म आफ्नो दैनिकीबाट आजित भइसकेको थिएँ। मलाई आफ्नो दैनिक जीवन र आफ्नो वरिपरिको संसारबाट केही दिनका लागि बिदा चाहिएको थियो। त्यस्तै अवस्था मेरा अरू तीन जना साथीहरूको पनि थियो। ती थिए वीरेन्द्र चौधरी, मिथुन झा र कुन्दन चौधरी।
हामीले ख्याल-ख्यालमा नै च्च्छो-रोल्पा हिमताल पदयात्रामा जाने निर्णय गर्यौं। खास च्छो-रोल्पा पदयात्रामा जाने निर्णय मेरो र कुन्दनको हो, अरू दुई जना त हाम्रो संगतमा जहाँ पनि जान तयार हुन्छन्। केटाहरूको मित्रता नै यस्तै हुन्छ।
हाम्रो समूह अचम्मको थियो। चारै जना मधेशका केटाहरू। मेरो घर रौतहट, कुन्दनको पर्सा, मिथुन दाइको धनुषा र वीरेन्द्रको सर्लाही।
हामीमध्ये कोही पनि कहिले पनि त्यति उचाइमा पुगेका थिएनौं। वीरेन्द्रबाहेक अरू तीन जनाको जीवनशैली बिल्कुलै निष्क्रिय, दैनिक आधा घण्टा पनि पैदल नहिँड्ने। मिथुन दाइलाई उकालो चढ्न धेरै गाह्रो हुन्थ्यो भने वीरेन्द्र ओरालो हिँड्न नसक्ने।
मेरो र वीरेन्द्रको यो दोस्रो पदयात्रा थियो भने कुन्दन र मिथुन दाइको पहिलो पदयात्रा। अनि वीरेन्द्र लसुन प्याज पनि नखाने किसिमको शाकाहारी। यी सब कुरालाई हेर्दा हामीले जहाँसम्म पुग्न सकिन्छ त्यहाँसम्म जाने र नसके जबर्जस्ती जाने कोसिस नगरी फर्केर आइहाल्ने योजनासहित यात्रा सुरू गर्यौं।
कात्तिक ३ गते हाम्रो यात्रा सुरू भयो। हामी तीन जना रौतहटको चन्द्रपुरमा भेला भयौं भने वीरेन्द्रले काठमाडौंबाट सिधै सिंगटीसम्मको गाडी चढ्यो। काठमाडौंबाट बिहान लामाबगर सम्मको लागि पनि बस पाइन्छ। च्छो-रोल्पा जान सिंगटी काटेर लामाबगर पुग्नु अगाडि छ्योतछ्योतमा ओर्लेर उकालो लाग्नु पर्छ। ७७५ रुपैयाँ भाडा तिरेर बिहान ८ बजे गाडी चढेको वीरेन्द्र साँझ ५ बजे सिंगटी पुग्यो।
दसैंमा सवारीसाधनको चापले गर्दा जाममा परी गाडीले ढिलो गरेको हो, अन्यथा एक दुई घण्टा छिट्टो पुर्याउँछ। यता हामी तीन जनाले चन्द्रपुरबाट ८ बजे मोटरसाइकल यात्रा सुरू गरेर सिंगटी पुग्दा साँझ ५ नै बजिरहेको थियो। सिंगटीबाट अफरोड हुँदै छ्योतछ्योत पुग्न करिब एक घण्टा लाग्छ। छ्योतछ्योतमा हामीले च्छो-रोल्पा पुगेर फर्केका १०-१२ वर्षको दुई बच्चाहरू सहितको विदेशी परिवारलाई पनि भेट्यौं। उहाँहरू निकै उत्साहित हुनुहुँदो रहेछ। हामी पनि उत्साहित थियौं। हाम्रो असली यात्रा अब सुरू हुने वाला थियो। त्यस रात हामी छ्योतछ्योत बस्यौं। दुई जना बस्न मिल्ने कोठाको प्रतिकोठा ५०० रुपैयाँ र खाना प्रतिव्यक्ति २८० रुपैयाँ खर्च भयो।
