अन्तर्राष्ट्रिय ट्राभल साइटले विश्वको घुम्नैपर्ने १० गन्तव्यमा अन्नपूर्ण सर्किटलाई पनि राखेको रहेछ।
सन् १९८० मा बेलायतका राजकुमार चार्ल्सले यही सर्किटमा अवस्थित पदमार्ग 'मार्दी बेसक्याम्प' सहज, रमणीय र सुविधायुक्त ठानेर यात्रा सुरू गरेकोले यसलाई 'रोयल ट्रेक' को रूपमा पनि चिनिन्छ।
यो ३ दिनदेखि एक हप्ता सम्मको घुम्ने ठाउँ रहेछ।
यो लेखबाट भविष्यमा यात्रा गर्नुहुनेका लागि थप जानकारीमूलक हुने अपेक्षा गरिएको छ। यस पदमार्गको भ्रमण गर्नुपर्दा विशेषगरी असोज, कात्तिक वा फागुन, चैत उपयुक्त रहेछ।
यदि समय अभावको कारणले बेसक्यामसम्म पुग्न नसक्ने अवस्था भएमा छोटो, सरल पदयात्रा र मनोरम बस्ती भएका अस्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प, लो क्याम्प आदि स्थानमा १ वा २ दिनसम्ममा जुनसुकै मौसममा यात्रा गर्न सकिन्छ। विशेष गरी यस पदमार्गका लागि ३ वैकल्पिक मार्गहरू सहितको छोटो विवरण प्रस्तुत गरिको छ।
पहिलो पदमार्ग- (पोखरा - काँडे- अस्ट्रेलियन क्याम्प - फरेस्ट क्याम्प - लो क्याम्प - बेसक्याम्प):
पोखराबाट गाडीमा ३० किमी बाग्लुङ जाने बाटोमा पर्ने काँडेमा पुगिन्छ। यहाँबाट पैदल सुरू हुन्छ, करिब डेढ घण्टा हिँडेपछि अन्नपूर्ण गा.पा.- ६ ठूलो खर्कमा अवस्थित अस्ट्रेलियन क्याम्प (२१६० मि. उचाइ), त्यसपछि करिब १ घण्टामा पोथना, १.५ घण्टामा प्रितम देउराली, ४ घण्टामा फरेस्ट क्याम्प,२ घण्टामा रेष्टक्याम, १ घण्टामा रेस्क्यु क्याम्प, ३० मिनेटमा लो क्याम्प, २ घण्टामा बादलडाँडा, २ घण्टामा हाइक्याम, ३ घण्टामा भ्यु प्वाइन्ट (४२००मि) र २ घण्टामा बेसक्याम्प (४५०० मि) उचाइमा यात्राको चरमोत्कर्षमा पुगेर आनन्द लिन सकिन्छ।
दोस्रो पदमार्ग – (पोखरा – सिदिङ् - लो क्याम्प - बेसक्याम्प):
पोखराबाट गाडीमार्फत माछापुच्छ्रे गा.पा.को घलेल हुँदै २२ किमीमा सिदिङ (१७००मि) पुगिन्छ। सिदिङबाट पैदल यात्रा सुरू भई करिब ३ घण्टामा लो क्याम्प हुँदै उल्लिखित पैदलमार्ग अनुसारनै गन्तब्य चुम्न सकिन्छ।
तेस्रो पदमार्ग– (पोखरा – कालिमाटी - फरेस्ट क्याम्प - लो क्याम्प - बेसक्याम्प):
पोखराबाट गाडीमा कालिमाटी पुगेर पैदल यात्रा सुरू हुने र त्यहाँबाट ३ घण्टामा फरेस्ट क्याम्प पुगेर माथिकै पदमार्ग अवलम्बन गरेर मार्दी बेसक्याम्प पुग्न सकिन्छ।
मार्दी बेसक्याम्पबाट फर्किने सिलसिलामा भने क्रमशः माथिकै पैदल मार्गहरूमध्ये कुनै बाटो रोज्न सकिन्छ अथवा घलेल क्यानोनिङ हुँदै चिया गाउँको रूपमा परिचित ल्वाङ गाउँबाट पनि पोखरा जान सकिन्छ। केही बढी समय लिएर सरल, सहजका साथै रमणीय स्थलहरूको अवलोकन र मनोरन्जन गर्दै यात्रा गर्न चाहनेले पहिलो पदमार्गलाई रूचाएको पाइन्छ।
पहिलो दिन
काठमाडौंबाट हामी तीन जनामा म नवीन, दाइहरू द्रोण केसी र रत्न केसी समेत गफिँदै पोखरा पुगियो। करिब एक हप्तादेखिको तयारी गरिएको यो कार्यक्रम अनुसार कतिबेला पहिलो पदमार्गको सुरू काँडे पुगेर अगाडि बढाउने भन्ने कौतुहलता मनमा रहिरह्यो।
