सुन्दह। नाम आफैंमा काफी भएजस्तो। जसरी धनदौलत स्याहारिएका घरहरू भव्य लाग्छन्, त्यसरी नै सुन्दह रहेको भेग पनि उत्तिकै भव्य। मनोरम मात्र छैन, उत्तिकै मनोहर पनि।
थाली आकारको सुन्दहमा कहीँकतैबाट खोलो मिसिएको छैन। आफ्नै मूल भएको यस दहबाट बहने खोला पार गर्न असार, साउन र भदौमा जो कोहीलाई हम्मेहम्मे पर्छ। मौलिक शैलीमा ढुङ्गाका गाराले तटबन्ध बाँधिएको छ। तै पनि, सुन्दहलाई यसको कुनै गुन्जायस छैन। तटबन्धकै कापकापबाट पानी कलकल बग्दो छ, खोलो निरन्तर बहँदो छ। तटबन्धको मध्यभागमै जालकी निर्माण गरिएको छ।
स्थानीयका अनुसार यो एक प्रकारको देवल हो। यस भेगको सांस्कृतिक चिनो हो। कसैले यसलाई भकारी भन्दछन् भने कसैले पन्थ्यौली। कसैले जालाकी भन्दछन् भने कसैले छोर्तेन। अनि कसैले देउराली। जालकी भएर आवतजावत गर्ने यात्रुहरू दहमा बास गरेका भनिएका बराह देवताको नाममा दाम र लेकाली फूल टिपेर चढाउँछन्। रातो र सेतो रङको धजा बाँध्छन्, धूपको रूपमा धूपीको पात बाल्छन्। अनि अक्षता छर्छन्। चाहेको मनोकामना माग्छन्।
‘यति पवित्र थलो, यति चोखो दह अहिलेसम्म गुमनामै भयो’, पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष बमबहादुर बुढा उर्फ विजयले थकथकी मान्दै भने,‘अब यसलाई चिनाउने हो। यसको प्रचारका लागि आक्रामक बन्छौं।’
रूकुमपूर्व जिल्लाको एक स्थानीय तह हो— पुथा उत्तरगंगा गाउँपालिका। सुन्दहमा विरलै मात्र घुम्न आउनेले तीतो पोख्ने गरेका छन्— यस गाउँपालिकाले अहिलेसम्म आफ्नै सुन्दहको महत्व र प्रसिद्धी ठम्याउन सकेको छैन।
हुन पनि यस गाउँपालिकाको वडा नं. ३ को रन्मा गाउँदेखि सुन्दह पुग्न कसाकस साढे एक दिन लाग्छ। यो विलुप्त जस्तै मानियो। यद्यपी, रूकुम पूर्वतर्फको भूगोलबाट सबैभन्दा नजिकको बस्ती नै रन्मा गाउँ हो। संयोगले सुन्दह वडा नं. ३ मै पर्दछ। बरू सुन्दहबाट डोल्पा जिल्लाको लोचा, ताली, दुरगाउँ, थरगाउँ, दुनै नजिकका बस्ती हुन्। सुन्दहसितको धार्मिक महत्व र यससँग जोडिएका मिथकीय किस्साहरू डोल्पाको दक्षिण–पश्चिम भेगका बस्तीसँग बढ्ता जोडिएको पनि यसैकारणले हो।
लुम्बिनी प्रदेशको एउटै मात्र हिमाली जिल्लाको रूपमा रूकुम पूर्वलाई चिनिन्छ। सुन्दह रूकुम पूर्वको एउटा लेकाली दह त हो नै, यो यस जिल्लाको मात्र नभई लुम्बिनी प्रदेशकै सर्वाधिक ठूलो दह पनि हो।
सुन्दहतर्फको यात्रा थाल्नुअघि र यात्रापश्चात् रन्मा गाउँ र यस सेरोफेरोका अन्य गाउँका बुढापाकासँग यस पंक्तिकारलाई तीनवटा लोककथा सुन्ने मौका जुरेको थियो।
‘सुन्दह’ नाम कसरी रहन गएको भन्नेबारे रन्मालीहरू पनि धेरथोर जानकार छन्। ती कहावत बडा रोचक छन्।
