कात्तिकको दोस्रो साता। छ्याङ खुल्दै गएको मौसम थियो। दिनको समयमा हिउँदको घाम यसै प्यारो। साँझ–बिहानको जाडो चाहिँ छिप्पिँदै थियो। पहाडका खेत दिनदिनै पहेलिँदै थियो। गाउँघर दसैं बिदा गरेर तिहारको स्वागतमा थियो। बारीका कान्लादेखि फूलबारीमासम्म फुलेका सयपत्री र लालुपातेको रताम्मे दृश्य। तिहारकै झल्को दिनेगरी जताततै ढकमक्क फुलेका।
चाडपर्वको महिना न हो असोज–कात्तिक। घुमफिर गर्न साह्रै अनुकूल। त्यही भएर सदरमुकाम–ओलाङचुङगोला–टिपतला नाका यात्रामा निस्कियो,–नेपाल पत्रकार महासंघ (ताप्लेजुङ शाखा)।
१६ सदस्यीय पत्रकार टोलीको साझा उद्देश्य थियो–नाका महत्व र सीमाबासीको दैनिकीसम्बन्धी रिपोर्टिङ।
अध्यक्ष आनन्द गौतमले अघिपछि भन्थे,‘पत्रकारले कम्तीमा सीमा, नाका र जनजीवन बुझौं। यी संवेदनशील विषय हुन्।’
ताप्लेजुङको सीमा चीन र भारतसँग जोडिएको छ। हिमाल फेदको पहिलो यात्रा भएर निकै उत्साह थियो।
सदरमुकाम–ओलाङचुङगोला–टिपतला भन्ज्याङ नाका (तमोर करिडोर सडक) ७५ किलोमिटर दुरी छ। कच्ची सडक छ। सदरमुकामदेखि इलाडाँडासम्म गाडी गुड्छ। प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ भाडा पर्छ। त्यहाँदेखि ओलाङचुङगोला पुग्न १ दिन पैदल हिँड्नुपर्छ। अुनभवीहरू चाहिँ ४/५ घण्टामै पुग्छन्। हाम्रो चाहिँ साँघुरो यात्रा तालिका थियो। अतः त्यही दिन ओलाङचुङगोला पुग्यौं।
अघिल्लो दिनको गाडी र पैदल यात्राले शरीर थकित थियो। सबेरै उठ्न हम्मे–हम्मे बन्यो। सूर्योदयसँगै खुलेका सेतो हिमाल। ओछ्यानसँगैको झ्यालदेखि चिहाउन सकेकाले साथीहरू औधी खुसी देखिन्थे। बस्तीमाथि ५ सय वर्ष पुरानो दिकी छ्योखोर्लिङ बौद्ध गुम्बा छ। आधा साथीले चिया नपिउँदै गुम्बाको दर्शन र झुरूप्प बस्तीको सौन्दर्य अवलोकन गर्न भ्याइसकेका थिए। ५३ घर परिवारको बसोबास छ। गोब्रे सल्लाको काठले छाएको छानो। छानोमाथि फर्फराएको लुङ्दा। लुङ्दामुनि राखिएको ‘कुसाङ’। कुसाङमा सल्किएको धुप (धुपी सल्ला)। धुपको सुगन्ध नाकमै आउँथ्यो। गलैंचाको तान नभएको घर थिएन। महिलाको व्यस्तता त्यही तानमा हुन्छ।
बचेकुचेका समय घरायसी काममा व्यतित गर्छन्। पुरूषहरू घरबाहिरका काम सम्हाल्छन्। पुरूषको तुलनामा महिलाहरू साह्रै कम बोल्छन्। तर मानवताको खानी हुन्।
वारिपारिको सिमाना तमोर नदीले छुट्याएको छ। पारिपट्टि फैलिएको गोब्रे सल्लाको लोभलाग्दो दृश्य। डाँडामाथिको नीलो आकाश। पुग्न सके हत्केलाले छुन सकिएलाझैं! घरको एक तल्ला ढुंगाको गारो छ। घरको मुनि (घरको तल्लो तला) घाँस दाउरा राखिएको हुन्छ। गारोको भित्तामा याक र चौरीको गोबर टाँसिएको छ। सुकेपछि गोबर होइन, दाउराको काम गर्छ। कतिपयको घर आँगनमा दुहुना चौरी र याक ठिङ्ग उभिएको थियो। घरधनीले दूध दुहेपछि मात्र चरनमा जाने गर्छ। साँझ परेपछि दुहुना जति घर फर्कन्छ। थारोमध्ये पनि केही घर फर्कन्छ त केही चरनतिरै बस्छ।