सडकसँगैको त्यो सानो पहाडी पर्यटकीय सुन्दर गाउँ काँडे, ढुङ्गाले छापेको तेर्सो बाटो र मास्तिर लागेको खुड्किलो स्वागतका लागि लमतन्न तेर्सिरहेकै थियो। सडकको छेउमा एउटा सूचनापाटीमा मार्दी बेसक्याम्प पुग्ने नक्साका साथ बाटोले हामी नवआगन्तुकलाई आमन्त्रित गरिरहेको भान हुन्थ्यो।
केहीबेरमा त्यहाँ एक जना भाइ र अर्को तराई मूलका जस्ता देखिने युवती हामी नजिक आइपुगे र हामीसँगै उकालियौं। कुरा गर्दै जाँदा ती भाइ त पर्यटक गाइड पो रहेछन् भने बहिनी चाहिँ भारतबाट पहिलोपटक घुम्न आएकी।
निकैबेरको हिँडाइ पछि रत्नदाइले भन्नुभयो - यतिका उकालो काट्यौं, अझै आउँदैन त हो भाइ .... क्याम्प। सहयात्री गाइड भाइले भनेका थिए - उकालो सकिएपछि डाँडामा सम्म भाग आउँछ त्यही नै अष्ट्रेलियन क्याम्प हो। मैले पनि कति न जान्ने जस्तो गरेर भनिदिए- यो माथि देखिएको चुट्टी (डाँडो) नै हो क्यारे क्याम्प। यो सुनेर दाइ गलल्ल हाँस्नुभयो। केही पछि परेका ती यात्री हामी सुस्ताइरहेको ठाउँमा आइपुगे, केही फरक आवरणमा। भाइ पातलो ज्यानका फरासिला थिए भने अर्की खाइलाग्दी बहिनी जीनपाइन्ट फेरेर हाफ पाइन्ट र अन्य छोटा सुन्दर पहिरनमा खुलेकी अनि उनको लजाउँदै बोल्ने आकर्षकताले यात्रामा ऊर्जा भर्दै थियो। कुरैकुराको सिलसिलामा उनीहरूले हामी बस्ने होटलमा नै एउटा कोठा बुकिङ गरे।
ठाडो उकालो पछिको केही तेर्सोमा फाँटिलो जमिन देखियो। अघिसम्म नदेखिएका गोरा पर्यटकहरू त्यहाँ यताउता देखिन थाले। उनीहरू होटलका आँगनमा क्याम्प फायर गर्दै चारैतिर बसेर हत्केला आगोमा सेकाउँदै एकअर्काका गालामा चुमाउँदै गलल्ल हाँस्दै रमाइरहेका देखिन्थे।
पहाडको थाप्लो अष्ट्रेलियन क्याम्प, यहाँबाट चारैतिर खुल्ला क्षितिज, हिमश्रृंखला तथा सूर्योदय हेर्ने आकर्षक वैकल्पिक गन्तव्य भएकोले पोखराबाट विकेन्ड मनाउन आउने छोटोमिठो (१ दिने) पदयात्राको रूपमा विकसित आन्तरिक तथा बाह्य पर्यटक समेतको घुइँचो लाग्ने गरेको बुझियो।
यहाँबाट करिब एक घण्टामाथि पोथना भन्ने स्थानमा हाम्रो पहिलो दिनको गन्तव्यस्थल थियो तर साँझ झमक्कै परिसकेकोले मन कताकता अतालिइरहेको थियो। साँझका झ्याउकिरी बास बस्ने चटारोको आवाजले आफू प्रकृतिको काखमा बास बसेझैँ भान हुन्थ्यो। समय ढिला भएकोले होटल सञ्चालकले लिन आउँछु भनेर फोन गरेता पनि मैले पर्दैन भनेँ। केहीबेरको हिँडाइपछि होटल पुगियो।
अघि उकालोमै द्रोण दाइले पोथना पुगेर गीत गाएर नाच्नु पर्छ है भाइ भन्नुभएको थियो। आफ्नो इज्जत धान्न पनि केही गीत गाउनै पर्ने भो। नभन्दै डाइनिङ हलमा डम्फु, मादल र खैजडी झुण्ड्याइएका रहेछन्।
मैले रत्न दाइलाई देखाएँ, उहाँले अब सुरू गर्नुपर्यो नि त गायक भाइबाटै भन्नुभयो। मैले पनि मेलो देखाएँ।
भोलिको लामो यात्रा पार गर्न बिहान सबेरै हिँड्नु जरूरी भएकोले हतारहतार खाना खाएर भोलिको योजनातिर लाग्यौँ। बिहान सखारै हामी बिउँझियौँ। झिसमिसेमा कराएका कीरा फट्याङ्ग्राहरू र चराचुरूङ्गीको भुर्रभुर्र उडाइले मन बडो रोमान्चित र अलौकिक अनुभूति भयो।
