अघिल्लो दिन दैलेखवाट गाडीमा हिँडेर हामी बुटवल बास बस्न पुगेका थियौं ।भोलिपल्ट सोहि गाडीमा बुटवलवाट उकालो लाग्दा बिहानको आठ बजिसकेको थियो। हामी पाल्पाको तानसेन र स्याङजा हुँदै पोखरातिर लाग्यौं।
पाल्पा र स्याङ्जाबीचमा कालीगण्डकी हिँउको चिसो बोकेर हिँडिरहेको छ। अगाडी बढदैँ जाँदा बाटोमा भालु पहाड पर्छ।
भालु पहाड नजिकै लामो झोलुंगे पुल छ। झोलुंगे पुल तरेर पारि पुगेपछि एउटा पार्क र भालुको कलात्मक शालिक छ। बाटोमा झर्दै र रमणीय स्थानहरू घुम्दै लगयौं। पोखरा पुग्दा दिउँसोको एक बजिसकेको थियो।
पोखराको आफ्नै सौन्दर्य छ। त्यहीँ सौन्दर्यमा हराउँदा हराउँदै हामी साँझको छ बजे मात्र मुस्ताङ यात्राका लागि पोखराबाट उकालो लागेका थियौं। हामी पर्वत, बाग्लुङ बजार हुँदै म्याग्दीको बेनी बजारमा रातिको नौ बजे पुग्यौं।
बेनी बजार पहाडहरूको बीचमा लमतन्न परेर सुतेको रहेछ। बेनीबाट बिहान आठ बजे तातोपानी ,दाना, रूप्से ,घाँसा, लेते, छारताङ, ताङसरा, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ गर्यौं। सडक कालीगण्डकीको किनारै किनार अघि बढ्छ। बाटोमा रूप्सेको झरनाको सौन्दर्यताले बाटोमा हिँडने जो कोहिलाई पनि मुग्ध बनाउँछ। हामी पनि एक छिन रोकिएर रूप्सेसँग फोटो खिचेर अगाडि बढ्यौं।
कालीगण्डकी तलतिर ठूल्ठुला पहाड र चट्टानहरूको बीचमा सेती नदिझैँ गहिरिएर साँघुरोसँग बग्छ। मुस्ताङको सिमानाबाट प्रारम्भ भएदेखि केही माथिबाट तराइका जस्ता फाँटमा बालुवा र मसिना ढुंगाहरुको बीचमा हराएर कलकल गर्दै बगिरहेको देखिन्छ। पहाडको बीचमा कालीगण्डकीले बनाएको विशाल फाँट अत्यन्त सुन्दर लाग्छ। वारिपारि विशाल बालुवा, ढुंगा र माटोका पहाडहरूले बुट्टा भरेझैं कलात्मक देखिन्छन्।
कागबेनीबाट उकालो लाग्दा मान्छेलाई मात्र होइन गाडिलाई पनि लेक लाग्ने रहेछ। गाडी पनि मान्छेले अक्सिजन नपुगेर जति नै छिटो पाइला बढाउन खोजे पनि नसकेझैं गाडीको जतिनै एक्सिलेटर दबाए पनि छरितो गति नहुने रहेछ। हामी दिउँसो तीन बजे मुक्तिनाथ पुग्यौं। मुक्तिनाथ धार्मिक तथा पर्यटकिय क्षेत्र हो। जहाँ हिन्दु धर्मावलम्बि मात्र नभइ अन्य धर्म मान्ने विदेशी पर्यटकहरू पनि घुमफिर गरिहेका देखिन्थे। नेपाली मात्र नभई भारतीय हिन्दु धर्मावलम्बिहरूको पनि मुक्तिनाथमा बाक्लो उपस्थिति देखिन्थ्यो।
मुक्तिनाथ बजारमाथि मन्दिर परिसर सम्म पुग्न हिँडन नसक्ने वृद्ध तथा अशक्त व्यक्तिहरू कोहि घोडामा त स्टेचरमा जाँदै थिए। केहीलाई अक्सिजन नपुगेर निला भएका ओठहरू पनि देखिन्थे। उनीहरू उकालोमा हिँडदा सिँढिहरूमा विश्राम लिँदै हिँडिरहेका थिए। हामी बिस्तारै हिँडेर मन्दिर परिसरमा पुगेको एक छिनपछि फुर्रफुर्र हिउँ पर्न शुरू भएको थियो।
हामीले मन्दिरबाट फर्केर खाजा नास्ता खायौं। यहाँ खाजानास्ता पनि महँगो नै रहेछ। सायद त्यहाँ उत्पादन नहुने र बाहिरबाट सबै कुरा गाडीमा नै बोकेर लग्नुपर्ने भएकोले होला।
मुक्तिनाथ बजारबाट कागबेनी झर्दा साँझको छ बजिसकेको थियो। हामी माथिल्लो मुस्ताङ लोमान्थाङ हुँदै चिनको सिमा कोरला नाकासम्म पुग्न चाहन्थ्यौं। सवारीचालक लगायत हामी सबै अपर मुस्ताङका लागि नयाँ थियौं। कागबेनीमा एकजना गाडीको सवारीचालकसँग अगाडीको बाटोबारे जानकारी लियौं र अगाडि बढ्यौं। कालीगण्डकीको तिरैतिरबाट एउटा पक्कि पुल तरेर बायाँतर्फ उकालो लागेपछि मुस्ताङको भूगोलबारे थप जानकारी हुने रहेछ। जताततै बालुवाको थुप्रो र ढुंगामाटो कम देखिने भिमकाय पहाडहरू! तिनै पहाडमा प्रकृतिले कोरिदिएका कलात्मक बुट्टा र आकृतिहरू !