बिहानको खाना खाएपछि तमोर नदीको गर्ती नै गर्ती मौवाटारतर्फ प्रस्थान गर्यौं। हिउँ पग्लिएर बगेको तमोर नदी। आकार चाहिँ सानो कुवाको खोल्सी जत्रो। जति माथि चढ्दै गयो, उति नै फराकिला फाँट। लाथ्यो, तराईमा हुँदो हो त कति धेरै अन्नबाली फल्थ्यो होला। देखिएका चट्टाने पहाड। पहाडमाथि समुद्रझैं हलचल नगरी अडिएको सेताम्मे कुहिरो। पहाडका थाप्लोमाथिको ढुंगाको आकृतिलाई जे सम्झियो, त्यहीझैं लाग्थ्यो। कोही भन्थे, हनुमानको मूर्ति। कोही भन्थे, रामको मूर्ति आदि...।
साथीहरू चक्लेट बिस्कुट खाएको जुठो मुखले भगवान र प्रकृतिको नाम लिन हुन्न पनि भन्थे। क्यामेराका बटन निकै व्यस्त बन्यो। हिमालतिर लेक लाग्ने खतरा हुन्छ। घरेलु औषधि मकै भटास। प्राय:को गोजीमा थियो। साथमा इनर्जी ड्रिंक। उमालेको पानी पनि। फराकिला फाँटमा याक र चौरी चरिरहेको दृश्य। घाँटीमा बाँधिएको घण्टीको कुन्डुङ कुन्डुङ आवाज। न त धुलो धुँवा, न त होहल्ला। कति धेरै शान्त। फाँटका ठाउँ-ठाउँमा गोठालो ढुंगा। याक चौरी जमिनबाट देख्न नसकेमा गोठाला त्यही ढुंगामाथि चढ्छन्, र सुसेला पारेर बोलाउँछन्। जमिनसँगै टाँसिएका सम्म परेका ढुंगा। नुन चटाउने ढुंगा पनि भनिन्छ। त्यही ढुंगामाथि नुन राखिन्छ। नुनको लोभमा याक चौरी फर्कन्छ। नुन राखिने ढुंगा याक र चौरीले चाटेर सेतो हुन्छ। बाँकी चाहिँ हिउँले खाएर कालो हुन्छ। मौवाटारमा सशस्त्र प्रहरीको बिओपी भवन छ। तर बनाउन बाँकी भएकाले अहिले सशस्त्र प्रहरी गोलामै बस्छन्। एउटा पर्यटन सूचना केन्द्र भवन छ। तर सञ्चालनमा छैन।
दोस्रो दिन मौवाटारस्थित गोठमा बास थियो। दुई वटा गोठ। तर हिउँदमा हिउँ पर्दा याक र चौरीलाई खुवाउन राखिएको घाँसले कोठा भरिएको थियो। त्यो घाँसले प्रतिगोटा डेढ लाख रुपैयाँ पर्ने याकको प्राण बचाउन मद्दत गर्छ। हिउँदमा यसै पनि घाँस पानी सुकेको हुन्छ। अझ दुई हप्ता बढी हिउँ पर्दा जमिन हिउँले ढाकिएको हुन्छ। त्यो बेला पशुचौपाया बचाउन कठिन हुन्छ। त्यही घाँसलाई नुन मिसिएको पानीमा पकाएर याक चौरीलाई खुवाउने गरिन्छ। बिहानीको तातो चिया र चाउचाउको सुप खाएर मौवाटार–टिपतल्ला नाका यात्रा गर्नु थियो। दुई जना सहयोगी थिए,–दावा शेर्पा र निमातेन्जिङ शेर्पा। दुवैको पिठ्यूँको झोला। झोलाभित्र बिहानको खाना र दिउँसोको खाजा थियो। शेर्पाद्वय हिमाल फेदतिर यात्रा गर्न खप्पिस छन्। हिँडाइको रफ्तार मिलाउन दुवैले अनुरोध गर्थे। दावाले भने, ‘हिमाल भनेकै टिम वर्कमा गर्ने यात्रा हो। अघिपछि सबैको ख्याल उत्तिकै गर्नुपर्छ।’
