यात्रा संस्मरण
समय त बगिरहन्छ, कहिले सुल्टो कहिले उल्टो। एउटा रहर थियो 'क्लकवाइज' घुमेको देश हेर्ने। नभन्दै पूरै २२ वर्षमा त्यो रहर पूरा भयो।
घर-टोल चारैतिर हल्लखल्ला भएछ - 'को रै'छ जो कोसौ माइल पार गर्दै सात समुद्रपारि उनीहरूलाई भेट्न मात्र आएछन्।
घर टोलमा जता पनि उही चर्चा हुँदा यता मर्काडोमा पनि त्यसले स्थान पायो।
हामी त्यहाँ बस्दा नजन्मेको छोरो बीस वर्षको भइसकेछ। स्कुल जाँदा खाटमाथि उभिएर आफ्नी अम्मीलाई म्वाइँ खाने ती सानी छोरी हेन्दिरा फियन्सी बनाउने उमेरकी भइछन्। अर्की छोरीले बिहे गरेर बालबच्चाकै आमा सकिछन्। हो, समयले ठूलो फड्को मारिसकेछ।
समयको जति छलाङ थियो, त्यसको दोब्बर छलाङ परिवर्तनले मारेछ।
‘एरो डिली टिमोर-लिस्टे' विमान जब राजधानी डिलीको समुद्र किनारामा ल्याण्ड गरेसँगै थुप्रै उत्सुकता मनभित्र घुमिरह्यो।
सन् २००१ मा म बेग्लै खालको रोमाञ्चकताबीच धेरै चिन्ता बोकेर पहिलो पटक ओर्लिएकी थिएँ।
सानो छोरो अंकितलाई नेपालमै छोडेर आउँदा काठमाडौं विमानस्थलमा छोरा रोएको आवाज सिंगापुरदेखि डार्विन हुँदै इस्ट टिमोरसम्म गुन्जिरहेको थियो।
त्यो बालखलाई एक्लै छोडेर आउँदा आफैंमा स्वार्थी महसुस भइरहेको थियो। तर जे होस् म आउनुमा एकखालको बाध्यात्मक परिस्थिति थियो।
मलाई र सानो छोरालाई नेपालमा छोडेर कैलाशजी संयुक्त राष्ट्र संघको नोकरी गर्न इष्ट टिमोर आउनुभएको थियो।
यति लामो यात्रा गरेर आउँदा बल्ल थाहा भयो - अहो! यस्तो टाढा समुद्रै समुद्रको बीच टापुमा पो मैले श्रीमानलाई नोकरी गर्न पठाएकी रहेछु।
दोस्रो पटक सन् २०२३ मा विमानबाट टिमोर झर्ने बित्तिकै मलाई साँच्चै भन्ने हो भने त्यो जमिन चुम्न मन लागेको थियो। त्यहीँ माटोले हो हामीलाई आर्थिक रूपमा सबल बनाउनुका साथै कैलाशजीको करियरमा अनुभवले फड्को मारेको।
करिब २२ वर्षपछि हामी त्यहीँ ठाउँ हेर्न पुन: आएका थियौं। अरू सामान्य विदेशी पर्यटकजस्तै हामीले पनि लाइनमै बसेर अन-अराइभल भिसा लियौं।
भिसा शुल्क तिरेपछि अध्यागमन अफिसरले हाम्रो पासपोर्टमा छाप लगाइदिएपछि कैलाशजीले भन्नुभयो- 'आज मलाई यहाँ भिसा फि तिर्दा पनि कस्तो सन्तोषको अनुभूति भइरहेको छ। यो देशमा मैले कमाएँ पनि, जमाएँ पनि, हामीले नै बोर्डर कन्ट्रोलको ट्रेनिङ दिन्थ्यौं आज उनीहरू यसरी काम गर्न सक्ने भएको देख़्दा औधि खुसी लाग्यो।'
विमानस्थलमा जोग विश्वकर्मा (इन्जिनियर साहब) जी हामीलाई लिन आउनुभएको थियो।
त्यसपछि हामी आफूले बुक गरेको होटल ‘टिमोर प्लाजा' गयौं। होटलको लबीमा मात्र के पुगेको थियौं, सुरूमै एउटा विशाल फोटोफ्रेम देखियो, जहाँ नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उहाँकी पत्नी गायत्रीलाई उक्त होटलमा स्वागत गरेको तस्बिर राखिएको थियो। यो देखेर थप खुसी लाग्यो।