मोटरसाइकल लिएर जानेहरूका लागि छ्योतछ्योतमा प्रतिमोटरसाइकल ३५० रुपैयाँ तिरेर यात्रा अवधिभरका लागि मोटरसाइकल राख्ने व्यवस्था पनि छ।
हामीले पदयात्रामा काम लाग्ने सानो चुलो, केही खानेकुराहरू, चिसो र हावाको वेग छेक्ने कपडाहरू, पानी इत्यादि बोकेका थियौं। भोलिपल्ट बिहान ६:३० बजे हाम्रो यात्रा सुरू भयो। योजना थियो सिमीगाउँ खाना खाने र राति डोंगांग बस्ने। तर हामीलाई सिमी गाउँको उकालो चढ्न नै निकै अप्ठ्यारो भयो। अरूलाई २ घण्टा ३० मिनेट लाग्ने उकालो चढ्न हामीलाई ३ घण्टा ३० मिनेट लाग्यो। हामी १०-२० खुड्किला चढी केहीबेर आराम फर्माउथ्यौं। मिथुन दाइ त झन् हिँड्नै नसक्ने। हामी भोकै पेट हिँडेका थियौं। भोकै पेट हिँड्न नहुँदो रहेछ, भोकै पेट हिँड्न नसकिँदो रहेछ।
हामीले केहीबेर उकालो चढेर चिया बनायौं र आफूसँग लागेका खानेकुरा खायौं। सिमी गाउँसम्म पानीको राम्रो व्यवस्था रहेछ तर त्यसपछिको बाटोमा पानीको स्रोत भेट्टाउन मुश्किल हुन्छ। सिमी गाउँ पुग्दा १० बजिसकेको थियो। खाना खाई प्रति व्यक्ति २५० रुपैयाँ तिरेर १२ बजे हामी सिमी गाउँबाट उकालो लाग्यौं। सुरमुचे पुग्दा मिथुन दाइ अब हिँड्नै नसक्ने अवस्थामा पुगिसक्नु भएको थियो।
छ्योतछ्योतबाट रिगु गाउँको बाटो हुँदै सुरमुचे पुग्ने अर्को बाटो पनि छ।
यो बाटोमा साना-साना खुड्किलाहरू भएकाले उकालो चढ्न सजिलो हुन्छ। हामीलाई यो विकल्पका बारेमा कसैले जानकारी दिएन।
सुरमुचेबाट ३:३० बजे हामी डोंगांगका लागि हिँड्यौं। तर बाटोमै रात पर्यो। हामी एकदमै आत्तिएका थियौं। जति हिँड्दा पनि गन्तव्य आइनपुग्ने। टाढासम्म कतै बत्ती बलेको संकेत पनि नदेखिने। करिब ७ बजे हामी क्याल्चे पुग्यौं। क्याल्चेबाट ड़ोंगाग करिब ३० मिनेटको बाटो रहेछ। तर हामी आत्तिएका र थाकेका थियौं। अगाडि जाने हिम्मत गर्न सकेनौं। त्यो रात हाम्रो बास क्याल्चेमा भयो। क्याल्चेमा एउटामात्र होटल रहेछ। होटलका भाइ निकै रमाइलो थिए। होटलमा तिर्नुपर्ने रकमलाई क्षतिपूर्ति भन्थे। हामीले प्रतिकोठा ५०० रुपैयाँ र प्रतिव्यक्ति ३५० रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको थियो।
