फ्रान्स भन्ने बित्तिकै मोटामोटी त्यो ठूलो, अग्लो, अजङ्गको भिमकाय फलामे संरचनाको याद जो कोहीको मनमा आइहाल्छ। युरोप आउनुभन्दा अगाडि नै गुगलमा देखेको त्यो आइफल टावर देख्ने र घुम्ने रहर थियो।
रहर र इच्छाको अगाडि समस्याहरू पनि फितलो भैदिने रहेछ। पैसा टन्न भएर गएको पनि होइन, भएको अलिकति पैसालाई खटाइ-खटाइ खर्च गरी पेरिस जाने निर्णय गरेँ र तयारी सुरू गरेँ।
पेरिस यात्रा भन्ने बित्तिकै मनमा एक प्रकारको उमंग थियो। पोर्चुगलको बसाइ, सानो सहरबाट विश्वकै व्यस्त सहर जाने भनेपछि प्राविधिक रुपमा कस्तो समस्या आउँला भन्नेमा केही कुरा दिमागमा खेल्दै थियो।
पोर्चुगलको सामान्य कमाइले पेरिस घुम्न सोचेजस्तो सहज थिएन। ट्राभल एजेन्सीबाट खरिद गर्दा केही महँगो पर्ने भएकोले अनलाइन माध्यमबाट केही सस्तो हवाईजहाजको टिकट लिएँ।
सस्तो टिकट सबै भनेजस्तो हुदैँन। यसले अलिकति गडबड हुने बित्तिकै धोका दिन सक्छ र दोब्बर पैसामा पर्न सकिन्छ, धेरै होसियार अपनाउनु पर्ने हुन्छ।
उडान बिहान छ बजेको थियो। लगभग दुई घन्टा अगाडि एयरपोर्टभित्र गइसक्नुपर्ने थियो। एयरपोर्ट बिहानको तीन बजे नै पुग्नुपर्ने, राति सुतिएन। सामान्यतया राति एक बज्दा पनि सुतिँदैन। कामबाट आयो नुहाइधुवाइ गरी एकैछिन देशतिर के भयो, कसो भयो भन्यो समाचार हेर्यो अनि बल्ल सुत्ने बानी। त्यो रात झनै निन्द्रा कहाँ लाग्थ्यो र?
बिहान ठिक साढे २ बजे एयरपोर्टतिर लागेँ। पोर्चुगलमा मेरो बसोबास एयरपोर्ट नजिकै भएकोले जान अलि सहज भयो। अनिदो नै भए पनि एक प्रकारको छुट्टै उमंग जागिरहेको थियो।
अनलाइन टिकट लिएपछि चौबिस घन्टाअघि नै बोर्डिङ पास पाइने हुनाले लाइन बस्ने झन्झट मलाई थिएन।
युरोपतिर घुम्नैको लागि हिँड्दा लगेज बोक्ने मेरो चलन छैन, एउटा ठिक्कको झोलामा दुई जोर कपडा, औषधि, चाहिने कागजपत्र प्याक गरे पुग्छ मलाई।
लगेज नभएपछि सेक्युरिटी जाँच तिर लाग्न पर्दैन, सिधैँ बोर्डिङ चेक गर्न जान पाइन्थ्यो। त्यसैअनुसार अगाडि बढेँ।
बिहानबिहानै अलि ज्यान अल्छी र झुप्प भएझैँ भइरहेको थियो। निन्द्रा मार्न कालो कफी पिउने मन थियो। यहाँ फेरि बस स्टेशन, मेट्रो स्टेशन, अस्पताल आदि सार्वजनिक ठाउँहरूमा फ्रीजजस्तो सानो मेसिन हुन्छन्। मेसिनमा चिया, कफी, दूध, पेयपदार्थ, चकलेट र अरु खानेकुराहरू एक/दुई रुपैँयाको सिक्का छिराएपछि नम्बर थिचेपछि आफै निस्कन्छ।
हतार भएका यात्रीहरू तथा रेस्टुरेन्टभित्र पसेर खान नभ्याउने मानिसका लागि र राति रेस्टुरेन्ट पसलहरू बन्द भएको समयमा पनि भोकै बस्न नपरोस् भन्नको लागि यसरी मेसिन राखिएको हुन्छ। केही महंगो त हुन्छ तर यात्रा गर्दा धेरै सुविधायुक्त लाग्छ।