टिमोरमा पाँचतारे होटल, पिच सडक, ठूला-ठूला सपिङ मलहरू। म त हेरेको-हेर्यै भएँ। हामी टिमोर बस्दा एउटा सानो ‘हेलो मिस्टर’ भन्ने डिपार्टमेण्टल स्टोर मात्र थियो। फलफूल र तरकारी किन्नका लागि घर नजिक एउटा सानो मर्काड़ो (बजार) थियो।
अहिले त सपिङ मलहरूमा केटा-केटीहरू पनि राम्रा राम्रा लुगा लगाएका अंग्रेजी बोल्न अनि बुझ्न सक्ने भएका, अंग्रेजी बोलेर सामान बिक्री गर्न सक्ने भएका। मेरो नजरमा त अचम्मै भयो। बेग्लै खालको खुसी लाग्यो।
मन त अझै उही पान्ताई केलापा पुग्नुपर्नेमा दौडिरहेको थियो। आफू पहिले बसेको घर अनि घरबेटी बाबा (एल्बिनो) इबू (अल्बोटिना) भेट्नु थियो। भोलिपल्ट बिहान हामी जोखजीसँगै पान्ताई केलापातिरै गयौं। तर हामीसँग कुनै ठेगाना थिएन। अन्दाजको भरमा घर खोज्दै गयौं। आफू बसेको घर मैले चिनिहालेँ।
गाडीबाट ओर्लिएर सिधै आफ्नै जस्तो लागेर घरभित्र पस्न खोजेँ। त्यो घरमा दुइटी महिला र चार पाँच जना केटाहरू थिए।
हामी धेरै वर्ष अगाडि यहीँ घरमा बस् भन्दै आफ्नो परिचय दिएर घरभित्र पसि आफू सुत्ने कोठा, भान्साकोठा बैठक कोठा सबै हेर्दै फोटो खिच्न थालेँ।
पुरानो समय झल्झली सम्झना आयो। लोकल भाषाले समस्या परेपछि आलु पकाउनुभन्दा पिडालु पकाइदिने मारियाको पनि सम्झना आयो।
पछि उसैले ल्याइदिएको भाषा इण्डोनेसियाको किताब पढेर भाषा राम्ररी नै बोल्न सक्ने भएकी थिएँ। त्यसपछि टिमोरीहरूसँग कुरा गर्न सहज भएको थियो।
एकचोटि हामीले यहीँ घरको आँगनमा टेण्ट हालेर सिभिलियन अफिसर, नेपाल पुलिस, नेपाल आर्मीको अफिसर साथीहरू मिलेर नेपाली नयाँ वर्ष मनाएको थियौं, खाएको नाचेको रमाइलो गरेको सम्झना सबै सिनेमाको रिल जस्तै घुमिरह्यो।
त्यसपछि मैले यो घरको घरबेटीबारे सोधखोज गरेँ। त्यहाँ भएका कसैले हामीलाई नचिनेकाले बताउन आनाकानी गरे। संयोगले एउटा अलि सिनियर मान्छेले उनीहरू बस्ने घरमा लगिदिए।
इबुको माइली छोरी मरिनाले हामीलाई चिनिहानिन्। अलि लजाएजस्तो गर्दै घरभित्र लगेर सोफामा बसाइन्। बाबा पनि त्यहीँ थिए, तर उनलाई स्ट्रोक भएको रहेछ। मान्छे चिन्दैन रै'छन्, कुरा पनि सम्झिन्न रहेछन्। नरमाइलो लाग्यो।
केहीबेर बाबासँग एकोहोरो कुरा गर्यौं। पुरानो सम्झना ताजा भयो। ऊ बेला संयुक्त राष्ट्र संघले टिमोरी नागरिकको घर मर्मत गर्न र उनीहरूको आर्थिक स्थिति उकास्न जुन घरमा बस्ने हो त्यहीँ घरको धनीलाई मासिक तलब दिनू भनेर आफ्ना कर्मचारीलाई भनेको थियो।
