'दाइ हाइकिङ जाने, दानाबारीतिर?' विशाल भाइको यो प्रस्ताव नकार्न सकिनँ।
यसरी बाहिर ननिस्केको धेरै समय भैसकेको थियो। शरीर अनि मस्तिष्क प्रकृतिसँग रमाउन चाहन्थ्यो।
केही समयको लागि भएनि हराउन चाहन्थ्यो। शनिबारको दिन बिहानै ५ बजे दुई भाइ निस्कियौं।
धरान बजार हुँदै विजयपुर डाँडा चढ्दै सेउती खोला पुग्दा ६ बजेको थियो।
बाटोमा भेटिनु भएका एक जना दाइले 'सरहरू यो बाटो जानुस' भनी खोलापारिको डाँडा देखाउँदै, ४-५ घण्टामा त पुगिहाल्नु हुन्छ' भन्नुभयो। ‘सर’ चै किन भन्नु भाको होलाझै लाग्यो। धन्यवाद दिँदै हामी अगाडि बढ्यौं।
केहीबेर हिँडेपछि एउटा पहाड देख्यौं। पहिरोले थलिएको, थकितझैं देखिने रङविहीन पहाड। फेरि आँखा एउटा रातो फूलको बोटमा गयो। त्यस बोट पहाडलाई कति सुहाएको! सेतो पहिरनमा, बिनाकुनै मेकअप, मात्र एउटा रातो टीका लगाएकी सुन्दर महिलाझैं। केही सेकेन्ड अगाडिसम्म थकित देखिएको पहाड सुन्दर पो देखियो। सबै कुरो सुन्दर हुन्छन्, मात्र सुन्दरता देख्न सक्नु पर्ने रहेछ।
सौजन्य: बिशालबाबु बस्नेत (रातो फूलको बोट र डाँडा)
करिब १ घण्टा जति पहाड चढेपछि बल्ल एउटा भाइ भेटिए। डोकोमा साग सब्जी बोकेर तल झर्दै थिए। गाडी गुड्ने वैकल्पिक बाटो भएर होला यो बाटोमा आजकल कोही मान्छे नहिँड्ने रहेछन्।
'सरहरू दानाबारी हिँड्नु भएको होला, २ घण्टा त लाग्ला तपाईंहरूलाई' भन्दै तल लागे। फेरि 'सर' उफ!
माथि चढ्दै जाँदा सहरिया भयानक आवाजहरूलाई चराचुरूङ्गीहरूको आवाजले जितेको भान हुन्थ्यो।
कहिले नदेखिएका कीराहरू, सर्पले भर्खरै फेरेका काचुली, सहरिया सरहरू नदेखेका कुकुरका भुकाइ, जङ्गली जनावरको डर छिचोल्दै अगाडि बढ्दै थिएँ। विशाल भाइ निकै अगाडि पुगे क्यार देखिन छाडे। भर्खरै नुहाएर आएझैं निश्चल सूर्य देखापर्यो। सूर्य देख्नेसाथ मैले हालसालै नेटफिल्क्समा हेरेको डकुमेन्ट्री र पढ्दै गरेको किताब कार्ल सागनको कोसमोसका केही अशंहरू सम्झें।
करिब ९:१५ बजे हामी दानाबारी पुग्यौं। अझ अलि माथि श्री गढीथुम्का देवीथान मन्दिर रहेछ। शनिबारको दिन भएनी हामी दुईबाहेक कोही थिएन त्यहाँ।
केहीबेर त्यही टोलाई नजिकैको घरमा गयौं। घरको आँगनमा बाख्राका पाठा-पाठी आफ्नो आमासँग खेलिरहेका थिए। मात्र आमा र छोरा बस्ने त्यस घरमा हाम्ले चिया नास्ता खायौं।
करिब ३० वर्षीय छोराले 'सरहरू भालेको सुप खाने कि? दामी हुन्छ नि' भने।
हाम्ले 'ल बनाउनु न त', भनेपछि आमा छोरा तयारीमा लागे।
म चाहिँ फोन झिकी ‘सर’ शब्दको इतिहास खोतल्न थालें। सर शब्द, sire भन्ने शब्दबाट आएको रहेछ। दुवै फेरि फ्रेन्च शब्द sieur(lord) बाट उत्पत्ति भएका रहेछन्। बेलायतले चाहिँ, समाजमा केही उल्लेखनीय कार्य गर्ने व्यक्तिलाई 'सर' को पदवी सम्मानमा दिने गरेको रहेछ।
आफ्नो लागि यो शब्द त्यति उपयुक्त लागेन। खैर! हाम्ले सोचेभन्दा निकै चाँडो आयो खाना। सुरूमा भुटुन, अनि पछि सुप, भात, सब्जी, मुलाको अचार।
वाह! हजारौं तिरेर जाने तारे होटलहरूमा, मनपर्ने सर्भिस र हस्पिटालिटी पाइएला तर आमा छोराको सेवाले हाम्रो मन छोयो।
मन पर्नु र मन छुनुको भिन्नता हाम्ले त्यहाँ थाहा पायौं।
११ बजेतिर त्यहाँबाट बिदा भई हामी तल झर्न थाल्यौं। फर्किंदा मोटर चल्ने बाटो प्रयोग गरेकाले खासै गाह्रो भएन।
मोटर चल्ने बाटो भएनि एउटै मोटर चाहिँ देखिएन।
'सहरी जीवन राम्रो कि गाउँले जीवन राम्रो' शिर्षकको स्कुले वाद-विवादको चर्चा गर्दै अगाडि बढ्दै थियौं। निलो बाइक हाम्रो अगाडि रोकियो। बाइक सवार दाइ धरान बजारबाट आउनुभएको रहेछ। धरान बजार र दानाबारी दुवै ठाउँमा घर रहेछ उहाँको। पहिले धरान बजारमै बस्नुहुँदो रहेछ। २ वर्ष अगाडि निकै बिरामी भएर थला पर्नु भएछ। मन अशान्त भएछ। विरक्तिएर दानाबारीको घरमा बस्न थाल्नुभएछ। प्रकृतिसँग नजिक भएपछि मनको बेचैनी टाढा भएछ। हामी छक्क पर्यौं।
हामी अपरिचित दुई जनालाई, १-२ मिनेटमा सुनाएको कथा-व्यथा थियो यो। स्कुले वाद-विवादको परिणाम आएझैं भयो, हाम्लाई!! निलो बाइकतिर आँखा गयो। पल्सरको ‘पल’ गयल भएको रहेछ, ‘सर’ मात्र बाँकी थियो। बाइकले मलाई हेरी हाँसेझैं लाग्यो। म नि मुस्रुराएँ! हामी दुवैको मुस्कान कसैले देखेनन्। सायद!