एक कप कफी दुई युरोको सिक्का छिराएर मेसिनबाट निकालेर बोर्डिङतिर लागेँ।
मसँग पूरै एक घन्टा जति फुर्सद थियो। झोलाबाट वसन्त बस्नेतको 'महाभारा' किताब पढ्न थालेँ। डुक्पाको बाल्याकाल र पुर्वेली लवजमा भरिएका शब्दले एक घन्टा कतिबेला सकियो पत्तै भएन।
किताब पढ्ने बानी भएपछि फुर्सदिला समय बितेको खबर नै हुन्न। त्यसैले म कसैलाई कुर्ने बेला यसरी समय बिताइदिन्छु।
केही ढिला नगरिकनै पोर्चुगलको लिस्बनबाट प्लेन पेरिसको लागि खुला आकाशमा उड्यो।
मनको उमंग अनि खुसीले गद्गद् भएको म, प्लेन उड्दा नै उतै पुगिसकेको जस्तै भएको थियो। पेरिसको इतिहास मलाई मोटामोटी जानकारी थियो। विश्व राजनीति इतिहासमा फ्रान्सेली क्रान्ति एउटा राजनीति, सामाजिक र औद्योगिक चेतनाको जग भन्न सकिन्छ।
पेरिस कम्युनिष्टलगायत केही किताबबाट पनि फ्रान्स बारे ज्ञान थियो। त्यही ठाउँ जाने भएपछि केही खोजी त गर्नैपर्यो। केही तथ्यांकहरू सेभ गरेको थिएँ।
प्लेनमा पनि हल्का पेरिस आइफल टावरको बारेमा अध्यान गर्दै गएँ।
लिस्बनबाट पेरिस जम्माजम्मी दुई घन्टाको यात्रा हो। जहाज खाली-खाली जस्तै थियो, मान्छेको संख्या कम भएर।
म नजिकैको तीन वटै सिट खाली थिए। यात्रा सजिलै भयो। दुई घन्टाको समय आकाशमा बिताउन दिक्क लाग्दो हुन्छ। बस्नेतको किताबलाई फेरि पल्टाउन थालेँ।
डुक्पाको चालामाला, चुल्बुले, चकचके आनीबानी, व्यवहार पढ्दै हाँसिरहेछु आफ्नो बाल्यकाल सम्झिँदै बाटो काटेको पत्तै भएन।
तर कतै-कतै भने बादल र हावाको बेगमा जाहाज हल्लिँदा मुटु सिरिंग हुने। तल हेर्दा कतै बाक्लो बादल त कतै निलो समुन्द्र। हैट! खसियो भने त सिधैँ समुद्रमा पुगिन्छ जस्तो भयो।
आन्तरिक यात्रा धेरै गरेको हुनाले धेरै पटक हावा र बादलको बेगमा मुटुले ठाउँ छोड्ने गरी जहाज हल्लाएको याद छ। यसपालि पनि एक/दुई ठाउँमा त्यस्तै भयो तर युरोप यात्रामा यस्तो धेरै भोगिसकेकोले पहिले जस्तो चाँहि डर लागेन।
युरोपामा स्थल यात्राभन्दा हवाई यात्रा सुरक्षा र खर्चको हिसाबले बढी प्रभावकारी छ।
दुई घन्टाको यात्रापछि पेरिसस्थित चार्ली गोल एयरपोर्ट ओर्लिएँ। ठूलो देशको व्यस्त एयरपोर्ट केही बेर अलमलमा परेँ। केही सिग्नलहरू पछ्याउँदै बाहिर निस्किएँ।
गोरा मान्छेहरू सबै अंग्रेजी मात्र बोल्छन् होला भन्ने लाग्थ्यो। तर फ्रान्सेलीहरू पटक्कै अरुको भाषा बोल्न चासो दिँदैनन् रहेछ। त्यसैले निकै असहज बनायो। केहीबेर सोचमग्न बनायो। हामी मात्र रहेछौं अंग्रेजी बोलेपछि ठूलो भइन्छ, जान्ने, बुझ्ने भइन्छ भन्ने सोच भएका, यहाँका मान्छे त बोल्दैनन्।
विदेशीको भाषाप्रतिको लगाव र माया गज्जब लाग्यो तर अर्को पाटो तिनीहरूले अंग्रेजी भाषा बोलून् पनि किन?
