पूर्वी डायरी एक:
मुकुम्लुङ अर्थात् पाथीभराको यात्रा डायरी लेख्न बस्दा यतिबेला पोखराको मौसम चिसो छ।
नयाँ वर्षको पहिलो दिनको पहिलो साँझ ठूलो हुरीले पिङ खेलिरहेछ–पोखराको आकाशभरि।
पूर्वी पहाडलाई शब्दमा उतारेर संगीतको झरनामा नुहाइएका गीतहरूले भन्छन–पूर्व आफैंमा अपूर्व छ, सुन्दरतामा। त्यही सुन्दरतामा रमाउने धोको थियो–वर्षौंदेखि मनमा बोकेर हिँडेको।
विश्वको पहिलो तीर्थ भनेर चिनिएको चतरामा गंगास्नान र मन्दिरको दर्शनपछि हाम्रो पूर्वी यात्राको श्रीगणेश भएको हो। चतराबाट निस्केर गाडीले देब्रे मोड लिएपछि हामीले धरानको बाटो समायौं।
मन म्याराथनमा दौडिएको उसेन बोल्टभन्दा छिटो कुद्दै थियो–हर्क साम्पाङ्गको सहर हेर्न। लाहुरेको सहर, पूर्वको सहर, सुन्दरीको सहर के के भनेर सुन्दै आएको धरान–सपनाको सहर थियो। आँखामा लटरम्म फूलेका थिए धरान बजार हेर्ने सपनाहरू।
धरान बजार छिर्नासाथ ड्राइभर दाइले नबजाएको भए हुने थियो–सिन्धु मल्लले गाएको धरानैको बजारैमा भन्ने गीत। त्यो गीतले झनै लोभ्यायो धरानलाई, माया लगाइदियो धरानलाई र मनमा छापिदियो धरानलाई।
गीतको तालैमा गाडीले आनन्द मान्न थाल्यो होला–चिल्ला र सफा सडकमा। मनै अड्याइदिने लाहुरेका घरहरू, आँखै अड्याइदिने लाहुरेका छोरीहरू। बजार राम्रो कि धराने युवती? प्रश्नको सक्कली जवाफ पाउनै मुश्किल। जति हेर्यो उति हेर्न मन लाग्ने, जति घुम्यो उति घुम्न मन लाग्ने– क्या सहर। धरान रक्स भन्दै गाडीले एक चक्कर लगायो पूरै बजार र गुगल म्यापको सहारामा साँघुरो बाटो समात्यो–बुढासुब्बाको।
बुढासुब्बाका बाँसमा नाम खोपेका कति प्रेमी–प्रेमिकाले गरे होलान् घरजम, कति कति फेरि गए होलान् पहिले खोपेका आफ्ना नामलाई टाउकोमा सेतो फेटा बाँधेका बुढा सुब्बाले नदेखेको भनेर मनमनै रिस फेर्न।
टुप्पा नभएका बाँसले कतिको सम्बन्धलाई पो दिए होलान् र सम्बन्धको टुप्पो? अनि कतिलाई बनाए होला आफूजस्तै सम्बन्धको टुप्पोविहीन?