अक्सिजन कमी हुने खतरा थियो। केहीलाई टाउको दुख्ने र वान्ता हुने समस्या देखियो। तर घरायसी र मेडिकलमा पाइने औषधि साथैमा हुँदा सहज बन्यो।
सामजुङसम्मको उकालो बाटो। सामजुङ–टिपतला नाकासम्म सडक ट्र्याकमाथिको पैदल यात्रा। ट्र्याकको दाहिनेपट्टि तमोर नदी। बायाँपट्टि आँखैमा टाँसिनेगरि खाङला हिमाल। शेर्पा भाषामा खाङको अर्थ हिउँ। लाङको अर्थ थुप्रो। हिउँको थुप्रो भएको हिमाल। त्यही हिमालको चिसो सिरेटो। हिउँ पग्लिएर बग्ने तमोर नदीको मुहान। फराकिला फाँट। चट्टाने पहाड। निस्फिक्री चरिरहेका नाउरका बथान। ओलाङचुङगोलाका वडा अध्यक्ष छेतेन शेर्पाले भने,‘घुमफिरको मज्जा लिन कि समुद्रको काख नत्र हिमाल फेद नै पुग्नुपर्छ।’
उनी साँच्चिकै हाम्रो अभिभावक बने।
ठाउँ–ठाउँमा साथीहरू बिरामी हुँदा बोक्थे पनि। साँच्चिकै भनौं, यदि वडाअध्यक्ष शेर्पा हामीसँग नभएको हुँदो हो त हाम्रो यात्रा कदापि सम्भव थिएन। शेर्पाले ओलाङचुङगोलालाई पर्यटकीय गन्तव्य बनाउने सपना बोकेका छन्। जब ५ हजार २ सय ६० मि. उचाइको टिपतला नाका पुग्यौं। त्यतिबेला साथीहरूको मुटुको धड्कन अलि बढी सुनिँदै थियो। कसैलाई थकान त कसैलाई असहज भएको आभास हुन्थ्यो। चिसो भुइँमा थ्याच्च बस्थे। झोला सिरानी बनाउँथे। तर अनुभवीहरूले सुत्न दिँदैनथे। हातमै समाएर जुरूक्क उठाउँथे। यताउता डुलाउथे। उँभो हेर्दा टोपी झर्नेगरिको अग्लो चट्टाने ढुङ्गा। त्यही ढुङ्गा हिउँ पर्दा हिमाल, हिउँ नपर्दा ढुङ्गा। दुवैपट्टि बनेका संरचनाले गरिब र धनीको झल्को दिन्थ्यो। तिब्बती साथीहरूको न्यानो आतिथ्यता थकान भुलाउने थियो। दिएको थरिथरिका खानेकुराले भोक तिर्खा पनि मेट्यौं।
यात्रामा उत्तरी क्षेत्रको चर्चा
यात्रा पट्यारलाग्दो हुन नदिनु थियो। कोही कथा सुनाउँथे। कोही गीत। अध्यक्ष गौतमले चाहिँ पत्रकारिताको अनुभव सुनाए। २०६० सालअघि। त्यो बेला इमेल र इन्टरनेट सुविधा थिएन। हातले लेखेर फ्याक्समार्फत् समाचार पठाउनुपर्थ्यो। २०६१ सालमा राष्ट्रिय समाचार समितिमा (रासस) उनले ९ महिना काम गरे। फ्याक्समार्फत् समाचार पठाउँदा ५ हजार खर्च गरे। तर त्यतिका अवधिमा समाचारबापत ३ हजार प्राप्त गरे। आम्दानीभन्दा खर्च बढी पटक्कै लागेन। उनले जस्तै समाचार लेखेबापत कम पैसा पाउनेहरूले ऊ बेला कमाएको सम्पत्ति थियो,–लेखनशैली। त्यही भएर त आजसम्म पनि पत्रकारितामै टिकेका छन्। त्यतिको पैसा पाउनेगरी लेखिएको समाचारमा उत्तरी क्षेत्रका समाचार अधिकांश थिए। त्यसैले प्रसङ्ग उठेको थियो। यतिका ठूलो टोलीको गाँस बासको चाँजोपाजो मिलाएर नयाँ पिँढीलाई पत्रकारितामै आकर्षण गराउन र वास्तविकतामा आधारित भएर लेख्ने शैलीको विकास गराउनु महासंघको उद्देश्य थियो।