एक— डोल्पा जिल्लाको थरगाउँमा उहिल्यै यो सुन्दह रहेको थियो। गाउँलेहरू यस दहबाट बग्ने खोलाको पानी भरेर खान्थे। अझ हिउँद याममा गाउँलेहरू यस दहको खोलाको पानी नभई दैनिकी चल्दैनथ्यो। झिसमिसेमै सबैभन्दा पहिले उठेर पानी भर्न जानेले खोलाको किनारामा जमेको सुनको बरफ छिनालेर घर लैजाने सौभाग्य पाउँथे। सबैलाई कुनै न कुनै दिन यस्तो अवसर जुर्थ्यो। त्यसैले गाउँलेहरू सुखी र खुसीले जिउँथे। यसरी दिनहरू बित्दै थिए। एकदिन सोही गाउँमै बस्ने एक एकल महिलाले गाउँका अरूभन्दा अघि पानी भर्ने सौभाग्य पाइन्। उनले पनि अरू सरह नै सुन छिनाएर घर ल्याइन्। यति सजिलै सुन छिनाल्न पाइने लोभले ती महिलालाई रातभरि निद्रा लागेन। फेरि अघिल्लो दिनभन्दा सबेरै पानी भर्न गइछन्। फेरि सुनको बरफ छिनालेर घर ल्याउन भ्याइछन्। किन हो कुन्नि त्यसै दिनको रातिदेखि नै दह गुमनाम भएछ। अघिल्लो दिनसम्म दहले भरिएको ठाउँ भोलिपल्ट बिहान अचानक खाली जमिनमा परिणत भएको देखेपछि गाउँका सबै आश्चर्यमा परेछन्। गाउँलेहरू अचम्भित हुँदै एक ठाउँ खेरिएछन्। तीमध्येका एक बुज्रुकले राति सपनामा दहले जोगीको भेषधारण गरी अघिल्लो दिन घटेको घटना आफूलाई सुनाएर पूर्वतर्फको बुकी कट्दैछु भनी आफूलाई सुनाएको खबर गाउँलेहरूलाई सुनाएछन्। गाउँलेहरू आपसमा सरसल्लाह गरी दहको खोजी गर्दै लेकतर्फ उक्लिँदा अहिलेको सुन्दहको स्थानमा सोही दह भेटेछन्।
लोभी, पापी, दुष्चक्रीबाट उन्मुक्ति पाउन पुरानो ठाउँ नदेखिने स्थानमा बसाइ सरेको भन्ने लोककहावत छ।
भनिन्छ- ती महिला दुष्चरित्रकी थिइन् रे। त्यहीबेलादेखि नै अहिलेसम्म डोल्पाको माझफाल, ताली, दुरगाउँ, थरगाउँ, थाला, लोचा, हूँ, लहरा, सहरतारा, दुनै, त्रिपुराकोट, गुम्बा गाउँ लगायतका बासिन्दा भदौरे पूर्णिमाको तिथि पारेर सुन्दहमा स्नान गर्न आउँछन्। निकै जतनका साथ सुन्दहको पानी भरेर घरतिर लान्छन्। जनैपूर्णिमाको दिन घरमा सुन्दहको नाममा भेँडाको साँडलाई सुन्दहको चोखो पानीले नै पुर्खिन्छन्। त्यसपछि साँडलाई बलि दिइन्छ। परिवार र जम्मा भएका इष्टकुटुम्ब सबैले पालैपालो सुन्दहको पानी पिउँदछन्। यसपछि उनीहरू आफूलाई स्वस्थ र पापबाट पखालिएको महसुस गर्दछन्। सुन्दह धार्मिक दृष्टिले रूकुम पूर्वेलीभन्दा डोल्पालीका निम्ति आस्थाको कुण्डको रूपमा यसकारण बढी महत्वको मानिन्छ।
दुई – उहिल्यै वर्षायाममा अहिलेको दहनजिकै अवस्थित भेडीगोठमा बाँधेर राखिएको भोटे कुकुर अचानक साङ्लो फुक्लिएर दहछेउ पुगेछन्। साङ्लोको केही भाग दहमा डुबेछ। पानीमा डुबेको भाग सुनमा बदलिएछ। गोठालोले त्यस्तो देखेपछि दहनिर गएछन्। आफूले कम्मरमा भिरेको डापबाट खुकुरी झिकेर दहमै डुबाएछन्। खुकुरी पनि सुनमा बदलिएछ। यो थाहा पाएपछि अन्यत्रका थुप्रै मान्छेले पनि यसरी नै फलामका भाँडाकुँडा दहमा चोबल्दै सुनमा बदलेछन्। एक कान दुई कान मैदान हुँदै सबैतिर खबर फैलिएछ। सुन्दहमा आइपुग्नेहरू सबैले आफ्ना भएभरका फलाम तथा अन्य धातुका भाँडावर्तन सबै पानीमै डुबाएछन्। ती भाँडाकुँडा पनि सुनमै बदलिएछन्। अरूभन्दा अझ धनी बन्ने लोभले हुलमा आएका एक जना सार्कीले घुँडाघुँडासम्म लगाइएको ज्यो अर्थात् तोचा भनिने त्यसबेलाको जुत्ता लगाएरै दहमा डुबाएछन्। फोहोर ज्योसहितको गन्हाउने गोडा दहमा डुबाएछन्। यस्तो चोखो दहलाई दुर्गन्धित पारेकाले दह रिसाएछन्। त्यहीबेलादेखि दहमा डुबाइएका भाँडावर्तन सुनमा बदलिन छाडेछ।
