राजधानीको उकुसमुकुस छिचोलेर छोटो अवधि अनि कम खर्चमा अधिक अनुभव हासिल गर्न सकिने सहज गन्तव्यका रूपमा आमाछोदिङ्मो क्षेत्र तपाईंको रोजाइमा पर्न सक्छ।
काठमाडौंबाट ६/७ घण्टाको सवारी यात्राबाट सजिलै पुग्न सकिन्छ आमाछोदिङ्मो। पासाङल्हामु राजमार्गअन्तर्गत टोखाको झोर हुँदै नुवाकोटका उकाली, ओराली र नागबेली सडकको यात्रामा लहरिँदै अनि रमाउँदै यात्रा अघि बढाउन सक्नुहुन्छ।
झन्डै तराईको झल्को दिने उष्ण हावापानी रहेको नुवाकोटको समतल मैदानी क्षेत्रबाट त्रिशूली कटेपछि पुन: उकालो यात्राबाट रसुवा जिल्लाको सदरमुकाम धुन्चे पुग्नुहुन्छ।
बिहान सबेरै काठमाडौंबाट निस्कनुहुन्छ भने चियानास्ताका लागि त्रिशूली र खानाका लागि रसुवाको स्याफ्रुबेँसी उपयुक्त सक्नुहुन्छ।
धुन्चेबाट अघि बढ्दा विकट पहाडी क्षेत्रको कष्टकर यात्राको अविस्मरणीय सम्झनाका कोसेली मनभरि साँचेर निरन्तर उत्तरतर्फ हुइँकिनुहुन्छ।
चट्टानी पहाड खोपेर बनाइएका सडकबाट माथितिर हेर्दा टाउकमा बज्रेलान् जस्ता भीमकाय चट्टानले तपाईं आङ नै सिरिङ्ग पार्ने छन् र तलतिरका कहालीलाग्दा भिरले मुटु ढक्क फुल्ने छ। कहालिने समस्या र मुटु कमजोर छ भने तपाईंले आँखा चिम्लनु उपयुक्त हुन्छ। बादलका बुट्टाझैँ फाट्टफुट्ट देखिने मानव बस्ती र जटिल पहाडी भूधरातलको अनुभूति चीरकालसम्म यादगार बन्न पुग्छन्। कतै हरियाली बोटबिरूवा त कतै पूरै अग्रेठ चट्टानले बनेका गगनचुम्बी पहाडहरू एकपछि अर्कोलाई फन्को मार्दै जाँदा यात्रा झनै रोचक बन्दै जान्छ। अग्ला पहाडबाट हामफाल्दै गरेका झरनाका मनमोहक दृश्य कैद गर्न तपाईंका स्मृतिपट लालायित रहन्छन्।
लाङटाङ राष्ट्रिय निकुञ्जको प्रवेशद्वार स्याफ्रुबेँसीबाट रसुवागढी पुग्ने राजमार्ग छोडेर देब्रेतर्फ मोडिएको केही समयमा नै उराठिला पहाडका बीचमा लमतन्न परेर आधुनिकताको संकेत बोकेका थाम्बाचेत र चिलिमे गाउँ पुग्नुहुन्छ। सुविधा सम्पन होटल, विद्युत उत्पादनले माकुराको जालो जस्तै जेलिएका बिजुलीका तार, बौद्ध र ईसाइ धर्म प्रतीकहरू बेग्रल्ती देख्न पाइन्छ यहाँ।
चिलिमे, सान्जेन र त्रिशूली जलविद्युत आयोजनाका जलाशय, विद्युत गृह र प्रसारण लाइन समेत यसै क्षेत्रमा रहेका छन्।
वडा कार्यालय र गाउँपालिकाभरिको एक मात्र निजी विद्यालय यहीँ छ। यो स्थानलाई आधुनिक सहरभन्दा कम आँक्न सकिन्न। यहाँबाट गत्लाङ र आमाछोदिङ्मोलाई बादलमुनि हेर्दै तपाईंको यात्रा उत्सुकताका साथ अघि बढ्छ।
आमाछोदिङ्मो भेट्टाउन आतुर तपाईंका चाहनालाई बाटामै पर्ने गत्लाङ गाउँको भ्रमणले थप रोचक बनाइदिन्छ।
यो गाउँ यात्राका अवधिमा छुटाउनै नहुने यादगार स्थान हो। गत्लाङ प्रवेश गर्ने बाटाका छेउमा बनाइएका मनमोहक माने, ढुङ्गाका पर्खाल, सम्भोटा लिपिमा लेखिएका शिलालेख र पानीका धारा तपाईंको स्वागतमा उभिएका हुन्छन्।
अपत्यारिलो ढङ्गले तरेली परेका बारीमा मौसमअनुकूलका उत्पादनमा लागेका मौलिक वेशभूषा सहितका तामाङ समुदायका किसानलाई हेर्दै गन्तव्यतर्फ अघि बढ्नुहुन्छ।