खैर, यी सबैसँग मेरो व्यक्तिगत साइनो थिएन र त मस्त थिएँ घुम्नलाई। नत्र त उही पुरानो पीर बोकेर हानिरहन्थ्यो होला मुटुले छातीलाई। आकाशमा घाम डुब्नै लाग्दा पुगेको म, बुढासुब्बा भने आफ्नै तालमा शिरमा सेतो फेटा बाँधेर मस्त थिए मन्दिरभित्र।
बुढासुब्बाको बाहिर बजेका घण्टीले मनमा आनन्दको ध्वनी गुल्जार पार्दै थिए। मेरो सिग्नेचर पोजमा तस्वीर खिच्दै थिएँ म। त्यति नै बेला त्यो सानो बच्चा मेरो नजिक नआइदिएको भए हुने, आए पनि मैले मायाले काखमा लिएर फोटो नखिचेको भए हुने, खिचेको भए पनि त्यो बच्चाको अभिभावक नखोजेको भए हुने। काखमा लिएको सानो बच्चालाई पोखरा आऊ ल भनेर नभनेको भए पनि हुन्थ्यो होला। तर यी सबै केही भएन। पोखराबाट बुढासुब्बा पुगेको म, मभन्दा पहिले मेरो पोखरेली फोटो पुगेको रहेछ धरान–कसैको मोबाइलभित्र अटाएर। त्यो सानो बच्चाको आमाले आफूहरू पोखरा घुम्न आउँदा फेवातालको किनारमा खिचेको फोटोको पृष्ठभूमिमा म पनि अटाइसकेको रहेछु–मेरी सानी छोरीलाई लिएर डुल्दै गरेको बेला।
मन्दिरभित्र थपक्क बसेका बुढासुब्बा बाहिरै निस्केर मलाई भने जस्तो लाग्यो– चिनार १ धरानका मान्छेको आँखा पो साना हुन्छन् त, मान्छे ठम्याउन त खुबै सिपालु पो हुन्छन त होउ। त्यस्तै लाग्यो– नत्र आफ्नो मोबाइलभित्र आफ्नै फोटो पछाडि उभिएको अपरिचित मान्छेलाई एकै नजरमा कसरी सम्झँदा हुन्, कसरी ठम्याउँदा हुन् त नि? छक्कै पार्यो धरानले। छक्कै पारिन् एन्जुला चाम्लिङ्गले। बाई भनेर हिँड्नै लाग्दा भनेकी थिइन्–खोटाङ्गे पानी खाको मान्छे पो त हामी। यस्तो लाग्यो हो रैछ, पूर्वेली पानी तगडै हुँदो रहेछ।
काठमाडौंमा क्याम्पस पढ्ने बेला एउटा पूर्वेली साथीले भन्दैथ्यो–धरान नाम हो भने भेडेटार थर। भेडेटार नपुगी धराने रमाइलो थाहै हुन्न भनेर। नामले मात्रै अघाउन मनले मान्ने कुरै भएन, थरको स्वाद नचाखी। अब गाडीलाई सोझ्याउनुथियो–भेडेटारतिरको उकालोमा।
भानुचोकमा ज्यानलाई एकछिन बरालिन दिए पछि हामी उकालियौं–भेडेटारतिर, ब्लुटुथ जोडेर गाडीमा घन्कँदै थिए राजेश पायल र लिला राई, धरान धनकुटा भेडेटार भन्दै।
भेडेटारको तोङ्वा र सुकुटी खुबै सुनेको हो। लोक सेवा पढिरहँदा चाल्र्स प्वाइन्ट भेडेटारमा पर्छ भनेर घोकेको पनि हो। तर मन र कानको साइनो कति नै पो बलियो हुन्छ र आँखाको साइनोभन्दा।
पूर्व घुम्न गएका पूर्व राजा ज्ञानेन्द्र भेडेटार पुगेको बेला बसेको होटलमा छिरिएछ–झोला बिसाउन। मनले रहर गरिहाल्यो– त्यही कोठामा एक रात बिताउँ। तर सबै रहर कहाँ पूरा हुन्छन र!
किस्ता किस्तामा पूरा गर्नुपर्छ जिन्दगीमा मनका रहरहरू। त्यो रहर पनि किस्तामै पूरा गर्नका लागि बाँकी रह्यो। केही मिनेट मात्रै ढिलो भएछ त्यो रहर पूरा गर्न। तै पनि, कोठा हेरेर चित्त बुझाइयो। उस्तै त हुँदा रहेछन् सबै बस्ने कोठाहरू, निद्रा पनि त उस्तै त आउँछ होला नि सबै ठाउँमा। आखिर चित्त बुझाउँदामा बुझ्छ भने किन ढिपी गरिरहनु? ढिपी गरिरहन मन लागेन होटलवालासँग। गरेर पनि पाउने त कहाँ थियो र?
