मुम्बई जान दुई दिन अगाडि काठमाडौंबाट सबैभन्दा सस्तो टिकट खोज्दा नेपाल एयरलाइन्सको टिकट मिल्यो। मैले धेरै अघिदेखि कुनै पनि योजना नबनाउने भएकाले जहिले पनि अन्तिममा निर्णय गर्छु अनि महँगो टिकटमा पर्छु।
धेरै नकारात्मक कुरा सुनेको हुनाले नेपाल एयरलाइन्सको जहाज समयमा नउड्ने हो कि भन्ने मनमा डर लिँदै म र मेरी श्रीमती तेजस्वी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्यौं।
एयरलाइन्स चेक इन, अध्यागमन जाँच र सुरक्षा जाँच सकेर प्रतिक्षालयमा पर्खिरहेका थियौं। बस चढेर प्लेनमा धेरै यात्रु चढिसकेका रहेछन्। हामी अलि पछि परेछौं किनकि, स्टिव जबले दिएको खेलौना हातमा खेलाउँदा खेलाउँदै अनाउन्समेन्ट सुन्दै सुनेनौं।
अन्तिम बसमा चढ्नको लागि पर्खाईमा थियौं, बस चढ्नु अगावै प्लेनभित्रको हावा दिने पंखा नचलेको हुनाले केही बेर ढिला हुने खबर आयो। कुरा बुझ्दा कि त त्यहीँ जहाजलाई बनाएर नत्र भने अर्को जहाजमा भए पनि हामीलाई उडाउने योजना रहेछ। करिब २ घण्टा पर्खिएपछि त्यहीँ प्लेन बनेछ र हामी मुम्बई तिर लाग्यौं।
छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सी लिएर कोलाबास्थित ताज होटेलतर्फ लाग्यौं।
आकासे सडक र ‘समुन्द्री लिंक’ को बाटो हुँदै हुँईकिदै थियौं। मुम्बईका दुई उपनगर बान्द्रा र वर्लिलाई जोड्ने करिब ६ किलोमिटर लामो ८ लेनको समुन्द्री लिंक निकै सुन्दर रहेछ।
बाटोमा चालकलाई डन फिल्मको ‘ए है बम्बई नगरीया तु देख बबुआ’ गीत घन्काएर बजाउन लगाएँ। उनले पनि खुसी आफ्नो फोनबाट युट्युबमार्फत कारको रेडियोमा उक्त गीत बजाए। झ्याल खोलेर हावा खाँदै एकाध भिडिओ खिचेँ। चालक र श्रीमतीसँग भलाकुसारी गर्दागर्दै ट्याक्सी होटेल अगाडि पुगेर रोकिईसकेछ।
यो होटेलमा म पहिले २ पल्ट बसिसकेको थिएँ। कोलाबास्थित यो होटेल मुम्बई हार्बर र गेटवे अफ इन्डियाको छेवैमा छ। सन् १९०३ म खुलेको यो होटेल टाटा ग्रुपको हो। त्यो बेला यो होटेलमा भारतमा नभएका धेरै सुविधाहरू पहिलो चोटि उपलब्ध भएका थिए रे।
मेरो विचारमा यहाँको जस्तो राम्रो सर्भिस संसारको अन्य कुनै पनि होटेलमा छैन। हरेक स्टाफलाई यस्तो तालिम र सुविधा दिईएको छ कि सानो भन्दा सानो मागलाई उनीहरूले सहर्ष पुरा गरिदिन्छन्। उनीहरू नम्र छन् र आदर गरेर बोल्छन्। वर्षौंदेखि काम गरेका स्टाफ छन् यहाँ।