अलिमाथि सेतो तन्ना ओढेर लमतन्न सुतिरहेका अग्ला अग्ला हिमशृंखला देख्दा लाग्छ धर्तीको स्वर्ग यहि नै हो।
एक छिन पछि अँध्यारो बढ्दै गयो। धर्तीको सबै सौन्दर्य अन्धकारको घुम्टोमा विलिन भयो। कागबेनबाट हिँडेको दुइ घण्टामै हामी समर भन्ने ठाउँमा पुग्यौं। त्यो दिन त्यहाँ बत्ती थिएन।
होटलकी साहुनी भन्दै थिइन्, 'हिजोसम्म बिजुली थियो। आज छैना। बत्ती बाल्न सोलर मात्रै छ।
उनले बिजुली राति आउन सक्ने कुरा गरिन्। राति बत्ती आइ पो हाल्छ कि भन्ने आशमा हामी सुत्यौं। दुई जना विदेशी महिला पर्यटक र एकजना पुरूष नेपाली गाइड फलामको चुल्होमा आँगो तापेर बसिरहेका थिए। ती जर्मन पर्यटकहरू जोमसोमबाट ट्रेकिङ गरेर छैटौं दिनमा त्यहाँ आइपुगेका रहेछन्। उनीहरू पैदल हिँडेर लोमान्थाङ जाँदै थिए। भोलि हामी नयाँ र रमणीय स्थान अपर मुस्ताङ लोमान्थाङ अनि नेपाल चिन सिमा कोरलानाकासम्म जाँदै थियौं।
हामी बसेको होटलको बाह्य र आन्तरिक सजावट राम्रो थियो। बाहिर लस्करै थान्काहरू फर्फराइरहेका थिए। होटलको सरसफाइ राम्रो थियो। त्यहाँ काम गर्ने एकजना युवक तिब्बतीयन रहेछ। तर ऊ नेपाली भाषा प्रष्टै बोलिरहेको थियो। अर्की एकजना डोल्मा नाम गरेकी फरासिली नेपाली युवती पनि त्यहीँ काम गर्ने रहिछन्। उनी पुरूष ग्राहकलाई सोल्टी भनेर जिस्काउँदै थिइन्। अलि बुढाहरूलाई भने ससुरा भन्थिन्।
उनले हाम्रा सहयात्री लोकेन्द्र सरका छोरा जो २३ वर्षका थिए उनीसँग बिहे गर्छु भनिन्। उनको नाम दिपक थियो। कुरा सुनेर दिपकको साथी मन्दिप र मेरो जेठो छोरा सुशान्त मन्द मुस्कुराए। रेशम सर, उहाँकी पत्नी र उहाँको छोरा प्रनिम, मेरो जेठो छोरा, लोकेन्द्र सर, उहाँको छोरा अनि छोराको साथी, गरि हामि जम्मा नौ जना थियौं। बाटो भरी अनि.. अनि... भनेर प्रश्नको शुरूवात गर्ने र जवाफ दिने बितिकै किन? भनेर फेरि प्रतिप्रश्न थपि रहने प्रनिमको बानी र सुलभ जिज्ञासाले यात्रा रमाइलो भयो।साथमा गाडी चालक जीवन र लोकेन्द्र सरको गाडीमै लगाइएको नाता मामाभान्जा बीचको संवाद निकै रोचक थियो।
उच्च स्थानमा लेक लागेर हो वा के कारणले हो। मलाई राति खासै निन्द्रा परेन। म बेला बेलामा ब्युँझिरहे। मेरो मुटुको चाल बढिरहेको थियो। हल्का टाउको पनि दुःखिरहेको थियो।
एक किसिमले भन्नु पर्दा ननिदाइ उज्यालो भयो भन्दा हुन्छ। घडी हेरेँ। बिहानको पाँच बजेको थियो। झ्यालको पर्दा उघारे। बायाँ तर्फ नव दुलही मुस्कुराएझैँ हिमाल मुस्कुराइ रहेको थियो। दायाँतर्फ नव दुलाह मुस्कुराएझैँ अर्को हिमाल हिँउको बाक्लो सौन्दर्य लिएर मुस्कुराइ रहेको थियो। हिमाली चिसो जताततै फैलिरहेको थियो। त्यो ठाउँ गगनचुम्बि हिमालको काखमा शान्त र सौम्य थियो।
