यो यात्रा संस्मरण २०७९ कात्तिक ११ गतेदेखि २२ गतेसम्म सोलुखुम्बु जिल्लाको गोक्यो–गोजुम्पा तथा खुम्बु ग्लेसियर क्षेत्रमा गरिएको पदयात्राका बारेमा तयार पारिएको हो।
समग्रमा यो संस्मरण गोक्यो–गोजुम्पा तथा खुम्बु ग्लेसियर क्षेत्रमा रहेका अविस्मरणीय यात्रा गन्तव्यहरू मुख्यरूपमा समून्द्री सतहबाट ५,३५७ मिटर उचाईमा रहेको गोक्यो री पहाड, ४,७९० मिटर उचाईमा रहेको गोक्यो ताल, ५,४२० मिटर उचाईमा रहेको चोला पास, ५,३६४ मिटर उचाईमा रहेको एभरेष्ट बेसक्याम्प र ५,६४४ मिटर उचाईमा रहेको कालापत्थरसम्मको पदयात्रामा आधारित रहेको छ।
गोक्यो ताल एवम् गोक्यो री पहाड गोजुम्पा ग्लेसियरको पश्चिमपट्टि अवस्थित छ। कूल लम्बाई ३६ किलोमिटर रहेको गोजुम्पा ग्लेसियर क्षेत्र गोक्यो लगायतका ५ वटा हिमताल तथा सयौं हिमतलैयाहरू, गोजुम्पा ग्लेसियर अर्थात हिमनदी, गोक्यो री पहाडबाट उचाईका दृष्टिकोणले विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा (८,८४८.८६ मिटर), चौथो अग्लो हिमाल ल्होत्से (८,५१६), पाँचौं अग्लो हिमाल मकालु (८,४६३ मिटर) र छैठौं अग्लो हिमाल चोयू (८,२०१ मिटर) को एकैपटक दृष्यावलोकन गर्न उपर्युक्त स्थानका रूपमा विश्वप्रसिद्ध रहेको छ।
सबै ग्लेसियर अर्थात हिमनदीहरू हिमालको हिउँ पग्लेर बन्ने गर्दछन्। तर यस्ता नदी तत्कालै सतहमा प्रकट नभई निश्चित गहिराईमा निश्चित लम्बाईसम्म बालुवा, रोडा तथा ढुङ्गामुनी जम्ने तथा बग्ने र त्यसपछि सतहमा प्रकट हुने प्रकृतिको हुन्छ। केही दशक पहिले अधिकाँश ग्लेसियरको सतह हिउँले ढाक्ने गरेकोमा जलवायु परिवर्तन लगायतका कारणले हाल यस्ता नदीको सतहमा जमेका हिमतलैयाहरू, बालुवा, रोडा तथा ढुङ्गा देख्न सकिन्छ। हिउँको मात्रा घट्दै गएको छ।
सगरमाथा, नुप्त्से र ल्होत्से हिमालको हिउँ पग्लिएर बनेको खुम्बु हिमनदी अर्थात संसारको सबैभन्दा उच्च स्थानमा रहेको ग्लेसियरको अधिकतम् लम्बाई १५ किलोमिटर रहेको छ। यस क्षेत्रमा उल्लिखित हिमालहरू लगायत सगरमाथा आधार शिविर, खुम्बु आईसफल र कालापत्थर जस्ता भ्रमणीय स्थानहरू पर्दछन्।
यात्राका क्रममा गोजुम्पा तथा खुम्बुक्षेत्रमा रहेको विश्वप्रसिद्ध ३ वटा सर्किट ट्रेलहरू (समून्द्री सतहबाट ५,३६० मिटर उचाईमा रहेको रेन्जोला पास, ५,४२० मिटर उचाईमा रहेको चोला पास र ५,५३५ मिटर उचाईमा रहेको कोङ्माला पास) मध्ये यसपटक चोला पास अभूतपुर्व अवसर प्राप्त भयो।