गुरूङ भाषामा 'पोथना' भनेकै चौतारी अथवा बिसाउनी रहेछ। लामो समयपछिको पदयात्रा त्यो पनि अबेरसम्म हेडलाइट बालेर बाटो अलमलिँदै ठाडो उकालो असिनपसिन भएर काँध दुखुन्जेल बोकेको झोलाको भारी साँझमा पुगेर त्यो स्थानमा बास बस्दा हाम्रो लागि पनि अविस्मरणीय बिसौनी नै बनेको थियो।
दोस्रो दिन
बिहानै प्रितम देउरालीमा पुगेर सनराइज हेर्ने र ब्रेकफाष्ट खाने हतारोले हामी अगाडि बढिरह्यौं। हामीभन्दा केही अगाडि नै त्यही होटलबाट दुई जना सँगै पढ्ने भाइबहिनीहरू उकालिँदै रहेछन्। हामीबीच परिचयको क्रम चल्यो, भाइ पोखरा र बहिनी बाग्लुङतिरकी रहिछन्। द्रोण दाइले केटीका आफन्त चिनेजस्तो गर्नुभयो। उनी अलि झस्किइन् र अनुरोध गरिन्- यो कुरा आमाबुवालाई नभन्नुस् है! भनेर बाचा समेत खुवाइन्। उनीहरू प्रेमिल जोडी रहेछन्।
झन्डै एक घण्टाको हिँडाइपछि प्रितम देउराली डाँडाबाट सूर्योदयको दृश्यसँगै अन्नपूर्ण, माछापुच्छ्रे टल्किरहेको थियो। नजिकैको प्रितम देउराली गेष्ट हाउसबाट ब्रेकफास्ट खाएर जर्मन पदमार्गीहरू, गाइड र भरियाका साथ अगाडि बढ्न तम्तयार देखिन्थे। हामीबीच बिहानी अभिवादन चल्यो र उनीहरू मुस्कुराउँदै बाटो लागे।
'देउराली' शब्दले मेरो पिता पुर्खा र वंशजसँग अन्तर सम्बन्ध राख्ने भएकोले देउराली प्रतिको श्रद्धा र सम्मान स्वरूप देवी, देउरालीको प्रार्थना गर्दै मेरा पिता पुर्खाको त्यो पुण्यकर्मलाई सम्झन्छु 'भोजपुर देउराली'।
द्रोण दाइले भाइ त साहित्यकार पनि हाम्रो पदयात्रा बारेमा यसो केही लेख्नुपर्छ है भनेर सम्झाउनु भयो। म आफ्नो इज्जत थाम्ने सकसमा बिलखबन्ध परेँ। तै पनि के खोज्छस् कानो, आँखो भनेझैँ दाइले यो विषय उप्काइदिनु भएकोमा मनमनै धन्यवाद दिएँ। अनि म ओम जीसँग नजिकिए र भनेँ- ओम जी, यो ठाउँको नाम कसरी प्रितम देउराली बन्यो त?
ओमजीले अघि सर्दै भने- हेर्नुहोस् न, यो हाम्रो पिता पुर्खादेखिको ऐतिहासिक ठाउँ हो र देउराली माताले मनोकामना, इच्छा पुर्याउछिन् पनि। खै!, के सम्झेर आकाशतिर हेर्दै अलि ठट्याउलो पारामा हाँस्दै भने- हा हा हा... उमेर त हो नि सर, घाँस दाउरा गर्यो, देउरालीमा भारी बिसाउन वारिपारिका दुवै गाउँलेहरू यहाँ आइपुग्थे।
अनि विस्तारै- मन मिलाउने, ज्यान मिलाउने चौतारी पो बन्यो त यो देउराली। यो त हाम्रा बाउ बाजेको पालैदेखि मेलापर्वमा माया/प्रेम लगाउने ठाउँको नामले 'प्रितम देउराली' बन्यो।
लामो बाटोको यात्रा गर्नुपर्ने भएकोले ओमजीलाई धन्यवाद दिँदै बाटो लाग्यौं। केहीबेर पश्चातमाथि एउटा भन्ज्याङ जस्तो ठाउँ देखापर्यो। त्यहाँ बाटोमा ७/८ वटा होटल तथा गेस्ट हाउस भेटिए। एउटा सिंगापुरियन आफ्नो नाति लिएर आएका थिए, साथमा सहयोगी पनि।
केही पर 'इन्फरमेसन एरो' देखियो। देब्रेपट्टि गए घान्द्रुक 'एबिसी' तिर र दाहिनेमाथि उकालोपट्टि गए 'मार्दी हिमाल बेसक्याम्प'। दोबाटोहरूमा ढुङ्गाको एरो र रूखमा सेतो, निलो इनामेलको चिह्नले गन्तव्य दिशानिर्देश गरिरहेका थिए।
-1748697703.jpg)
