गाउँमै पुगेर रिपोर्टिङ गर्न खुब रूचाउँछन् केही पत्रकारहरू। मलाई झन् नयाँ के भयो होला भनी खुब खुल्दुली लाग्छ। फरक मौसममा फरक खालको फोटो कैद गर्न मन लाग्छ। यिनै इच्छाहरूलाई पूरा गर्न हिँडेरै दुई गाउँपालिका घुमेँ।
दोलखाको भौगोलिक विकटता मानिने विगु र कालिञ्चोक गाउँपालिकाका केही वडाहरू हिँडेर नै पूरा गरेँ। एक हप्तामा ९ वटा वडा हिँडेर पूरा गरेँ। यी यात्रालाई पूरा गर्नको लागि कहिले बिहान ७ बजेदेखि बेलुकी ७ बजेम्म पनि हिँडें।
विगु गाउँपालिकाको लादुकबाट सुरू गरेको यात्रा कालिञ्चोक गाउँपालिकाको लामिडाँडामा पुगेर टुङ्गियो।
२०७२ सालको भूकम्पपछि गाउँमा धेरै घरहरू ठडिएका छन्। सानातिना बजारझैं लाग्छ कतिपय गाउँहरू। जस्तापाताले छाएको दुई कोठे घरले करेसाबारी समेत बाँकी छैन। अझ पछिल्लो अवस्थामा गाउँमा मात्र होइन, टोलटोल, घरघरमा सडक पुगेको छ। जसले गर्दा सानातिना बारीको पाटासमेत सडकमा परिणत भएको देखिन्छ।
बत्तीको लाइन र गाउँ गाउँमा निर्माणाधीन जलविद्युत आयोजनाको बत्तीको लाइनले गाउँ नै कुरूप बनाएको छ।
भूकम्पपछि व्यक्तिको घर मात्र होइन विद्यालय, स्वास्थ्य चौकीसमेत चिटिक्क देखिन्छ गाउँमा। यसो हेर्दा १० वर्षको अवधिमा गाउँमा कुनै समस्या देखिँदैन।
संघीय संरचना अनुसार गाउँ-गाउँमा सिंहदरबार भने जस्तै देखिन्छ। तर, सिंहदरबार गाउँमा आएपछि युवाहरू विदेशिएका छन्।
कुनै पनि गाउँमा एक जना युवा अनुहार देखिएन एक हप्ते यात्रामा। अधिकांश युवाहरू विदेशिएका छन्। विगु गाउँपालिका वडा नं. ५ च्यार्सापामा एक जना युवा पनि भेटिएनन्। त्यही गाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा ३३ वर्षदेखि पढाउँदै आएका प्रधानाध्यापक जय सार्कीले भन्दै हुनुहुन्थ्यो, ‘यस गाउँमा सुत्केरी हुने महिला नै भेटिँदैनन्।’
३३ घरधुरी रहेको र तामाङ समुदायको मात्र बसोबास रहेको यस गाउँका सबै युवाहरू छिमेकी देश भारतमा रोजगारीको लागि गएका छन्। बिहे गरेपछि छोराछोरी पढाउनको लागि उतै लाने गर्छन्।
गाउँमा न बिहेमा जन्ती, न मर्दा मलामी भेटिन्छ। युवाविहीन अवस्थामा गाउँ मात्र रहेको प्रधानाध्यापक सार्कीले दुःख मन भन्नुभयो, ‘गाउँमा विकास आएर के गर्नु युवा जनशक्ति सबै बाहिरिएपछि।’
गाउँमा विकासको काम गर्ने प्राय: ज्येष्ठ नागरिक र महिलाहरू मात्र भेटिन्छन्। उपभोक्ता समितिमा बस्ने मान्छे समेत पाइँदैनन्। एक घर, एक व्यक्ति विदेशिएका छन्। यस पालिकामा थामी समुदायको बढी जनघनत्व छ। साविकको आलम्पू गाविस ढुंगाखानीको रूपमा बढी परिचित छ।
यहाँको ढुंगाखानी काठमाडौं लगायतका सहरमा पुगेको छ। भूकम्पपछि घर छाउने ढुंगा पदमार्ग निर्माण गर्नमा प्रयोग गर्न थालेका छन्। आलम्पूमा बस्ती, टोल जोड्नको लागि मौलिक ढंगले पदमार्ग निर्माण गर्न थालेका छन्। हिँड्न पनि सजिलो, राम्रो पनि देखिने भएकाले ढुंगाले नै पदमार्ग निर्माण गर्न थालेका छन्। १० वर्षको अवधिमा गाउँमा विकासले फड्को मारेको लाग्यो।
सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी, बाटोघाटो, बिजुली, सामुदायिक भवन, तरकारी खेती जस्ता प्रशस्तै देख्न पाइन्छ। विभिन्न जडिबुटी पनि यसै गाउँबाट निर्यात गर्दै आएका छन्। सुनपाती, मछिनो, लोक्ता, अर्गेली, चिराइतो लगायतका जडिबुटीहरू प्रशस्तै मात्रामा निर्यात हुन्छ। पहिला पहिला बजारबाट काउली, लसुन, खुर्सानी किनेर लाने गर्थे। अहिले गाउँको नजिकै बजारमा बेचेर तेल, भुटुन किन्न थालेका छन्। विद्यालयमा दिवा खाजाको व्यवस्था छ। अवस्था हेरी टोल टोलमा विद्यालयको व्यवस्था छ। छोटो अवधिमै यति धेरै विकास भएको मान्नु पर्छ। तर, यत्ति धेरै विकास भइरहँदा युवालाई गाउँमै रोकिने निकास स्थानीय सरकारले गर्न नसकेको गुनासो गाउँमा धेरै सुनेँ।
हुन त विकास केलाई भन्ने! के भयो भने विकास हुन्छ र विकास मान्नु पर्छ। यस विषयमा बहस, छलफल हुन आवश्यक छ। गाउँ गाउँ गाडी पुग्छ तर यात्रु पाइँदैनन्। गाडी नचल्दा जनताको गुनासो सुन्नुपर्छ। यस पटकको यात्रामा गाउँका धेरै कथाव्यथा सुनेँ, हेरेँ।
यस्तै अवस्था रहे गाउँ खाली हुन धेरै वर्ष पर्खिनु पर्दैन। गाउँमा जबसम्म युवाहरू अडिने वातावरण बन्दैन, तबसम्म विकास तिनै सडक र भौतिक संरचनामा मात्र सीमित रहने छ। अलि समयपछि गाउँमा ज्येष्ठ नागरिकलाई कुर्ने र स्वास्थ्य सेवा दिन र हेरचाह गर्नको लागि बाहिरबाट अन्य व्यक्ति खोज्ने दिन नआउला भन्न सकिन्न।