रातैभर बत्ती आएन। हामीसँग मोबाइल र क्यामेरा थिए तर चार्ज थिएन। हामी रमणीय स्थानहरूको फोटो खिच्न चाहन्थ्यौं। होटल बाहिर एउटा सानो जेनेरेटर छोपेर राखिएको थियो। मैले त्यो जेनेरेटर स्टार्ट गरेर चार्ज गरिदिनु न भनेर होटलकी साहुनीलाई अनुरोध गरें। उनले आफूलाई जेनेरेटर स्टार्ट गर्न नआउने र साहुजी बाहिर गएको बताइन्। मैले हामी स्टार्ट गरेर एकछिन चार्ज गर्छौं भनेँ। उनी सहमत भइन्। सायद चिसोले हो कि धेरै प्रयासपछि मात्रै जेनेरेटर स्टार्ट भयो। हामीले मल्टिप्लग जेनेरेटर भएको ठाउँमा जोडेर क्यामेरा र मोबाइल चार्ज गर्यौं। यो दृश्यलाई ट्रेकिङमा आएका पर्यटकहरू वाल्ल परेर हेरिरहेका थिए।
भोलिपल्ट बिहान पौने आठ बजे हाम्रो यात्रा सुरू भयो। बाटोमा वारिपारि जताततै हिमालको तल मरूभूमि जस्तो बालुवा र माटोका ढिस्का अनि कलात्मक पहाडका थुम्काहरू थिए।
भनिन्छ हजारौं वर्षअघि अहिलेको हिमालय पर्वत शृंखला टेथिस सागरभित्र थियो। पृथ्वीको उथल पुथलका कारणले त्यो भूभाग उठ्न गयो र हिमालय बन्यो। हुन पनि त्यहाँ जताततै खोलाको बगर जस्तै खिइएका गोला ढुंगा र बालुवाका थुप्राहरु देखिन्थे। ठूलाठूला माटोका थुम्काहरु हिउँले चिरेर कलात्मक बुट्टा भरेझैं देखिएका थिए। कतै मन्दिरका टुण्डाल जस्ता त कतै मन्दिर र गुम्बा जस्ता आकृतिहरू थिए। जताततै प्रकृतिको अनुपम सौन्दर्य झल्किरहेको थियो।
समरबाट गाडीमा हिँडेको दुई घण्टामा हामी अपर मुस्ताङको लोमान्थाङ पुगयौं। त्यहाँ प्राचीन शैलीको हिमाली बजार र संस्कृति झल्किरहेको थियो। अन्तिम मुस्ताङी राजा जिग्मे प्रवल विष्टको दरबार, केही गुम्बा, सांस्कृतिक संग्रालय लगायत केही हेर्न लायक ठाउँ थिए। खाना खाएर केही ठाउँको अवलोकन गर्यौं। गुम्बाभित्र बुद्धका विशाल मूर्तिहरू थिए।
काठको प्रयोग गरेर बनाइएका कलात्मक गुम्बामाथि थान्काहरु फर्फराईरहेका थिए। आठ सय वर्ष पुरानो स्थान, झोङ गुफा परम्परागत शैलीका घरहरू, पन्ध्रौं शताब्दिका नामग्याल गुम्बा, ऐनी गुम्बा आदी हेर्न लायक प्राचीन स्थानहरू थिए।
लोमान्थाङबाट दिउँसो बाह्र बजे कोरलानाका तर्फ प्रस्थान गर्यौं। बाटोमा रोकिँदै फोटो खिच्दै अगाडी बढयौं। बाटोमा प्रहरी चौकी थियो। त्यहाँ नेपाल चीन सिमानामा पालना गर्नुपर्ने केही नियम लेखिएको थियो।
चिन तर्फको भूभागमा जान र फोटो खिच्न निषेध गरिएको रहेछ। लेकमा गाडीको गति समेत कम हुने रहेछ। दिउँसो दुई बजे मात्र हामी कोरला नाकामा पुग्यौं। हिमालको काखमा फाँटैफाँट परेको समथर भूभाग पनि रहेछ। चिनियाँ भूभाग तिर ठूल्ठूला भवनहरू थिए। नेपालको भूभागमा भने चौबीस नम्बर लेखिएको एउटा सिमेन्टको पिल्लर थियो। हामी त्यही सम्म मात्र पुग्यौं।
हिमालमा हावा धेरै चल्ने रहेछ। त्यहाँ हामी धेरै समय बस्न सकेनौं। चिसो हावा निरन्तर चलिरहेको थियो। एकछिन फोटो खिचेर हामी लारजुङ बास बस्न आइपुग्यौं र भोलिपल्ट बिहान पोखरा हुँदै फर्कियौं।