पहिलो पटक पेरिसमा पाइला टेकेको नयाँ मान्छे, अब गन्तव्य आइफल टावर कसरी पुग्ने? युरोपका हरेक देशमा सार्वजनिक यातायात यति सस्तो र प्रभावकारी छ कि एयरपोर्टदेखि हरेक देशको राजधानीमा सेन्टर हुन्छ। त्यो सेन्टरसम्म बस, मेट्रोलगायत हरेक यातायातको सुविधा सस्तो मूल्यमा प्रयोग गर्न सकिन्थ्यो। कसरी प्रयोग गर्ने भनेर जान्न मात्र पर्दथ्यो।
पोर्चुगलको लिस्बन सहरमा बसेर प्राविधिक कुराहरू यातायात लगायतका धेरै कुराहरू थिए। गुगल म्याप हेर्दै लागेँ। एयरपोर्टबाट छ नम्बर लाइन समाएपछि पाँच स्टप स्टेशनमा आइफल टावर पुगिनेरहेछ।
त्योभन्दा अघि यसो एकपटक ट्याक्सीको मूल्य पनि कति रहेछ भनेर सोधिहालेँ। ट्याक्सी अति नै महंगो रहेछ। पेरिसमा एकदिनभरि ट्याक्सी चढियो भने गाउँतिर त लैनो भैंसी मज्जाले किनेर पाल्न सकिन्छ।
मेट्रो नै चढ्ने भएपछि त्यति पूरुनो इतिहास बोकेको मेट्रोको बारेमा पनि जान्न मन लाग्यो र अध्ययन गर्न थालेँ।
सन् १८९८ मा नै फ्रान्समा मेट्रो बनाउन सुरु गरिएको रहेछ। केही स्टेशन दुई वर्षमा नै सकिएको रहेछ तर पूरै मेट्रो बन्न भने सन् १९२० सम्म कुर्न परेछ। २१९ किलोमिटर लामो मेट्रो सेवा दैनिक ५० लाख मान्छेले सेवा लिने रहेछन्। युरोपको दोस्रो व्यस्त मेट्रो रहेछ, पहिलोमा भने मस्को पर्दोरहेछ।
सार्वजनिक ट्रेन स्टेशनमा मेट्रो टिकट लिने तरिका हरेक देशमा फरक छ। त्यहाँ केही बेर अल्मिएँ। एक युरो ९५ सेन्टमा २ घन्टा जता गए पनि मिल्ने सानो टिकट पाइँदो रहेछ, त्यो लिएँ।
लिजबनको सानो मेट्रो, कम भिडभाडमा यात्रा गरेको म त्यहाँको अत्याधिक व्यस्त र भिडभाडयुक्त मेट्रो देखेर जिल्ल परेँ एकछिन त। मान्छेहरू कति हुन्! कता कुँदेका हुन्! सबै हतार-हतारमा हिँडिरहेका देखिन्थे।
युरोपमा मेट्रो बस छुट्नु भनेको केही समय प्रेममा परेर प्रेमीका छुटेजस्तै हो, निकै पीडा दिन्छ केही बेरसम्म त। ओहो! एउटा् मेट्रो छुट्दा धेरै समय घाटा लाग्छ। कतै काम गर्न जाँदा दुई/तीन वटासम्म परिवर्तन गर्नपर्दा एउटा मात्रै छुट्दा पनि पूरै सेड्युल बिग्रने हुन्छ।
अत्यधिक पूराना डिजाइनका एक सय बाइस वर्षसम्म पूराना मेट्रो, हेर्दा भर्खरै नयाँ जस्तो लाग्थ्यो। धेरै मेट्रो लाइनअनुसारको फरक-फरक डिजाइन र रंगका थिए।
युरोपमा सार्वजनिक सवारी प्रयोग गरेर घुम्न सक्यो भने अति नै सस्तो पर्छ। घुम्न रुचि दिने मेरो लागि जान्नै पर्ने कुरा भइगयो। केही बेरपछि मेट्रो यात्रामै गन्तव्यमा पुगेँ, सपनाको फलामे महल हेर्ने ठाउँमा।
लगभग दिउँसो चार बजे तिर भिमकाय फलामे महलको तल पुगेँ। बाहिर यति चिसो थियो कि मैले तीन वटै ज्याकेट लगाउँदासम्म भित्र अझै जाडो थियो।
मलाई फेरि खुब कफी मनपर्ने। मेरो बा निकै कफी प्रेमी हुनुन्थ्यो। घरमा पनि कफीको बोट छ। वर्षेनी ८० केजी कफी फल्ने गर्दछ, सायद यिनै प्रभावले म पनि कफी पारखी भएँ।
संसारको जुन सहरमा गए पनि त्यहाँको चर्चित ठाउँमा बसेर एक कप कफी पिउन मलाई खुब मनपर्छ। झन् इतिहास बोकेको पेरिस सहरमा त कफी नपिउने भन्ने कुरै भएन। पहिला आइफलतिर नगई नजिक दाहिने तिर एउटा क्याफेभित्र मान्छेहरू खचाखच छिर्दै थिए। अधिकांश विदेशी पर्यटकहरू थिए।
मेरो मोबाइलको चार्ज कम थियो, कफी मागेँ र मोबाइल चार्जमा राख्न लगाएँ। त्यो मुटु काम्ने जाडोमा कफीले केही राहत भने दिइरहेको थियो।
आधा घन्टापछि मोबाइलमा चार्ज भएसँगै कफीको बिल आयो। कफी मात्रै पिएको मूल्य चार युरो ७५ सेन्ट देख्छु। म दंग परेँ, कतै काउन्टरवाला झुक्किएको त होइन भन्ने लाग्यो।
म पोर्चुगलमा ६० (एक युरो पनि होइन) सेन्टमा कफी पिइरहेको मान्छे एक कप कफीको लगभग ५ युरो, नेपालीमा आजको दर भाउमा गन्दा छ सय पचास रुपैयाँ। कफीले एकैछिनमा तताएको शरीर कफीको मूल्य सुनेर पुरै चिसो बनायो।
यसो सोचेँ, फेरि म त आइफल टावरमा पो छु, दुई टिप्स दिँदै बिल तिरेर फर्किएँ। म आफू जीवनको लगभग १५ वर्ष टिप्सले बाँचेको मान्छे हुँ। त्यसैले धेरै ठाउँमा सक्ने जति टिप्स छोड्ने चलन छ।
मसँग धेरै भएर होइन, तपाईंहरू पनि रेस्टुरेन्ट, होटलमा कहिलेकाहीँ कामदारको सम्मान र हौसलाको लागि टिप्स छोड्ने गर्नुस्, त्यसले उनीहरूको जीवनमा ठूलो सहयोग मिल्नेछ।
टावर छेउमै पुगे सपना त पूरा भइगयो, अब नियाल्न थालेँ। फोटोमा देख्ने टावर यहाँ साँच्चीकै देख्दा कति धेरै फरक हुनेरहेछ।
एकछिन ठाडो मुन्टोले हेरिरहेँ टावरलाई। प्रत्यक्ष हेर्नु र तस्बिरमा हेरेर अनुभव गर्नुमा आकाश पातालको फरक हुनेरहेछ। आजभन्दा एक सय ३३ वर्षअघि यो कसरी बनाए? अहिले पनि कल्पनाभन्दा बाहिरको कुरामा पर्दछ। नौ सय ८४ फिट अग्लो।