तीनमध्ये सबैभन्दा पश्चिममा रहेको रेन्जोला पासले नाम्चेभन्दा पश्चिममा रहेको प्रशिद्ध पर्यटकीय स्थान थामे र गोक्योलाई जोड्दछ। बीचमा रहेको चोला पासले गोक्यो क्षेत्र अर्थात गोजुम्पा ग्लेसियर र सगरमाथा अर्थात खुम्बुक्षेत्रलाई जोड्दछ। त्यस्तै, पूर्वमा रहेको कोङ्माला पासले खुम्बुक्षेत्र र विश्वप्रसिद्ध ईम्जा ग्लेसियर क्षेत्रलाई जोड्दछ। मलाई यसपटकको चोला पासको रोमाञ्चकता र अनुभवले भविष्यमा अनुकूल समय व्यवस्थापन गर्दै बाँकी पासहरू पनि टेक्नेप्रति आकर्षित गरेको छ।
प्रशिद्ध आमादव्लम हिमालको उत्तरपूर्व, बरून्ट्से हिमालको पश्चिम तथा नुप्त्से र ल्होत्से हिमालको दक्षिणपट्टि अवस्थित विश्वका धेरै पर्यटकको आकर्षणको केन्द्रविन्दुका रूपमा करिब ६,१०० मिटर उचाईमा रहेको आईल्याण्ड पिक अर्थात ईम्जा से र ५,१०० मिटर उचाईमा अवस्थित ईम्जा ताल पनि ईम्जा ग्लेसियर क्षेत्रमा पर्दछन्। ईम्जा ग्लेसियरको कूल लम्बाई करिब ३५ किलोमिटर रहेको छ। ३ वटा प्रसिद्ध ग्लेसियरहरू ईम्जा, ल्होत्से शार र अम्फुलाप्चा ग्लेसियरहरू मिलेर ईम्जा ग्लेसियर बनेको छ।
पहिलो दिन
हामीले २०७९ कात्तिक ११ गते अर्थात भाइटिकाको भोलिपल्ट मोटरसाईकलबाट काठमाडौंदेखि रामेछापको सदरमुकाम मन्थली पुग्ने गरी हिमालयात्राको शुरूवात गर्यौं। हामी चारजना दुई वटा मोटरसाईकल मार्फत विपी राजमार्ग हुँदै मन्थली पुग्न तयार भएपछि अन्य साधनले प्राथमिकता पाउने कुरै भएन। हरेक सहयात्रीका अलग अलग झोला समेत हुने भएपछि दुईपाङ्ग्रे साधनमार्फत गरिएको यात्रामा केही कठीनाई भने अवश्य भयो। हामी अर्थात यसपटकका सहयात्रीमा जुम्लाबाट दुई जना, सुर्खेतबाट एक जना र भक्तपुरबाट मसमेत जम्मा चार जना थियौं। जुम्लाका दुई जना साथीसँग त मेरो यही यात्राका दौरान पहिलोपटक भेट भएको हो।
करिव ४ बजे नै मन्थली पुगेपछि हामीसँग केही समय बचत भएको थियो। मन्थली र रामेछापको पुरानो सदरमुकाम क्षेत्र मेरा लागि नयाँ नभए पनि बाँकी साथीहरूका लागि नयाँ थियो। स्थानीय सहकारीकर्मी गोविन्द घिमिरेको सहयोगमा तामाकोशी सेवा समितिद्वारा निर्मित गेस्टहाउसमा बसोवासको व्यवस्था मिलाएपछि हामीले केही समय भए पनि रामेछाप बजार उकालो लाग्ने विचार गर्यौं। मन्थलीबाट करिव १५ किलोमिटरमा रामेछाप अर्थात रामेछाप जिल्लाको पूरानो सदसमुकाम पुगिन्थ्यो। अहिले त बाटो फराकिलो र कालोपत्रे समेत गरिएको रहेछ। धेरै वर्ष पहिले म पहिलोपटक रामेछाप जाँदा यो बाटो कच्ची थियो। साँझै परे पनि हामी रामेछाप पुगि केहीबेरमा मन्थली फर्कियौं।
