नियात्रा
आज त ग्रान्ड क्यान्यन घुम्न जाने दिन!
बिहान ब्युँझिँदै एक अलग उत्साह थियो मनमा। त्यही उत्साहले धकेलेर होला, अलार्म बज्नुअघि नै बजेछ दिमागको घन्टी।
तयार भएर बाहिर निस्किँदा साढे छ बजेको थियो। लास भेगस स्ट्रिपबाट ग्रान्ड क्यान्यन जाने बस सात बजे छुट्छ। ग्रान्ड क्यान्यन लास भेगसबाट दुई सय किलोमिटर पूर्व पर्छ।
नदीको हजारौं वर्षको प्रवाहले विभिन्न किसिमका भौगोलिक संरचना निर्माण गर्छ। खोँच बन्छ, गल्छी र गल्छेडाहरू बन्छन्। घाटी बन्छ, भीर र पहराहरू बन्छन्। त्यसैगरी अमेरिकाको पाँचौं लामो नदी कोलोराडोले लाखौं वर्षको मिहिनेत र परिश्रमबाट तयार गरेको सुन्दर गल्छी हो, ग्रान्ड क्यान्यन।
अमेरिकाको एरिजोना राज्यमा पर्ने यो गल्छी ४४६ किलोमिटर लामो, २९ किलोमिटर चौडा र १८५७ मिटर गहिरो छ। संसारको सबभन्दा ठूलो गल्छी तिब्बतको यार्लुङ स्याङ्पो हो भने संसारको सबभन्दा गहिरो गल्छी नेपालको कालीगण्डकी गल्छीलाई मानिन्छ, जुन ६४०० मिटर गहिरो छ।
संसारको तेस्रो ठूलो यो ग्रान्ड क्यान्यन गल्छी क्षेत्रमा धेरै प्राकृतिक गुफा छन्। यहाँका आदिवासी अमेरिकीहरू १२ हजार वर्ष अघिदेखि यिनै गुफालाई घर बनाएर बसेको इतिहास छ। प्रकृतिको यही सुन्दर सिर्जना घुम्न हामी ट्रेजर आइल्यान्ड होटलअगाडि पुग्दा बसको अत्तोपत्तो थिएन।
'ला! बस चढ्ने ठाउँ यो होइन कि क्या हो!' वर्षाले भनिन्।
मैले टिकट दोहोर्याएर हेरेँ। ठाउँ त यही हो!
केही बेर बाटो छेउको फलामे फलैंचामा बसेपछि मानिसहरूको चहलपहल बढ्यो। लगत्तै जुपिटर लेजेन्डको पहेँलो बस हाम्रो अगाडि रोकियो। ग्रान्ड क्यान्यन हेर्ने उत्साहले टम्म भरिएका अरू यात्रीहरू जस्तै हामी पनि अग्लो बसका आरामदायी सिटमा बस्यौं।
लास भेगस स्ट्रिपका अरू केही होटलबाट यात्रीहरू बोक्दै केही बेरमै हामी भेगसको रमझमबाट बाहिर निस्क्यौं।
बस गुड्नासाथ डाना नामकी टुर गाइडले हामीलाई स्वागत गरिन् र वरपरका दृश्य वर्णन गर्न थालिन्।
दुवैतर्फ मरूभूमिजस्तो भूगोल माझको हाइवे-११ मा बिहानैदेखि गाडीहरू तुफानी वेगमा कुदिरहेका थिए। बसको झ्यालबाट परपरसम्म मरूस्थलीय ढिस्काहरू देखिन्थे। हरियालीले ठगिएका सुख्खा पहाडी टाकुराहरू। केही टाकुराका टुप्पामा फेब्रुअरी महिनाको सेतो रंग पोतिएको थियो। बिहानी सूर्यका रश्मीहरू पोखिएर मरूभूमि माझका यी होचा हिमाल पनि अति राम्रा देखिएका थिए।