आर्थिक संकलन गरेर मात्र सभा, सम्मेलन वा भ्रमण गर्ने चलनको अन्त्य गर्ने प्रयासको थालनी पनि हो। सदरमुकामदेखि ओलाङचुङगोलासम्म प्रतिकेजी ढुवानी ६५ रुपैयाँदेखि ७० रुपैयाँसम्म पर्छ। त्योभन्दा माथिको हिसाब अझ बढी।
त्यो बेला चीनसँग सीमा जोडिएका स्थानीयको दैनिकी र मौसमसम्बन्धी समाचार पठाउँदा मूलधारका मिडियामा खुब ‘स्पेस’ पाउँथ्यो। यतिसम्मकी सदरमुकाममा चिसो बढ्दा मूलधारका मिडियामा समाचार छापिएको हुन्थ्यो,–उत्तरी क्षेत्रमा भारी हिमपात,जनजीवन अस्तव्यस्त। हिमपातसम्बन्धी समाचार ओलाङचुङगोला, घुन्सा र याङ्माबासीले निकै ढिलो गरी थाहा पाउँथे। जबकी त्यतिका ढिलो गरी हिउँ परेको खबर थाहा पाउँदाको बखतसम्म न हिउँ परेको हुन्थ्यो, न त चिसो नै बढेको। त्यही भएर त्यहाँका स्थानियबासी पत्रकारसँग यतिसम्म रिसाएका थिए,–पत्रकार आउँदा बास पनि नदिनू। सङ्क्षेपमा भनौं, हिमपात र जनजीवनको कष्टसम्बन्धी कतिपय समाचार सत्य थियो, कतिपय अनुमानमा आधारित। कान्तिपुर दैनिकमा लामो समय रिर्पोटिङ गरेका धर्म पौडेल भन्छन्,‘गणतन्त्रमा केही भएन मात्र भन्छन्। तर केही भएको छ। ऊ बेला घर बसेर उत्तरी क्षेत्रको समाचार लेख्नेहरू आज ठाउँमै पुग्न सक्छन्।’
त्यो बेला ओलाङचुङगोला र घुन्सा पुग्न ३ दिन हिँड्नुपर्थ्यो। यो पटक एक दिनमै ओलाङचुङगोला पुग्न सक्यौं। त्यो बेलाको किस्सा सुनाउँदै ओलाङचुङगोला–टिपतला नाकासम्मको यात्रा गर्न सम्भव बन्यो। जाँदा भन्दा आउँदाको यात्रा गज्जब रह्यो। मनमा याद र आँखामा दृश्य कैद छन्। सिङ्जेमा र स्याम्डु पोखरी पुग्न चुक्यौं। बाँकी १ दिन खर्चिन सकेको भए सम्भव हुन्थ्यो।
नाका महत्व
कोभिडका कारण २०७६ फागुनदेखि तिप्तला नाका बन्द छ। कहिले खुल्छ। टुंगो छैन। गोलाको भन्सार कार्यालय बन्द छ। कर्मचारी छैन। नाका खुलाउन स्थानीय, गाउँपालिका र सांसदले संघ सरकारसँग ज्ञापनपत्र पटक–पटक बुझाएको छ। नाका खुलेको हुँदो हो त सीमाबासीको नुनदेखि सुनसम्मको कारोबार हुन्थ्यो। चौरी, याक, घिउदेखि गलैंचासम्म निर्यात हुन्थ्यो। बिहेबारी भएका उता र यताका चेलीले माइतीको घर आँगन टेक्न पाएका छैनन्। सीमा नाका दैनिकीसँग जोडिएको छ। अध्यक्ष शेर्पाले भने,‘नाका बन्द हुनु भनेको विकास पनि ठप्प हुनु हो। नाका खुले तिब्बतले सडक स्तरोन्नतिमा समेत सहयोग गर्न सक्थ्यो ।’
ओलाङचुङगोला–टिपतल्लासम्मको सडक ट्र्याक खोल्न तिब्बतको मेसिन, तेल र चालक प्रयोग भएको थियो। लगानीचाहिँ ओलाङचुङगोलाबासी र त्यही जन्मिएर देश विदेशमा रहेकाको हो। सुकेपानी क्षेत्रमा अब २ किलोमिटर सडक ट्र्याक खुले सडक ट्र्याक पूरा हुन्छ। तर विस्फोटक पदार्थ अभावमा काम ठप्प छ। सीमाबासीले नाका खुला र सडकमा मोटर चढ्न पाइएला भन्ने आश मारेका छैनन्।