एक्कासि आएको अट्टाहास हाँसोले सन्नाटा तोड्यो। धेरैको ध्यान त्यतै खिच्यो। मेरो पनि ध्यान र आँखा दुवै पछाडि पुगे। पछाडिको सिटमा दुई जना महिला कसैको प्रवाह नगरी गफिएका थिए। हल्ला नगर्न भनेर एकछिन अगाडि बच्चाहरूलाई गाली गरेकोमा मलाई चुकचुक लाग्यो।
ट्रेन आफ्नै सुरमा कुँदिरहेको थियो। हाम्रो गन्तव्यतर्फको दूरी पनि घट्दै थियो। सामुन्नेको सिटमा आँखिभौं माथि तन्काउँदै मुस्कुराएको छोरोको अनुहारमा खुसी छचल्किएको देखिन्थ्यो। त्यसो त म पनि कम फुरूङ्ग थिइनँ।
जेनेभा आएदेखि नै पेरिस घुम्ने रहर हाम्रो। रहरका स्रोत पनि उमेर र अवस्था अनुसार फरक हुने। जि. के. किताबमा पढेको आइफल टावर र आजभोलिको सामाजिक सञ्जालमा देखिने टावरको टुप्पो समाएको फोटोको कारण पेरिस घुम्न मन लागेको रे ठूलो छोरालाई।
मैले इतिहास किताबमा पढेको फ्रान्सेली राज्यक्रान्ति र क्रान्ति पश्चातको विकासलाई मस्तिष्कमा राखेर फ्रान्स हेर्ने रहर छ भन्दै गर्दा छोराले नबुझे जस्तो प्रतिक्रिया दियो। छोराको छेउमा बस्नु भएको श्रीमान मलाई हेरेर मुसुमुसु हाँस्नु भयो। मैले अझ थपें 'खासमा त मलाई मन्टेस्क्यू, भोल्तियर, रूसो जस्ता महान दार्शनिकहरूले टेकेको माटोमा पाइला टेक्ने रहर हो'।
'मलाई सोध्छौ भने त सपरिवार एकैसाथ घुम्ने रहर हो', उहाँ बोल्नुभयो।
हामी मुखामुख गरेर हाँस्यौं र खुसी भाव प्रकट गर्यौं। सानो छोरा सानै हुनाले उसलाई यी कुराहरूमा खासै चासो थिएन।
विकासको रूप
उदाउँदो सूर्यका किरणसँगै खुलेको आकाश र ट्रेनको माथिल्लो तलामा रिजर्भ सिटको गतिलो संयोगले बाहिरको प्राकृतिक सुन्दरता र मानवनिर्मित विकासको दृश्यपान गर्न राम्रो मौका थियो।स्वीजरल्याण्डदेखि फ्रान्स यात्राको बीचबीचमा झुलुक्क झुल्किने सेता हिमालका चुचुरा, मिलिक्क देखिने र छेलिने थचक्क बसेका पहाड र लमतन्न सुतेका समथर फाँटहरूले मलाई नेपालको झझल्को दिइरहेका थिए। कतै हरिया डाँडा त कतै सम्म परेका पाखाहरूले नेपालकै भित्री मधेशतिर यात्रा गरेको जस्तो भान हुन्थ्यो। तर जंगलपछि देखिने गाउँ हुन् वा सहर एकनासका घरहरू, मिलेको बस्ती, पहाड छेडेर दौडिएका सुरूङ मार्गहरू, पहाडको भित्तामा झुण्डिएको कौंसी जस्तो देखिने जङ्गी पिलर सहितका हाइवेहरू र ठूला ठूला पुलहरूले विकासको उच्चतम रूप प्रदर्शन गरिरहेका थिए। आँखा झिमिक्क गर्दा पनि केही छुट्ला कि भनेर आँखा चियाइरहन मन लाग्ने यहाँको विकासले म वास्तवमै लोभिएँ।
उता रेलको औसत गति ३०० कि. मि/ घण्टा हुँदा यता मनको गति त्यो भन्दा बढी थियो। कहिले नेपालको गृह जिल्ला गुल्मी पुगेर रेसुङ्गा डाँडासँग त कहिले सिद्धबाबाको पहिरोले रोकिएका गाडीको लस्करसँग यहाँको पहाडहरू र ननस्टप यात्रा तुलना गर्न पुग्थ्यो मन। जहाँ यात्रा गर्दा पनि मनको गति सधैं तीव्र हुने गर्दछ।