भोलिपल्ट हामीले ६ बजेर ५० मिनेटमा यात्रा सुरू गर्यौं। हामीले फेरि पुरानै भोकै हिँड्ने गल्ती दोहोर्यायौं। भोकै हिँड्न नसकिँदो रहेछ। त्यो दिन हामीले आफ्नो यात्रा बेदिंग टुंग्याउने योजना बनाएका थियौं। १ घण्टा जतिमा हामी ड़ोंगांग पुग्यौं र ठांगडिंग पुग्दा ११:३० बजिरहेको थियो। हामीलाई अरूभन्दा धेरै समय लागिरहेको थियो। तर अब हामीमा ऊर्जा थप्नेहरू पनि भेट्न थालिसकेका थिए। पदयात्राको विशेषता नै यही हो। पदयात्रामा भेटिने कोही पनि अन्जान हुँदैनन्। सबै आफ्नै महसुस हुन्छन्। जति थकित भए पनि सबैले मुस्कानसहित गफ गर्छन् र यात्रा पूरा गर्न हौसला दिन्छन्। हामीलाई कसैले कहाँबाट आएको सोध्दा हामीले वीरगञ्जबाट आएको भनी जवाफ दिन्थ्यौं। सुन्नेले अचम्म मान्थे र यसले हामीलाई झनै उत्साहित बनाउँथ्यो।
तपाईंले गरेको कामले कसैलाई चकित बनाउँदा तपाईंलाई झनै साहस आउँछ नि, होइन? हामीले यात्रामा ७४-७१ वर्षको फ्रेन्च दम्पती, ५ वर्षकी बालिका, एक्लै यात्रामा निस्केकी एक महिला भेट्यौं जसले हामीलाई यात्रा पूरा गर्ने इख पलायो।
छ्योतछ्योतमा हामीले भेटेका अन्य समूहहरू पनि दोहोर्याएर भेट्न सुरू गरिसकेका थियौं।
त्यो दिनको यात्रा हामीले योजना अनुरूप नै बेदिंगमा अन्त्य गर्यौं। हुन त हामी ४ बजे नै बेदिंग पुगिसकेका थियौं। त्यहाँबाट नागाउँ करिब ३ घण्टाको दूरीमा पर्छ। तर बेदिंगपछि विभिन्न हिमश्रृंखलाहरूका मनमोहक दृश्यहरू देखिन थाल्छन्। तसर्थ हामीले त्यो बाटो उज्यालो रहँदामात्र हिँड्ने निर्णय गर्यौं। त्यो रात हाम्रो बसाइ बेदिंग नै रह्यो।
बेदिंग पूर्णतया: शाकाहारी गाउँ हो। तर अण्डा अनि रक्सी चाहिँ पाइन्छ। बुद्ध धर्मावलम्बीहरूको बस्ती रहेको यो गाउँका ६५-७० जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। बेदिंगमा नेपाल टेलिकमले टेलिफोनको टावर पनि स्थापना गरेको छ। बेदिंग पुग्दासम्म हाम्रो समूहको नाम 'वीरगञ्जको टोली' भइसकेको थियो। अरू समूहहरूले आफूबीच हाम्रो कुरा गर्न थालिसकेका थिए।
बेदिंगमा हामीले प्रतिकोठा ६०० रुपैयाँ र खानाबापत प्रतिव्यक्ति ५५० रुपैयाँ खर्च गर्नुपर्यो। भोलिपल्टको हाम्रो गन्तव्य नागाउँ रहेको थियो। थोरै मात्र हिँड्नुपर्ने भएकोले त्यसदिन हामी यात्राको सुन्दर दृश्यहरूमा भुल्दै नागाउँ पुग्यौं। घामको किरणमा सुनजस्तै टल्किने ती हिमालहरूको दृश्यले हेरिरहन अशक्त बनाउँथ्यो भने हिँड्न ऊर्जा पनि दिन्थ्यो।