आज भने बाटोमा विदेशी तथा स्वदेशी पदमार्गीहरू प्रशस्तै भेटिए। चिनजान र कुराकानीले बाटो काट्ने मेलो बन्यो। योजना अनुसार हामी भने तीन दिन लगाएर बेसक्याम्प पुग्ने र फर्कने लक्ष्यमा थियौँ। तर बाटोमा भेटिएका केही जोसिला युवा समूह एकैदिनमा हाइक्याम पुगेर फर्कने भनेर जोसिँदै थिए। निरन्तर पाँच/छ घण्टाको हिँडाइपछि करिब १० बजे गौंडा भन्ने खुला ठाउँमा अवस्थित होटल ग्रिन भ्युमा पुगियो। पारिपट्टि पहाडको खोंचमा अन्नपूर्ण तेस्रो बेसक्याम्प जाने बाटो देखिन्थ्यो। त्यहीँ बीचमा घान्द्रुक भन्ने पर्यटकीय गाउँ पनि देखियो। 'एबिसी' ट्रेक जाने तल खोंचको बाटो भन्दा आफू वरिपरिको दृश्य अवलोकन गर्दै डाँडाको खुल्ला बाटो हिँड्नुमा आफूलाई कैयौं भाग्यमानी लागेको थियो।
थकान मेट्न भन्दा पनि आज बाटो काट्नै बेस भन्ठानेर खाना खाने समयलाई ढिला बनाएर भए पनि अघि बढिरहेका थियौं। उकालोको अन्तपछि केहीबेर तेर्सिंदै जाँदा केही घर, गोठ देखिए। फेरि बाटो उकालियो, उकालो हेर्दा मनमस्तिष्क नै गलेर आयो तर के गर्ने? आफ्नो बाटो अरूले हिँडेर नहुने। जेनतेन थकाइ मार्दै उकालियौँ।
हामी होटल खोज्दै थियौं तर विदेशीहरू भने लन्च खाने बेला नभएकोले होला अगाडि बढे। अगाडि होटल बुझ्दा अझ दुई/ तीन घण्टा लाग्ने रहेछ र त्यस ठाउँलाई फरेस्ट क्याम्प भनिँदो रहेछ। त्यहाँ पुग्न ढिला हुने ठानी यहीँ पानीखर्कमा नै खाना खाने निधो गरियो।
त्यहाँ केही विदेशी साथीहरू थकाइ मारेर बसिनै रहेका थिए। हामीमध्ये द्रोण दाइ अलि हँसिलो, रसिलो र सहयोगी हुनुहुन्छ। त्यसैले उहाँले विदेशी तथा नेपालीलाई लेक लाग्न खोज्दा लसुन पानी दिनेदेखि लिएर केही गाह्रो पर्यो कि भनेर सोध्दै हुनुहुन्थियो। सायद दु:ख पर्दा सहयोग गर्नुपर्ने महानता र मानवता उहाँबाट सिक्नु पर्छ।
खानापछि जङ्गलका जराजुरी, उपटखापट र करिब ३ घण्टाको हिँडाइपछि खुला पारिलो ओरालो झर्दै फरेस्ट क्याम्प मुखैको होटलमा पुगियो। त्यहाँको 'गेट एन्ड रेस्टुरेन्ट कोकार होटल' फरेस्ट क्याम्पका सञ्चालकसँग चिया गफको बुझाइमा यो स्थानलाई केकार भनिने र यस क्षेत्रका करिब १४/१५ वटा होटल लजको समूहलाई समग्रमा 'फरेष्ट क्याम्प' भनिने रहेछ।
-1748697705.jpg)
करिब एक, डेढ घण्टापछि रेस्टक्याममा होटल आर सी एन्ड रेस्टुरेन्ट भेटियो। त्यहाँ पुग्दा वातावरण धुम्मिएको र केही पानी छिट्याएकोले मनमा ज्वारभाटा चलायो। ऊ तलबाट घन्टीको लगातार आवाज आउँदै थियो। के होला? भनेको त पहाडको एम्बुलेन्स आइरहेको थियो। म छेउ होइन, भित्तातर्फ लागेँ। मलाई उछिनेर बडो फूर्तिका साथ त्यो बड्कियो। पर्यटकलाई हाइक्यामसम्म पुर्याउन त्यो चार खुट्टे एम्बुलेन्स र सामानको लागि खच्चर प्रयोग गरिँदो रहेछ।