होटेलमा चेक-इन गर्दैगर्दा एक सुन्दर युवती आएर हाम्रो आरति गरिन् अनि एउटा माला लगाईदिइन्। बुक गरे अनुसार होटेलको माथिल्लो तलामा गेटवे अफ इन्डिया देखिने गरि रूममा केही बेर आराम गर्यौं। झ्यालबाट अरेबियन समुद्रको चिसो चिसो हावाले गरेको स्पर्शको साथ साथै मनोरम दृश्यको आनन्द लिन थालेँ।
पहिलो दिन होटल र होटल वरिपरि बिताउने योजना भयो। हाम्रो प्याकेजमानै भएका अपरान्हको चियापान, हेरिटेज टुर, कक्टेल्स, डिनर र डिनर पछिको कोगन्याक र चकलेटमै ब्यस्त भइयो।
ब्रम्ह मुहुर्तमानै उठ्ने बानी भएकाले दोस्रो दिन बिहानै उठेर मर्निङवाक तिर लागेँ। होटेलबाट निस्कनासाथ गेटवे अफ इन्डियाको वरीपरि घुमेँ। पशुपतिनाथमा जस्तै थुप्रै परेवा रहेछन्। ‘पीजे रामाचन्द्रन’ मार्गको पेटीमा हिँड्न थालेँ। फाट्ट फुट्ट टुरिस्ट आईसकेछन्। गाडी वा मोटरसाइकल छेवैमा पार्क गरेर त्यहीँ पेटीमा केही प्रेमिल जोडीहरू गफ गर्दै रमाईरहेका थिए। कोही फोटो खिचिरहेका। स्थानीय पनि मर्निङवाकमा निस्किएका थिए। एक-दुई जना थर्मसमा तातो तातो चिया बेचिरहेका थिए।
म भने बिस्तारै सूर्योदयको आनन्द लिन थालेँ। चिसो हावा र असाध्यै मन्द गतिको समुद्र न्यानो सूर्यलाई स्वागत गर्न पर्खिरहेका थिए। समुद्रमा साना र ठूला धेरै डुंगा तैरिरहेका थिए। अलि पर गहिरो समुद्रमा एउटा ठूलो पानी जहाज देखियो।
हेर्दाहेर्दै गोथिक वास्तुकलाले बनेको ताज होटेललाई सूर्यको किरणले टल्काईसकेछ। केही समयअघि घान्द्रुकको गुरूङ कटेजबाट देखिएको सूर्योदय र हिमालको रङ फेरिएको दृश्य याद आयो।
बाटोमा मैले सुनेको ‘य है बम्बई नगरीया’ गीतको केही अंश ताज होटेल र गेटवे अफ इन्डियामा खिचिएको रहेछ। त्यहीँ अंशलाई समेटेर एउटा फोटोग्राफर आएर फोटो खिच्न कर गर्यो। गोजीमा हेरेको केही भारू पैसा रहेछ। मैले हुन्छ भनेँ। अरू केही फोटो र भिडिओलाई मेरो आफ्नै फोनमा कैद गरि म कोठा फर्किएँ।
हिन्दु परम्परा अनुसार कुनै पनि कर्म गर्नु अगाडि गणेश भगवानको पूजा गर्ने चलनअनुसार हामी प्रभादेवीस्थित सिद्धविनायक मन्दिर गयौं। २ सय वर्षभन्दा बढी पुरानो यो मन्दिरमा निकै भिड हुँदोरहेछ। पैसा तिरेर जाने र पैसा नतिरी जाने लाईन रहेछ।
मन्दिर जाँदा म जहिल्यै यो द्विविदामा हुन्छु। पैसा तिरेर लाइन बस्न मन हुँदैन। लोभी भएर होइन, तर भगवानको थानमा आएर पनि के को पैसाको खेल हो जस्तो लाग्छ।
तै पनि छोटो समयको लागि घुम्न जाँदा घन्टौं लाईन बस्ने समय हुँदैन। मन्दिरको ‘एप’ मा समय लिएर आए पनि हुने रहेछ। घरमै बसेर अनलाईन लाइभ दर्शन गर्ने ब्यवस्था पनि रहेछ। मन्दिरबारे थप जानकारी लिन जी टिभीको एपीसोडहरू अनलाईन हेर्न पनि सकिनेरहेछ।
मराठी भक्तजनहरू ‘गणपति बप्पा मोरया’ आदि भनेर आराधना गरिरहेका थिए। म भने ‘ॐ श्री गणेशाय नमः’ जपिरहेको थिएँ।
यो मन्दिरको मुख्य मूर्तिको एउटा अनौठो विशेषता भनेको भगवान गणेशको सुँडको झुकाव दाहिनेतर्फ रहेछ। प्रायः सबै गणपतिको सुँड बायाँतिर झुकेका हुन्छन्। भर्खरै सुनको जलप पनि लगाईएको रहेछ।
संसारको सबैभन्दा धनी मन्दिर रहेछ सिद्धविनायक। यहाँ वर्षेनी करिब १.५ मिलियन अमेरिकन डलर भन्दा बढी दान मिल्दोरहेछ। यो मन्दिर सञ्चालक समितिका अध्यक्ष मिस्टर बन्डेकारलाई सेवा सुविधासहित महाराष्ट्र राज्यको मन्त्री पदमा नियुक्त गरिएको रहेछ।
अब हामी श्री महालक्ष्मी मन्दिर, श्री ढाकेश्वर महादेव मन्दिर र अन्य केही मन्दिरको दर्शन गर्न लाग्यौं। अन्त्यमा, हाजी अली दरगाह मस्क घुमेर होटेल फर्कियौं।
बेलुकाको खानाको लागि ‘स्ट्रिट फुड’ खाने विचारले होटेल पछाडिको नवरोजी फुन्दुँजी स्ट्रिटमा भएको ‘वा मोमो’ बाट भेजीटेरियन मोमो र ‘टुलोच रोड’मा भएको ‘बढेमियाँ’ बाट कबाब र पनिर् टिक्का रोल लिएर कोठातिर लाग्यौं।
सन् १९४६ मा खुलेको बढेमियाँ ‘स्ट्रिट फुड’ पसल एउटा नगई नहुने ठाउँ रहेछ। बिहान ४ बजेसम्म खुल्ने यो पसलमा साँझ परे पछि निकै भिड हुँदोरहेछ। मुम्बईमा धेरै वटा ‘स्ट्रिट फुड’ पसलहरू चौबिसै घण्टा खुल्दारहेछन्।
मलाई त काठमाडौंमा पनि महँगा रेस्टुरेन्टभन्दा बाटोमा भएका पसलमा गएर खाना खाँदा मिठो लाग्छ। मुम्बईका ‘स्ट्रिट फुड’ पसलमा सबै आर्थिक वर्गका मानिस आउँदा रहेछन्।
होटेलमा आउँदै गर्दा बलिउडकी अभिनेत्री सोनम कपुरलाई देखियो। उनी सायद डिनर खान ताजमा आएकी थिइन्। एक दिन लन्चमा बलिउडकै अभिनेता विवेक ओबरायलाई पनि देखेको थिएँ। बलिउडको धेरै कलाकार यहाँ आउँदा रहेछन्।
अभिनयमा लाग्नु अघि अभिनेता गोविन्दालाई यही होटेलमा स्टीवर्डको जागिर नमिलेको कुरा सुनेको थिएँ। होटेलमा जागिर पाएको भए उनी अभिनेता नबन्न पनि सक्थे भन्ने कहावत छ।
तेस्रो दिन हामी ‘मारिन ड्राइव’ गयौं। ‘मारिन ड्राइव’ को पुच्छरमा भएको ‘नरिमन पोइन्ट’ मा बसेर चिसो समुन्द्री हावा र सुन्दर दृश्यको आनन्द लिँदै मैले चिया पिएँ। कुरैकुरामा चियाबालाले भने, ‘यो ठाउँको जग्गा संसारकै महँगो जग्गा मध्ये पर्दछ।’ केही बेरको गफगाफ पछि, अब हामी पैदलै ‘गिरगाव चौपाटी’ बीच तिर लाग्यौं।
फुटपाथमा हिँड्दा ‘सिआईडी’ फिल्ममा छायाँकन गरिएको ‘लेके पहला-पहला प्यार’ गीतमा देवानन्द र शिला नाचेको सम्झना आयो। यहाँ अरू धेरै सिनेमा र म्युजिक भिडिओका शुटिङ भएका छन्।
बाटोमा अनगिन्ति मानिसहरू समुद्रतिर फर्किएर बसेका थिए, कोही गफमा मस्त थिए भने कोही सुन्दर दृश्यको आनन्द लिईरहेका थिए। पुरै परिवार अथवा साथीको झुण्ड देखिन्थ्यो। नरिवल पानी, मकै, चिया आदि बेच्नेहरू पनि प्रसस्तै भेटिए।
‘चौपाटी बीच’ पुग्नासाथ हामी फोटो खिच्न व्यस्त भयौं। संसारकै जनप्रिय र प्रतिष्ठित समुन्द्री तट हो यो। सूर्यास्त हेर्न अतिनै उत्तम ठाउँ। मुम्बईको व्यस्तताबाट फुर्सत निकालेर लामो सास फेर्न आउने जनप्रिय ठाउँ रहेछ यो बीच।
अब हामी ‘भेलपुरी र बडा पाव खान थाल्यौं। आहा, कति मिठो। मुम्बई आएर भेलपुरी, बडा पाव, र पाव भाजी आदि स्ट्रिट फुडहरु नखाई नहुने रहेछ।
त्यहाँ घुमिसकेर हामी छत्रपति शिवाजी टर्मिनल (रेलवे), वानखेड़े स्टेडियम, र ओभल मैदान घुम्न तिर लाग्यौं। गोथिक बस्तुकलामा बनेको छत्रपति शिवाजी टर्मिनल भारतमा ताजमहल पछि सबैभन्दा बढी फोटो खिचिने ठाउँ रहेछ।
विश्व सम्पदा क्षेत्र घोषित गरिएको यो टर्मिनलमा मुम्बई आउने रेलहरू यहिँ आएर टुंगिँदा रहेछन्। त्यसैगरि वानखड़े क्रिकेट स्टेडियम पुग्दा थाहा भयो मात्र ३३ हजार सिट क्षमताको यो रंगशाला संसारकै सबैभन्दा सानो क्रिकेट रंगशालामध्येको एक रहेछ।
केही समय अघि संसारको सबैभन्दा ठूलो गुजरातको अहेमदावादस्थित नरेन्द्र मोदी स्टेडियम (१ लाख ३२ हजार सिट क्षमता) घुमेको याद आयो।
चर्चगेटको दक्षिणी भागमा रहेको ओभल मैदान काठमाडौंको टुँडिखेल जस्तै मुम्बईको एउटै खेल मैदान रहेछ। खेलाडीहरू क्रिकेट खेलिरहेका थिए।
साँझपख ताज होटेलकै हार्बर बारमा गएर ताज बिएर पियौं। सन् १९३३ मा खुलेको यो बार मुम्बईको पहिलो लाईसेन्स-प्राप्त बार रहेछ।
भारतको ब्यापारिक राजधानी भए पनि मुम्बई सबै भन्दा बढी बलिउडको कारणले संसारभर चिनिन्छ। चौथो दिन बिहानै ‘बलिउड टुर’ लिन भनेर हाम्रो गाडी फिल्म सिटी तर्फ लाग्यो।
३० वर्षदेखि होटेलको ड्राईभर भएर काम गरेका रबीन्दरलाई मुम्बईको चप्पा चप्पा थाहा रहेछ। फेरि पनि हामी मरिन ड्राईभहुँदै अघि बढिरहेका थियौं। अलि अघि गएपछि देब्रेतिर ‘ह्याँगिङ गार्डेन’ छ भनेर देखाए।
बाटोभरि अरू धेरै ठाउँ र आकर्षणको बारेमा बताईरहे। दक्षिण मुम्बईमा नै त्यसबेलाका भारतका सबैभन्दा धनि मुकेश अम्बानीको घर देखाए। छानामा हेलिकप्टर प्याड पनि भएको यो ४ लाख स्क्यार फुटको घरमा उनी, उनकी श्रीमती र दुई छोरा बस्दारहेछन्। उनकी छोरी केही वर्ष अघि बिहे गरेर अलि माथि समुद्रको तटमै नयाँ घर बनाएर सरेकी रहिछन्। त्यो घर पनि बाटोमै पर्दोरहेछ, वर्लि भन्ने ठाउँमा।
बलिउड स्टुडियोमा पुग्दा २ वटा सिनेमाको सुटिङ भइरहेको थियो। हामी बलिउड म्युजियम घुम्यौं। केहि वर्ष अघि हलिउडको युनिभर्सल स्टुडियो घुमेको सम्झना भयो। विदेशी टुरिष्टलाई बलिउड डान्स पनि सिकाउँदा रहेछन्।
अब हामी सेलेब्रेटीको घर हेर्न जुहु र बान्द्रातर्फ लाग्यौं। चालक रबिन्दरले अमिताभ बच्चन, शाहरूख खान, रेखा आदिको घर बाहिरबाटै देखाए। केही फ्यानहरू शाहरूख खानलाई देखिन्छ कि, भनेर गेट बाहिर पर्खिरहेका थिए। उनले आफ्ना फ्यानहरूलाई हरेक बिहान ५ बजे भेट्छन रे।
अब हामी संसारकै सबैभन्दा ठूलो मध्येको एक सुकुम्बासी बस्ती अथवा ‘स्लम’ ‘धारावी’ तर्फ गइरहेका थियौं। धारावीमा १० लाख मानिसहरू त्यो पनि करिब ४ हजार रोपनीमा बस्दा रहेछन्। त्यो हिसाबले यो ठाउँ सबै भन्दा बढी जनघनत्व भएको ठाउँ मध्ये पर्दोरहेछ।
दुई वटा रेल स्टेसनको बीचमा भएको यो बस्ती सन् १८८२ मा अंग्रेजले बसाएका रहेछन्। यो सरकारी जग्गामा पहिले ‘मेंग्रोब को जंगल थियो रे।
यहाँ केही वर्ष अघि मेरो एक जना साथीको छोरी अमेरिकाको प्रसिद्ध कम्पनीमा काम गर्न छोडेर यही स्लममा बिजिनेस मोडेल बनाउन भनेर आएकी थिइन्। अमेरिकाको कम्पनी मुम्बईको स्लममा बिजनेश गर्न जान लागेको सुन्दा म अचम्मित भएको थिएँ। तर यहाँ त बर्षेनी १० अरब अमेरिकी डलर भन्दा बढीको कारोबार हुँदोरहेछ।
साना साना उद्योगहरु प्रसस्तै रहेछन् अनि मजदुरी गर्नेको संख्या अत्यधिक रहेछ। भारतका बिभिन्न भागबाट अनि सबै धर्मका मानिस मिलेर बसेका रहेछन् यो स्लममा।
उद्देश्य र संकल्प बोकेर हिँडेका मानिसहरु रहेछन यहाँ। प्रसिद्द फिल्म ‘स्लमडग मिलियनर” मा ‘जमल मलिक’ ले खेपे जस्तो सास्ती भने खासै रहेनछ।
बेलुकी ‘कोलाबा कजवे’ मा भएको रिगल सिनेमामा ‘उचाई’ हिन्दी फिल्म हेर्न गयौं। बलिउडका सबै ‘ब्लकबस्टर” सिनेमाहरू देखाईने ठाउँको रूपमा चिनिँदो रहेछ यहाँको रिगल सिनेमा।
भोलिपल्ट अर्थात पाँचौ दिन मित्र डा. स्वेता भट्टलाई भेट्न उनकै अफिस ‘कन्जरभेसन एक्सन ट्रस्ट’ मा गएँ। करिब एक घन्टाको छलफलपछि म मुम्बईका मेंग्रोव जङ्गलहरू हेर्न गएँ। एक ठाउँमा जङ्गल बाहिर पुलिस बसेका रहेछन्, अलिकति घुस नदिई जानै दिन्न भनेर रोके। अरू ठाउँमा खटिएका पुलिसले त् पैसा पाउँछन् तर मैले किन नपाउने भन्दै थिए उनी। दिनभर धेरै वटा मेंग्रोव जंगल हेरेर खुसी भएँ। खुशी किनकि यति ठूलो शहरमा पनि मेंग्रोवलाई बचाएर राखिएको रहेछ।
कोठा फर्कनुअघि, वन्यजन्तु संरक्षण कोषको अफिसमा छिरेँ। मेरो कुराकानी सकि सकेपछि उक्त संस्थाका निर्देशक र मेरो मित्रले ‘एकछिन बस्नुस म एउटा मिटिङ सकेर हामी चिया खान जाउँला भन्नुभयो।’
एक ग्रुप केटाहरु आए, उनीहरुको समस्या मुम्बई एयरपोर्टभित्रका चराहरू रहेछन्। निर्देशकले सम्भावित उपायबारे सुझाव दिए। त्यसपछि नजिकैको चिया पसलमा चिया पिएर भलाकुसारी गरेपछि म कोठा फर्किएँ।
छैठौं दिन बिहानै मर्निङवाकमा निस्किर ‘सस्सून डाँक्स’ माछा बजार गएँ। यो माछा बजार मुम्बईको सबै भन्दा पुरानो र सबैभन्दा ठूलो मध्ये एक पर्दोरहेछ। यति ठूलो ‘मछली बजार’ मैले कहिलै देखेको थिइनँ।
माछाको लिलाम बढाबढ भइरहेको छ, ढकनीमा माछा बोकेर महिला मजदुरहरू यताउता छिटो छिटो हिँडिरहेका छन्। भिडामभिड छ, ठेलमठेल छ। हिँड्ने ठाउँ भिजेको र चिप्लो छ, लडिन्छ कि, भन्ने डर। केहीबेर रमाइलो हेरिसकेर म कोठा फर्किएँ।
दिउँसो होटेलकै स्विमिङ पुलमा दिन बिताएँ। बेलुकी केहि सपिङ पनि भयो।
साँझ पर्नु अगाडि, गेटवे अफ इन्डिया पछाडि गएर सस्तोमा पाइने डुंगा चढेर घुम्यौं, यो आधा घन्टाको ट्रिप निकै रमाइलो भयो।
भोलिपल्ट बिहानै अर्थात् सातौं दिन ताज होटेल छोडेर हामी जुहू बीचस्थित ‘जे डब्लु मेरिअट’ होटेलमा चेक-इन गर्यौं। यो होटेलमा पनि सर्भिस खुबै राम्रो रहेछ। इन्डियन फुटबल टिम पनि त्यही होटेलमा बसेको रहेछ।
होटेलको जिममा बिहान ४ बजे बलिउड अभिनेता अक्षय कुमार हरेक दिन आउँछन् भन्ने सुनेँ। दिन ढल्नु अगाडि नजिकै भएको जुहू बीच र इस्कोन मन्दिर गयौं। बाटोमा केही किनमेल पनि भयो। बेलुकी होटेलको लाउन्जमा बसेर अरेबियन समुद्र हेर्दै वाईनको चुस्की लियौं।
बितेका केहि दिन निकै रमाइलो भयो तर हरेक राम्रो कुराको ढिलो चाँडो अन्त्य हुन्छ भने जस्तै घर फर्कने बेला आइसकेछ। भोलिपल्ट बिहानै हामीले मुम्बईलाई बाईबाई गर्दै घर फर्कियौं।