वरपर गुराँसको जंगल। डाँडाको सम्म फाँट। एकान्त वातावरण। पृष्ठभूमिमा लहरै देखिने हिमशृंखला। ग्रामीण बस्ती। बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने अन्नपूर्ण गाउँपालिका-८ मा रहेको आलडाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ। समुन्द्री सतहदेखि दुई हजार ६२० मिटर उचाइमा रहेको सो स्थान पर्यटकका पर्खाइमा छ।
स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको बताए।
‘प्रचारप्रसारको कमीले पर्यटक आउन सकेका छैनन्। सुनसान छ,’ उनले भने, ‘अन्नपूर्ण गाउँपालिकाको धेरै पर्यटकीय स्थल जाने बीच बाटोमा पर्ने आलडाँडाको प्रर्वद्धन आवश्यक छ।’
सो स्थानमा ‘हिमालयन भ्यू एण्ड गेष्टहाउस’ समेत सञ्चालन गरेका व्यवसायी पुर्जाका अनुसार हाल वार्षिक दुई सय जनाका हाराहारीमा पाहुना आउने गरेका छन्। आलडाँडाको पृष्ठभूमिमा सिस्ने, गुर्जा, धवलागिरी, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ।
हिमाल र पृष्ठभूमिमा देखिने सूर्योदय र सूर्यास्तको मनमोहन दृष्यले मोहित बनाएको हालै आलडाँडाको भ्रमणमा गरेका सुरेन गुरूङले बताए।
गुराँसको जंगलका साथै विभिन्न प्रजातिका वनस्पति, जडिबुटी, वन्यजन्तु र पंक्षीहरूको पनि अवलोकन गर्न पाइने उनले जानकारी दिए।
करबाकेली इको र अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने आलडाँडा करबाकेही, राम्चे, नागी, मोहरेडाँडा, कालीदह, फुलबारी, पुनहिल, घोडेपानी, प्यारीबाराही र टिकोटको मध्य भागमा पर्छ।
एकदेखि अर्को ठाउँमा जाने पर्यटकहरूका लागि आलडाँडा केन्द्र मानिन्छ। म्याग्दी, पर्वत र बागलुङका पहाडका साथै बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।
राम्चे देखि तीस मिनेट, करबाकेही, फुलबारी र मोहरेडाडादेखि एक घण्टा, पुनहिलदेखि दुई घण्टा पैदल हिँडेपछि आलडाँडा पुग्न सकिन्छ।
राम्चे हुँदै आलडाँडा जोड्ने सडक पनि छ। बस्तीदेखि टाढा रहेको आलडाँडामा पुग्ने पर्यटकको सुविधाका लागि राम्चेका भक्तबहादुर पुर्जाले होटल सञ्चालन गरेका छन्।
होटलको छानोमा राखिएको जस्तापाटाबाहेक अन्य सबै संरचना काठका हुन्। दुई तले भवनमा बीस जना बास बस्न सक्ने दस कोठा छन्। पैतिस लाख रुपैयाँको लागतमा उनले स्थापना गरेको होटलका कोठाबाटै हिमाल, सूर्योदय, सूर्यास्त र जंगलको दृश्यावलोकन गर्न सकिन्छ। प्रति रात बास बस्न एक जनालाई करिब एक हजार रुपैयाँ बजेट आवश्यक पर्ने जनाइएको छ।
बाँझिएर खेर गएको पाखोबारीमा होटल बनाउन ३७ लाख रुपैयाँ लगानी गरेका पुर्जा कोभिडपछि पर्यटक आउने आशामा छन्। दस वर्ष साउदीमा रोजगारी गरेर फर्केका पुर्जाले यसअघि राम्चेमा होमस्टे (घरबास) सञ्चालन गरेका थिए।
स्थानीय जातका कुखुरा, खरायोको मासु, कोदो, फारको रोटी, ढिडो, च्याउको तरकारी, आलुका परिकार होटलका पाहुनाले चाख्न पाउँछन्। परिवारका सदस्यहरूद्वारा सो होटल सञ्चालित छ।