पूर्वाधार विकास मात्र होइन खेती प्रणाली पनि उत्तिकै आकर्षक। ठूलासम्म परेका आँखामा नअटाउने पाटामा एकनासको कतै मकै, गहुँ, पहेंलपुर सूर्यमुखी, लहरिएका अंगुरको खेती त कतै ठूला चौर र फाँटहरूमा गाईका बथान चरेको दृश्य पालैपालो आँखाबाट फुत्तफुत्त फुत्किन्थे। स्वीट्जरल्याण्डमा कृषकहरू पनि धनाढ्य छन् भन्ने सुनेको थिएँ। यी फाँट र यहाँको खेती देख्दा उत्पादन गर्ने कृषकभन्दा व्यापार गर्ने व्यापारी धनी भएको कृषिप्रधान देशको नागरिक म चकित परें।
आकर्षक दृश्यावलोकन गर्दागर्दै ट्रेनको गति विस्तारै घट्दै गयो। बिहानको ९:४५ बजे फ्रान्सको गार्डे लियोँ स्टेसन पुगेको अनाउन्स सुनियो।
कलाकृतिको सहर
हाम्रो योजना अनुसार लिस्टको पहिलो नं मा विश्वको सबैभन्दा ठूलो र धेरै मानिसहरूले अवलोकन गरेको विश्व प्रसिद्ध लुभ्रे संग्रहालय थियो। ७२ नं को बस चढेर हामी त्यहाँ पुग्यौं। टिकटको लागि लामबद्ध मानिस र कम्पाउण्डमा देखिने अन्य मानिसहरूको झुण्डलाई एकछिन त पाइला नसारी हेरें। विश्व पहिरन सो कार्यक्रममा दर्शकदीर्घामा बसेजस्तो भयो। फरक पहिरन र फरक कदका यति धेरै मानिसहरू प्रत्यक्ष सायद मैले पहिलो पटक देखेकी थिएँ।
संग्रहालयको मुख्य चिनारी, यसको प्रवेशद्वार रहेको सीसाको ठूलो त्रिकोणात्मक आकृतिसँगै फोटो खिच्नेहरू पनि पालो कुरिरहेका थिए। हामीले पनि त्यो मौका गुमाएनौं। इतिहासको विद्यार्थीको नाताले फ्रान्सका अन्तिम राजा लुई सोह्रौंको मूर्ति पनि मेरो रूचिको विषय बन्यो। उहिलेका फ्रान्सका अन्तिम राजा र अहिलेका नेपालका ४ जना जनतालाई एउटै फ्रेममा कैद पनि गर्यौं।
मध्यकालीन तथा पुनर्जागरण कालदेखिका कलाकृतिहरू, लियो नार्दो दा भिन्ची निर्मित विश्व परिचित मोनालिसाको रहस्यमयी चित्र र विभिन्न कालखण्डका ऐतिहासिक कलाकृतिहरू संग्रहित लुभ्रे म्युजियम दिनभर घुमे पनि नसकिने रहेछ।
एकातिर संग्रहालय घुमेर आराम खोजेको शरीरलाई केही क्षण विश्राम दिन र अर्कोतिर भोको पेट भर्न हामीले संग्रहालय नजिकैको गार्डेन अफ टुलरिजमा केही समय खर्चियौं।
अबको हाम्रो समय तालिका सहर घुम्ने थियो। स्केलले रेखा तानेर एक इन्च पनि तल माथि र भित्र बाहिर नगरी बनाए जस्ता आँखै तिरीमिरी पार्ने घर र भवनहरू, आकर्षक र ठूलो ओपेरा हाउस, इन्डिया गेट जस्तो देखिने आर्क दि ट्रियँफ र सुनौलो कलात्मक पुल पों अलेक्जेण्ड्र हाम्रा लागि सहरको मुख्य आकर्षण भए। ओपेरा हाउस नजिकै पुग्दा सिमोन दे व्युभुअ, मिसेल फुको र ज्याक डेरिडाजस्ता महान दार्शनिक तथा पश्चिमा साहित्यिक समालोचकहरूको जन्म र कर्म भूमिमा आफू उभिन पाएकोमा निकै गर्व लाग्यो। सहरको कलाकृति, मूर्तिहरू घाँटी तन्काएर पाट्टिउन्जेल हेर्दा पनि धित मर्दैनथ्यो। कस्तो आर्किटेक्चर ओहो! वास्तवमा कलाकृतिको सहर रहेछ पेरिस।
प्रेमको सहर
केही नछुटोस् भनि वरिपरि नियाल्दै हामी आइफल टावरभित्र प्रवेश गर्यौं। ५/६ जना सेनाहरू टावरको कम्पाउण्डभित्र सुरक्षाको लागि घुमिरहेका थिए। पर्यटकहरूले खचाखच थियो टावर तलको आँगन र टावरभित्र पनि। टावरमा आइपुग्दा संसारकै उच्च स्थानमा पुगेको जस्तो आभास भयो। त्यहाँको दृश्यको भरपुर मजा लिइरहँदा दिन छिप्पिसकेको थियो। मानिसको भीड भने घटेको थिएन।
