हिँड्न भनेपछि म कहिल्यै पछि नपर्ने। यस वर्ष पनि दसैं बिदामा साथीहरूसँग सिन्धुपाल्चोकस्थित पाँचपोखरी ‘ट्रेकिङ’ जाने योजना बनिसकेको थियो।
घरमा आफू घुम्न जाने योजना सुनाएँ। ख्यालख्यालमै आमाले म पनि जान्छु भन्नुभयो।
मलाई झट्ट नेपाली भूमिमा छायांकन गरिएको हिन्दी फिल्म ‘उचाईं’ को सम्झना आयो। फिल्ममा पाका उमेरका साथीहरू सगरमाथा आधार शिविर पदयात्रामा गएका थिए।
मनैदेखि चाहेको छ भने जस्तो सुकै परिस्थित सामना गर्न पनि उमेरले छेक्दैन भन्ने सन्देश फिल्मले दिएको थियो।
फिल्म हेर्दा नै मलाई आमासँग ट्रेकिङ जाने सोच बनाएकी थिएँ। तर कहिले, टुंगो थिएन।
पाँचपोखरी काठमाडौंबाट नजिक र सजिलो पदयात्रा हो भन्ने पहिल्यै गएका साथीहरूबाट थाहा पाएकी थिएँ। त्यसैले आमालाई पनि सँगै लैजाने निधो गरेँ।
सेतै कपाल फुलिसकेको ६० वर्षीया आमालाई ट्रेकिङ लैजाँदा बाटोमा गाह्रोसाह्रो पर्ने हो कि? मनमा एक किसिमको डर त थियो नै। तैपनि हिम्मत गरेर ट्रेकिङका लागि आवश्यक सामान जोहो गरेँ।
साथीभाइ र परिवारका सदस्य गरी आठ जनाको समूह बन्यो।
पाँचपोखरी जान जोरपाटी–नारायणटारबाट गाडी लाग्दो रहेछ। हामी पनि टीकाको भोलिपल्ट झिसमिसेमै उठेर नारायणटारतिर लाग्यौं। टिकट लिएर गाडीमा गएर बस्यौं। खाली गाडी एकैछिनमा भरियो।
गाडीमा अधिकांशको यात्रा पाँचपोखरी थियो।
बिहान ७ बजेको थियो। गाडी सिन्धुपाल्चोकतर्फ हुँइकियो। सुपर गाडी भएकाले हामी छिट्टै मेलम्ची पुग्यौं। मेलम्चीमा एकैछिन गाडी रोकियो।
'अब गाडी एकैपटक छिम्ती गएर रोक्छ, केही काम छ भने झर्नुस् है,' सहचालक भन्दै थिए।
हामी पनि ओर्लिएर केही खानेकुरा किन्यौं। त्यसपछि गाडी फेरि आफ्नै रफ्तारमा कुद्न थाल्यो। सिसा खोलेर बाहिरी वातावरण नियाल्दै खानेकुरा खान थाल्यौं। कतिखेर निदाइएछ, थाहै भएन। एकैपटक छिम्ती पुगेर गाडी रोकियो।
गाडी पुग्ने अन्तिम बिन्दु हो छिम्ती। त्यहाँबाट पाँचपोखरीको पदयात्रा सुरू हुन्छ।
स्थानीयका लागि त त्यहाँबाट एक दिनको यात्रा हो पाँचपोखरी। तर हामी जस्ता पदयात्रीका लागि भने चार दिन छुट्ट्याउनै पर्छ।
हामीले छिम्तीमा खाना खायौं। त्यहाँ थप अलमल नगरी हातमा एक–एक वटा लौरो लिएर हिँड्यौं।
बाटोमा व्यवस्थितसँग ढुंगा बिच्छ्याइएका थिए। वरिपरि खुला ठाउँ, गाईवस्तु चरिरहेका। दृश्यले मन आनन्दित भयो।
छेवैको मानवनिर्मित झरनाले यात्रालाई अझै रोमाञ्चक बनायो।
पाँचपोखरी पुग्न देउराली, टुप्पीडाँडा र नोत्स्यामपाटीसम्म बास बस्ने व्यवस्था छ। कहाँ बास बस्ने यात्रुहरूको हिँडाइमा भर पर्छ।
हामीले टुप्पीडाँडामा बास बस्ने निधो गर्यौं। सबैको पहिलो यात्रा भएकाले टुप्पीडाँडासम्म पुग्न कति समय लाग्छ, कसैलाई थाहा थिएन। छिम्तीबाट ५–६ घन्टामा टुप्पी डाँडा पुगिने स्थानीयमार्फत थाहा भयो।
ट्रेकिङ जाने उत्साहले होला ५–६ घन्टा त थोरै समय नै भन्ने लाग्यो। बाटोमा फोटो खिच्दै, भिडिओ बनाउँदै हिँड्यौं। हरियाली डाँडाकाँडाले मन फुरूंग थियो, थकाइको महसुस भएन।
झमक्कै साँझ पुगेपछि हामी टुप्पीडाँडा पुग्यौं। त्यहाँ पुग्न हामीलाई स्थानीयले भनेभन्दा दोब्बर समय लाग्यो। पदयात्रीलाई लक्षित गरेर त्यहाँ थुप्रै होमस्टे सञ्चालन भएका रहेछन्। त्यसैमध्ये एकमा हामी बस्यौं।
होमस्टे धेरै भएकाले त्यहाँ बुकिङ गर्नु नपर्ने रहेछ। आएका सबै यात्रुलाई जसरी पनि सञ्चालकहरूले व्यवस्थित गरेर राख्ने सञ्चालकले बताउँदै थिए।
धेरैपछिको लामो पदयात्रा। मन नगले पनि शरीर गलिसकेको थियो। खाना खाएर हामी सुत्यौं।