सगरमाथा क्षेत्रको मेरो यो यात्रा दोस्रो पटकको थियो। गत वर्ष अर्थात २०७८ साल यसै समयमा म अरू केही साथीहरूको समूहमा समावेश भई आधार शिविरसम्मको पहिलोपटक यात्रा गरिसकेको थिएँ। त्यस यात्राको रोमाञ्चकता, अनुभव र अपुरोपनले मलाई योपटक पनि सोही क्षेत्रको यात्रा गर्न उत्प्रेरित गरेको थियो। यद्यपि, यसपटकको हाम्रो योजना अघिल्लो वर्षकोभन्दा अलि बृहत थियो।
यसपटक हामीले गोक्यो, गोक्यो री, चोलापास, बेसक्याम्प, कालापत्थर र सम्भव भए ईम्जा तथा आईल्याण्ड पिकसम्मको करिब १५ दिने यात्राको योजना बनाएका थियौं। सगरमाथा बेसक्याम्प यात्राका लागि गतवर्ष म काठमाडौंबाट सिधै तारा एयरको सानो जहाजमार्फत लुक्ला उडेको थिएँ। यात्रा सकेपछि प्लेनमार्फत नै त्यसैगरि फर्केको पनि थिएँ। लुक्ला उडानको साविक व्यवस्था यसपटक फेरिएछ। सामान्य जनता र पर्यटकले यसपटकदेखि रामेछापको मन्थली विमानस्थल मार्फत लुक्ला उड्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको रहेछ।
सतहमा हेर्दा काठमाडौंको एयर ट्राफिकको भार कम गर्न यो व्यवस्था गरिएको बताईए पनि निजी हेलिकप्टरहरूको व्यापारलाई नयाँ व्यवस्थाले सिधै सहयोग गरेको देखियो। यसको थप अर्थराजनीति जेसुकै भएपनि हामी जस्ता भूईंमान्छेका लागि प्रचलित व्यवस्थाले खटाएको अवस्था स्विकार गर्नुको विकल्प थिएन। यसकारण सोलुखुम्बुको यात्राका लागि हामी रामेछाप आएका थियौं। हेर्दा र सुन्दा पनि अलि अनौठो।
दोस्रो दिन
विहान मन्थलीको मौसम हुस्सुले धुम्म थियो। हुस्सु फुलेर भिजिविलिटी अत्यन्तै नाजुक थियो। यसले हाम्रो लुक्ला यात्रालाई ढिला पार्ने निश्चित भयो। तथापी, दुई घण्टा पश्चात हुस्सुले पराजय स्वीकार गर्न थालेपछि पर्यटकहरूमा उत्साह थपियो। एयरपोर्ट वरीपरी स्वदेशी र विदेशी पर्यटकहरूको घुईँचो बढेको थियो। थप केही समय पश्चात हवाईजहाजहरूले पर्यटक उडाउन थाले। लुक्लामा अघिल्लो दिन बास बसेका जहाजहरू पनि धमाधम मन्थली आउन थाले। विहान ९.१५ बजेको हाम्रो पालो करिब १०.३० तिर आयो।
हामी उड्यौं, मन्थलीलाई दाहिने पारेर सीधै लुक्लातिर। म दाहिने सीटमा बसेको थिएँ। अघिल्लो दिन मोटरसाईकलमा उँभोउँधो गरेको रामेछाप जाने नागबेली बाटो माथिबाट नियाल्ने अवसर पाएँ। २१ मिनेटको उडानपश्चात हाम्रो जहाजले लुक्लाको रनवे छोयो। समुन्द्री सतहबाट करिब ५०० मिटरको उचाईमा रहेको मन्थलीबाट करिब २,९०० मिटर उचाईमा रहेको लुक्ला पुग्दा चिसोले घोचेझैं भयो। प्रकृतिको सुन्दरतम् नमूना लुक्लामा पाईला टेकेपछि सबैको मुखवाट आउने पहिलो शब्द ‘वाउ’ हो भने पहिलो काम मोवाईल वा क्यामेराबाट वारपरका दृष्य कैद गर्ने नै हो।