रेष्ट क्याम्पबाट करिब आधा घण्टा हिँडेपछि रेस्क्यू क्याम्पमा पुगियो। लो क्याम्पमा ४/५ बजे नै पुग्ने अड्कलमा हिँडेको हामी करिब-करिब साँझको झल्को पाइसक्यौं तै पनि अत्तोपत्तो छैन। यात्रा तालिका बनाएर मात्र नहुने रहेछ, समय व्यवस्थापन गर्न सजिलो रहेनछ। करिब पन्ध्र मिनेट हेडलाइट बालेर जंगल पार गरेपछि बल्ल लो क्याम्प लालिगुराँस होटल पुगियो। त्यहाँ त डाइनिङ हल खचाखच भरिई सकेको रहेछ। ओभनको तातोमा यात्रीहरू तातोपानी पिइरहेका देखिँदा भाग्यमानी जस्ता लाग्दथे। त्यहाँ बास बस्ने स्वदेशी तथा विदेशी पाहुनाहरू खानापश्चात सयन कक्षतिर लागे भने चलन अनुसार पोर्टर र गाइडहरूलाई डायनिङ हलमा बस्ने व्यवस्था मिलाइँदो रहेछ। आजको करिब १० घण्टाको लगातार हिँडाइले गलित हामीहरू पनि भुसुक्कै निदाएछौं।
तेस्रो दिन
हाम्रो आजको यात्रा उच्च पहाडी भागमा करिब ४ घण्टाको थियो। हाइअल्टिच्यूटको यात्रालाई सरल र सहज बनाउन अति आवश्यक सामान मात्र सानो झोलामा राखी बाँकी समान त्यही छाडेर उकालियौँ।
आजको मौसम हिजोको तुलनामा केही सुधार भएकोले भोलिको सनराइज र हिमालको दृश्य रमाइलै होला भन्ने लागेको थियो तर दिन ढल्कदै जाँदा उच्च स्थानमा मौसम बिग्रँदै जाने रहेछ।
करिब २ घण्टा पश्चात् बादल डाँडा भन्ने ठाउँमा उक्लियौँ। यहाँ सात, आठ वटा गेष्ट हाउसहरू रहेछन्। घाँसे मैदानमा भेंडा, च्याङ्ग्राको बथान र चौरी, याकहरू चरिरहेका भेटिन्थियो। अनि फुसफुसाएको चिसो कुहिरो 'जस्तो नाउँ उस्तै ठाउँ' भने झैं छिनभरमा कुहिरोले ढाक्ने, छिनभरमा विलिन हुने जादुमय मौसम र रोमान्चित दृश्य, यस पदयात्राको अर्को रोचक स्थान यही रहेछ।
अकस्मात एउटा भाइले छेवैबाट सर भनेर बोलायो। मैले त्यता नजर घुमाएँ, ऊ पूर्व परिचित सहकर्मी रहेछ। मैले उसलाई अचम्म मानेर सोधेँ – ए, तिमी पनि यहाँ?
उसले उता देखाउँदै भन्यो - हामी शिव श्रेष्ठ सरसँग आएको, सरको परिवारै आउनु भएको छ। म उहाँलाई देखेर अचम्म परे, संगठनको अग्रज, उहाँ त युकेमा हुनुहुन्थ्यो। विशेषतः नेपाल र नेपाल प्रहरीको समसामयिक विषयमा उहाँको विश्लेषणात्मक एवं सुझावत्मक लेखहरू धेरैले मन पराउँछन्। द्रोण र रत्न दाइलाई पनि यही विशेषताबाट परिचय गराएँ।
पारिवारिक चिनजानपश्चात हामी आफ्नै गन्थनका साथ अघि बढ्यौँ। दाइहरू अलि अगाडि, म उहाँसँगै। मैले मेरो यात्रु दललाई नै भुलेजस्तो महसुस गरेँ।
करिब एक घण्टाको उहाँको साथपश्चात दाइहरूसँग समाहित हुन अलि पाइला बढाएँ। करिब १३:०० बज्न लागिसकेको थियो। माथि एउटा डाँडा देखियो र मैले नजिकैको गाइडलाई सोधें। उसले त्यो कुदरसिंह डाँडा भएको बताए। त्यहाँ एउटा सालिक पनि देखियो त्यो स्वर्गीय सुदीप गौतमको रहेछ। उहाँको बारेमा यो लेखको अन्त्यमा केही चर्चा गरिएको छ। त्यहाँबाट माथिल्लो डाँडामा निलो छाना र नेपालको झण्डा देखियो। त्यो होटल हिमचुली एण्ड रेस्टुरेन्ट रहेछ। अब यसअघि हाइक्याम्प एक घण्टामा पुगिने भएकोले यही खाना खायौं र एक क्षणको आरामपछि उकालियौँ।
करिब १५:०० बजेतिर हाइक्याम्प भेट्यौँ। हाम्रो होटल 'ट्रेक्स प्याराडाइज' अलि माथि नै रहेछ। हामी भित्र मात्रै के छिरेका थियौँ, हामी नै आएका हौँ भन्ने अनुमानले बोले साहुजी - आइपुग्नु भो सर, बेलैमा आइपुग्नु भएछ, अब के खाउँ चिया वा कफी ? मैले चिया भनिदिएँ।