भोलिपल्ट बिहान ६ नै बजे हाम्रो पाँचपोखरीको यात्रा सुरू भयो। उदेक लाग्दो, उकालो सुनसान, जंगलको बीचमा ढुंगा बिच्छ्याइएका बाटा।
जति माथि उचाइमा पुग्दै गयो, चिया–खाजा खाने ठाउँ बिरलै देखिन्थे।
यात्रीको तिर्खा मेटाउन पानीका मुहान बगिरेहका थिए। हामी पनि बाटोमा चिया खाजा खाएर एक आपसमा गफिँदै हिँडिरहेका थियौं।
जति हाम्रो यात्रा अघि बढ्दै जान्छ, थकाइले त्यति आवाज निस्किन छोडिसकेको थियो। मानौं, हामी एकअर्कालाई चिन्दैनौं।
उमेर समूह फरक भएकाले हामी सबै एउटै रफ्तारमा हिँड्न सकनौं। साथीहरू अघि लागे, म आमासँगै पछि बसेँ।
बेला बेला आमातिर फर्केर हेर्थेँ। चाउरी परेका गाला एक ठाउँमा सोहोरिएर बत्तीस मुजा परिसकेका देखिन्थे। आमाको त्यो अनुहार देख्दा बाटोमा कसैले गाली गर्ने हुन् कि भन्ने बेला–बेला डर लाग्थ्यो।
तर यात्रुले 'अहो यस्तो पाको मान्छे पनि ट्रेकिङ आएको' भन्दै आमालाई हौसाइदिन्थे। सँगै आफू पनि हौसिन्थे।
जति उचाइ बढ्दै गयो, त्यति चिसो बतास। नाकको डाँडी नै छुने अग्ला पहाड, पहाड कटेसँगै खुलेका हिमालले सबै थकान मेटिएको महसुस हुन्थ्यो। त्यसैमाथि परेका हिउँले यात्रा अझै रोमाञ्चक बन्दै गयो।
साँच्चै भन्नुपर्दा मैले पहिलो पटक हिउँ परेको प्रत्यक्ष देख्न पाएकी थिएँ। आफ्नै शरीर स्पर्श गर्दै बगेका हिउँ हातसम्म आउँदा बिलाइसक्थ्यो।
लाग्थ्यो, हातभरि हिउँ लिएर खेल्न पाए कति रमाइलो हुन्थ्यो!
हामी जति अघि बढ्दै गयौं, हिउँ त्यति नै बाक्लो हुँदै गयो। अघिसम्म देखेका नांगो डाँडा हिउँले ढपक्क छोपिए। हिउँले यात्रा भुलाइदिए पनि गन्तव्यमा पुग्न अझै बाँकी थियो।
झमक्क साँझ परिसकेको थियो। जबर्जस्ती पाइला हिउँमा घिस्रिँदै थिए। मनमा उत्साह भए पनि शरीरले आराम खोजिसकेको थियो।
अब कति हिँड्न पर्ला, कहिले आउला पाँचपोखरी, मनमनै सोच्दै जसोतसो अगाडि बढ्दै थियौं।
एक जना मान्छे नजिकै आएर औंलाले पोखरी देखाउँदै भने– यही हो पाँचपोखरी।
पुलुक्क आमातिर फर्केर हेरेँ।
अनुहारमा परेका बत्तीस मुजा सर्लक आ–आफ्नै स्थानमा पुगिसकेका थिए। हिउँजस्तै दाँत टल्किरहेका थिए।
पाहुनालाई राख्न हिउँको बीचमा छाप्राहरू देखिन्थे। साथीहरू केही पहिल्यै अघि आइसकेकाले बासको बन्दोबस्त गरिसकेका थिए।
चिसोले त्यहाँ केही उत्पादन नहुने रहेछ। आवश्यक सामान सबै छिम्तीबाटै बोकेर ल्याउनुपर्ने हुँदा पाहुनालाई खुवाउन तरकारीको समस्या पर्ने सञ्चालक बताउँदै थिए। जंगली च्याउ र चौंरीको दूधसँग खाना खाएर सुत्यौं।
बिहान उठ्दा छर्लंग घाम लागिसकेको थियो। आकाश खुला देखिन्थ्यो। भुइँमा भने बाक्लै हिउँ।
एउटा ठूलो र छरिएर रहेका स–साना गरी पाँचै वटा पोखरी नजिकैबाट नियाल्यौं। पाँचवटा पोखरी भएकै कारण त्यो ठाउँलाई पाँचपोखरी भनिँदो रहेछ। पोखरीलाई भैरव, सरस्वती, सूर्य, गणेश र नाग कुण्ड भनेर नामकरण गरिएको छ। इन्द्रावती नदीको उद्गमस्थल हो पाँचपोखरी। यो समुद्र सतहबाट करिब ४२ सय मिटर उचाइमा छ।
धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण पाँचपोखरी हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको पवित्र तीर्थस्थल पनि मानिन्छ। पोखरी नजिकै महादेवको मन्दिर छ। जनैपूर्णिमामा यहाँ विशेष मेला लाग्ने गर्छ।
त्यहाँका अधिकांश स्थानीयको आम्दानीको स्रोत पर्यटन नै रहेछ। पर्यटक आउने मौसममा उनीहरू पाँचपोखरी आएर बस्दा रहेछन्। अन्य समय भने बेँसीमा बस्ने रहेछन्।
मन्दिर दर्शन गरेर हामी टुप्पीडाँडा आएर बस्यौं। भोलिपल्ट काठमाडौं फर्किने यात्रा सुरू भयो।
बाटोमा आमा भन्दै हुनुहुन्थ्यो– अब हामी कहाँ जाने ट्रेकिङ?