तीन – अहिलेको रूकुम पूर्व, रोल्पा, बाग्लुङ अन्तर्गत पर्ने सातगाउँ खोला र चारहजार पर्वतका केही बासिन्दाहरू ढाकरेको रूपमा वसन्त याममा उत्तरी भोटतर्फ नुन बोक्न गएछन्। नुन लिएर घर फर्किंदा अहिलेको यस सुन्दहनिर भान्छा बनाउन बसेछन्। खाना पकाउन दहमा पानी भर्न गएछन्। पानी भर्दै गरेको अवस्थामा दहमा डुबाइएको भाँडा नै सुनमा बदलिएछ। सबै दंग हुँदै रमाएछन्। भाँडो नै सुनमा बदलिएको लोभले भएभरका सबैले आफूसँग भएका सबै भाँडावर्तन दहमा डुबाएर सुनमा बदलेछन्। धनी हुने लोभले एकजना दहमै हामफालेछन्। यसरी हामफालेको व्यक्ति पनि सुनमा बदलिएछन्। तर ती जीवित नरही मुर्दा ठहरिएकाले बाँकी अरू सब डरले अत्तालिएर रित्तै घर फर्किएछन्।
समुद्री सतहदेखि ४ हजार ४ सय ३५ मिटर उचाइमा अवस्थित सुन्दह २८ डिग्री ४८ मिनेट ४४ दशमलव ६ सेकेन्ड उत्तरी अक्षांश र ८२ डिग्री ५० मिनेट ४१ दशमलव ६ सेकेन्ड पूर्वी देशान्तरमा रहेको छ।
दहको मापन वि.सं. २०४५ साल असोज ६ गते तत्कालीन ढोरपाटन शिकार आरक्षका संरक्षण अधिकृत लालविहारी यादवको नेतृत्वमा जम्मा ६ जनाको टोलीद्वारा गरिएको थियो।
त्यस टोलीमध्येका एक सदस्य छिमेकी गाउँ मैकोटका रामप्रसाद पुनका अनुसार दहको नाप लिँदा एउटा लामो डोरोको प्रयोग गरिएको थियो। त्यसबेला ढोरपाटन शिकार आरक्षको गेमस्काउट रहेका पुनका अनुसार सम्भवत: सुन्दहको पहिलो प्राविधिक अध्ययन नै यसलाई मान्नुपर्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन विभाग, वनस्पति विभाग, विश्व वन्यजन्तु कोष, ढोरपाटन शिकार आरक्ष लगायतका निकाय मातहत गरिएका विभिन्न अध्ययन एवं अनुसन्धान अनुसार सुन्दहले १० दशमलव ८० हेक्टर जमिन ओगटेको छ। जस अनुसार सुन्दहको क्षेत्रफल १ लाख ७२ हजार ९ सय ९६ दशमलव ८४ वर्गमिटर रहेको छ। दहलाई एक चक्कर लगाउन हतारमा पौनेघण्टा लाग्छ भने सामान्य हिँडाइमा सवा घण्टा लाग्छ। यसको गहिराइ कति छ भन्ने तथ्य यकिन गरिएको छैन।
सुन्दहको पूर्वमा सुम्लाकोइको चट्टानी भीर, धनताँवो र सुनछहरा, पश्चिममा राक्से खागर, उत्तरमा चट्टानी पहाडसहितको काले खागर र दक्षिणमा बन्यापा र मतिँचै बुकी पर्दछन्।
राक्से खागर डोल्पा र रुकुमपूर्व जिल्ला अर्थात् कर्णाली र लुम्बिनी प्रदेशको सीमाक्षेत्र हो । राक्से खागरमा राक्से नामको दह रहेको छ । ४ हजार ७ सय १५ मिटर उचाइमा अवस्थित राक्से दहको क्षेत्रफल १४ हजार ३ सय २४ वर्गमिटर रहेको छ। राक्से दह सम्भवत: लुम्बिनी प्रदेशमै सर्वाधिक उचाइमा रहेको दह हो भनी स्थानीयले दाबी गर्दै आएका छन् ।
