भक्तपुरको सूर्यविनायक नगरपालिका-९ र १० को सिमानामा रहेको झोलुङ्गे पुल आइतबारदेखि सञ्चालनमा ल्याइएको छ।
सरकारको १ करोड १६ लाख रुपैयाँको लगानीमा पुल निर्माण गरेको हो। २ सय ४४ मिटर लम्बाई रहेको लामो पुलको उद्घाटन सांसद महेश बस्नेतले गरेका हुन्।
बस्नेतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनताले राजहंसको भूमिका खेल्नुपर्ने बताएका छन्।
‘अब जनताले राजहंसको भूमिका निर्वाह गर्ने बेला आएको छ’, उनले भने, ‘राजहंसले पानी मिसाएको दूध पिउदाँ पनि दूध र पानी छुट्याएर खान्छ, त्यसैले अब जनताले विकास गर्ने दल कुन हो र विकास नगर्ने दल कुन हो भन्ने छुट्याउने बेला आएको छ।’
उनले स्थानीय तहको पाँच वर्षको र प्रदेश तथा संघीय सांसदको चार वर्षे अवधिको समीक्षा गर्ने बेला आएको जानकारी दिए।
बस्नेतले यो चार वर्षमा सूर्यविनायक क्षेत्रमा संघीय, प्रदेश र स्थानीय तहका प्रत्येक वडामा एक अर्ब रुपैयाँको दरले बजेट ल्याएर विकासको काम गरेको बताए।
उनका अनुसार चार वर्ष अगाडिका विद्यालय भवन, सडक, खानेपानी, पुल, सामुदायिक भवन, स्वास्थ्य चौकी कस्तो थियो र अहिले कस्तो भयो भन्नेबारेमा जनताले समीक्षा गर्ने बेला भएको हो।
नगरपालिकाका प्रमुख वासुदेव थापाले झोलुङे्ग पुल बनेपछि हजारौं बासिन्दा पुलमा आएर रमाउने र यहाँबाट ओहोरदोहोर गर्ने गरेको जानकारी दिए।
उनले यो पुल बनेपछि अग्लो महादेव अवलोकन गर्न जान सहज हुनाका साथै आशापुरी र काँक्राबारी जान पनि सजिलो भएको बताएका छन्।
थापाका अनुसार उपत्यका विकास प्राधिकरणको ४० लाख रुपैयाँको बजेटले उकालो बाटोमा ढलान गरेको थियो।
थापाले पदमार्ग बनाउन पर्यटन विकास मन्त्रालयको १२ लाख रुपैयाँको बजेटले सिँढी निर्माण गरिएपछि रौनक अझै बढेको बताए।