परिवारसँगै मुस्ताङ भ्रमणमा गएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो। सामान्य अवस्थामा ७६ किलोमिटर दूरीको यो सडक पार गर्न चारदेखि पाँच घण्टा लाग्दथ्यो। मङ्गलबार बिहान जोमसोमदेखि हिँडेका उनको टोली बुधबार राति बेनी आएको थियो।
‘मुस्ताङ घुम्दा जति रमाइलो सडकमा पाएको पीडा र सास्तीले बिर्सायो,’ उनले भने, ‘लगातारको वर्षा र जीर्ण सडक अवस्थाले मुस्ताङ यात्रा दुखदायी बन्यो।’ पहिरोग्रस्त रुप्सेछहरा, काभ्रे, बाँदरजुँगभीर र राहुघाट क्षेत्रमा सवारी जाम हुँदा हजारौं यात्रुले दैनिकजसो सास्ती पाएका छन्। साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दुईतर्फी गाडी आवतजावत हुन सक्दैनन्।
मुस्ताङ भ्रमणबाट फर्किएका नुवाकोटका अच्युत ढकालले राहुघाटको पहिरोमा ११ घण्टा जाममा फसेर सास्ती पाएको दुखेसो पोखे। ‘जोखिमयुक्त ठाउँमा नियमित मर्मत र सवारी आवतजावतको व्यवस्थापन नमिलाउँदा मुस्ताङ जाने आउने पर्यटकको विजोज भएको छ,’ ललितपुरका दीपक विष्टले भने, ‘फसेको गाडी तान्न रु एक हजार तिर्नुपर्यो। होटल व्यवसायीले अप्ठ्यारो अवस्थाको मौका छोपेर महँगोमा खाजा, खाना बेचेका छन्।’
दसैं लगत्तै म्याग्दी र मुस्ताङको प्राकृतिक सौन्दर्यमा रमाउन आएका पर्यटकले बेनी–जोमसोममा पाएको दुःखले म्याग्दीको बारेमा नकारात्मक सन्देश प्रवाह गराएको छ। बेनी–जोमसोम सडकको सबैभन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडकखण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो ।
मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो। ‘दसैँको बिदामा रमाइलो गर्न आएको कहिल्यै नपाएको दुख पाइयो,’ पोखराका तिलक पौडेलले भने, ‘राहुघाट र काभ्रेको जाममा फस्दाको पीडा मुस्ताङ उक्लेपछि भने बिर्सने रहेछ।’
‘मनसुन सफा नभइ मुस्ताङ आउने हतारो नगरौं,’ विराटनगरका हरि शर्माले भने,‘बेनी–जोमसोम सडकको यात्रा कष्टकर मात्र होइन, जोखिम पनि उस्तै छ।’ बेनी–घाँसा खण्डको राहुघाट, चमेरे, महभीर, गुइँठे, काभ्रे र बाँदरजुँगभीरमा सडक हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा भित्ता डोजरले खनेर छोडेकोले माथिबाट ढिस्कोसहित खसेपछि हिलाम्मे बनेको हो । रुप्से र बेगखोलामा बाढी आउदा सवारीसाधन आवतजावत गर्न सक्दैनन्।
एकतर्फी यातायात सञ्चालन हुने पहिरोग्रस्त र जोखिमयुक्त ठाउँको सडकमा ठूला बस र फसेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले जानकारी दिए। सीमित प्रहरी र स्थानीयवासीले मात्र जाम खुलाउन समस्या भएको उनले बताए।
बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डलाई ४ प्याकेज बनाइ नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न रु दुई अर्ब ४९ करोड लागतमा सडक विस्तारको काम गरिरहेको छ । विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।
आयोजनाका ठेकेदार शर्मा–युनाइटेड, ओमकार्यश्वर र शर्मा–गजुरमुखीले स्काभेटर तयारी अवस्थामा राखेर सडकमा नियमित यातायात सञ्चालनको पहल गरेपनि निरन्तरको वर्षा, प्रतिकूल भूगोल र सवारीसाधनको अत्याधिक चापले समस्या भएको जनाएका छन्। रासस