निर्जीव, उजाड र भयंकर चट्टानहरू पनि जीवन्तझैं महसुस भइरहेका थिए। ती दृश्यहरूको सुन्दरता शब्दमा बयान गर्न सकिँदैन। न त यी आँखाले देख्ने दृश्यहरूलाई क्यामराको लेन्सले जस्ताको तस्तै कैद गर्न सक्छ। यी सबै आफैं अनुभव गर्नु सर्वोचित हुन्छ जसका लागि च्छो-रोल्पा पुग्नैपर्छ।
नागाउँ हाम्रो यात्राको सबभन्दा महँगो गाउँ।
४१०० मि. को उचाइमा रहेको यो गाउँसम्म सामान पुर्याउन कि चौंरीगाईको प्रयोग गर्नुपर्छ कि त भरियाले बोक्छन्। विकटताको दृष्टिकोणले यो गाउँ त्यति पनि महँगो होइन। जुनेली रातमा टल्किरहेको हिमालको दर्शनले मनलाई प्रदान गर्ने शितलतासँग तुलना गर्दा त नागाउँ महँगो नै होइन।
नागाउँमा प्रतिव्यक्ति २३०० रुपैयाँ तिरेर हामी भोलिपल्ट दूधकुण्डका लागि हिँड्यौं। दूधकुण्ड ४७०० मि. को उचाइमा अवस्थित छ। यस कुण्डको पानी दूधजस्तै सेतो हुने भएर यसलाई दूधकुण्ड भनिएको हो।
हामी पुग्दा यसको पानीको रंग हरियो थियो। उकालोमा हिँड्नुको पीडा, थोपा थोपा पानीको लागि तड्पिनुको पीडा, हिमाली भेगको चिसो सिरेटोको सेकाइ इत्यादि सबै बिर्साउने दृश्य थियो दूधकुण्डको।
च्छो-रोल्पा ४५८० मि. को उचाइमा छ। त्यसदिन हामी दूधकुण्ड र च्छो-रोल्पा दुवै पुग्यौं। हामी पुग्दा च्छो-रोल्पामा हुस्सु लागेको हुनाले हामीले त्यहाँबाट देखिने हिमश्रृंखलाहरू देख्न पाएनौं। तुलनात्मक रूपमा हामीलाई दूधकुण्ड धेरै आकर्षक लाग्यो। हामीले दसैंको टीका च्छो-रोल्पामै मिथुन दाइको हातबाट लगायौं। त्यो दिन हाम्रो बसाइ बेदिंग रह्यो भने अर्को दिन हामीले बेदिंगबाट चरिकोट सम्मको यात्रा तय गर्यौं। यसरी हाम्रो सम्पूर्ण यात्रा जम्मा ७ दिनको रहेको थियो जसमा हामीले प्रतिव्यक्ति जम्मा १२ हजार खर्च गरेका थियौं।
आज हामी नयाँ ऊर्जाका साथ फेरि आफ्नो पुरानै दैनिकीमा फर्किएका छौं। हामीलाई यात्राको कठिनाइ याद छैन तर ती मनमोहक दृश्यहरू स्पष्ट रूपमा मगजमा छन्। पदयात्राको लत लाग्छ भन्छन्, हो रहेछ। हामी मधेशी केटाहरूले ती सुन्दर हिमालहरूलाई चकित पार्न फेरि अर्को पदयात्रामा जाने योजना बनाइरहेका छौं।
यात्रा कठिन थियो? थियो, तर यस पदयात्राले जीवन सिकायो। हार नमान्न सिकायो, एक अर्काको साहस बन्न सिकायो, पीडाको बीच मुस्कुराउन सिकायो, दु:ख र कमजोरी व्यक्त गर्न सिकायो। पदयात्राका लागि नयाँ जुत्ता चाहिन्छ? चाहिँदैन। नयाँ कपडाहरू चाहिन्छन? चाहिँदैन। धेरै पैसा चाहिन्छ? चाहिँदैन। धेरै समय चाहिन्छ? चाहिँदैन। पदयात्राका लागि केवल इच्छा चाहिन्छ।