सेइन नदीमा तैरिएका जहाज र डुंगाहरू, नदीमाथि लस्करै देखिने पुलहरू र तिनका डिजाइन, पैदलयात्राका लागि सिँगारिएका नदी किनाराका कोरिडोरहरू, कोरिडोरमा हात समाएर हिँडेका प्रेमिल जोडीहरू, सडक किनारामा ठडिएका रूखहरू र फक्रिएका फूलहरू।
आहा! साँच्चै मनमोहक दृश्य। आइफल टावरको काखको पर्यावरण यति रोमाञ्चक थियो कि शब्दमा व्याख्या गर्न नै मुस्किल हुन्छ। चुम्बकले फलाम समाएझैं आँखाले ती दृश्य छोड्न मान्दैनथे।
प्रेमीहरूले चाबी लगाएर प्रेम सुरक्षित गरेको पनि प्रत्यक्ष देख्न पाइयो। प्रेमी प्रेमिकाको नाम लेखेर पुलमा ताल्चा झुण्डाएर बन्द गरी सेइन नदीमा चाबी फाल्ने र प्रेम अमर बनाउने विश्वास रहेछ। यो अचम्मको संसार, विश्वासमा चलेको छ। पुलमा स-साना ताल्चा चाबी खरिद बिक्री भैरहेको थियो। हामी भने सत्र वर्ष अगाडि मनमा ताल्चा पड्काएर प्रेम सुरक्षित गरेको सम्झँदै अगाडि बढ्यौं।
अब पालो प्रतीक्षाको थियो। टावर सामुन्नेको बगैंचा नजिक पोलेका मकैका तीन घोंघालाई चार जनाले स्वाद लिँदै सूर्यास्त कुरिरह्यौं।आँखा घडी र टावरमा घुमिरहेका थिए। मन केही अधैर्य भयो। यता टावरको झिलिमिली हेर्ने अवसर गुमाउन मन थिएन उता ट्रेन छुटाउन पनि भएन। दिन विस्तारै ढल्यो, आँखा सामुन्नेको टावर झलमल्ल बल्यो। सिमसिम परेको पानी, झलमल्ल टावरसँगै धपक्क बलेको पेरिस सहर, बत्ती टल्किएको नदी र फूलहरूले मन निकै रोमाञ्चित भयो। वास्तवमा प्रेमको सहर रहेछ पेरिस। केही मिठा सम्झनाहरू साथमा लिएर हामी टावरबाट विस्तारै टाढियौं।
नेपाली मन
जेनेभा फर्कंदै गर्दा पेरिसका दृश्यहरू एकपछि अर्को गर्दै आँखामा नाचिरहे। फ्रान्स र स्वीट्जरल्याण्डको विकास, पद्धति, व्यवस्थापन, पर्यटन स्थलसम्मको पहुँच, पर्यटकलाई आवश्यक सेवा सुविधा र सुरक्षा जस्ता विषयहरूमा नेपालको पनि सन्दर्भ जोड्दै आ-आफ्ना तर्कवितर्कमा हामीले ट्रेनमा पुन ३ घण्टा १५ मिनेट समय बितायौं।
टिकटमा उल्लेखित समयमा एक मिनेट पनि फरक नपरी यात्रा सम्पन्न भयो। यसले हामीलाई स्थान पहिचान र समय तथा खर्च व्यवस्थापन गर्न निकै सहज भयो। अन्तत: यात्रा यादगर बन्यो।
यो लेखिरहँदा मैले पेरिसको आइफल टावर र नेपालमा विशेषत स्थानीय तहहरूमा टावर निर्माणको लहड सम्झिरहेछु। १९ औं शताब्दीको उत्तरार्द्धतिर बनेको आइफल टावर आज पनि फ्रान्सको आइकनको रूपमा छ। विश्वका पर्यटक आकर्षण गरेर अर्थतन्त्र विस्तार गर्ने माध्यम बनेको छ। हाम्रा स्थानीय तहहरूमा धमाधम बनिरहेका अग्ला टावर पनि स्थानीय पहिचान र अर्थोपार्जनको स्रोतको रूपमा उपयोग गर्न नसक्ने हो भने अग्ला संरचनाले मात्र पालिकालाई समृद्धिको उचाइमा पक्कै पुर्याउँदैनन्।
हामी नेपाली जहाँ जाँदा पनि नेपाललाई मुटुमै बोकेर जान्छौं। जहाँ पुग्छौं कुनै न कुनै रूपमा नेपाललाई सम्झन्छौं, तुलना गर्छौं। कहिले नेपाललाई माथि भेट्छौं त कहिले तल। आखिर यो मन त मेरो नेपाली हो।