हामी बसेको त्यो घरमा इबू (छोरी) ले खाना बनाउन, लुगा घुन, घर सफा गर्न मलाई सघाउँथिन्। उनका बाबाले सेक्युरिटीको काम रेखदेख गर्थे। त्यसबापत उनीहरूले मासिक तलब अमेरिकी डलरमै पाउँथे।
विशेषगरी जब कोही विदेशी मसँग कुरा गर्न आउँथे, बाबा मलाई नछोडी त्यो विदेशी नगएसम्म मेरो छेउमा उभिरहन्थे। त्यो कुरा मैले पछि मात्र थाहा पाएँ, बाबा त मेरो सेक्युरिटीको लागि पो तत्पर हुँदा रहेछन्।
रङ जस्तो भए पनि मनका असाध्यै मायालु थिए। आज तिनै बाबा बोल्न नसक्ने भएको देख्दा माया लाग्यो। बाबाको हातमा हामीले अष्ट्रेलियाबाट लगेको चकलेटको बट्टा राखिदियौं। केहीबेरमा कान्छी छोरी हेन्दिरा पनि आइपुगिन्। उसले न हामीलाई चिनिन् न हामीले नै उनलाई चिन्यौं। मारियानाले चिनाइन्, मारियानाले अंग्रेजी नबुझे पनि हिन्दिरा अंग्रेजी बोल्दिरहिछन्। हामीलाई सजिलो भइहाल्यो।
मैले इबूबारे सोधखोज गरेँ। उनले मर्काडो (मार्केट/ पसल) मा रहेको बताइन्। मलाई भेट्न मन लाग्यो। त्यसपछि हामी सबै गाडीमा बसेर मर्काडो गयौं। इबू त पहिलेकै जस्ती रहिछन्।मुखभरी पान (मलुस) राखेकी रहिछन्। उनी अहिले पनि उस्तै थिइन्। मलाई देख्ने बित्तिकै अंगालो हालेर भावविह्वल भइन्।
धेरैबेर इबूले मलाई अंगालोमा बेरिरहिन्। उसलाई सपना हो कि विपना जस्तो भयो रे। छोरीले तेतुममा भनिरही। यद्यपि सन् २००१ मा इण्डोनेसियन भाषामा म उनीहरूसँग मजाले कुरा गर्न सके पनि अहिले सबै बिर्सिसकेको थिएँ। दोहोरो कुरा हुन नसके पनि हाम्रा आँखा-आँखा बोलिरहे। मन बोलिरहे।
मर्काडोमा वरपरका थुप्रै मान्छेहरू झुम्म आएर हाम्रो भेटघाट बातचित अचम्म मानेर हेरिरहेका थिए।
सन् २००१ भन्दा अहिले इबूको व्यवसायको आकार निकै ठूलो भएको देखेँ। दिनको करिब एक हजार डलर (टिमोर लिस्टेको करेन्सी नै अमेरिकी डलर हो) को बिक्री हुँदो रहेछ। यो सुनेर मैले उनीहरूको लिभिङ स्ट्याण्डर्ड बढेको महसुस गरेँ। धेरै खुसी लाग्यो।
त्यसपछि हामी फर्कने तयारी गर्यौं। इबूले आफ्नै भाषामा छोरीलाई केही भन्दै थिइन्। हिन्दिराले आमाको तर्फबाट हामीलाई भनिन् 'यति ठूलो मान्छे त्यति टाढाबाट हामीलाई भेट्न आउनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद। हामी हजुरहरूलाई भोलि या पर्सी बेलुका डिनरको लागि बोलाउन चाहन्छौं।'
के भन्ने भनेर कैलाशजी अलिकति अकमक्क पर्नुभयो। हामीले खबर गर्छौं भन्यौं। कैलाशजीले इबूलाई अलिकति पैसा हातमा राखिदिनु भयो। इबूले गहभरी आँसु पार्दै हामीलाई बिदा गरिन्।
गाडीमा जोगजीसँग कैलाशजीले भन्नुभयो- डिनरको भार इबूहरूलाई दिनु र? मलाई त अप्ठ्यारो लागिरहेको छ, उनीहरूको आर्थिक स्थिति कस्तो छ कुन्नी?
