भारतको चारधामको दर्शन गरे पनि नेपालको मुक्तिनाथको दर्शन नगरे चारधामको दर्शन अपुरो हुने मत वैदिक धार्मिक ग्रन्थहरूमा रहिआएको पाइन्छ।
मुक्तिनाथको दर्शन गर्ने इच्छाको साथै हिमाल पारिको जिल्लाको उपनामले चर्चित मुस्ताङ जिल्लाको भौगोलिक अवस्थाप्रति मनमा सधैं एक किसिमको हुटहुटी पैदा भैरहन्थ्यो।
क्यालेण्डर फेरि रहेको हुन्थ्यो,अवसर जुटिरहेको थिएन। अवसर जुट्दा समयले कोल्टो फेरिसकेको हुन्थ्यो। यिनीहरूबीच यस्तै लुकामारी गर्दागर्दै एकले अर्कालाई पक्रने त्यो साइत पनि जुर्यो।
दसैं सकिएर दीपावली आउँदै गरेको शरद ऋतुको उज्यालो समय। नीलो आकाशमा एक दुई बादलका टुक्राहरू चाडवाडका निम्ताुलहरूझैं प्रशन्न मुद्रामा यताउताको विचरणले हामीलाई पनि अभिप्रेरित गरायो।
२०८० कात्तिक १३ गते सोमबारको दिन।
मनमा एउटा लक्ष्य बोकेपछि सधैं पिरोल्ने निद्राले पनि झकझकाउँदो रहेछ। क्षितिजको लालीले क्रमशः रफ्तार लिँदै थियो। बिहानी पखका आकाशका ताराहरू डांँडापारिका बटुवाजस्तै एक एक गरी छेकिँदै थिए। नागढुंगा पुगेपछि घामका कलिला किरणहरू हामीलाई उछिनेर पोखराका हिमालहरूमा सुनौला रंग पोत्न पुगिसकेका देखिन्थे।
नागढुंगाबाट ओरालो लागेपछि देख्दै गरेका हिमालका दृष्यहरू ओझेल पर्दै गए। सिस्ने खोलादेखि काठमाडौंसम्मको २.६८ किमिको मुख्य सुरूङ मार्ग गन्तव्यमा पुग्न हस्याङफस्याङ गर्दै थियो। यससँगै सडक स्तरोन्नतिको काम हुँदै गरेकोले ठाउँ ठाउँमा गाडी रोकी साइड दिँदै अघि बढ्नु पर्ने अवस्था थियो। प्रातकालीन समय भएकोले गाडीहरूको आवतजावत पातलै हुँदा उति लामो जामको अनुभूति भएन।
सुरूङ निर्माण अगावै खानी खोलादेखि वांणगंगासम्म र धार्केदेखि सीतापाइलासम्म सडकको स्तरोन्नति हुन सकेको भए जुनसुकै बेला पनि यात्रुहरूले जामको सास्ती भोग्नु पर्ने थिएन।
नौबिसेदेखि महेश खोला हाम्रो पथ प्रदर्शक बनेर गएकोमा महेश दोभानबाट हामीलाई चटक्के छाडेर त्रिशूलीमा विलिन हुन पुग्यो। त्रिशूलीका जलवाष्पहरू कपासका सेता टुक्राजस्तै माथिमाथि उचालिँदै थिए।
सडकमा गाडीहरू बाक्लिने क्रम सुरू हुँदा प्रतिस्पर्धी जस्तै एकले अर्कालाई उछिन्दै थिए। सडकको नियमानुसार हाम्रो गाडी आफ्नै गतिमा घुइँकिरहेकाले रमाइला किस्साहरूसँगै यात्रालाई थप रोमाञ्चित बनाउँदै थियौं।
आबु खैरहनीदेखि पोखरासम्मकै सडक स्तरोन्नतिको क्रममा रहेकोले दमौली पुग्दा नै आजित भैसकेका थियौं। गुरूजीले कसैले भनेको सम्झेजस्तो गरेर नजिकैको ट्राफिक प्रहरी र स्थानीयसँगको सोधपुछमा लेखनाथ नगरपालिका हुँदै पोखरा निस्कन सकिने सुगम बाटो पत्ता लगाए। पछ्याउँदै आएको बाटोलाई त्यहीँबाट छाडी दाहिने मोडिएर पोखरा निस्कने निश्चयमा पुग्यौं।
दायाँबायाँ हरिया बुट्यान, मध्यम खालका रूखहरूको बीचमा कालोपत्रे सडक! नाउहरूमा सयर गरेजस्तै गाडीको सलल बगाइमा रोटेपिङ, भानुभक्त घाँसी संवाद चौतारो, बेसीफाँटमा लहलह झुलेका धानका बाला र हरियाली लगायतको आकर्षण कम रोचक थिएनन्। वर्षौंदेखिको अभिलाषा पूरा हुने उमंगमा यी प्राकृतिक छटाहरूले ऊर्जा थपेझैं.लाग्थ्यो।
