नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ।
संघको आइतबार भएको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो। संघका महासचिव कुलबहादुर गुरूङका अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न सङ्घको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ ।
उक्त आयोगमा अधिवक्ता गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य रहेका छन्। साथै, संघले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औँ वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।
नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत पर्वतारोहण संघ नेपालको एक मात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको छ।