चिसो ठाउँ, सुन्दर ठाउँ। मलाई सबैभन्दा मन पर्ने ठाउँ मुस्ताङ्ग हो, चिसो छ। यस्तो लाग्यो– सुन्दर ठाउँको परिवेश सबै चिसो किन हुन्छ? कि मलाई चिसो ठाउँ मात्र सुन्दर लाग्छ? त्यही चिसो ठाउँमा खुट्टामा चप्पल, ज्यानमा विन्ड चिटर र टाउकोमा क्याप लगाएर निस्किएँ–बजार हेर्न।
सुत्नु पहिले हेरेको बजार आँखाभरि छोपेर परेला जोड्न। तर परेला जोड्नु पहिले भेडेटारको तोङ्गवा र सुकुटी बाँकी नै थियो।
घुम्न निस्कँदा मलाई साना छाप्रे होटलमा पसेर खान रमाइलो लाग्छ। यस्तो लाग्छ–त्यस्तै छाप्रे होटलमा पाइन्छ खानाको निख्खार स्वाद। जिब्रो फड्कारी फड्कारी खान पाइन्छ। औंला चुसी चुसी खान पाइन्छ। नत्र ठूला होटलमा औपचारिकताका भाँडामा पस्केको खानामा कहाँ पाउनु होउ असली स्वाद! त्यही भएर त छिरियो, आफ्नै रहरको छाप्रोतिर।
रातो भाले खाजा घर लेखेको थियो भित्र पस्ने ढोका छेउको बोर्डमा।
यात्रामा हामी ६ जना थियौं–ड्राइभरसहित। अमेरिकातिर ग्रहण लागेको दिन थियो त्यो। त्यही निहुँमा अरू साथीहरू भेज भइदिए, ड्राइभर र म मात्र भएछौं ननभेजवाला। ३ जना तोङ्गवावाला र ३ जना पानीवाला। २ जना ननभेजवाला र ४ जना भेजवाला। सिंहदरबारतिरको भन्दा पनि नबुझिने समीकरण बन्यो त्यो।
देख्दा तामाको भाँडाजस्तोमा साहुजीले ३ वटा तोङ्गवा भनेर टेबलमा राखिदिए। बिर्कोको बीचबाट नली निस्किएको थियो। सोधें–कसरी खाने हो भनेर। आफूले खाँदै गरेको देखाएर सिकाए साहुजीले। साथीहरूले जिस्काए–यत्ति पनि नजान्ने मान्छे हाम्रो यात्रामा रहेछ है भन्दै। जे होस्, चाखियो पूर्वेली तोङ्गवा। लोकल कुखुराको त्यो स्वाद मेरो जिब्रोमा अझै पनि छ। त्यसपछि पिएको सयौं लिटर पानीले पनि पखाल्न सकेन त्यो स्वादलाई। खास्साको स्वाद पो त! म त भेज भनेर पकौडा खानेहरूलाई अहिलेसम्म पनि जिब्रो फड्कार्दै पछुतो लगाउन सकिएको छ। तब पो भेडेटार! सुकुटी त मलाई पनि दू।।।रको कुरो हो। सुकुटी नखाए पनि त भेडेटारमा रमाउन सकिँदो रहेछ।
दोस्रो दिनको बिहान।
घाम जन्मिसकेको थिएन पूर्वी पहाडमा। रिमरिम उज्यालोमै गाडी मूलघाट बजारतिर ओरालो लाग्यो। हामीले यात्रा गर्ने तय गरेको बाटो तमोर करिडोर थियो। तमोर नदीको किनारै किनार पाँचथर निस्कनु थियो। ठ्याक्कै मूलघाट बजारमै त नपुगे पनि हुने थियो। तर तमोर नदीको पुलमा फोटो खिच्नु थियो। अनि चियाको तलतल पनि थियो। चिया र तमोर पुलका लागि मूलघाट बजार पुगियो। तमोर पुलको एक छेउमा उभिएर पोज–पोजमा फोटो खिचेपछि नजिकैको होटलमा छिर्यौं। आखिर मन चिया–चिया भइसकेको थियो।
जागिरे जीवनको सुरूआतीमा बाह्र वर्ष पहिले रूपन्देही जिल्ला अदालतको क्यान्टिनमा अन्जु राई दिदीले बनाएको चिया, खाजा र खाना खाएर राई भान्सा चाखेको म, एक वर्षसम्म त्यो भान्साको स्वाद जिब्रोमा अड्याएपछिको पहिलो राई हात थियो, त्यो तमोरको छेउमा मलाई चिया दिने। तिख्खर थियो चिया। जिब्रोमा राम्रैसँग गडेछ मिठास। सानैदेखि राई लिम्बूप्रति प्रगाढ आस्था भएको म– त्यसपछि मज्जैले राई लिम्बू भेगको यात्रामा रमाउँछु भन्ने लाग्यो।