२० किमी जतिको यात्रा तय गरेपछि मादी खोलाको पुल तरी कास्की जिल्लाको साविक लेखनाथ नगरपालिका टेक्न पुग्यौं। लेखनाथ नगरपालिका हाल पोखरा महानगरपालिकामा पर्दछ। यहाँबाट पोखराको दूरी ३४ किमी रहेछ।
तराईका फाँटजस्तै लहलह झुलेका धानका बालाको मृगचरण गर्दै पोखरातर्फ हान्निरह्यौं। पानी परेपछिको आकाश खुलेजस्तै नीलो सगरमा हिमालहरू खुल्न पाएकोले उसको आतिथ्यको सुखद् अनुभूति गर्ने अवसर पायौं।
पोखराको पृथ्वीचोक पुगेपछि विन्ध्यवासिनीलाई स्वस्ति गरी सराङकोट भएर उत्तर पश्चिमतिरको उकालो चढियो। सराङकोटबाट गरिने अवलोकनको आनन्द र दूरी पनि अलिक छोटिने हुँदा यही मार्ग भएर जाने निधो गरेका थियौं। जति-जति उकालो चढिन्थ्यो चिसो हावाले उतिकै स्नेहका साथ पछ्याइरहेको आभास हुन्थ्यो। अन्नपूर्ण मनास्लु हिमालको काखमा रहेको फेवाताल, एयरपार्ट, परसम्मका बेसीफँट, पहाड, पोखरा उपत्यकालाई चियाको चुस्की लिँदै नियालिरह्यौं।
आँखाले नभ्याउने अनगिन्ती सम्झनालाई क्यामरामा कैद गर्दैअघि बढ्यौं। आँखै थकित बनाउने आकर्षणले हाम्रो मन गाडीभन्दा अघि बढेर हिमाल छुन खोजिरहेको भान हुन्थ्यो।
लुम्लेको हावाको स्पर्श छल्दै र गगनचुम्वी हिमालका दृष्यहरूबाट बादल लागेको घामजस्तै ओजिलिँदै तलतल लाग्दै नयाँ पुलतिर बढ्यौं। दुई पहाडलाई चिर्दै कुदिरहेको मोदी खोलालाई अलिक परसम्म पिछा गर्दै गयौं।
पर्वतको कुश्मा बजार नपुग्दै लहलह झुलेका पहेंलपुर खेतका फाँटहरूमा किसानहरूको आफ्नै व्यस्तता थियो। चौडा छाती पारि पंक्तिबद्ध भएर उभिएको कुश्मा बजारलाई लठ्ठे पिङ,स्काई चियर, झोलुंगे पुल लगायतका आकर्षणले मनोरञ्जन स्थलका रूपमा उभ्याएको रहेछ।
कुश्मा बजारबाट अलिकबेर अघि बढेपछि कालिगण्डकीको पुल तरेर बाग्लुङ कालिकातर्फ मोडियौं। कालिका माईको दर्शन गरी फूल प्रसाद लियौं। किंवदन्ती अनुसार पाल्पाकी राजाकी छोरीले दाइजो स्वरूप ल्याएको मूर्तिलाई यसै ठाउँमा विश्राम गरी कर्म घर पर्वततिर लैजाने क्रममा उठाउन नसक्दा सोही मूर्तिलाई जहाँको तहीँ विधिपूर्वक स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाइएको रहेछ।
कालिका देवीको साक्षत दर्शनबाट पुजारीहरू भष्म नहोऊन् भनी देवीलाई भूगर्भमा स्थापित गरिएको भन्ने कथन छ।
कालिगण्डकीतिर जाने बाटोमा एउटा वाफ आउने दुलोबाट तिनै देवी बाघमा चढेर नुहाउन गएको देखिएको भन्ने कथन पनि जाग्राम बस्ने भक्तहरूले गरेको पाइन्छ।
विशेषतः चैते र बडादसैंका अतिरिक्त प्रत्येक मंगलबार, शनिबार, भक्तजनहरूको यस मन्दिरमा बाक्लो भीड लाग्ने गर्दो रहेछ। दर्शन गर्न आउने भक्तजनहरूलाई चिताएको पुग्छ भन्ने जनविश्वासले यस मन्दिरको चर्चा परिचर्चा सर्वत्र छ।
साँझको आरतिपछि ५ः३० बजेतिर देवीलाई स्वस्ति गर्दै पुन: बसपार्कतिर बढ्यौं। बाग्लुङ हुँदै कालिगण्डकीकै किनारै किनार सयर गर्दै म्याग्दीको बेनीतर्फ लाग्यौं। बेनी पुग्दा साँझको ६ः३० बजिसकेको थियो। होटलहरू यात्रीहरूले धमाधम भरिँदै रहेछन्। गुरूजीले बीच बाटोमै बुक गरिसक्नु भएकोले दिनभरिको थकाइलाई आरामका साथ विश्राम गर्ने अवसर जुट्यो। भोलिपल्ट बिहान सबेरै उठी नित्य कर्मपछि नजिकै रहेको गलेश्वर बाबाको दर्शन गर्न अरू भक्तजनसँगै हामी पनि लामबद्ध भयौं।