बाटोछेउ कतै आधुनिक घर-बस्ती र कोलोनीहरू देखिए। कतै मसिना पोथ्रा बिरूवा थिए। बल गरेर उम्रेका घाँस, मसिना बुटा र ती पोथ्रा बिरूवाको हरियाली लुटिएको थियो, मरूस्थलीय खुला फाँटहरूमा धूलो र बालुवाको धुस्रो रंग मिसिएर। ठूला रूख र हराभरा हरियाली कतै थिएन।
मरूभूमिकै माझमा भए पनि कतै बस्ती थिए, कतै बजार थिए, कतै ठाउँ-ठाउँमा ग्यास स्टेसन थिए। बाटामा गाडीहरू गुडिरहेका थिए। वातावरण त्यति उराठलाग्दो थिएन।
हामी जति अगाडि बढ्दै थियौं, रातो माटोका ढिस्का र पहाडहरू नजिक हुँदै गइरहेका थिए। हामी नेभाडा राज्यको बोल्डर सिटी पुगेछौं। धरहराभन्दा अग्ला बिजुलीका पोल र तिनका शिरमा टाँगिएका ताररूपी बिजुली हिँड्ने बाटाहरू देखिए। सोलार प्यानलहरूको खेती नै गरेजस्तो विशाल प्लट पनि देखियो। डानाले ती सोलार प्यानलबारे विस्तारमा बताइन्।
बोल्डर सिटीमा रहेको सोलार प्यानल स्टेसन अमेरिकाकै ठूला सौर्य ऊर्जा उत्पादन केन्द्रहरूमध्ये एक रहेछ। बेकामे भएर लडिरहेको मरूभूमि क्षेत्रको कति राम्रो सदुपयोग गरिएको हो भनेर म छक्क परेँ। सन् २०१० मा सुरू यो परियोजना सम्पन्न भइसक्दा ८०० मेगावाटभन्दा बढी बिजुली उत्पादन हुने डानाले बताइन्।
हजारौं घरपरिवारलाई बिजुली पुर्याइरहेको यो नवीकरणीय ऊर्जा परियोजना हजारौं एकड जमिनमा फैलिएको रहेछ। नेभाडाको यो मरूभूमिमा रनक्क रन्किने तातो घाम उपयोग गर्दै उच्चतम कार्यक्षमताका साथ ऊर्जा उत्पादन गर्ने अमेरिकी सपना साकार भएको देख्दा नेपाल पनि यस्तो क्लिन इनर्जीको क्षेत्रमा अझ अघि बढे कति जाति हुन्थ्यो भन्ने लाग्यो।

बस आफ्नै गतिमा गुडिरहेको थियो। मरूस्थलीय भूमि छाडेर जुरूक्क उचालिएका नांगा ढिस्काहरू छेउछाउमा देखिन्थे। हाम्रा गाउँघरतिर घर पोत्न प्रयोग गरिने जस्ता राता माटाका थुम्का पनि थिए। अलि अगाडि बढेपछि देब्रेपट्टि पानीको विशाल कुण्ड देखियो।
'हामी अब एरिजोना र नेभाडाको सीमामा छौं। यो हुभर ड्याम हो,' डानाले भनिन्, 'यो अमेरिकी इन्जिनियरिङको उत्कृष्ट नमूना हो।'
नेभाडा र एरिजोना राज्यको सीमामा पर्ने कोलोराडो नदीमा सन् १९३१ देखि १९३६ सम्ममा निर्माण गरिएको ७२६ फिट अग्लो यो बाँध पछि फर्किँदा अवलोकन गरिने डानाले बताइन्।
बाढी नियन्त्रण र जलविद्युत उत्पादनका दुई मुख्य उद्देश्य हासिल गर्ने हुभर ड्यामले 'लेक मीड' नामक ठूलो जलाशय पनि सिर्जना गरेको रहेछ, जसले दक्षिण-पश्चिम अमेरिकाका धेरै राज्यमा पानी आपूर्ति गर्दो रहेछ। हामीजस्ता लाखौं पर्यटकको आकर्षण केन्द्र बनेको यही हुभर ड्याम नामक बाँधले सिर्जना गरेको तालको दृश्यमा रमाउँदै हामी केही बेर गुड्यौं।