तामाङ सभ्यताको उद्गम स्थलका रूपमा परिचित गाउँ हो, गत्लाङ। स्थानीय भाषामा यो गाउँलाई ‘गलाङ नाम्सो’ भनिन्छ। तिब्बती मूलका तामाङ जातिका ४०० जति घर गुचुमुच्च परेर बसेको ‘ब्लाक भिलेज’ भनेर चिनिने यो गाउँमा २०७२ को भूकम्पअघि सबै घर ठिङ्गे सल्लाका फलेकले छाएका थिए रे। गाउँका सबै घरका छाना काला देखिने भएकाले उक्त गाउँलाई ब्ल्याक भिलेज (कालो गाउँ) भनिएको रहेछ तर अहिले त्यहाँका अधिक घरमा जस्तापाताका छाना टल्किन्छन्। तामाङ संस्कृति, परम्परागत वेशभूषा र ऐतिहासिक महत्वका बारेमा थप अध्ययन गर्न यहाँका होमस्टेमा बास बस्न सक्नुहुन्छ।
अचम्म त के छ भने गाउँका मानिसहरू निर्वाचित जनप्रतिनिधिभन्दा मुखियालाई नै बढी सम्मान गर्छन्। गाउँको विकास, स-साना विवाद तथा समस्याहरू मुखियाले नै समाधान गर्छन् भने मर्दापर्दा वा पूजाआजामा मुखिया र लामा नै सर्वेसर्वा रहन्छन्। अधिक मात्रामा बौद्ध र आंशिक इसाई धर्ममा विश्वास गर्ने यहाँका मानिसहरूको आम्दानीको मुख्य स्रोत कृषि, पशुपालन, पर्यटन र वैदेशिक रोजगारी हो।
गत्लाङ गाउँको सिरानमा प्रसिद्ध धार्मिक स्थल आमाछोदिङ्मो (पार्वतीकुण्ड) रहेको छ। आमाछोदिङ्मो शब्दको खास अर्थ चाहिँ ‘गहिरो आमा कुण्ड’ भन्ने हुन्छ। माता पार्वतीको बास यसै गहिरो कुण्डमा रहेकाले तामाङ भाषामा आमाछोदिङ्मो नाम रहन गएको जनविश्वास रहेको छ। आमाछोदिङ्मो कुण्ड मात्र नभई ६८३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको उत्तरपश्चिम रसुवाको एक गाउँपालिका पनि हो। यस गाउँपालिकाको जनसङ्ख्या ७३५२ रहेको छ। यस गाउँपालिकामा जम्मा ५ ओटा वडाहरू रहेका छन्। गाउँपालिकाको कार्यालय वडा नं. ४ को गोल्जुङमा रहेको छ। यस गाउँपालिकाको पूर्वमा गोसाइँकुण्ड गाउँपालिका, दक्षिणमा उत्तरगया गाउँपलिका, पश्चिममा धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका र उत्तरमा चीनको तिब्बतसँग सिमाना जोडिएको छ। यस क्षेत्रमा हरेक वर्ष हजारौँको सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटकहरू घुम्न आउने गरेका छन्।
हिन्दू र बौद्ध धर्मका अनुयायीहरूका लागि आमाछोदिङ्मो धार्मिक आस्थाको केन्द्र हो। हिन्दू धर्मशास्त्रअनुसार समुद्र मन्थनबाट निस्केको कालकुट विष सेवन गरेपछि तिर्खाले छटपटाएका महादेव हिमालयतर्फ दौडँदै जाँदा गोसाइँकुण्डमा पुगेर विष वमन गरी तपस्या गरेको र महादेवको खोजीमा भौंतारिएकी पार्वती महादेवलाई पहिल्याउँदै जाँदा हिमालमुनिको यो तालमा आइपुगेको र यहाँ धेरै समय बिताएको हुनाले यो ताललाई पार्वतीकुण्ड भनिएको जनश्रुति रहेको छ। हिमवत खण्डको काखमा अवस्थित यो कुण्ड गोसाइँकुण्डको पश्चिमतर्फ रहेको छ। बौद्ध धर्मग्रन्थले यो कुण्डलाई उत्कृष्ट धार्मिक स्थलहरूमध्ये एक रहेको विश्वास गरेको छ।
आमाछोदिङ्मो (पार्वतीकुण्ड) को प्रवेशद्वारबाट भित्र पस्नेबित्तिकै अलौकिक प्राकृतिक कुण्ड देख्नुहुन्छ। कतै पानीको मुहान नदेखिने तर कुण्डबाट निस्केको पानीको मात्राले तपाईं अचम्ममा पर्नुहुन्छ। वरिपरि जङ्गल रहेको हेरिरहूँ लाग्ने कुण्डमा अनेक प्रकारका सिमसार वनस्पति र जीवजन्तुको उपस्थिति पाउनुहुन्छ।
कुण्डको छेउमा १०८ धारा निर्माण गरिएको छ। बौद्ध परम्पराले सुसज्जित यो कुण्डलाई लुङ्दर र ध्वजापताकाले सजाइएको छ। कुण्डलाई परिक्रमा गर्न मिल्ने गरी ढुङ्गाको कलात्मक बाटो, सिँढी र पर्खाल निर्माण गरिएको छ। नजिकै बनेको बुद्ध पार्कमा आकर्षक र कलात्मक ढङ्गले बनाइएको विशाल बुद्धमूर्ति रहेको छ। त्यस वरपर खान र बस्नका लागि थुप्रै होटल र लज रहेका छन्। मौलिक खानाका साथमा तामाङ सांस्कृतिक झाँकीको मनोरञ्जन पनि तपाईंले पाउनुहुन्छ। म्हेन्दोमाया, दोरा, झाँक्री नाच, म्हाने आदि मौलिक परम्पराले तपाईंलाई लोभ्याउँछन्।
आमाछोदिङ्मोभन्दा अझै माथि चढ्ने समय निकाल्नुहुन्छ भने हिमाली सौन्दर्यको अनुपम दृश्यावलोकन र चौंरीगोठको मज्जा लिन सक्नुहुन्छ। यहाँका हरित पाटनमा फुलेका रङ्गीविरङ्गी फूलले तपाईंको मन हर्छन्। बुकी झार खाँदै गरेका चौरीको बथानका घाँटीबाट टिङटिङ गर्दै निस्कने सुमधुर ध्वनिले स्वर्गीय आनन्दको अनुभूति गर्नुहुन्छ। चौरी, भेंडा र बाख्रा पालनबाट जीविकोपार्जन गरिरहेका गोठालाको दैनिकीले तपाईंको यात्रा थप रुचिकर बन्न सक्छ। चौंरी पालनबाट बढ्दै गएको आम्दानीबाट दंग परेका किसानका अनुभव हासिल गर्न सक्नुहुन्छ।
चाँदीझैं टल्केका हिमश्रृङ्खलाको मनमोहक दृश्यले तपाईंलाई रोमाञ्चित बनाउने छ। हिमाच्छादित छाना बोकेर मुस्कुराइरहेका गणेश हिमाल, अन्नपूर्ण, धौलागिरि, मनास्लु जस्ता हिमालको दृश्यावलोकन गर्न सक्नुहुन्छ। तपाईंसँग पर्याप्त समय रहेमा पाङ्साङ पास (३८४० मिटर) हुँदै धादिङको रुबीभ्याली भ्रमणको थप अनुभव समेट्न सक्नुहुन्छ।
नाउर, रेडापान्डा, कस्तुरी, झारल, डाँफे, चितुवा, हिमचितुवा जस्ता लोपोन्मुख जनावरका प्रजातिहरू यस क्षेत्रमा रहेका छन्। ठिङ्गे सल्लाका रूखहरू, विभिन्न प्रकारका जडीबुटीजन्य वनस्पति तथा अनेक रङका गुराँस यस क्षेत्रमा पाइन्छन्। माथिल्लो हिमाली क्षेत्रमा यार्सागुम्बा समेत पाइन्छ।
जैविक विविधताले भरिपूर्ण रहेको यस क्षेत्र अध्ययनको विश्वविद्यालय नै मान्न सकिन्छ। वनविज्ञान, वनस्पतिशास्त्र र प्राणीशास्त्रको अध्ययन गर्न चाहने व्यक्तिका लागि यो क्षेत्रले मनग्य जानकारी उपलब्ध गराउन सक्ने देखिन्छ। यसैगरी समाजशास्त्र वा मानवशास्त्रको अध्येताका लागि यस क्षेत्रबाट ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषय क्षेत्रका अनेकन अनुभव र लुप्त रहस्य समेत उपलब्ध हुन सक्छन्।
छोटो तर अविस्मरणीय यात्राबाट फर्कने क्रममा कोसेलीका रूपमा दुग्ध विकास संस्थान, चिज उत्पादन केन्द्रबाट उत्पादित चौरीको घिउ, चिज र छुर्पी लिन सक्नुहुन्छ। गत्लाङमा उत्पादित कालो दाल, सिमी, लेकाली आलु वा मौसमअनुसारका तरकारीहरू पनि कोसेलीको रोजाइमा पर्न सक्छन्।