भारतीय पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्ने उद्धेश्यले आजदेखि नेपालगन्जमा तीन दिने ‘वेष्टर्न ट्राभल मार्ट’ सुरू भएको छ।
नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानरपालिका र नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्टस (नाट्टा) च्याप्टर बाँकेको आयोजनामा बिहीबारदेखि नेपालगन्जमा शुक्रबारसम्म ‘वेष्टर्न ट्राभल मार्ट’ सञ्चालन हुने भएको हो।
बागेश्वरी मन्दिर परिसरदेखि नेपाली कला, संस्कृति झल्कने झाँकीसहित मार्च पास गरेर बिहीबार बिहान नेपालगन्जको फोर स्टार होटल सिद्धार्थ भ्यूमा मार्टको उद्घाटन भएको छ।
जंगलका राजा भनेर चिनिने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यबहादुर शाही मार्टको प्रमुख अतिथि बनेर मार्टको उद्घाटन गरेका छन्।
मार्टले नेपालगन्ज सहरलाई पश्चिम नेपालका साथै कर्णाली प्रदेशको प्रवेशद्वारका रूपमा प्रवर्द्धन गरेको छ।
वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सिग्देलका अनुसार लुम्बिनी प्रदेशका बाँके, बर्दियाका साथै कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार दक्षिणी छिमेकी भारतसम्म बिस्तार गर्नका लागि लुम्बिनीपछि पश्चिममा पहिलो पटक मार्ट आयोजना गरिएको बताए।
उनी भन्छन्, ‘नेपालगन्ज सहर र यसका आसपासका पर्यटकीय गन्तव्य, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, होमस्टे र कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गरी यस क्षेत्रका पर्यटन गतिविधिहरूको अभिवृद्धि गर्ने उद्देश्यले मार्टको आयोजना गरिएको हो। मार्टले पश्चिम क्षेत्रकै पर्यटकीय गन्तव्यको विकास र बिस्तारमा ठूलो सहयोग पुग्नेछ।’
हेर्नुहोस् तस्बिरहरू