मंसिरको सुरूआतदेखि वैशाखको अन्तिमसम्म सुन्दह पूर्ण रूपमा बरफ भएर जम्छ। ताल वरपर यार्सागुम्बा, चरीविख, धूपजरी, कुट्की, पदमचाल, पाँचऔंले, सुनगाभा, जटामसी, निरमसी, भुत्ले लगायत विविध प्रजातिका जडिबुटी तथा वनस्पति पाइनुका साथै डाँफे, मुनाल, चीर, जलेवा, फक्राँस, लरुवा, फाप्रे जस्ता पंक्षी तथा हिमचितुवा, नाउर, ब्वाँसो, हिमाली कालो भालु, कस्तूरी लगायतका हिमाली जीवजन्तु पाइन्छन्।
दहकै नामबाट ढोरपाटन शिकार आरक्ष अन्तर्गतका ७ वटा शिकार ब्लकमध्ये पश्चिमी ब्लकलाई सुन्दह नामकरण गरिएको हो। विदेशी शिकारीहरूका अनुसार सुन्दह नेपालमा सर्वाधिक रुचाइएको शिकार ब्लक मध्येमै पर्छ। यो पूर्णत: लेकाली पाटन हो। भेडाचरनको उपयुक्त स्थल हो। त्यसैले यहाँ जेठदेखि भदौसम्म गरी पूरापूर चार महिना भेडीखर्क बसाइन्छ। घोडाखच्चड र चौंरीपालनको लागि पनि अति उपयुक्त पाटन पनि हो। यहाँ ज्यादै मसिनु बुकी घाँस पाइन्छ। मसिनु बुकी घाँस वस्तुभाउले निकै रुचाउँछन्। जानकारहरूका अनुसार यस खालको घाँस वस्तुभाउका लागि अति पोषिलो मानिन्छ।
सुन्दह र यस वरपरका सेरोफेरो विशुद्ध प्राकृतिक छ। सुन्दहबाट बहने सुनखोलाको किनारामा निकै आकर्षक ओडार एवं गुफाहरू छन्। जहाँ यार्सा सिजनमा सुन्दह उक्लिने यार्सा संकलकहरू बसोबास गर्दछन्। सुन्दहको उचित प्रवर्द्धन गर्न सके नेपालभित्रै एउटा महत्वपूर्ण पर्या-पर्यटकीय तथा धार्मिक आस्थाको गन्तव्यस्थलको रूपमा स्थापित बनाउन सकिने प्रचुर सम्भावना छ।
नितान्त नौलो आकर्षक कुण्डको रूपमा सुन्दहको भविष्य उज्यालो देखिन्छ। दहको नाम आफैंमा सुन्दह त हुँदै हो, लोभलाग्दो हिमाली जैविक विविधता यसको अर्को गहना हो।
पछिल्लो समय सिमसारको महत्व विश्वव्यापी बन्दै गइरहेको सन्दर्भमा यस्ता लेकाली दहहरूको संरक्षणको सवालमा राज्यस्तरबाट आवश्यक पहलहरू चाल्नैपर्ने देखिन्छ। तसर्थ, बेलैमा सिमसारको महत्व र संरक्षण चेतना समुदायस्तरमा पुग्नुपर्छ।
भनिन्छ- सिमसार हामी बस्ने पृथ्वीको कलेजो हो। सिमसारलाई बचाउनु मानव समुदायको अहम् कर्तव्य हो।
'सुन्दह आफैंमा चोखो छ। र, चोखो राखिरहनुपर्छ', वडाध्यक्ष विजय भन्छन्- सुन्दहलाई प्राकृतिक रूपमै रहन दिनुपर्छ। यसले सुन्दहको संरक्षण भएको मात्र नभई हामीले सुन्दहप्रति निर्वाह गरेको धर्म ठहरिनेछ।'
वास्तवमा स्वयं आफैंलाई नौलो र झन् नौलो लाग्ने यस सुन्दहको घरीघरी दर्शन गर्न पाएको अवसर यस पंक्तिकारलाई जीवनको अहोभाग्य लाग्नु स्वाभाविक हो।
घुमफिरका लागि सुन्दह आउजाउ गर्दा बास बसिने गाईगोठ र भेडीखर्कका गोठालासँगको उठबस त जीवनको सबैभन्दा सरल र सहज लाग्छ। बास्नादार लेकाली फूलहरू छिमोल्न यो मनले मान्दैन। प्रकृतिसँगको सामीप्यता त झन् बखान गरी साध्य छैन। त्यसैले त आफ्नै घरदेश वा अर्काको परदेश घुमफिर गर्न रूचाउने जो कोहीलाई जे जसरी हुन्छ, जीवनमा कमसेकम एकपल्ट सुन्दहको साक्षात् दर्शन गर्न यस पंक्तिकार हार्दिक निम्तो गर्दछ।
जाने होइन त सुन्दह ?