निकै कठीन भूगोलमा अवस्थित साँघुरो रनवे संसारकै डरलाग्दा एयरपोर्टहरूमध्येको लुक्ला पुग्दैगर्दा मुटुको धड्कन नवबढ्ने पर्यटक शायदै होला। पहिलोपटक लुक्ला पुगेका मेरा सहयात्रीहरू पनि निकै रोमाञ्चित भए। केहीबरेमा एयरपोर्टसँगै रहेको लुक्ला बजारको एक होटलमा हामीले खाना खायौं र करिब एक बजे नाम्चेतर्फ अघि बढ्यौं।
लुक्ला बजारमा मैले एउटा ट्रेकिङ स्टिक किनेँ। बाँकी साथीहरूले भने काठमाडौंमै किनेर लगेका थिए। ट्रेकिङ स्टिकबिना लामो पदयात्रा करिब असम्भव नै थियो। किनकि, अधिकांश पैदलबाटो उकालो ओरालो, अव्यवस्थित ढुङ्गाले भरिएको र अफ्टेरो थियो। लुक्लाबाट ढिला हिँडेका कारणले यस दिन नाम्चे पुग्न कठीन नै हुने भएपछि साँझ ६ बजेतिर मन्जो भन्ने स्थानमा हामीले बास बस्ने निधो गर्यौं। त्यहाँबाट नाम्चे पुग्न अझै करिब २.५ घण्टाको बाटो बाँकी थियो।
तेस्रो दिन
समुन्द्री सतहभन्दा निकै उचाईमा रहेको स्थानको नोभेम्बर महिनाका चिसोको गहिराई निकै रहेको हामीले मन्जोबाटै अनुभव गर्न थाल्यौं। सामान्य शारिरीक सरसफाईका लागि पनि चिसो पानी चलाउन कठीन थियो। मन्जोबाट हामी बिहानै नाम्चे पुग्ने गरी विहान ६ बजे नै अघि बढ्यौं। तर १० मीनेटको दुरीमै सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा प्रवेशशुल्क तिर्नुपर्ने कामले हामीलाई झण्डै पौनेघण्टा अल्झायो। ७ नवजेसम्म प्रवेशशुल्क तिर्ने काउन्टर नखुल्ने रहेछ। ६.३० बजेतिरै निकुञ्जका कर्मचारीलाई हाम्रो दुखेसो फोनमार्फत सुनाएर टिकट दिन आग्रह गरेपनि तिनले कानमा बतास लाएनन्। ७.१० तिर कान कोट्याउँदै काउन्टरमा विराजमान हुन आएपछि तिनकै करकमलबाट चारवटा टिकट काटी हामी अघि बढ्यौं।
जोरसल्ले पुग्दा विहानको ७.३० बजिसकेको थियो। जोरसल्लेमा हामीले केही नास्ता र चिया पिएर अघि बढ्न मनासिव ठान्यौं। बिहानको समयमा पैदलयात्रा सहज हुने हुँदा हामीलाई दोभानसम्म पुग्न खासै गाह्रो नभएपनि नाम्चेको उकालो सहज भने थिएन। करिब डेढ घण्टाको उकालो चढेपछि हामी नाम्चे पुग्दा बिहानको १० नाघिसकेको थियो। नाम्चेको प्रवेशद्वार अर्को एउटा प्रसिद्ध फोटोजेनिक स्थान थियो। त्यसले केही समय रोक्ने नै भयो। त्यसपछि, नाम्चेको एक होटलमा हामीले करिब १२.३० तिर खाना खायौं।
मैले नाम्चे बास बसी एक्लामेटाईज गर्न सबै साथीहरूलाई आग्रह गरेपनि शुरूका दिन भएर वा त्यसो नगर्दाका बेफाईदा बारे साथीहरू अनभिज्ञ भएर हो साथीहरू निरन्तर अघि बढ्नै तम्सिए। सम्भवतः मैले कन्भिन्स गर्न पनि सकिन। खाना खाए लगत्तै थालिएको स्याङ्बोचेको ठाडो उकालो अनि पारिलो चर्को घाम।
