साहसिक रोमाञ्चक खेलको अनुभव बटुल्न कसलाई पो मन नलाग्ला र! पछिल्लो समय नेपालमा एड्भेञ्चरस् खेलमा मानिसको लगाव बढ्दै गएको छ।
प्याराग्लाइडिङ, बञ्जी, क्यानोनिङ, रक क्लाइमबिङ, सुपरम्यान जीपलाइन आदि साहसिक तथा रोमाञ्चक खेल खेल्नको लागि मुख्यगरी युवावर्ग आकर्षित हुँदै गइरहेका छन्। नयाँ जोश, नयाँ उमंग भएका युवा वर्गमा यस्ता साहसिक खेल खेल्न लहड चलेको छ। यस्ता खेल खेल्नु भनेको आफैंलाई बुझ्ने मौका दिनु हो, आफैंले आफैंलाई जाच्ने समय हो, आफैंलाई चुनौती दिनु हो अनि आफूभित्रको डर नाप्ने पल हो।
यी मध्ये तपाईंले केहीको अनुभव बटुलिसक्नु भयो होला र केही गर्ने सोच राख्दै हुनुन्छ होला पनि।
तर आज हामी कुरा गर्दैछौं बञ्जी ब्ल्याक आउटको।
सन् १९९९ मा आन्तरिक र बाह्य पर्टनलाई लक्षित गरी द लास्ट रिसोर्टले भोटेकोशीमा बञ्जीको सुरूआत गर्यो। दुई ठूला पहाडका बीचबाट नागबेली आकारमा बगेको भोटेकोशी नदी। वारी पाङलाङ बस्ती अनि पारी त्याङथली। यी बस्ती जोडेर करिब १ सय ७० मिटर लामो झोलुंगे पुल बनाइयो र करिब १ सय ६० मिटर उचाइबाट बञ्जी सुरू गरियो।
त्यतिबेला दिउँसोमात्र बञ्जी गराइन्थ्यो। तर, सन् २०१७ मा बञ्जीमा केही नयाँ गरौं भन्ने सोचले ‘बञ्जी ब्ल्याक आउट’ सुरूआत गरियो।
बञ्जी ब्ल्याक आउट बञ्जीकै एक किसिम हो। जुन राति गरिन्छ। यो नेपालमा भित्रिएको लगभग डेढ वर्षमात्र भयो।
यो खेल मुख्य गरी वर्षमा २ चोटी खेलाइन्छ। अंग्रेजीहरूको हलोइन डे र नेपाली नयाँ वर्षको इभमा। त्यो पनि सीमित कोटा हुन्छन् बढीमा १५ जना बाहेक खेलाइँदैन।
बञ्जीमा केही नयाँ गरौं भन्ने उद्धेश्यले यो प्रयास गरेको द लास्ट रिसोर्टका सहायक व्यवस्थापक शंकर भुजेलले बताए।
‘एड्भेञ्चरस् खेल मन पराउनेहरूलाई यो एउटा नयाँ टेस्ट हुन सक्छ भनेर हामीले यो प्रयास गरेका हौं’, उनले भने, ‘अहिले वर्षको दुई चोटी गरे पनि यदि यसमा क्रेज बढ्दै गयो भने महिनामा वा हप्ता एक दुई दिन गर्ने योजना छ।’
डे बञ्जी त पोखरामा पनि गरिन्छ। तर, बञ्जी ब्ल्याक आउटको अनुभव द लास्ट रिसोर्टमा मात्र गर्न सकिने उनले जानकारी गराए।
पछिल्लो समय विदेशीभन्दा नेपाली युवा यसमा आकर्षित भएको उनले बताए। ‘त्यसमा पनि केटाहरूभन्दा केटीहरू यस खेलमा आकर्षित हुने गरेका छन्’, उनले भने।