श्रीमद भगवत पुराणका अनुसार यसै स्थानमा सतिदेवीको गलापतन भएको हुँदा यसको नाम गलेश्वर धाम रहन गएको हो भन्ने कथन छ। राहु नदी र कालिगण्डकीको संगमस्थलमा रहेको यस धाम नौ रोपनी क्षेत्रफलमा फैलिएको छ। एउटै शिलाचक्रमाथि अवस्थित ज्योति लिंगेश्वर महादेव, भगवान विष्णुले बराह रूप धारण गरी उत्पत्ति गरेको जलबराह कुण्ड, गणेश, शिवलिंग, शालिग्राम, नाग देवता र भगवानका पाउ स्वयम् प्रकट भएकोले यस तीर्थस्थललाई अलौकिक र अदभूत तीर्थस्थलको रूपमा मान्न सकिन्छ। गलेश्वर धाममा रोट चढाउने, बाच्छी बहर, सुनचाँदी, १०८ बेलपत्र चढाउँदा सम्पूर्ण पाप नास भई भक्तको मनोकामना पूरा हुने विश्वास रहिआएको छ।
गलेश्वरधामबाट झण्डै एक डेढ घण्टाको जतिको यात्रा तय गरेपछि बिहानको आठ बजेतिर भुरूङस्थित तातोपानी कुण्ड पुगियो। आवास तथा खानपानका व्यवस्थित होटलहरू यत्रतत्र देख्न सकिन्थे। यात्रीहरूको बाक्लै झुण्डमा हामी पनि मिसियौं। महिला तथा पुरूषको स्नानका लागि छुट्टाछुट्टै बनाइएको यस कुण्ड प्रवेशका लागि प्रतिब्यक्ति रु. ५० दस्तुर लाग्ने रहेछ।
तीर्थालुहरूबाट यसरी संकलित रकमले त्यस क्षेत्रको पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा निकै टेवा पुगेको रहेछ। यस क्षेत्रको प्रचार प्रसार अझ हुनु जरूरी छ।
वीरे नुन र गन्धक मिसिएको यस कुण्डको तातोपानीमा नुहाउनाले ग्यास्ट्रिक, युरिक एसिड, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड, खाना रुचि नहुने र सुगर आदिमा सुधार आउने विश्वास भुक्तभोगीहरूमा छ। कुण्डबाट निस्कँदै गरेको तातोपानी पिउनुलाई पनि स्वास्थ्यवर्द्धक मानिँदो रहेछ।
ठाउँठाउँमा पहिरो पन्छाउँदै निकास दिने कार्यमा स्काभेटर तल्लीन देखिन्थे। दुई अजंगको पहाडलाई चिरेर बग्दै गरेको कालिगण्डकीका गहिरा खोँच, साँघुरा बाटा र अनगिन्ती मोडहरूले हाम्रा उमंग र उत्साहलाई हिउँ हराएको पहाड जस्तै फिका बनायो। मनमा उब्जिएका अनेकौं दुन्दुभीबीच यस्तै अस्तव्यस्त र अप्ठ्याराहरू पार गर्दै अघि बढ्दै गर्यौं। डरलाई भोग्न आएकै थियौं। डरलाई छिचोल्न सके सबैभन्दा खुसी यसैमा हुन्छ। जहाँ डरलाई उछिनेर खुसी प्राप्त गर्न सकिन्छ त्यो नै भ्रमणको अविष्मरणीय क्षण हुँदोरहेछ।
धार्मिक, पर्यटकीय र व्यापारिक मार्गको रूपमा रहेको यस सडकलाई युद्धस्तरमा सम्पन्न गर्न प्राथमिकताका साथ निरन्तरता दिन सके यस भेगका जनताको जीवनस्तरमा थप टेवा पुग्न सक्ने देखिन्छ।
म्याग्दी जिल्लाको दानामा अवस्थित धौलागिरी र अन्नपूर्ण हिमालको बीच भएर बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छी खोँच नै विश्वकै सबभन्दा गहिरो खोंच मानिँदो रहेछ। यसै स्थानमा ७५ मि अग्लो छाँगाबाट झर्दै गरेको रूप्से झरना कालिगण्डकी सँगै मिसिएर चितवनस्थित देवीघाटको पवित्रता चुम्न आतुर थियो। तह-तहबाट खसेको यस सुन्दर झरनाले मन नलोभिने यात्री सायद को होला र!