तमोर करिडोर सुनसरीको चतराबाट नै तमोर नदीको किनारै किनार भएर बग्छ–उत्तरतर्फ। हामी भने धरान भेडेटारको बाटो हुँदै त्यहाँ पुगेकाले गाडीले मूलघाट बजारलाई देब्रेतर्फ तल्तिर पारेर बाटो समाएपछि मात्रै तमोर करिडोरमा पस्यौं।
ठूलो, चौडा तर कच्ची बाटो। तमोर नदीलाई देब्रे पारेर उकालो बग्ने सडक। खोंचैखोंचको बाटो सुनकोशी भेटाउन ओरालो झरेको तमोर नदी कतै पनि आत्तिएको र मात्तिएको देखिएन। कति शालिन नदी। ठूला ठूला घुम्ती बनाउँदै, ठूला ठूला बगर बनाउँदै झरेको। नदी पारिको भित्तोबाट सोझै अंग्रेजी आकार यु बनाउँदै वारिको भित्तोमा आएको देख्दा गाडीभित्र गिरी दाइ दार्शनिक भैहाले।
भन्दै थिए– नदी पनि त हिँड्दो रहेछ आफ्नै बगर तरेर। त्यस्तै लाग्यो– आफैंले बनाएको बगर तरेर आएको थियो तमोर कुनै कुनै खोंचमा त। नदी र हाम्रो यात्रा भने ठ्याक्कै उल्टो थियो। नदी तल अनि हामीमाथि सोझिएका। बाटोमा अरू कुनै गाडी नभेटिए धुलो खानु पर्थेन भन्ने भयो। तर त्यत्रो बाटोमा हाम्रो मात्रै गाडी हुनुपर्ने भन्ने त होइन नि त। पाँचथर, ताप्लेजुङ्गतिर निस्किएका जिप अनि पाथीभरा हिँडेका तीर्थालु बोकेका स्कार्पियो गाडीहरू पनि हाम्रै लयमा थिए।
कहिले को अगाडि कहिले को अगाडि। मानौं म्याराथनका प्रतिस्पर्धी हुन् ती गाडीहरू। खासमा दौडमा जित्ने ध्यान भन्दा पनि अगाडिको गाडिले उडाएको पाथीका पाथी धुलो खानु नपरोस् भनेर हुइँकिएका गाडीहरूको चाल हेर्नमै पनि कम्ता रमाइलो थिएन। बाटोभरि भेटिएन कुनै खास बस्ती। बस्तीविहीन भूगोलमा हाम्रो गाडीले पाङ्ग्रा गुडाउँदै उकालिँदै थियो। पारिपट्टि उभिएका थिए अग्ला पहाडहरू।
४ घण्टाको यात्रामा पहाडहरूको लामो श्रृङ्खला सायद दुई–तीन ठाउँमा मात्रै टुट्यो होला, नत्र जोडिएकै थिए ती पहाडहरू। आखिर पूर्वेली पहाड पो हुन त! पूर्वेली मान्छेका मनजस्तै त जोडिएका थिए ती पनि।
फिदिम बजार जाने र ताप्लेजुङ्ग निस्कने दोबाटो भेटिएपछि ड्राइभर दाइले गाडी देब्रे मोडे। अनि त्यहीँबाट सुरू भयो यात्राको अर्को किस्सा।
देब्रे मोडिएको गाडी अलि अगाडि पुगेपछि भेटियो हेवा खोला। अनि खोलाको किनारामा पारिपट्टि सानो बस्ती। यति बेला घाम टाउकोमाथि आइपुगिसकेको थियो। पेटले भन्दै थियो– ए साथीहरू, लौन मलाई पनि सम्झ। म त भोकाइसकें पो त। हो त, चाउचाउ र केक खाँदै हिँडेका हामी खाना खाने बेला टर्न लागिसकेको हेक्का नै भएनछ। तर खाना खाने पो कता। अलमल्ल परियो। कतै देखिएन बाटो छेउमा भान्से होटल पनि। धन्न, खोला छेउमा भेटिए टिपर चालक। अनि उनकै सल्लाह मानेर हेवा खोला माथिको झोलुंगे पुल तरेर पुगियो माझीटार।
हेवा खोलाको माछा स्टेसन।