शिवजी दाइले वातावरण अनुकुलित हुन बेसक्यामको बाटो माथिसम्म गएर फर्किने भन्नुभयो, म पनि सँगै जान्छु भनेँ। त्यहाँ इन्टरनेट बाहेक सिम नचल्ने र मोबाइल चार्ज हिजैदेखि सोलारको भरमा भएकोले ब्याट्री जोगाउन वाईफाई बन्द गर्दा शिव सरसँग संचार बिच्छेद भएर म छुटेछु। तै पनि वातावरण अनुकुलित हुन जरूरी भएका कारण पछि दाइहरूसँगै लगभग ४५ मिनेट माथि डाँडासम्म पुगेर फर्कियौं।
यता भने यात्रुहरू डाइनिङ हलमा भेला जम्मा भएर ओभनको आगो ताप्दै गीतको अन्तराक्षी खेलिरहेका थिए। गीत फर्काउन नआउनेहरूबाट पास भएर आएपछि मैले आफ्नै गीतबाट आधा गाएर थपिदिन्थेँ। विस्तारै अन्तराक्षी खेलबाट भाइबहिनीहरू नाचगान गर्नतर्फ लागे। द्रोण दाइ र मलाई पनि तानेर सँगै नचाए। समय घडकी सकेकोले बडो रमाइलो र आकर्षणका बीच नृत्यलाई समयले ब्रेक लगाइदियो। सांस्कृतिक हल अब डाइनिङ हलमा रूपान्तरित भयो। भोलि बिहान ३ बजे यात्राको थालनी हुने भएकोले सबै सुत्न गए।
चौथो दिन
बिहान ढिला हुने डरले हामी तीनै जनाले अलार्म लगाएर सुतेका थियौँ। द्रोण दाइ निन्द्रा नै परेन, दुई घण्टा सुतियो होला भन्नुहुँदै थियो। वल्लोपल्लो कोठामा हल्ला चलिरहेको थियो। हामी हतारहतार उनीहरूलाई उछिनेर अगाडि बढ्यौँ।
करिब एक घण्टाको हिँडाइपछि केही पदयात्रीहरू माथिल्लो डाँडामा जुनकिरी जस्तो टर्चलाइटको उज्यालोमा र तलतिर हेर्दा डाँडामा त्यस्तै लस्कर उज्यालो देखिँदा आफूबीच भागमा परेकोले भ्यू प्वाइन्ट समयमै पुगिने र सनराइज हेर्न पाउनेमा ढुक्क थियौँ। बाटो ठाडो उकालो र भिरको भएकोले ठाउँ-ठाउँमा फलामका बार लागेका थिए। यात्राको अनुभवले खारिएको रत्न दाइले सुझाउनु भयो- उकालोमा हिँड्दा थोरैथोरै पानीको चुस्की लगाउन पर्छ अलि गाह्रो भयो भने लसुनको पोटी मुखमा राख्नुपर्दछ। नभन्दै ती अघिका रफ्तारवालाहरूमध्ये एक जना युवतीलाई लेक लागेर बाटैमा सुस्ताइरहेकी भेटिइन्। द्रोण दाइले उनलाई लसुनपानी दिएर राहत प्रदान गर्नु भयो।
तीन घण्टाको ठाडो कठिन उकालो पश्चात करिब ६ बजे झिसमिसे उज्यालोले भ्यू पोइन्टको मधुरो रूप देखियो। चिसो सिरेठोले छातीसम्मै चिसो पसेकोले त्यहाँ पुगेर ससाना झुपडी होटलमा आगो ताप्दै चिया पिइयो। बिहानीको सूर्यदर्शन गर्ने हौसलाले मानिसहरू यताउति चलमलाइरहेका थिए। आकाश धुम्मी रहेकै थियो तै पनि सूर्य नारायणको अगाडि कसको के लाग्दो रहेछ र? पहाड छिचोलेर, बादल प्वाल पारेर सूर्य भगवानको दर्शन पाइयो।
सुन्दर दृष्यको लागि मौका छोपेर हिमाललाई आफूसँग जोडेर फोटो खिच्नको तँछाडमछाड थियो। हिमाललाई अझ नजिकबाट हेर्न यो भ्यू पोइन्टबाट अझै दुई घण्टा माथि उक्लिई मार्दी बेस क्याम्प पुग्न बाँकी नै थियो। तर मौसम प्रतिकूल हुँदै गएको कारण धेरैले माथिल्लो बेस क्याम्पमा गयो भने पनि दुख मात्रै पाइने होला कि? भन्ने बुझाइमा कतिपय मानिसहरू त्यहीँबाट हाइक्याम्पतिर फर्किन थाले।
मैले दाइहरूलाई हामी पनि माथि जाऔँ भनेँ। उहाँहरूले माथि पनि यस्तै त होला खै! हिमालै हरायो, भो नजाने भन्नुभयो।
-1748697703.jpg)
