आगामी वैशाख २२ गते कैलालीको चिसापानीबाट आरम्भ हुने कैलाली भ्रमण वर्ष २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ।
कैलाली भ्रमण वर्ष २०७५ को प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच आगामी २२ गते चिसापानीमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वर्द्धन एवं प्रचार प्रसार, कैलाली जिल्ला विकासको मुल आधार’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति, कैलालीको अगुवाईमा भ्रमण वर्ष आयोजना गरिन लागिएको हो ।
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा संघीय संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू लगायत संघीय संसद र प्रदेश सभाका सांसदहरूको उपस्थिति रहने बताईएको छ ।
भ्रमण वर्षभरी कैलालीका विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार गर्नुका साथै पर्यटकीय प्रवर्द्धनका लागि विभिन्न गतिविधि गरिने जिल्ला समन्वय समिति कैलालीका प्रमुख थापाले बताए । कैलाली भम्रण वर्ष २०७५ का मुलसमिति संयोजक समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले भ्रमण वर्ष सफल पार्न सबैमा आग्रह गरे।
भ्रमण वर्ष सफल बनाउनका लागि कैलालीका १३ वटै स्थानीय तहले आ–आफ्नो स्तरमा मूल समारोह र उपसमितिहरू गठन गरेका छन् ।
भ्रमण वर्षको आयोजनाले कैलालीको चिसापानीमका रहेको कर्णाली पुल, टीकापुर पार्क,रामसार सूचीमा सुचिकृत घोडाघोडी ताल, मोहनाको डल्फिन क्षेत्र, राजकाँंडा क्षेत्र, गोदावरी, शिवपुरी धाम, बर्दगोरिया धार्मिक क्षेत्र, बेहेडाबाबा मन्दिर, जाखोर ताल लगायतका प्रसिद्ध पर्यटकीय स्थलको प्रचारप्रसारमा बृद्धि आउने तथा आन्तरिक र बाहृय पर्यटक आगमनमा बृद्धि हुने अपेक्षा गरिएको छ ।