरि बहादुर बस्नेत र सागर आचार्य सर्बसम्मत निर्वाचित भइसकेका छन्।
लिफ होलिडेज ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि का प्रबन्ध निर्देशकसमेत रहेका नवनिर्वाचित अध्यक्ष थापाले हाल देश संघीयतामा गईसकेको र केन्द्रको अधिकार गाउँ–गाउँमा पुगेकाले हरेक स्थानीय निकायमा पर्यटकीय गन्तव्य विकास गर्ने बताए।
अध्यक्ष थापाले भिटोफको रूप नै परिवर्तन हुने गरि काम गरेर देखाउने बताए। ‘भिटोफको अस्तित्व सकियो, भिटोफले केही काम गर्न सकेन भनेर जुन खालको हल्ला छ, म त्यो हल्लालाई चिर्छु र भिटोफ खास कस्तो संस्था हो भनेर चिनारी गर्छु’, उनले भने।
भिटोफमा पदीय हिसाबले होइन काम गर्ने हिसाबले आफू अघि बढ्ने र अग्रजको सल्लाह सुझाब लिदै नयाँ गाउँ र त्यहाँको कला , संस्कृति , भेषभुषा, खानपानलाई प्रवर्द्धन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
यसअघि गत वर्षको चैत २० गतेलाई तोकिएको साधारणसभामा पाण्डेले आफूलाई मनोनयन गर्न नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएपछि कार्यालयको निर्देशनमा निर्वाचन रोकिएको थियो।
गत वर्ष अध्यक्षमा पूर्वमहासचिव राजकुमार थापाको उम्मेद्वारी दर्ता गराएका थिए। तर यो पटक उनी व्यवसायीक कामले काठमाडौं बाहिर रहेकाले उनको उम्मेदवारी परेको थिएन।