माझीटार पुरानो माझी बस्ती। माझी र तामाङ जातिका केही घर रहेछन्। बस्ती हेर्दा सयौं वर्ष पुरानो गौंडा हो भनेर अनुमान गर्न कुनै दुविधा भएन। छिर्यौं पुल मुखकै होटलमा।
विकट पहाडी भेगको होटल। खाना तयार भएर हामीलाई पर्खेर बस्ने कुरै भएन। साहुनीलाई माछा खानाको अर्डर गरेर बस्दै थियौं। उनै साहुनीले आइडिया दिइन्– तमोर नदीमा गएर केही बेर र्याफ्टिङ गरेर आउने भनेर। मान्यौं उनको त्यो आइडिया। आखिर खाना तयार हुन्जेल हेवा खोलाको कलकल आवाज सुनेर बस्ने भन्दा अरू के पो गर्न सकिन्थ्यो र नत्र।
मोबाइलमा भुल्न पनि न नेपाल टेलिकमले टावर देखाएको थियो न वाइफाइको बक्स देखियो कतै।
माझीटार बस्ती बसेको तमोर नदीको किनार कुनै समुद्री किनारजस्तै बनाएका रहेछन्। बालुवामाथि भलिबल खेल्दै थिए केही युवाहरू। त्यसको छेउमै ठूलो छाता राखेका, छातामुनि टेबल र केही थान कुर्सीहरू। गर्मीको बेला किनारमा बसेर चिसो बियर खाँदै रमाउने ठाउँ बनाएका रहेछन्। तमोरमा एउटा डुंगा माथितिरबाट आउँदै थियो। अनि केही जोर डुंगा यात्रु पर्खेर बसेका थिए बालुवा र पानी दुवैलाई साथी बनाउँदै।
छातामुनि थिए साना भाइहरू। त्यस्तै १२–१३ वर्षका। हामीलाई हेरे कायाकैरन। अनि भने– ल ल दाजुहरू राफ्टिङ गरिहालौं। चिनिहालेछन् हामीलाई नदीमा रमाउन आएका भनेर। साथीहरूका आँखामा गज्जबका रहरहरू फुलिहाले। मेरा आँखामा भने डरका बाछिटा। तै पनि आँट गरें। सम्झें माउण्टेन ड्यूको विज्ञापन– डरको आगे जित है! अनि भएँ राजी– जिन्दगीमा पहिलोपटक नदीमा डुंगा खियाउन।
डरबाट सुरू भएको राफ्टिङ यात्रा दिनभरि यतै पानीमा तैरिरहुँ भन्ने लाग्दालाग्दै टुंग्याइयो। जिन्दगीको पहिलो अनुभव बोकेर बालुवामा टेक्दा खुट्टाले मानेकै थिएनन् हिँड्नलाई र पनि हिँड्नु त थियो नै। आखिर साँझ पर्दा–नपर्दा पाथीभराको फेदीमा पुगेर थकान मेटाउनु थियो हामीलाई। राफ्टिङको पैसा तिरेर आयौं होटल।
होटलमा साहुनी दिदीले हेवा खोलाको माछाको झोल र लोकल चामलको भात ठीक्क पारेकी रहिछन्। खायौं– जिब्रो फड्कारी फड्कारी। अनि लाग्यौं– उकालो। ताप्लेजुङ जाने एउटा बाटो। त्यही बाटोले अल्झाइदियो कतै हामीलाई।
धुलाम्य सडकमा सिमेन्ट बोकेका लामा ट्रकबाहेक केही भेटिएनन्। घण्टौंसम्म पनि न अरू कुनै गाडी भेटिए न कुनै बस्ती न बाटोमा मान्छे। अनि पस्यो चिस्यो–छाती छेडेर मनभित्रै। लाग्यो–हामीले बाटो बिरायौं। त्यो चिसो त्यतिञ्जेल छिरिरह्यो–जुन बेला बाटोमा काम गर्दै गरेका केही मानिसहरू भेटिए। बल्ल प्रष्ट भयो– हामीले सजिलो चलेको र नियमित बाटो छोडेर मध्य पहाडी लोकमार्गको बाटो समातेछौं। अनि त के चिसो मात्र छिर्नु मनमा– लेकको सिरोटो नै चलिहाल्यो नि।
गाडीभित्र चलेको एसीले ज्यान चिसो बनाएको बेला मनभित्र सिरेटो पनि चलेपछि के भयो होला हाम्रो हाल? तै पनि तुरून्तै मन बदल्यौं र त्यो यात्रालाई अवसरको रूपमा लियौं। नत्र कहिले हिँड्न पाउनु त्यो बाटो? बाटो लामो भए पनि घुमेर भालुचोकमा पुगेर मूल बाटोमा मिसिन्छ भन्ने थाहा पाएपछि ड्राइभर दाइ अलि खुसी देखिए अनि बजाए पूर्वेली गीत।