'होइन सर, हजुरहरूलाई भेटेपछि उनीहरूको परिवारमा देखेको खुसी देख्दा हजुरले नाइँ भन्नु भो भने चित्त दुख्ला।'
त्यसपछि हामीले डिनरमा जाने टुंगो गर्यौं। एकछिन पछि हेन्दिराको फोन आइहाल्यो, डिनरका लागि ठाउँ र समय टुंगो लाग्यो।
साँझ भइसकेको थियो कैलाशजी पहिले बसेको भेलावर्डे पनि गयौं। तर त्यो घरमा कोही भेटिएनन्। त्यसपछि हामी होटल फर्कियौं।
कैलाशजीसँगै काम गरेका दुई टिमोरी स्टाफ हामीलाई भेट्न होटलमै आउनुभयो। उनीहरूसँग पुराना र नयाँ कुराहरू सुनियो।
पछिल्लो समय त्यहाँ विकास निर्माणका कामले फड्को मारे पनि नागरिकको लिभिङ स्ट्याण्डर्ड बढाउन अझै धेरै कुरामा ध्यान दिनुपर्ने र गर्नुपर्ने कुराबारे उनीहरूसँग कुराकानी भयो।
भोलिपल्ट हामी फेरि उही पान्ताई केलापाको समुद्र किनारतिर गयौं। टिमोरीले बेच्न राखेको नरिवल पानी खाइयो। त्यहाँ ठूलो पार्क बनेछ।
(ऊ बेला त्यहाँ नजिकैको चउरमा एकपटक ‘एसिया नाइट’ कार्यक्रम भएको थियो, जसमा नेपालको तर्फबाट नेपाली पोसाक लगाएर स्टेजमा कैलाशजी र मैले फेसन शो समेत गरेका थियौं। अरू नेपाली साथीहरूले ‘वारी जमूना, पारी जमूना.. जमूनाको फेदैमा मनकामना....' बोलको नेपाली गीतमा नाचेका थिए।
नेपालीको प्रस्तुतीमा कार्यक्रमका प्रमुख अतिथि तत्कालीन नेता ‘जनाना ग़ुज्माओ’ (स्वतन्त्रता पछि टिमोर लिस्टेको पहिलो राष्ट्रपति) थिए, अनि त्यहाँ हामीले परिचय गर्न जाँदा ‘नेपाल’ भनेर उहाँले हाम्रो प्रशंसा गरेको सम्झना ताजा भयो।
त्यसपछि हामी यूएन (उन्टायड़) को हेडक्वाटर भएतिर हिँड्दै गयौं। जुन भवन अहिलेको राष्ट्रपति भवन भएको रहेछ। त्यहीँ नजिक रहेको कैलाशजीको पुरानो अफिस खोज्दै पुग्यौं। छेउमा रहेका सेक्युरिटी गार्डले गेट खोलिदिए, कुनै आन्दोलनको क्रममा उक्त भवनमा आगो लगाइएको रहेछ।
त्यहीँ खण्डहर भवनका हरेक कोठा पसेर कैलाशजीले नियाल्नुभयो।
'हामी यहीँ बसेर काम गर्थ्यौं' भनेर कैलाशजीले भन्नुभयो। आफ्ना पुराना दिन सम्झिँदै हामी अघि बढ्यौं।
सन् २००० मा कैलाशजी इष्ट टिमोरको राजधानी डिली आउँदा सहरका घरहरूमा दनदनी आगो बलिरहेको थियो। कुनै पनि घर सग्ला थिएनन्। राजधानी डिलीमा बस्नयोग्य घर नभएकोले त्यो बेला यूएनका कर्मचारीलाई समुद्रको ठूलो जहाजमा नै बस्ने व्यवस्था मिलाइएको थियो।
म सन् २००१ मा आउँदा पनि राजधानी डिलीका घरका छाना र भित्ताहरूमा आगोले डढेको भग्नावशेष बाँकी नै थिए।
२२ वर्षपछि राजधानी डिली घुमिरहँदा सडक र भवन निर्माणको विकासमा आकाश जमिनको फरक देखियो। विकास निर्माणमा मुलुकले निकै प्रगति गरेको देखियो।
विकास निर्माणमा विशेष ध्यान दिए पनि रोजगारी र जीवनस्तर उकास्न अझै विशेष पहल गर्नुपर्ने टड्कालो अभाव महसुस भयो।
अर्को दिन दिउँसो हामी अरू जिल्लाहरू बाउकाऊ, आर्मेरातिर लाग्यौं। लिकिसाको समुद्र किनारा पुगियो। जहाँ यूएनमा काम गर्नेहरू आइतबार छुट्टीमा समुद्रमा पौडिन जाने गर्थे। जिल्लातिरको स्थिति पनि पहिलेभन्दा विकास भइरहेको रहेछ। जताततै स्कुल खुलेका थिए। सडक विस्तार पनि भइरहेको थियो।