ब्ल्याक आउट पनि डे बञ्जीकै रेटमा गर्न सकिन्छ? भन्ने प्रश्नमा रिसोर्टका अर्का सहायक व्यवस्थापक विनोद माझी भन्छन्, ‘अहिले हामीले ब्ल्याक आउटका लागि भनेर छुट्टै रेट बनाएका छैनौं। ओभरनाइट प्याकेजकै समावेश हुन्छ।’
नेपालीका लागि ११ हजार ४ सय सार्क राष्ट्रका लागि १२ हजार र अन्य मुलुकका लागि १२८ डलर लिने उनी बताउँछन्। जसमा काठमाडौंदेखि रिसोर्टसम्मको यातायात सुविधा र ४ छाक खानाको व्यवस्था हुन्छ।
यदि तपाईं प्याकेजमा जान चाहनुहुन्छ भने कम्पनीले त्यही अनुरूप व्यवस्थापन गर्छ वा तपाईं एक्लै पनि जान सक्नुहुन्छ।
नेपालीका लागि रेट
खेल खेल्नको लागि व्यक्ति पहिला शारीरिक र मानसिक दुबै रूपले तदुरुस्त हुन जरूरी छ। बञ्जी ब्ल्याक आउटमा पनि डे बञ्जीमा जे जस्ता विधि अपनाइन्छ त्यही नै यसमा पनि लागू गर्ने हो।
सामान्य शारीरिक परीक्षण गरिन्छ। त्यसपश्चात बञ्जी मास्टरले खेलको विधिबारे विस्तृत जानकारी दिन्छ।
जब प्ल्याटफर्ममा पुगिन्छ। जम्प मास्टरले एंकल हार्नेस र फूलबडी हार्नेस् र लाइटजडित ज्याकेट लगाइदिएपछि जम्परलाई फेरि विधिबारे सम्झाइन्छ।
जब आफू गर्न सक्छु भन्ने कन्फिडेन्स जम्परमा हुन्छ त्यसपछि उसले लगाएको हार्नेस लामो तन्किने डोरीमा जोडिन्छ। जम्प मास्टरले जब प्ल्याटफर्मको किनारामा लग्छ। त्यसपछि गन्ती सुरू गर्छ। त्यस दौरान आफूमा कन्फिडेन्स छ भने आफू उड्न तयार भएको संकेत गर्नुपर्छ होइन भने केही समय लिनुपर्छ।
जब जम्परले उड्ने सहमति जनाउँछ त्यसपछि जम्प मास्टरले उसलाई छोड्दिन्छ। ३ सेकेण्डको फ्रि फलमा जम्परले डरको अनुभव बटुल्न सक्छ। कति रोमाञ्चक वा कति भयपूर्ण हुन्छ त्यो क्षण यो त अनुभव लिएपछि मात्र थाहा हुन्छ।
१६० मिटरको उचाइबाट हामफाल्नु पक्कै पनि सानो कुरा होइन। आफू हर किसिमले सुरक्षित छु भन्ने जान्दाजान्दै पनि कोही त्यहाँ पुगेपछि होसहवास उड्छ र ब्याक हुन्छन्, कोही भने गरिछाड्ने अठोट लिन्छन्।
कस्ता व्यक्तिले बञ्जी /बञ्जी ब्ल्याक आउट गर्न सक्दैनन्?
- उच्च रक्तचाप भएकाले
- गर्भवतीले
- स्नायूरोगीले
- दमको समस्या भएकाले
- अपस्मारको रोगीले
- मुटुरोगी बिरामीले
डे बञ्जीको अनुभव बटुलिसक्नुभएको छ भने बञ्जी ब्ल्याक आउटको पनि एक पटक पक्कै अनुभव लिनुहोला र महशुस गर्नुहोस् अन्धकार रातमा १६० मिटरको उचाइबाट हाम फाल्दा १५० प्रतिकिलोमिटर हावाको त्यो वेगलाई सामना गर्दा कस्तो होला!