तर म निराश नभइ भनेँ - म त मार्दी बेसक्याम्प जाने भनेर हिँडेको, एक्लै भएनि जान्छु। त्यसपछि उहाँहरू तलतिर लाग्नुभयो, म भने मास्तिर एक्लै बेस क्याम्पतिर।
म हिँड्न त हिँडे तर लेक लाग्न सक्ने डरले साथी लिएर मात्र हिँडन पर्थ्यो भन्ने पछुतो लाग्यो। फेरि यसपछिका बाटाहरू साँघुरो र डरलाग्दो भिरको भएकोले त्यतिकै खतरायुक्त। भनिन्छ नि - कठिन उकाली नचढी उत्कृष्ट भ्यू देखिँदैन। यसो पछाडि हेरेँ, कोही छैनन्, अगाडि हेरे चार/पाँच जना जाँदै रहेछन्। मलाई आँट बढ्यो, अलि जोसिलो हिँडाइले १५ मिनेटमा त भेट्छु भन्ने लाग्यो र फटाफट उक्लिएँ । नभन्दै मैले उनीहरू फोटो खिच्दै आराम गरी सुस्ताएका बेला भेटेँ।
अलि माथि उक्लिएपछि पहाडको थाप्लोसँगै पोखरी रहेछ। त्यसमा अन्नपूर्ण हिमालको तस्बिर ऐनामा झैँ टल्किरहेको थियो। त्यसै दृश्यमा म पनि जोडिएँ। अझै माथि जाँदैगर्दा एक जना किशोरी लेक लागेर ढलिछिन्। त्यो देखेर मलाई अघि बाटोमा मनमनै गुनेको कुरा सम्झेर डर लाग्यो। कतै म एक्लै हिँड्दा यसरी ढलेको भए? हैट! तुरून्तै मैले उनलाई लसुन पानी खुवाएँ, केही बेरमा उनी ठिक भइन्।
एक क्षण हिँडेपछि बेस क्याम्प देखियो र मन अत्यन्तै प्रफूल्लित भयो। अघि देखेका बादलको घुम्टो उघ्रिसकेको थियो। आँखै अगाडि ठिङ्ग हिमाल उभिएको देख्दा त हातले समाउन सकिएला झैँ लाग्ने। हिउँले छपक्कै ढाकेको सुन्दर मार्दी र माछापुच्छ्रे हिमाल! म त अति रोमान्चित भएँ, खुसीले पुलिकत भएर नाचौंनाचौं लाग्यो। हिजो बेलुकी गोधुलीमा देखेको “गोल्डेन फिस आज बिहान ह्वाइट फिस” मा रूपान्तरण भएको देखेर म त छक्क परेँ।
वारि माछापुच्छ्रे अनि पारि अन्नपूर्ण दुवैसँग लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमाल अन्नपूर्ण, हिमचुली, मार्दी, गङ्गा, पूर्ण, गन्धर्व, चुलीहरू आदि त्यो दृश्य मेरो जीवनमा पहिलो थियो।
खुसीले म मात्र होइन, हाम्रो शिवजी दाइ समेतको टिम नाच्न थाल्यौँ। अर्को भाइले उक्त हिम श्रृङ्खलाका हिमाल र हाम्रो खुसीको पललाई क्यामेरामा कैद गर्दै थिए। मार्दी हिमाल बेसक्याम्प ४५०० मिटर लेखिएको चापट ढुङ्गा र नेपालका दुई फरफराइरहेको झन्डा अनि ब्याकग्राउन्डमा ती हिमालहरू सँगै फोटो लियौँ।
भर्खरै हिमाल खुलेको र बादलले ढाक्ने सम्भावना भएकोले फोटो खिच्नेको घुइँचो लागिरहेकै थियो। त्यहाँ अलि अघि पुगेका चिनियाँ, कोरिया, फ्रेन्च, जर्मन, निदरल्याण्ड, सिंगापुर, मलेसिया आदि देशका टिमहरू आ-आफ्नो ब्यानर र झण्डाका साथ फोटो लिइरहेका थिए। यो देखेर म पनि नेपालको झण्डा फहर्याउँदै रातो र चन्द्र सूर्य ... राष्ट्रिय गान गाउँदै मौकामा चौका हाने।
भनिन्छ नि - 'द बेस्ट भ्यू कम्स आफ्टर द हार्डेष्ट क्लाईम्ब' अनि त्यस्तै 'नमरी स्वर्ग देखिँदैन'। त्यहाँ एक विजय उत्सव जस्तै भएको थियो।
-1748697706.jpg)
कोही याहु! मार्दी हिमाल.. ! भन्ने त कोही लभ्ली अन्नपूर्ण! त कोही लभ्ली, क्यूट माछापुच्छ्रे! जय होस् ! जय हिमाल ! भन्दै तस्बिर लिनमा व्यस्त देखिन्थे।