हाम्रो हिडाईले खासै गति लिन सकेन। यसदिनको यात्राको अघिल्लो गन्तव्य समुन्द्री सतहबाट ३,८८० मिटर उचाईमा रहेको एभरेष्ट भ्यू होटल भए तापनि हाम्रो यस दिनको बासको बारेमा कहाँ पुग्ने भनी हामी प्रष्ट थिएनौं। यद्यपी, मैले पाएको सामान्य जानकारी अनुसार खुम्जुङ भ्यालीमा आजको बास हुनसक्ने आँकलन गरिरहेको थिएँ। यसका लागि करिब ३८०० मिटर उचाईमा रहेको स्याङ्बोचे एयरपोर्ट हुँदै एभरेष्ट भ्यू होटल पार गर्न आवश्यक थियो।
उकालो सकिएपछि हाम्रा सामु स्याङ्बोचे एयरपोर्ट देखा पर्यो। झ्वाट्ट हेर्दा लामो चउरजस्तो देखिने त्यो भुभागलाई जोकोही मान्छेले एयरपोर्ट मान्न नसक्लान्। केहीवर्ष पहिला केही अवधि पिलाटस पोर्टर मोडलका ९ सिटे जहाजहरू यस एयरपोर्टमा ल्याण्ड गरेका थिए रे। केही समय पश्चात यो क्रम रोकिएको रहेछ। स्याङ्बोचे एयरपोर्ट नेपालको सबैभन्दा उचाईमा अवस्थित एयरपोर्ट थियो। हाल यो एयरपोर्ट सञ्चालनमा छैन।
भौगोलिक रूपमा कठीन र मौसमी रूपमा मात्र सञ्चालन गर्न सकिने यो एयरपोर्ट स्याङ्बोचे गाउँ र खुम्जुङ भ्यालीको लाईफलाईन बन्न सक्थ्यो। सम्भवतः यसको सञ्चालनले ‘लुक्लादेखि नाम्चेसम्मका सनातन व्यवसाय’मा प्रभाव पार्नसक्ने देखिएकाले यसको सञ्चालनमा व्यवधान आएको हो। यसर्थमा, स्याङ्बोचे एयरपोर्ट लुक्लादेखि नाम्चेसम्मको अर्थराजनीतिको एउटा कडी बन्यो।
एभरेष्ट भ्यू होटल पुग्नु अघिको एउटा प्रसिद्ध ठाउँबाट हामीले प्रशस्त फोटोहरू खिच्यौं। होटल एभरेष्ट भ्यूबाट मनमोहक रूपमा पूर्वमा सगरमाथा, ल्होत्से, नुप्त्से र आमादब्लम हिमाल प्रस्ट देखिन्थे भने दक्षिणमा खाङटेगा र थामशेर्कु हिमाल आमने सामन्ने देखिन्थे। त्यस पश्चात, एभरेष्ट भ्यू होटल भ्रमण सकेपछि हाम्रा अघि खुम्जुङमा बास बस्नुको विकल्प थिएन। साँझतिर हामी सुन्दर खुम्जुङ भ्याली पुग्यौं। त्यसदिन हामीले मन्जोदेखि एभरेष्ट भ्यू होटलसम्ममा करिब ११०० मिटर थप अल्टिच्यूड हासिल गरेका थियौं। यसकारणले पनि जाडोको मात्रा बढ्दै गएको थियो। उकालोमा दिनभरीको हिडाईले शरीर थकित भएको थियो। हामी खुम्जुङ भ्यालीकै आमादब्लम होटलमा बास बस्यौं।
चौथो दिन