एकै छिनपछि 'हामी अब एरिजोना राज्य प्रवेश गर्दैछौं, ग्रान्ड क्यान्यनको राज्य' भन्दै डाना बुरूक्क उफ्रिइन्।
हामी सबैका आँखा वरिपरि फिँजारिए। अघिभन्दा अग्ला ढिस्का र भीर-पहरा देखिन थाले। तिनै निर्जीव पहराको कुम काटेर बनाइएका चिल्ला नागबेली बाटाहरू बसको झ्यालबाट खुब सुन्दर देखिएका थिए।
उहिले नौ-दस कक्षातिर भूगोल विषयमा पढेजस्ता पत्रे चट्टानहरू छिचोल्दै हिँड्दा अर्को अद्भुत दृश्य देखियो। साना ढिस्काहरूले घेरिएको उपत्यकाबीचको समथर जमिनमा अग्ला अग्ला खम्बाहरू थिए। ती खम्बाका टुप्पामा लामा तीखा ब्लेड भएका पंखा थिए। ती पंखा 'वेस्टर्न विन्ड एनर्जी प्रोजेक्ट' का विन्ड टर्बाइन हुन्।
मरूभूमिको होचो भूमि र वरिपरिको पहाडी उच्च भूभागबीचको तापक्रम भिन्नताका कारण यो क्षेत्रमा निरन्तर हावा चल्छ। त्यसैले २०० देखि ३०० फिट अग्ला यी आधुनिक टर्बाइन जडान गरिएका रहेछन्। खानीबाट निकालिने इन्धनमा निर्भरता घटाउँदै हजारौं घरलाई बिजुली उपलब्ध गराउने यी विन्ड फार्मले नवीकरणीय ऊर्जा क्षेत्रमा अमेरिकी प्रतिबद्धतालाई व्यावहारिक रूपमा पुष्टि गरेको पाइयो।
यिनै हावाको खेती हेर्दै अगाडि बढेपछि एउटा ठूलो ग्यास स्टेसनमा पुगेर हाम्रो बस घ्याच्च रोकियो। त्यति बेला ठ्याक्कै साढे आठ बजेको थियो।
त्यहाँ पन्ध्र मिनेटजति विश्राम गरेपछि हामी फेरि अगाडि बढ्यौं।
सुकेका घाँस र मसिना झार-बुटामाझ हाइवे-९३ भएर ग्रान्ड क्यान्यनतर्फ हुइकिँदै गर्दा डानाले त्यहाँ पुगेपछि के के गर्ने, कति समय घुम्ने, खाना कहाँ खाने लगायत सूचना दिइन्।
केही अगाडि बढेपछि परेड खेल्न लागेका सैनिकझैं मिलेर उभिएका खैरा बिरूवाको विशाल खेती देखियो। त्यो पिस्ता र बदामको खेती रहेछ। कम पानी चाहिने, उच्च तापक्रम सहन सक्ने र चिसो तापक्रम पनि आवश्यक पर्ने भएकाले मरूभूमि क्षेत्रमा यसको खेती राम्रो हुने रहेछ।
पिस्ताका रूख जीवजस्तै फरक-फरक लिंगका हुँदा रहेछन्, भाले र पोथी। एउटै भाले रूखले धेरै पोथी रूखलाई परागसेचन गर्न सक्ने रहेछ। नियालेर हेर्दा सेताम्मे फूल फुलिरहेका देखिए ती बोटमा। रोपेको ५-७ वर्षपछि मात्र फल दिने पिस्ताको एउटै बोटमा सत्र पाउन्डसम्म फल फल्ने डानाले बताइन्।
त्यसको केही बेरमा क्याक्टसका रूखको पातलो जंगल पार गरेपछि अलिक अग्ला डाँडा र पहराहरू नजिकै देखिन थाले।
हाम्री टुर गाइडले यो क्षेत्र र 'ह्वालापाई' भनिने यहाँका आदिवासी अमेरिकीबारे बताउन थालिन्। ग्रान्ड क्यान्यन क्षेत्रमा १२ हजार वर्ष अघिदेखि बसोबास गरेको मानिने यी आदिवासीहरूमाथि इतिहासमा के कस्ता अन्याय, अत्याचार, दमन र हिंसाहरू भए; उनीहरूले कति कष्ट र यातना भोगे भन्नेबारे उनले विस्तृत रूपमा बताइन्। आफूमा पनि आदिवासी अमेरिकी रगत बगिरहेको बताउँदै उनले इतिहासको मार्मिक कथा सुनाइन्।
उनका अनुसार सन् १८६० देखि १८७० दशकमा भएको अमेरिकी सैन्य द्वन्द्व र हिंसा क्रममा धेरै आदिवासी मारिए। युद्धका कारण उनीहरूको परम्परागत सिकार र जडिबुटी संकलन अभ्यासमा बाधा पुग्यो। यहाँ सुन र अन्य बहुमूल्य खानीहरू छन् भन्ने आधारमा सन् १८७४ मा पशुलाई जस्तै साङ्लाले बाँधेर उनीहरूलाई दुई साताभन्दा बढी मरूभूमिमा हिँडाएर जबर्जस्ती स्थानान्तरण गरिएको थियो। त्यो क्रूर यातना क्रममा धेरै मानिस, विशेषगरी वृद्धवृद्धा र बालबालिकाको मृत्यु भयो। बाँचेकाहरू पनि रोग र कुपोषणका सिकार भए।
यसरी क्रमशः उनीहरूको क्षेत्रमा अतिक्रमण गरियो। रेलमार्गले पनि उनीहरूको पुर्ख्यौली भूमिको ठूलो भाग लियो। उनीहरूका पवित्र स्थलहरू अपवित्र बनाइए। पानीका स्रोतहरू मोडिए, तोडिए, प्रदूषित बनाइए।
त्यस्तै, बालबालिकालाई जबर्जस्ती बोर्डिङ स्कुलमा पठाइयो। परम्परागत धार्मिक अभ्यासमा प्रतिबन्ध लगाइयो। विद्यालयहरूमा उनीहरूको भाषा बोल्न निषेध गरियो। परम्परागत सिकार क्षेत्रहरूमा प्रतिबन्ध लगाइयो। यसरी तीव्र सांस्कृतिक दमन गरियो आदिवासी ह्वालापाईहरूमाथि।
यही ग्रान्ड क्यान्यनको दक्षिणी रिम र कोलोराडो नदी किनारमा करिब १० लाख एकडमा फैलिएको क्षेत्र उनीहरूको पुर्ख्यौली भूमि रहेछ। यो ऐतिहासिक दमन र उत्पीडनको तिरोभरो स्वरूप अमेरिकी सरकारले त्यो १० लाख एकड जमिनमाथि स्वायत्तता प्रदान गरेको रहेछ। हाल एरिजोनाको मोहावे काउन्टीमा बाँकी रहेका करीब २२ सय ह्वालापाईहरूलाई आरक्षित गरिएको रहेछ।
डानाले भनेका यी कथा सुन्दै हिँड्दा झ्यालबाट ग्रान्ड क्यान्यनका खोँच र पहराहरू नजिकै देखिन थालिसकेका थिए।
उनले दुर्दान्त कथा सँगसँगै त्यसको सुखान्त पनि सुनाइन्। यो क्षेत्रमा पूर्ण स्वायत्ता प्राप्त गरेका उनीहरू सरकारबाट कुनै पनि आर्थिक सेवासुविधा प्राप्त नगरी आफ्नै पर्यटन व्यवसायबाट आर्थिक रूपमा आत्मनिर्भर भएका रहेछन्।
पूर्ण रूपमा ग्रान्ड क्यान्यन वेस्ट सञ्चालन गर्ने उनीहरूले आफै यो क्यान्यनमाथि फैलिएको काँचको हिँड्ने बाटो स्काईवाक बनाएर सञ्चालन गर्दा रहेछन्। उनीहरू आफै पर्यटन, सांस्कृतिक संरक्षण र आर्थिक विकास कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्दा रहेछन्। आफ्नो परम्परा, संस्कृति र भाषा जोगाउन प्रयासरत रहेछन्।

डानाले आफ्नो लामो मन्तव्य पूरा गरेको केही बेरमै हाम्रो बस ग्रान्ड क्यान्यन वेस्टको पार्किङ लटमा अडियो। लास भेगसबाट हिँडेको ठिक चार घन्टामा बसले हामीलाई ग्रान्ड क्यान्यन ल्याइपुर्यायो।
आधुनिक इन्जिनियरिङको गज्जब नमूना देखियो त्यहाँ। सिसाको पारदर्शी भुइँ प्रकृतिको उत्कृष्ट कलाकृतिसँग लुकामारी खेल्दै गरेजस्तो। क्यान्यनको सतहबाट ४,००० फिट माथि झुन्डिएको अर्धवृत्ताकार पारदर्शी संरचनाबाट तल हेर्दा कता कता भयको अनुभूति पनि भयो। आफ्नै पाउमुनि अतल भिर भयानक भव्यता साथ फैलिएको थियो। एक काँचको क्यानभासले प्राचीन चट्टानका लाखौं वर्षको कथा बताएजस्तो।
हामी आफै हावामा हिँडिरहेजस्तो, जहाँ काग र चिलहरू पनि आकाशमा होइन आफ्नै पाउमुनि उडिरहेका देखिए। सीसाका पारदर्शी पर्खालपारि देखिने गहिरा गल्छी र खोँचहरू, पहरा र भीरहरू, जमीनको प्रचण्ड गहिराइमा बगिरहेका कोलोराडो नदीका केही भंगालाहरू शानदार देखिन्थे। एक अद्भुत अनुभव गर्यौं हामीले त्यहाँ। आफ्ना मोबाइल फोन र क्यामरा लैजान नपाउने हुनाले त्यहीँका क्यामराम्यानलाई ती अनमोल दृश्य कैद गर्न लगायौं।
यो ठाउँ कोलोराडो नदीभन्दा ४००० फिट माथि छ। यो ह्वालापाई जनजातिका लागि एक विशेष स्थान हो। त्यहाँबाट ग्रान्ड क्यान्यनको सुन्दर पानारोमिक दृश्य देख्न सकिन्छ, जहाँ स्वर्ग र पृथ्वी भव्यताका साथ मिल्छन्। यो स्थान सबैले आनन्द लिन सक्ने गरी खुला छ।
हामी गल्छीको ओल्लोपट्टिको भित्ताको शिरमा थियौं। भीरको चट्टानी सतहमा उभिएर हामीले परपरसम्म नजर दौडायौं। गल्छीको अर्कापट्टि अनकन्टार नांगो चट्टानी पहरा थियो। त्यो पहराको पारिपट्टि अर्को गल्छी थियो, उस्तै गहिरो। त्यो गल्छीको उत्तापट्टि उस्तै अक्करे पहरो थियो। त्यो पहरो पर्तिर उस्तै गहिरो घाटी देखिन्थ्यो। यस्ता गहिरा खोँच र प्रचण्ड पहराका पत्रपत्र देखिन्थे, तहतह देखिन्थे। निकै परसम्म। कालो, खैरो र ताम्र रङ मिसिएका बहुआयामिक चित्रजस्ता आकृतिहरू।
यस्तो लाग्दै थियो, प्रकृतिले निर्माण गरेका असंख्य मूर्ति र मन्दिरहरूको सामूहिक दर्शन गर्दै थिएँ म। प्रकृतिको अपरम्पार लीला देखेर छक्क पर्नुबाहेक एउटा मामुली मान्छेले के पो गर्न सक्दो रहेछ र!
'इगल पोइन्ट' भनिने त्यो ठाउँमा उभिएर निकै बेर रमाएपछि बसले हामीलाई गुवानो पोइन्टतिर लग्यो।
बस गुडेको बाटो दायाँबायाँ दुवैतर्फ ग्रान्ड क्यान्यनको भव्यता देखियो। गुवानो पोइन्टबाट हेर्दा अग्ला कलात्मक गल्छीका माझमा तल शान्त बगिरहेको कोलोराडो नदी देखिन्थ्यो। हामी पुगेका बेला पानी अलि धमिलो थियो। आफ्नो कारणले धमिलिने होइन नदीको पानी। अरूकै कारणले धमिलिने हो। कतै पानी परेर बाढी चल्यो होला, कतै पहिरो ढल्यो होला। कतै भिरबाट हुरूरू ओर्लेर धूलो माटो मिसियो होला। तर संग्लिन चाहिँ नदी आफ्नै कारणले संग्लिन्छ। आफ्नै प्रवाहको निरन्तरताले संग्लिन्छ। आफ्नै गतिले संग्लिन्छ।
नदीको पानी धमिलो हुनु र मान्छेको मन अमिलो हुनुमा कता कता समता पाउँछु म। कोलोराडो नदी नियाल्दै एकछिन् टोलाएँ यसरी नै।

नदीका दुवैतर्फका भित्ता त्यही पानी र त्यहाँ बहने पवित्र हावाले हजारौं वर्ष लगाएर मेहनतपूर्वक कुँदेका कलाकृति जस्ता लागे मलाई।
गहिरो नदीका अग्ला अग्ला भित्ता कुनै दरबारका कलात्मक भित्ता जस्ता लागे। नागबेली परेर बग्दै आएको त्यो नदी हिँडेको बाटो परपरसम्म नियालेँ। निकै पर देखिने पहाडी चुचुरासम्म उही कला, उही भव्यता देखिन्थ्यो। त्यो त एकापट्टिको मात्रै दृश्य हो। गुवानो पोइन्टबाट ३६० डिग्रीमा यस्तै वृहंगम दृश्य देखिन्थ्यो। यस्तो लाग्थ्यो, क्यान्यनले हामीलाई चारैतर्फबाट अंकमाल गरिरहेको छ।
हामी सयौं पर्यटकको लयमा हिँड्दै अगाडि बढ्यौं। घर पोत्ने रातो माटो जस्तै राता चट्टानहरूको थुम्का थियो। कयौं मानिस त्यो चट्टानी ढिस्काका टुप्पामा चढेर परपरसम्म चियाइरहेका थिए। त्यो उचाइबाट देखिने भू-दृश्यमा भू-कलाको उत्कृष्टता देखेँ मैले पनि। तलपट्टि एउटा चौतारो जस्तो रहेछ, जहाँ लेखिएको थियो, ह्वालुबे न्यु वा (ह्वालापाई जातिको घर)।
ह्वालापाई जनजातिद्वारा पुजिएको त्यो पवित्र स्थानबाट प्रकृतिका महान दृश्यहरूमध्ये एक, अनेक प्राकृतिक आश्चर्यहरूमध्ये एक आश्चर्य हेर्दै थिएँ म। ग्रान्ड क्यान्यनको विशालता हेर्दै थिएँ।
त्यहाँबाट हेर्दा चट्टानहरू, भीर र खोँचका भित्ताहरू कुनै प्राचीन मन्दिरका भग्नावशेष जस्ता देखिन्थे। कतै शदियौं पुराना बौद्ध विहारका कीर्तिशेष जस्ता।कतै हाम्रै तेत्तीस कोटी देवताका आकृति जस्ता।
गाढा रातो रंगको चट्टानी पदमार्गबाट पल्लो छेउ पुगुन्जेल भीर र पहराहरूमा हावाले कुँदेका कलात्मक ढुंगाहरू देखिए। समयलाई आफ्नो काखमा लुकाउने सामर्थ्य भएका अनेकौं गुफा देखिए। सबभन्दा पल्लो छेउबाट भीरमुनि हेर्दा भयानक नै लाग्यो, कथंकदाचित दुर्घटनावश तल झर्ने हो भने बाँच्ने कुनै गुञ्जायस होला जस्तो लागेन।
यस्ता भव्य भीरका छेवैमा बसेर प्राचीन भाषाहरूमा बात गरिरहेका यहाँका हावाको संवाद सुन्यौं। चट्टानी संरचनाहरूबीच मसिनो आवाजमा सुसेली बजाउँदै बगेको कोलोराडो नदीको सुसाइमा रमायौं र मरूभूमिका रहस्यहरूको रस पियौं।
यसरी घन्टौंसम्म त्यहाँको प्राचीन संगीत सुनेर दिन ढल्किन थालेपछि हामीले ग्रान्ड क्यान्यनको भव्यतालाई विदा गर्यौं।
***