कोही नाँच्दै टिकटक बनाइरहेका थिए भने कोही कसैले ब्रोकास्ट गर्दै थिए। म अझै पनि सम्झन्छु त्यो अवस्मरणीय क्षणलाई, यात्राका साथीहरू अनि मेरा आदरणीय दाइहरूलाई, जो पहिलै हाइक्याम पुगेर मलाई पर्खिरहनु भएको थियो त्यसैले हामी ओरालो लाग्यौँ।
-1748697705.jpg)
उकालिँदा धुम्मिएको कारणले दायाँबायाँ केही देखिएको थिएन तर ओरालिँदा त बाफ्रे बाफ! दुवैतर्फ आङसिरिङ्ग हुने कहालिलाग्दो भिर। डर त अहिले पो लागेर आयो, कसरी काटिएछ नि त्यो उकालो! मार्दी हिमालका पाइनियर मानिने स्व. सुदीप गौतम पानीको पाइप मर्मत गर्न जाँदा त्यसै स्वर्गीय भएका हैन रहेछन् हैट! यस्ता डरलाग्दा भिरहरू। बेस क्याम्पसम्म पुग्ने यी मार्गका केही यस्ता अप्ठेरा बाटोहरूमा बार लगाइदिन सुझाउँदछु।
बिहान माथि बेसक्याम्पतिरै ब्रेकफाष्ट खाएकोले लन्च खान स्व. सुदीपद्वारा स्थापित होटल 'ट्रेकिङ प्याराडाइज' मा पुग्नुपर्ने थियो। जहाँ दाइहरू लन्च खाएर मलाई पर्खिरहनुभएको थियो।
यो मार्गमा आदिकालदेखि भेडी गोठ, चौरी गोठ र तिनका चरणहरूमा गोठालाहरू मात्र हिँड्थे रे, कुनै अन्य पदमार्ग थिएन। पछि कम उचाइ र सहजै चढ्न सकिने आकर्षक पदमार्गको विकास गरेर सुदीपले एक्लै हाइ क्याम्पमा पहिलो गेस्ट हाउस खोलेका रहेछन्।
नेपाल पर्वतारोहण संघको सदस्य र गण्डकी प्रदेशको सचिवसम्म भएका, इनोभेसन एण्ड टुरिजममा स्नाकोत्तर गर्दै गरेका माछापुच्छ्रे- ९ सिदिङका स्व. सुदीप ३५ वर्षकै उमेरमा सम्झनामा मात्र बाँकी छन्, जहाँबाट परिचय दिए अनि त्यही अमरत्व प्राप्त गरे।
हाल उनको स्मृतिका लागि अर्धकदको 'सालिक र स्मृति क्षेत्र' खुदरसिंह डाँडामा बनाएको पाइयो। निजको योगदानबाट सिर्जित यस ट्रेकमा आफू पनि सरिक हुन पाएकोमा हामी उहाँको शालिकमा श्रद्धाको फूल चढाई फर्कियौं।
यहाँबाट फर्कने क्रममा उपरोक्त तीन वैकल्पिक पदमार्गहरूमध्ये आ-आफ्नो इच्छा अनुसार प्रयोग गर्न सकिन्छ। भरसक त एउटा बाटोबाट जाने र अर्को बाटोबाट फर्किने गर्दा दुवै तिरको यात्रानुभूति हुन्छ। हाम्रो यात्रानुभवले पदयात्रा तय गर्दा प्राथमिक उपचारका केही औषधि, सहयोगी सामानहरू जस्तै लौरो, टर्चलाइट, सानो थर्मस, ड्राई र इनर्जेटिक फुड, जीवनजल, चुइगम, ट्रेकिङ जुत्ता, मोबाइल, पावर बैंक, पसिना पुछने रुमाल, भित्री लुगा, क्याप, कालो गगल्स, बर्षादी, पन्जा, वीरे नुन, लसुन आदि जस्ता सामान नछुटाइ हलुको यात्रा हुने गरी अन्य सरसमान बोक्नु पर्ने रहेछ।
फर्कने क्रममा हामीले लो क्याम्पसम्म सोही मार्गबाट फरेस्ट क्याम्प हुँदै कालिमाटीसम्म सहज यात्रा गर्यौं। त्यस पछि गाडीद्वारा पोखरा गएर काठमाडौँका लागि प्रस्थान गर्दै आफ्नो चाहना र मनोकांक्षापूर्ति भएकोले प्रसन्न भई सन्तोषकासाथ पाँचौं दिनमा घर आइपुग्यौँ।
यस क्रममा पदमार्गमा भेटिनु भएका, बोलीचाली गरिएका र हरेक प्रकारले सहयोग एवं सदभाव राख्नुहुने अग्रज महानुभाव तथा पाठकज्यूहरू सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
-1748697702.jpg)
-1748697704.jpg)
-1748697702.jpg)
-1748697702.jpg)
-1748697703.jpg)