बिहान उठ्दा हामी सबैको अवस्था सामान्य नै थियो। खुम्जुङको होटलमा हामीले गोक्योतर्फ लाग्ने बाटोको सामान्य जानकारी लियौं। कुराकानीका आधारमा केही साथी त आजै गोक्यो पुगौं भनि कस्सिएका थिए भने केही चाहिँ मोचेर्मो पुग्ने प्रस्ताव गर्दै थिए। म भने यस्ता प्रस्तावमा राम्रो लक्षण देखिरहेको थिईन। हामीले बिहानको ९ बजेतिर समुन्द्री सतहबाट करिब ४ हजार मिटर उचाईमा रहेको निकै सुन्दर र रमाईलो गाउँ मोङ–ला पुगि खाना बनाउन लगाएर खायौं। खुम्जुङबाट केही तल, केही तेर्सो र केही उकालो पार गरी पुगिने मोङ–ला डाँडाको टापुमा रहेकोले पनि रमणीय छ। बाटोमा जाँदैगर्दा बिहानीको चिसोमा पनि हीउँकुखुरा र डाँफेको लस्कर भेटिए। मानिस नजिक आएपछि मात्र ती भाग्दारहेछन्। मोङ–ला कटेपछि जङ्गल हुँदै बाटो ओरालो लाग्दोरहेछ, सीधै गोक्यो खोलाको तीरमा पुग्नेगरी।
ठाडो ओरालो लाग्दै गर्दा हामीले बिहानभरी हासिल गरेको अल्टिच्यूडभन्दा अझै बढी अल्टिच्यूड करिब ४० मिनेटमै गुमायौं। यसले एकातिर शरीरलाई केही हदसम्म एक्लाईमेटाईज गरेको अपेक्षा गर्यौं भने अब अर्कातिर यसरी गुमाए बराबरको अल्टिच्यूड हासिल गर्न थप परिश्रम गर्नुपर्ने भयो। किनकी, हामीलाई निकै उचाईमा पुग्नु थियो। झर्दै गर्दा गोक्यो खोलाको सतहमा पुगेपछि बाटो केही तेर्सो लाग्यो। केहीबेरमा पुनः सगरमाथा राष्ट्रिय निकुञ्जको अर्को सुरक्षापोष्ट आईपुग्यो। सुरक्षापोष्टमा सबै पैदलयात्रीहरूका बारेमा केही विबरण टिपाउनुपर्ने रहेछ।
सुरक्षापोष्ट कटेपछिको बाटो लगातार उकालो लाग्दै डोले पुग्न करिब दुईघण्टा लाग्यो। बाटोमा पश्चिमपट्टिका हिमालबाट हिउँ पग्लेर आएका खोलानालाहरू बग्ने क्रममा कतै कतै जमेको देख्न सकिन्थ्यो। घना जङ्गलले ढाकेको बाटोमा दिउँसै करिब अध्यारो छाएको जस्तो र डरलाग्ने खालको थियो। हामी डोले पुग्दा दिनको २ बजिसकेको थियो। मैले साथीहरूलाई समुन्द्री सतहबाट करिब ४,२०० मिटर उचाईमा रहेको डोलेमा आजको बास बस्ने प्रस्ताव राखेँ।
तर साथीहरू बास बस्न अरू तीन घण्टाभन्दा बढी दुरीमा रहेको मोचेर्मो पुग्ने अडान लिदै थिए। मेरो शरीरमा भने त्यति ताकत थिएन। पैदलयात्राका लागि उकालो बाटो मेरा लागि सकसयुक्त रहने गर्दछ। हाई अल्टिच्यूडमा यसप्रकारले निरन्तर यात्रा गर्नु घातक हुनसक्ने कुरा साथीहरूलाई सम्झाउँदै थिएँ। तर पनि यात्रा रोकिएन। डोलेबाट एक घण्टाको दुरीमा एक्ले होटल भएको एउटा ठाउँ आईपुग्यो। साथीहरू रोकिन मानिरहेका थिएनन्। तैपनि मैले बास बस्नेबारे बुझ्ने प्रयास गरें। तर होटलवालाले त्यति राम्रो रेस्पोन्स समेत नगरेपछि पुनः अघि बढियो। थकाईले शरीर पुरै गलेको थियो।
