सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि भु-स्वर्ग मानिछ।
करिब ५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको मुलुककै ठूलो घाँसे मैदानले वसन्त ऋतुको आवागमन पर्खिरहेको छ। यसै पनि फागुन चैतको पारिलो घाम तापिरहेका ब्राहसिँगेको झुण्डले प्रकृतिप्रेमीको ध्यान आकृष्ट नगर्ने कुरै भएन।
घाँसे मैदानको चारैतिर पलाँसका रूखहरु पहेलपुर हुनेबेला ब्राहसिंगे, जरायो, चित्तल, लगुनाजस्ता जनावरको दौडधुपले तपाईँलाई पनि क्यामेरा होस् या मोबाईल बोकी त्यतैतिर दौडन प्रेरित गर्नेछ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यलाई वि.सं. २०२६ सालमा तत्कालिन राजा महेन्द्रले शिकार आरक्षको रुपमा स्थापना गरेका थिए।
सरंक्षणको क्रममा वि.स २०३२ सालमा १५५ वर्ग कि.मी क्षेत्रलाई समट्दै शुक्लाफाटा वन्यजन्त आरक्ष हुँदै करिब ४ दशकपछि वि.स २०७३ साल फागुन ९ गते ३०५ वर्ग कि.मी सहित शुक्लाफाटा राष्ट्रिय निकुञ्जका रूपमा स्तरोन्नती भएको थियो।
समुद्री सतहबाट १७४ मिटरदेखि १३८६ मिटरको उचाईमा फैलिएको निकुञ्ज विश्वकै सबैभन्दा ठूलो बथानका रुपमा पाईने ब्राहसिंगासँगै देशमा सबैभन्दा बढी बाघको घनत्व रहेको संरक्षित क्षेत्रका रुपमा पनि चिनिएको छ।
तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी वनस्पति प्रजाति पाईने क्षेत्र र क्षेत्रफलका हिसाबले सानो भए पनि दुर्लभ वन्यजन्तु र चराचुरूङ्गीको आश्रयस्थल हो।
निकुञ्जमा खरमयुर, कृष्णसारको पुर्नस्थापनासँगै जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, ब्राहसिंगा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर पाइन्छन्। निकुञ्जको अधिकतम भाग सालले ढाकेको छ। बाँकी भाग सिसौ, खयरको जंगल र घाँसे मैदान छ।
यहाँ विश्वमै दुर्लभ मानिएका सारस, खरमयुर, सिम तित्रा, राज धनेस, लेसर भुडीफोरजस्ता लोभलाग्दा पशुपंक्षीको दृश्यावलोकन गर्न पाईन्छ।
निकुञ्जमा स्तनधारी प्रजाति ५३ भन्दा बढी, १२ प्रजातिका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली, ४२४ भन्दा बढी प्रजातिका चराचुरूंगी पाईन्छन्।
जैविक विविधताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने यस निकुञ्जमा ११८ परिवारका ६६५ प्रजातिका वनस्पतिसँगै ५२ प्रतिशत साल वन, मिश्रीत वन २ प्रतिशत, ६ प्रतिशत तटीय वन, १० प्रतिशत सिमसार क्षेत्र छ भने एसियाकै ठूलो घाँसे मैदान ३० प्रतिशतका रूपमा ५५ वर्ग किलोमिटरमा फैलिएको छ।
निकुञ्जसँगै जोडिएको क्षेत्रमा राना थारू समुदायले होमस्टे सञ्चालन गरेका छन्। निकुञ्जदेखि करिब ६ किलोमिटर दुरीमा रहेको दोधारा चाँदनी झोलुंगे पुलले महाकाली नदी पारिका समुदायलाई जोड्नुका साथै पर्यटकीय पारखीका लागि सुनमा सुगन्ध थपिएको आभास हुनेछ।
राष्ट्रिय निकुञ्जको चौतर्फी विकासका लागि निकुञ्जसँगै जोडिएका स्थानीय सरकारले संघीय सरकार, नेपाल पर्यटन बोर्ड र प्रदेश सरकारलाई झकझकाउँदै पर्यापर्यटनका लागि कम्मर कसेर लागि परेका छन्।
लेखक मलाशी वन, वातावरण, पयापर्यटन विकाससँगै सामाजिक अभियानका क्षेत्रमा कलम चलाउँछन्।