जम्मा तीन वटा लिफ्ट रहेछ टावरको। दुई वटा लिफ्ट पर्यटकको लागि रहेछ भने एउटा लिफ्ट भने आइफल टावरको टुप्पोमा रहेको रेस्टुरेन्टका लागि राखिएको रहेछ।
करिब तीन घन्टा जति टहलिएपछि फोटो भिडिओमा देखिने गरेको आइफल नजिकै रहेको सेन नदी तिर लाग्ने निदो गरेँ। हिँड्दै-हिँड्दै टावरको फेदतिर लागेँ। त्यतिबेला लगभग छ बज्न लागिसकेको थियो।
धेरै फोटाहरू खिचेँ। टावर कसरी बनेको रैछ भनेर नियालेँ। अझै हेर्ने रहर भएको रातिको समयमा देखिने आइफल टावरमा चम्किने अचम्मको बत्ती। रातिमा हेर्दा स्वर्गजस्तै हुन्छ भन्थे। तर स्वर्ग त कसले देखेको छ र? यो सुनेपछि कस्तो नै हुने रहेछ भनेर काउकुती लाग्न थाल्यो। केही बेर सेन नदी तिर गएर रात परेपछि आउने विचार गरेँ।
हराबरा रुखहरू, हजारौंको संख्यामा ठूलासाना जहाजहरूमा पर्यटकहरू आनन्द लिँदै थिए। डुङ्गामा कति पर्यटनकहरू सानाठूला पानीजहाजमै होटेलमा रमाउँदै सवार गर्दै थिए। हजारौ मानिसहरू टावर नजिकै मुस्कुराउँदै तस्बिर कैद गर्दै थिए।
त्यत्रो सहरको फोहोर कता बिसर्जन गरेका होलान्? संसारकै ठूलो र व्यस्त मध्येको पेरिस सहरको बीचबाट बग्ने त्यत्रो नदी पिउँपीउँ लाग्ने पानी के माध्यमबाट, कुन प्रविधि प्रयोग गरेर बनाए होला जस्ता खुल्दुली भने मनभरि नाचिरह्यो।
हाम्रो सानो काठमाडौं सहरमा दुई-दुई वटा नदी हुँदासम्म पनि प्राण खुस्केला जसरी गन्ध आउने तर त्यो आँखाले देखेर नभ्याउने सहरको बीचको नदी। झलझली आफ्नो देश सम्झिएँ, यस्तै बनाउन पाए...।
प्राकृतिक रुपमा सुन्दर देशमा कति विदेशी जान्थे होला? कति आम्दानी हुने थियो होला? सेन नदीको किनार लगभग सात किलोमिटर तलसम्म पुगेँ, हिँड्दै फर्किएर आइफल आउने तागत मसँग थिएन। ज्यान एकदम थकित भएको थियो। तर रातको समयमा देखिने स्वर्गजस्तो आइफल टावर भने हेर्न बाँकी थियो जुन म कुर्दै थिएँ।
केही बेरमा साँझ पर्दै गयो, बत्तीहरू बल्न सुरु भयो। म फेरि मेट्रो समाएर त्यो सुन्दर गगन चुम्बी फलामे खम्बामा राखिएका रंगिबिरंगी बत्तीहरू हेर्न फर्किएँ। मन यति फुरुंग थियो कि खुसीको सीमा नाघेर दुखेको खुट्टा पनि बिर्सिएँ। मानौं यो टावर मैले मात्र देखेको दुनियाँमा कसैले नदेखे जस्तो भान हुँदै थियो।