हेन्दिराले दिएको समय र ठेगाना अनुसार हामी डिनरका लागि पुग्यौं। हाम्रो स्वागतमा स-परिवार आएका थिए। इबू, अल्बेटीना, जेठी छोरी ओक्टाभिया अनि ९ वर्षकी नातिनी, इबूकी कान्छी छोरी हेन्दिरा अनि हामी इष्टटिमोर हुँदा इबूको नजन्मेको छोरो एड्डी।
म टिमोर हुँदा नजन्मेको छोरो मेरो नजिकै बस्यो। भर्खर युनिभर्सिटीबाट आएको रहेछ। मैले नाम सोधे - उसले एड्डी भन्यो। अंग्रेजी राम्रो बोल्दोरहेछ। उनीहरूको परिवारमा हेन्दिरा र उसले बोर्डिङ स्कुलमै पढेका रहेछन्।
जेठी र माहिली दिदी पोर्चुगिच स्कूुलमा मात्र पढेकाले अंग्रेजी बोल्न जान्दैनन् अनि नराम्रो मान्छन् भन्दै थियो।
ऊ अझ नजिक आयो अनि भन्न थाल्यो, 'अस्ति साँझ जब म युनिभर्सिटीबाट घर आएँ। टेबलमा ठूलो चकलेटको बट्टा देखेँ, कहाँबाट आयो भनेर सोधेँ, घरमा सबैजना एकदम एक्साइटेड भएर कुरा गरिरहेका देखेँ अनि मैले सोधेँ के कुरा हो?,' ऊ भन्दै थियो - जब हेन्दिराले आज कोही यस्तो मानिस आयो जो त्यति टाढाबाट हाम्रो अम्मी अब्बालाई भेट्न आउनुभएको रे, उहाँहरूले नै ल्याउनु भएको चकलेट्स हो। म त त्यो सुनेर एकदम छक्क परेँ।
फेरि भन्दै गयो- ओहो राजदूत जस्तो त्यति ठूलो मान्छे हाम्रो घरसम्म आएको, पक्कै पनि मेरो इबू बाबाले उहाँहरूलाई ऊ बेलामा राम्रो गरेको हुनुपर्छ भनेर गर्व लाग्यो। र मलाई हजुरहरूलाई तुरून्तै भेट्न मन लाग्यो।
उसले हाम्रै बारेमा धेरै रातिसम्म सोचिरहेको थियो रे। संसारमा यस्ता पनि मान्छे हुँदा रहेछन् है जस्तो लाग्यो रे। मलाई तपाईंहरूलाई एकदम देख्न मन लागेर म युनिभर्सिटीबाट सिधै आएको भन्यो।
नयाँ जेनरेसनको केटो एक्साइटमेण्ट, सपना, कल्पना धेरै बोकेको युवालाई मैले सोधेँ - के छ त प्लान भविष्यको? उसको सपना पनि अष्ट्रेलिया गएर पढ्ने अनि काम गर्ने रहेछ।
पढ्का लागिन स्कलरसिप पाउन गाह्रो छ आफ्नै पैसाले पढ्न सक्ने हैसियत आफूहरूको नभएको बतायो। परिवारको एउटा मात्र छोरा, आमा बुवालाई पनि कसले हेरचाह गरिदिने भन्ने चिन्ता रहेछ।
डिनरको अन्त्यमा इबूले कैलाशजी र मलाई टिमोरी परम्परागत खादा अनि नेटिभ माला (आका) लगाइदिएर सम्मान व्यक्त गर्नुभो। हामी उहाँहरूलाई भेट्न आएकोमा र हामीलाई सम्मान गरेकोमा एकअर्काप्रति कृतज्ञता व्यक्त गर्दै हामी बिदा भयौं।
मनमा लागिरह्यो- यो कस्तो बेग्लै खालको अन्तर्राष्ट्रिय आत्मीय सम्बन्ध बनेछ। माटो फरक भए पनि मुटु त उस्तै हुँदोरहेछ।
अन्तिम दिन इष्ट टिमोरको राजधानी डिली सहर घुम्दै प्रेसिडेन्सियल प्यालेसदेखि क्रिस्टो-रेइ (जिसस क्राइस्टको स्ट्याचु ) सम्म पुगिरहँदा सन् २००१ मा यूएन लेखेको ठूलो गाडीमा घुमेको पुरानै सम्झना आइरह्यो।
सडक फरक, बाटा उही, मान्छे फरक, उमेर फरक भए पनि समुद्र र स्ट्याचु उही थिए। फर्किंदै गर्दा समुद्रमा समाहित हुँदै गरेको सूर्यको लालिमाले समुद्रमा च्यादर ओछ्याइरहँदा सम्झनाका मझेरीमा झन् सुन्दर कथा बनेर आँखामा पछ्याइरहे। आँखा नझिम्काइ क्यामराभित्र मन मुस्कुराइरह्यो।
मैले देखेको इष्टटिमोर सन् २००१ मा ‘खरानीबाट जन्मेको देश’ (कैलाशजीको आर्टिकलबाट शब्द सापटी लिँदा) सन् २०२३ मा टिमोर-लिस्टेमा भएको परिवर्तनले मलाई भन्न बाध्य गरायो - अलरेडी विकसित मुलुक त के हेर्नू , जिरोबाट बनेको देश पो हेर्नुपर्ने रहेछ!