वैशाखको बेला, साकेलाको मेला, किन बस्छ्यौ कान्छी पीरैमा भन्दै डिजे मेवाहाङले एकछिन भुलाए हामीलाई। सम्झ्यौं– वैशाख आउनै लाग्दा ड्राइभर दाइले गतिलै गीत बजाए।
जिन्दगीमा बाटो बिराउनु जिन्दगी नै बिराउनु पक्कै होइन। जिन्दगीले थप अवसर पनि त दिन्छ बाटो बिराउँदा। यात्रामा पनि त्यही हो। सबै हिँडेको बाटो मात्रै हिँडेर कहाँ नयाँ ठाउँ देख्न पाइन्छ र? कहाँ नयाँ अनुभव लिन पाइन्छ र? त्यही नयाँ ठाउँको नयाँ अनुभवसहित गाडी केही घण्टापछि मिसियो भालुचोकमा।
ड्राइभर दाइले स्टेयरिङ्गलाई देब्रे काटेपछि मिसियो चिल्लो बाटो। यतिञ्जेल मौन जस्तै बसेका रामचन्द्र दाइले भनिहाले– बल्ल भेटियो हेमा मालिनीको गालाजस्तो बाटो। पट्यारलाग्दो जस्तो भैसकेको यात्रामा त्यो हाँसोमजाक गज्जबको स्फूर्ति दिनेवाला भइदियो। अनि त गाडी र हाम्रा मन उडिहाले– बायुपंखी घोडाजस्तै गरी।
काबेली खोलासम्म ओरालो झरेपछि गाडीले फेरी उकालो बाटो समात्न थाल्यो– माथि फुङलिङ बजार डाँडामा बसेर हावाको झोंकामा जुलफी हल्लाउँदै गरे जस्तो लाग्यो। बजार छेउमै बसेर कसैले हामीलाई कुरेको भए झनै कस्तो हुँदो हो। कहिले आउला चिनार मेरो बस्तीमा भनेर कुनै लुङ्गाले मैलाई पर्खेको भए झनै कस्तो हुँदो हो मन? तर ती कुनै पनि भएन। पानी रङ्गको सहर पोखराबाट पूर्व हुँइकिएका हामीलाई कुर्ने आँखा त्यहाँ कुनै त थिएनन्।
मनमा आनन्दको बतास चलाउँदै हामी फुङलिङ बजार पुग्यौं। नेपालको राष्ट्रिय पोशाक दौरा सुरूवाल लगाएर हिँडेका लिम्बू बाहरूलाई देख्दा मनै फुरुङ्ग भयो। काठमाडौं, पोखरातिर राष्ट्रिय पोशाक दौरा सुरूवाल भनेर लेख लेख्ने अनि त्यसकै पैरवी गर्दै हिँड्ने बुद्धिजीवीहरू आफैं लगाउँदैनन् त्यो पोशाक।
शिरमा टोपी र सर्टमा टाई लगाउने ती राष्ट्रवादी बुद्धिजीवीहरूको भन्दा फुङलिङ बजारमा भेटिएका यी बाहरूको बुद्धिको जिबी बढी भएको ठम्याउन हामीलाई धेरैबेर लाग्दै लागेन। केही बेर गफियौं तिनै बाहरूसँग। अनि फेरि लाग्यौं अगाडि– सुकेटार विमानस्थलको छेउ भएर पाथीभरातिर।
घाम पश्चिम पहाडबाट छेकिँदासम्म हामी काफ्लेपाटी पुगेका थियौं। पाथीभराको बेसक्याम्प नै रहेछ त्यो ठाउँ। थोरै पसल थिए– बाक्लो कपडा बेच्न राखेका, पूजाका सामग्री बेच्न राखेका, बास बस्न पनि मिल्ने गरी बनेका। त्यहाँसम्म गाडी जाने अनि सुरू गर्नुपर्ने पाथीभराको पैदले उकालो यात्रा। गाडीलाई पार्क गर्यौं त्यतै। अनि गाडीभित्रै पार्क गर्यौं हाम्रा झोलाभित्र अटाएर साथै पुगेका एक्स्ट्रा कपडा पनि। झोला हलुङ्गो पार्यौं र बोक्यौं। उकालोको सहारा लठ्ठी त त्यहीँ पाइने रहेछ होटल पसलहरूमा। केही सामान किन्यौं थापा दाइको पसलमा र उनकै पसलबाट रोजी रोजी लठ्ठी छान्यौं– हाम्रो उकालोको सहारा।
अनि सुरू भयो– मुकुम्लुङ्गको उकालो।
क्रमश: