धेरै पहिलेदेखि कालिन्चोक भगवतीको दर्शन गर्ने अभिलाषा मनभरि सजाएर बसिरहेको थिएँ। २०७४ सालको नयाँ वर्ष दोलखामा बिताउने लक्ष्य लिएर जीवन साथी कवि र पुन्टेलाई दोलखा जाने योजना सुनाएँ।
उनीहरूले एकै स्वरमा सहमति जनाएपछि युमिसा भान्जी, पुन्टे र हामी बुढाबुढीसहित ४ जनाको टोली कोटेश्वरबाट ८ बजे चरिकोटको लागि रवाना भयौं। बीच बाटोमा केही यात्रुहरू थप्दै र केहीलाई उनीहरूको गन्तव्यमा ओराल्दै बस लगभग ११ बजे खाना खानको लागि खाडीचौर नजिकै रोकियो।
खाना खाई लगभग आधा घण्टापछि बस खाडीचौरमा सुनकोशी नदी माथि बनाइएको पुल तरेर क्रमशः नागबेली उकालो चढ्न थाल्यो र मेरो रहरलाई पूरा गर्न बसले मुडे, खरीढुङ्गा हुँदै साढे १ बजे सातदोबाटो चरिकोटमा ओराल्यो। त्यही दिन कालिन्चोक पुग्न पाए भोलि बिहान कालिन्चोक भगवतीको दर्शन गर्न सहज हुने महसुस गरेर एक जना बस्नेत भाइको बलेरो गाडी रिजर्भ गरेर हामी उकालियौं कालिन्चोकतर्फ ३ बजेतिर। उनले करिब २ घण्टाको यात्रापछि कालिन्चोकको काख कुरीमा पुर्याए।
कुरी नै कालिन्चोक जाने यात्रुहरू बस्ने ठाउँ रहेछ। त्यसभन्दा माथि बस्ने ठाँउ रहेनछ। कुरीमा विभिन्न होटलहरू रहेछन्, तीमध्ये एउटा तामाङ्नी दिदीको होटलमा त्यसरात बिताउने निधो गरेर झोलाहरू बिसाएर एकछिन फ्रेस भएपछि कुरी बजार घुम्न निस्कियौं।
कुरी बजारमा एकदम चिसो हावा चल्दो रहेछ सायद हिमालको काख भएर होला। वरिपरि पहाडले घेरिएको सानो पहाडी बजार कुरी वास्तवमै रमणीय रहेछ। त्यही कुरी बजारको उत्तरतर्फ लगभग ९० डिग्रीकै ठाडो उचाइमा रहेछ कालिन्चोक भगवती मन्दिर। त्यहाँबाट लगभग ३ घण्टाको दुरीमा। लाग्थ्यो भगवतीले आफूकहाँ आउन म जस्ता अल्छी भक्तहरूलाई चुनौती दिइरहेकी छन्।हामीहरू खाना खाएर भोलि कालिन्चोक भगवतीको दर्शन गर्ने मनभरी सपना सजाएर सुत्यौं।
भोलिपल्ट ५ बजेतिर फ्रेस भएर निस्कियौं। बाहिर सेताम्मे तुषारो परेको थियो। बस्नेत भाइले हामीलाई कुरी बजारको खोल्साको पारीपट्टि नयाँ खनिएको बाटोबाट केही माथिसम्म पुर्याइदिए र ठूलो राहत भयो। त्यहाँबाट करिब २ घण्टामा कालिन्चोक भगवतीको मन्दिर पुगियो। खुला ठाउँमा रहेको मन्दिर आफैमा अभूतपूर्व थियो‚ आनन्ददायक थियो। तर तुँवालोले हिमालहरू सबै ढाकिदिँदा हिमालको सौन्दर्य हेर्नबाट भने बन्चित हुनुपर्यो।
कालिन्चोक भगवती मन्दिर त्यति माथि उचाइमा भए पनि भगवती आफू स्वयं भने एक कुण्डमा विराजमान थिइन। भगवतीको जल झिक्नको लागि एक मगलाई डाडुको आकार बनाइएको रहेछ र त्यहीँबाट जल झिकी प्रसादको रूपमा लगिँदो रहेछ, साथै मनोकामना सिद्धिको लागि त्रिशूल चढाउने चलन रहेछ।
एउटा सिक्का उक्त कुण्डमा खसालेमा त्यो सिधै सुनकोशी नदीमा पुग्छ भन्ने किम्बदन्ती रहेछ। करिब १ घण्टामा मन्दिर पूजाआजा र घुमघाम सकियो। त्यसपछि तल ओर्लिएर बिलम्ब नगरी चरिकोटको लागि प्रस्थान गरियो।
दोलखा भिमसेन मन्दिर चरिकोट बजारबाट केही तल रहेछ। हामी मन्दिर पुग्दा बिहानको ११ बजिसकेता पनि भिड नै थियो। त्यहाँ भाकलको रूपमा बोका‚ हाँस‚ नरिवल आदि चढाउँदा रहेछन्। हामीले पनि नरिवल चढाउने निधो गरी फूल‚ प्रसाद लिएर लाइनमा बस्यौं। पूजा गरेर त्यहाँबाट निस्किएर गाडीमा पुगियो। बस्नेत भाइले हामीलाई चरिकोट बजारमा छोडिदिए पुनः भेट्ने आशाका साथ।
त्यसपछि खाना खाएर जिरी जानको लागि चरिकोट बसपार्कबाट बस चढी हामी ४ जना जिरीतर्फ ओरालो झर्यौ।
तामाकोशीसम्म बस लगातार ओरालो झरी फेरि उकालिन थाल्यो र चरिकोटबाट जिरीसम्म बाटो सिङ्गल लेनको भएता पनि स्विट्जरल्याण्डले बनाएको जस्तै राम्रो थियो। त्यसपछि बसले नाम्दु‚ मैनापोखरी हुँदै ४ घण्टामा जिरी पुर्यायो। त्यहाँको एउटा होटलमा झोला राखेर फ्रेस भई घुम्नको लागि निस्कियौं र जिरी बजारभन्दा अलिकति माथि रहेको गुम्बासम्म पुगेर हामी फर्कियौं र खाना खाइवरी सुति पनि हाल्यौं हामी कालिन्चोकको थकाइ मार्नको लागि।
भोलिपल्ट उठेर फ्रेस भएपछि त्यही होटलको साहु भाइसँग जिरीमा घुम्न लायक ठाउँहरूको जानकारी लियौं चिया खाने क्रममा।
उनले जिरेश्वर महादेव‚ त्यहीको चियाबारी‚ रमाइलो डाँडा र चिज कारखाना घुम्नको लागि उचित हुने सुझाए। सोही अनुसार सबभन्दा पहिला जिरेश्वर महादेव दर्शनका लागि हिँडियो दुई पहाडका खोंचको बीचमा रहेको जिरेश्वर महादेव रमाइलो रहेछ।
चराचुरुङ्गीको चिरबिर आवाज‚ झरनाको कलकल स्वरको बीच जंगलमा रहेको महादेव दर्शन गर्दा मन नै आनन्दित बनायो। त्यही रहेका गिरी थरका पुरोहितले अलि माथि भैंसीको महादेव रहेको बताउँदा हामी आश्चर्यचकित भयौं‚ कहिल्यै नसुनेको कुरा सुन्दा‚ वास्तवमा अन्य महादेव मन्दिरहरूमा शिवलिङ्गमा जलधाराको लागि गाईको दूध चढाइन्छ भने त्यहाँ चाहिँ भैंसीको चढाइँदो रहेछ।
भैंसीले दूध नदिएमा त्यहाँ दूध चढाएमा सजिलै दूध दिने कुरा पनि ती पूजारीले बताए। जिरेश्वर महादेवको दर्शनपछि त्यहीबाट लगभग आधा घण्टाको दूरीमा रहेको चियाबारी हेर्नको लागि गयौं। हामी इलाम र कन्यामका चियाबारी नदेखेका लागि त उक्त चियाबारी रमाइलो थियो। लगभग डेढ घण्टामा जिरी पुगेर खाना खायौं अनि चिज कारखाना हेर्न जानको लागि सल्लाह भयो। तर हामीलाई पुगेर फर्कनको लागि ७ घण्टा लाग्ने देखिएपछि हामी हच्कियौं र त्यहाँ नजाने निधो गर्यौं। त्यसपछि नजिकैको रमाइलो डाँडा जाने कार्यक्रम बनायौं। रमाइलो डाँडा जिरी बजारबाट करिब १ घण्टाको उकालोमा रहेको निकै मनोरम ठाउँ रहेछ।
जिरी बजारको सम्पूर्ण दृश्य देखिने घमाइलो उक्त डाँडा जिरीबासीको लागि एक किसिमको पिकनिक स्पट जस्तो रहेछ। पानीको केही दुःख रहेता पनि बौद्ध झण्डा फहराइरहेको डाँडामा पुगेर एकछिन सुस्ताउन पल्टँदा स्वर्गीय आनन्द प्राप्त भयो। त्यसपछि होटलमा फर्किएर खाजा खाई एकछिनको विश्रामपश्चात् गाई फार्म हेर्नको लागि गयौं। स्वीस सरकारको अनुदानमा निर्मित उक्त गाई फार्म र जिरीको बन्द विमानस्थल हेर्दै हामी गोधूली साँझमा बसपार्क हुँदै होटल फर्कियौं‚ साथमा जिरीको कोसेली स्वरूप याकको चिज‚ छुर्पी र सेतो सिमी एक किलोसहित भोलि बिहान छ बजेको काठमाडौं फर्कने टिकट हातमा लिएर।
भोलिपल्ट पौने छ बजे होटल साहुजीकै आतिथ्यको कालो चिया पिएर बसपार्कको लागि प्रस्थान गर्यौं। ठिक छ बजे बस गुड्यो र जिरीलाई आत्मीयताको बिदाइ गर्दै हामी पनि बससँगै गुड्यौं। करिब ४ घण्टाको यात्रापछि बस चरिकोट बजार आइपुग्यो। हिजो रातभरिको झरीले तुवाँलो हटी आकाश पूरै खुलेको थियो अनि हामीलाई हेरेर हाँसिरहेका थिए‚ गौरीशंकर लगायतका अन्य हिमालहरू। दोलखा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न ठाउँहरू हुँदै बसले ३ बजेतिर नयाँ बानेश्वर‚ शान्तिनगर गेटमा ओरालिदियो र हामीहरू आआफ्ना झोलाहरू काँधमा भिरेर मनभरि कालिन्चोक भगवती र दोलखाका सम्झनाहरू संगालेर बासस्थानतिर लम्कियौं।