अर्को एकघण्टा हिँडेपछि हामी लुजा भन्ने स्थानमा पुग्यौं। त्यहाँ जम्मा दुई वटा होटेल थिए। एउटामा बास बस्न हामीले कुरा मिलायौं। होटलवाला भने केही कडक रहेछन्। समुन्द्री सतहबाट करिब ४,४०० मिटर उचाईमा रहेको यो स्थानमा कहालिलाग्दो जाडो थियो। दिनभरीको लगातार हिडाई र हाई अल्टिच्यूडका कारणले साँझसम्ममा एकजना मित्रको स्वास्थ्य अवस्था कमजोर हुँदै गयो। यो दिन मात्रै पनि हामीले करिब ७०० मिटरको थप अल्टिच्यूड हासिल गरेका थियौं।
पाँचौं दिन
बिहान उठ्दा मित्रको स्वास्थ्य अवस्थाका साथै मनोवल दुवै कमजोर भएको पाइएकोले मित्रकै चाहना वमोजिम उनलाई यात्रा स्थगन गरी फर्किन आग्रह गर्यौं। साथी फर्किए। अव हामी अघि बढ्ने तीनजना मात्रै बाँकी भयौं। मोचेर्मोमा पुगी खाना खाने लक्ष्यका साथ लुजाबाट हिँडेको करिब डेढघण्टामा हामी मोचेर्मो पुग्यौं। मोचेर्मो पुग्नुभन्दा केही अगाडी डाँडो परेको स्थानबाट हामीले चोयू हिमालको दर्शन गर्दै प्रशस्त फोटो तथा भिडियो खिच्यौं। यस स्थानदेखि हिमाली भुगोलको दायरा फराकिलो हुँदै गएको थियो। हिमाली दृष्य अझ विस्तृत देखिदै गएकोले यात्रा अरू बढी रोमाञ्चित हुँदैथियो।
हामीले मोचेर्मोमा १०.३० बजेतिर खाना खायौं। खाना खाएपछि हिडाईको गतिमा केही कमी आएता पनि हामी निरन्तर अघि बढ्यौं। करिब २ घण्टाको हिडाईपछि हामी गोजुम्पा ग्लेसियरको सतहमा पुगिसकेका थियौं। गोक्यो समूहका पाँचवटा तालहरूबाट बग्दै आएको सानो खोलाको किनारै किनार अघि बढिरहँदा दाहिनेतिर गोजुम्पा ग्लेसियरको फराकिलो क्षेत्र, देब्रेतिर उच्च हिमाली दृष्य, अगाडीपट्टि चोयू लगायतका हिमाल, पछाडिपट्टि थामसेर्कु हिमाल लगायतका मनोरम स्थानहरूले हाम्रो यात्रा अवर्णनीय हुँदै गएको थियो।
हामी करिब २ बजेतिर गोक्यो तालको किनारमा पुग्यौं। वर्षमा चार पाँच महिना जमेको अवस्थामा रहने यो ताल निकै गहिरो र निलो रङको रहेछ। यसको किनाराबाट गोक्यो री, चोयू लगायतका रमणीय स्थानहरू प्रष्ट देखिन्थे। तालको किनारमा हामीले फोटो तथा भिडियो खिच्यौं र बासको व्यवस्थापनतिर लाग्यौं। तालको छेउमै करिब १५ वटाजति होटलहरूले भरिएको गोक्यो गाउँ रहेछ। समून्द्री सतहबाट ४,७९० मिटर उचाईमा रहेको गोक्यो ताल तथा गाउँ प्रकृतिकै सुन्दर छटा हो।
औसत ४५ मिटरभन्दा बढी गहिराई रहेको गोक्यो ताल वरपर यो ताल समूहका कूल १९ वटा तालहरू रहेका छन् भने गोक्योको लाईनमै ५ वटा यस्ता ताल पर्दछन्। गोक्यो ताललाई दुधपोखरी पनि भनिदोरहेछ। करिब ४३ हेक्टर क्षेत्रफल रहेको गोक्यो दोस्रोलाई सबैले साझा रूपमा गोक्यो ताल भनी चिन्दारहेछन्। यसको पहिलो ठूलो ताल (थोनक चो) केही उत्तरपट्टि करिब ६५ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