वि.सं १९७५ मा प्रचलनमा ल्याइएको ७५ पैसा अंकित हुलाक टिकटमै स्थान पाउनुले यस झरनाको आकर्षणलाई थप उजागर गर्दछ। यस झरनाकोे अझै प्रचारप्रसार हुन सके आन्तरिक तथा बाह्य पर्यटकमा अरू वृद्धि हुन सक्ने अपेक्षा गर्न सकिन्छ।
मुस्ताङ जिल्लामा अवस्थित लेते पुगेपछि समथर फाँटबाट हरियाली बोकेर जुर्मुराउँदै उठ्दै गरेका पहाडसँगै धौलागिरी, अन्नपूर्ण र नीलगिरी हिमालका मुस्कुराइले आँखादेखि मन भित्रसम्म अटाउन नसकेको आकर्षणलाई क्यामरामा कैद गर्दै गर्यौं। दु:ख र कष्टका साथ पिल्सिँदै आइरहेको हाम्रो उत्साह र उमंगलाई यहाँ देखिको यात्राले भने पुनर्जीवित गरेजस्तो लाग्यो।
दिनभरि ऊर्जावान भएको सूर्य ढल्कँदै जाँदा उसका थकित रश्मिमा बलशाली भएर निस्कँदै गरेको सिरेटोको सुसेलीले चिसोपनको संकेत गर्दै थियो। यथोचित प्रबन्धको खोजी गरिँदै गर्दा त्यो दिनको यात्रा मार्फामै विश्राम गर्ने निश्चय गर्यौं।
झुरूप्प घरहरूको बीचमा ढुंगाको स्लेट बिच्छाइएको गोरेटो बाटाका दायाँ बायाँ कोशेलीका रूपमा लैजान सकिने थरिथरिका परम्परागत घरेलु सामान देख्न सकिन्थ्यो। तीमध्ये केही सामान हामीले पनि ग्रहण गर्यौं। मार्फका रसिला स्याउ खाँदा यसको प्रसिद्धिबारे उल्लेख भएको कुरा यहाँ आएपछि पो यथार्थ थाहा भयो।
भोलिपल्ट बिहान सबेरैको पहिलो गन्तव्य कागबेनी थियो। योजनाबमोजिम ५ बजेतिर मार्फबाट कागबेनी प्रस्थान गरियो। कालिगण्डकीका विशाल बगर र दायाँ बायाँका नाँगा पहाडहरू मिरमिरे उज्यालोलाई चिर्दै हाम्रै वरिपरि घुमिरहेझैं लाग्थ्यो। कागबेनी पुग्दा ६ बजे अगाडिदेखि नै श्रद्धालुहरूको बाक्लै उपस्थिति रहेको भन्ने पायौं। हामी पनि सामूहिक श्राद्धको तरखर गर्दै गरेका श्रद्धालुहरूसँगै पंक्तिबद्ध भयौं। श्रद्धापूर्वक कार्य सम्पन्न गरेपछि मुक्तिनाथ दर्शनको लागि अघि बढ्यौं।
कागबेनीदेखि नै उकालो यात्रा सुरू हुँदो रहेछ। जति जति उकालो चढिन्थ्यो, उति उति हिमालका कदहरूको उचाइ बढ्दै गएको देखिँदा हामीले टेकेको धर्ति नै स्वर्गको उपखण्ड हो भन्ने लाग्थ्यो। सेल्फी डाँडाले पारखीहरूको आकर्षक फोटोहरू तयार गरिदिने व्यावसायिक कार्यको अभिभारा नै पाएको रहेछ।
हिमश्रृंखलाले काखी च्यापेझैं लाग्ने नांगा पहाडहरूको स्वरूपमा गुञ्जायस गर्ने कुनै ठाउँ थिएन। सडकका दायाँ बायाँका बुट्यानहरू स्वागतार्थ उभिएका जस्ता देखिन्थे। होटल तथा लजहरू कतैकतै देख्न सकिन्थ्यो। सडकका छेउछाउमा किसानहरू स्थानीय उत्पादनको बजारीकरण गरिरहेका थिए। त्यहाँका आलु तुलनात्मक रूपमा साना, हतपत नबिग्रने ,स्वास्थ्यवर्द्धक हुनुका साथै स्वादिला रहेछन्। खाद्यान्न अपुग हुने अवस्थामा त्यहाँको छाक टार्ने मेलो नै आलु रहेछ।