टावरलाई एक फन्को मार्दै सबैतिर आँखा डुलाएँ। उमेर पुगेका केटाकेटी प्रेम जोडीहरू कोही त्यो सुन्दर दृश्यको आनन्दमा चुम्बन गर्दै लठ्ठ थिए त कोही एक अर्काको अंगालोमा मुस्कुराउँदै थिए।
कोही भने त्यो ऐतिहासिक विश्व सम्पदा सूचिकृत ठाउँमा बियर जुस बेच्दै थिए। त्यसरी बेच्नु कानुन विपरीत रहेछ। प्रहरी आउने बित्तिकै ती बियर बेच्ने मान्छेहरू भागभाग हुन्थे। अझै रातको समयमा चोरी हुने एकदम धेरै डर रहेछ। पहिलै यसबारे जानकार भएकोले म सर्तक थिएँ।
पेरिस आइफल टावर हेर्न वार्षिक ७० लाख मान्छे आउँछन् भन्ने थाहा भएको मलाई त्यो ठाउँ भिडभाड हुन्छ भन्ने थाहा थियो। एक्लै हिँड्ने मेरो बानीले जब फोटो खिच्ने बेला भने धोका दिने गर्थे। तर मजस्तै एक्लै इतिहास बुझ्न र केही सिक्न घुम्न आएका मान्छेहरू यात्रामा प्रशस्त मात्रामा भेट्ने गर्दथेँ।
पेरिसको सौन्दर्य मोबाइलमा जति कैद गर्दा पनि मनले भने धेरै कैद गर्न खोजिरहेका थिए। कम्तीमा पनि मैले सयौँ फोटो खिचिसकेको रहेछु, पछि हेर्दा ओहो लागेन आफैसँग हाँस्न मन लाग्यो।
लगभग रातको साढे एघार बज्दै थियो। बल्ल थाकेका खुट्टा दुख्न थाले र भोक पनि मज्जाले लाग्न सुरु भयो। होटल बुक पहिल्यै गरिसकेको थिएँ। अब होटल फर्किने तयारी तिर लागेँ।
यात्रामा खानाको समय मिल्दैन, एकदम महंगो हुनाले म आफू धेरैजसो सुपरमार्केट तिरै केही खाने गर्छु जुन सस्तो पर्छ।
त्यहाँ पल्लो डाँडामा उक्लिएँ। जहाजबाट आइफल टावरको टुप्पो समाए जसरी फोटो खिच्न मिल्ने रहेछ। फेरि फोटो खिचेँ। नौ नम्बरको मेट्रो समाएर होटेलको कोठातिर लागेँ।
कोठा पुगेर नुहाइधुवाइ गरेँ। सुत्नुअघि धेरै कुरा मनमा खेल्दै भारी हुन थालियो। मान्छेले बनाएको फलामे खम्बा हेर्न वार्षिक ७० लाख आउँछन् भने हाम्रोमा प्राकृतिले दिएको संसारको अग्लो सगरमाथा हुँदासम्म पनि देशको अवस्था र व्यवस्थाले गर्दा न्यून पर्यटक जाने कुराले खिन्न भएँ।
यो पनि राजधानी, हाम्रो पनि राजधानी। त्यहाँ पनि बीचबाट खोला बगेको छ, हाम्रो पनि खोला बगेकै छ तर त्यो खोला कथामा वर्णन गरिने स्वर्गजस्तै हाम्रो खोला कथामै वर्णन गरिने पापीलाई डुबाउने नर्क जस्तै कसरी भयो भन्ने प्रश्नहरूसँगै टावरको यादगार पलले मनलाई शीतल बनाइरह्यो।