‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुल मन्त्र बोकेर स्वास्थ्य पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको ललितपुरको प्रकृति प्रेमी समूहले यही चैत १२ गते शनिबार दक्षिण ललितपुरको भारदेउमा पदयात्रा गराउने भएको छ।
उसले सातदोबाटोस्थित निरोगधामबाट हाइकर्सलाई गाडीमा राखेर भारदेउको पौवा चौरसम्म लैजाने छ। त्यहाँबाट सिँढी बनाइएको जंगलको बाटोमा हाइकिङ गराइनेछ । यतिबेला गुराँस ढकमक्क फूलेकाले जंगल राताम्मे भएको छ।
‘बाटैभरि गुराँसैगुराँस छ’, समूहकी कोषाध्यक्ष एवं हाइकिङविज्ञ रामदेवी महर्जनले भनिन्, ‘हाइकिङमा लालीगुराँसको सौन्दर्य, चराको चिरबिर र जंगलको शितलताले सबैलाई मोहित बनाउँछ।’
जंगलबीचमा रहेको गुप्तेश्वर गुफा पदमार्गको अर्को आकर्षण हो। भष्मासुर राक्षसबाट बच्न उहिल्यै यस गुफामा महादेव लुकेको भनाई छ। किंवदन्तीअनुसार भष्मासुरले महादेवको कठोर तपस्या गर्छ। महादेव खुसी हुन्छन् र भष्मासुरले जसको शिरमा हात राख्यो उही भष्म हुने बरदान दिन्छन्। तर, भष्मासुर भने महादेवकै शिरमा हात राख्ने प्रयास गर्छ। उसैबाट बच्न महादेव भाग्दैभाग्दै यहाँ आएर लुकेका हुन्।
गुफा क्षेत्रमा धमाधम मन्दिर निर्माण भैरहेको छ। त्यस्तै गुफा भन्दा माथि फूलबारी डाँडामा शाक्यमुनि बुद्ध, गुरु पद्यसंभव र अवलोकितेश्वरको मूर्ति बनाइँदैछ।
‘हाइकिङ काठमाडौं’ पुस्तककी लेखक समेत रहेकी हाइकिङविज्ञ महर्जनकाअनुसार शनिबार हाइकर्सहरुलाई गुफाबाट फूलबारी डाँडाहुँदै जंगलको बाटो हिँडाएर पौवाचौरसम्मै पुर्याइनेछ। ‘यति गर्दा करिब ८ किलोमिर रोमाञ्चक पदयात्रा हुनेछ’, उनले सेतोपाटीसँग भनिन्।
स्मरणीय छ, प्रकृति प्रेमी समूहले हरेक महिनाको चौंथो शनिबार पदयात्रा गराउँदै आएको छ। फागुनको चौंथो शनिबार उसले काठमाडौंको चित्लाङमा हाइकिङ गराएको थियो। यसरी उसले १६४ औं पटक हाइकिङ गराइसकेको छ ।
अचेल उसले महिनाको दोस्रो शनिबार पनि हाइकिङ गराउन थालेको छ। चैतको दोस्रो शनिबार हुने हाइकिङ चाहिँ यसको पाँचौं सृङ्खला हो। यसमा सहभागी हुन नयाँ पदयात्रीले ९५० रुपैयाँ तिर्नु पर्छ भने पुरानाले ६०० रुपैयाँ तिरे पुग्छ। नयाँ पदयात्रीलाई समूहको क्याप दिइने भएकाले पुरानाले भन्दा ३५० रुपैयाँ बढी तिर्नु पर्ने हुन्छ।
पदयात्रीले करिब ३ लिटर पानी, स्वास्थ्यबद्र्धक खाजा, टे«किङ लौरो र छाता बोक्नु पर्ने समूहले जनाएको छ।
सम्पर्क
प्रकृति प्रेमी समूह
सातदोबाटो, ललितपुर
फोन: ०१, ५५४१९९१
हेर्नुहोस् थप तस्बिरहरू