कागबेनीदेखि रानीपौवास्थित बसपार्कसम्म १२ किमीको पिच सडक तय गरेपछि गाडी पार्किङ गरी पैदल यात्रा गर्ने तर्खर गर्यौं।
सिँढी चढ्न नसक्ने र लेक लाग्ने डरले केही तीर्थालुहरू घोडाको सहारा लिई उकालो लाग्ने तखरमा रहेछन्। मेरी पत्नी अम्बिका र सुभद्रा दिज्युलाई घोडसवारको साथमा अघि बढाइयो। सालो नारायण अधिकारी र म भने १५० सिँढीको खुट्किलोलाई पैदलबाटै उकालो चढ्ने निश्चय गर्यौं। गुरूजी पनि हामीसँगै मिसिनु भयो।
त्यस्तै, ९ बजेतिर दर्शनको लागि लामबद्ध हुँदा नेपाली र भारतीय तीर्थालुको मन्दिर परिसरमा खचाखच घुइँचो देख्न सकिन्थ्यो। घाम लागेको सफा मौसम भएकोले जाडोको उति अनुभूति भएन। १२ बजेपछि भने बेतोडले हावा चलेर टिक्नै गाह्रो हुन्छ रे। आँखै चुमिरहने निलगिरी, दामोदर, मुक्तिनाथजस्ता पवित्र गगनचुम्बी हिमश्रृंखलाहरू र त्यहाँबाट परपरस्म्म देख्न सकिने गाउँवेसीका दृष्यले मुक्ति क्षेत्रको आकर्षणमा सुनमा सुगन्ध थपेको थियो। मुक्तिक्षेत्र, मुक्तिका लागि मात्र नभई मनलाई शितलता प्रदान गर्ने छहारी पनि रहेछ भन्ने लाग्यो।
नयाँ नयाँ अनुभव, ऊर्जा, उत्साह स्वस्थ जीवनको लागि अपरिहार्य जस्तै भएकोले बेला बेलामा घुम्नु जरूरी पनि रहेछ।
लगभग ३८०० मि उचाइमा अवस्थित मुक्तिनाथ हिन्दु तथा बौद्धधर्मावलम्बीका साझा आस्था हुन्। मुक्तिनाथलाई हिन्दुहरू विष्णुको अवतार र बौद्ध धर्मावलम्बीहरू बुद्धको प्रतीकको रूपमा पुज्ने गरेको पाइयो। यहाँको नित्य पूजा हिन्दु धर्मावलम्बी ब्राह्मण र बौद्ध धर्मावलम्बी झुमाबाट गरिँदो रहेछ।
यही धार्मिक सहिष्णुताले नै अनेकतामा एकता हुन सम्भव भएको भन्ने लाग्यो।
मन्दिरको दक्षिण पूर्वीभागमा तीनथरिको ज्वाला निस्कने ज्वालामाई मन्दिर र विशाल बौद्ध मूर्ति पनि देख्न सकिन्छ। ब्रह्माजीले मुक्तिक्षेत्रको मध्य भागमा बसेर तपस्या गरी कालिगण्डकीको मुहान दामोदर कुण्डकोे पवित्र जलमा अग्निको आह्वान गरेर हवन गरेको चर्चाले यस कुण्डमा श्रद्धालुको उत्तिकै आस्था रहेछ। हिन्दुमार्गी अनुसार यसै जलबाट १०८ धारा बन्न गएको भन्ने कथन छ भने बौद्धमार्गी अनुसार कैलाश पर्वतबाट ल्याइएको सिञ्चित जलबाट बनेको भन्ने मान्यता छ।
१०८ गौमुखी धाराको स्नान गरी मुक्तिनाथको दर्शन गरेपछि मुक्तिको कामना पूरा गर्ने मनोरथ पूरा भएकोमा खुसी व्यक्त गर्यौं।