लुजाबाट हिँडेदेखि नै दिनभरी हिमाली स्याँठले हाम्रो शरीरलाई आक्रान्त बनाएकोले हामीले होटलमा आराम गर्नु नै उचित ठान्यौं। होटलभित्र केही न्यानो पनि थियो। तीन चार बजेतिर त हिमालमा घाम अस्ताएपछि जाडोले आफ्नो साम्राज्य जमाउन थालिहाल्थ्यो। चिसोको कारणले होटल बाहिर निस्कन कठीन थियो। समग्र गोक्यो क्षेत्रमै मोबाईलको टावर नटिप्ने हुँदा अघिल्लो दिनदेखि नै घरपरिवारलाई आफ्नो अवस्था अपडेट गर्न सकिएको थिएन। होटलको वाईफाईका सहायताले मैले घरमा छोटो कम्युनिकेसन गर्न पाएँ। साथीहरूको त त्यो काम पनि भोलिपल्टका लागि थाती रह्यो। भोलिपल्ट बिहानै गोक्यो री चढ्ने योजना सहित हामी सुत्यौं।
छैठौं दिन
विहान हामी तिनै भाइ फुर्तिलै देखिए पनि म बाहेक दुईजना मित्रहरूको आहारको मात्रामा अघिल्लो दिनदेखि नै केही कमी आउन थालेको थियो। बिहान करिब ६.३० तिर हामी गोक्यो रीतर्फ उँभो लाग्यौं। हामीसँग केही बदाम तथा काजु, चाउचाउ, ग्लूकोज र पीउने पानी थियो। जातेआते करिब चारघण्टाका लागि योभन्दा बढी आवश्यक पनि थिएन। त्यसबखत गोक्यो तालको किनारबाट सीधै हामीलाई ठाडो उकालो पार गरी थप करिब ५५० मिटर अल्टिच्यूड चढ्नु थियो।
उकालो टफ थियो, ठाडो र अव्यवस्थित खुड्किला सहित सानाठूला पत्थरले भरिएको। तल तालको किनारबाट गोक्यो रीको माथिल्लो उचाईसम्म मानिस हिँडेको सबै दृष्य देख्न सकिन्थ्यो। बाटोमा जाँदै गर्दा एकजना विदेशी पर्यटकलाई अल्टिच्यूड सिकनेस भएका कारण गाईडले डोर्याएर तलतिर ल्याउँदै गरेको देखियो। पर्यटक आँखा देख्न नसक्ने र राम्रोसँग हिड्न पनि नसक्ने अवस्थामा पुगिसकेका रहेछन्। तिनलाई तालकिनारको होटलमा ल्याउन मुश्किल थियो। अल्टिच्यूड सिकनेसको यो अवस्था मैले पहिलोपटक देखेको थिएँ। हामी पनि डराउँदै अघि बढिरह्यौं। बीचतिर एकजना साथीलाई उकालो जान निकै गाह्रो भयो। तर ग्लुकोजपानी पिएपछि पीडा कम भई सहज रूपमा अघि बढे।
तालछेउबाट हिँडेको ३ घण्टामा हामी समुन्द्री सतहबाट ५,३५७ मिटर अर्थात १७,५७५ फीट उचाईमा रहेको गोक्यो री अर्थात टापुमा पुग्यौं। चोयूदेखि मकालुसम्मका नेपालका ८ हजारमिटर भन्दा बढी उचाईका ८ वटा हिमालमध्ये चारवटा हिमाललाई एकै दृष्यमा समेट्ने अनुपम गोक्यो रीको पर्याप्त बयान गर्न मसँग शब्दहरू अपुग थिए। परीपरिका दृष्य देखेर म त शुरूमा अक्क न बक्क परें। थकानले मुख सुकेको थियो, थोरै पानी पिएँ।
टापुको वरपर ठूला पत्थरै पत्थरले भरिएको थियो। दृष्यावलोकन पश्चात फर्किने बाहेक गोक्यो री बाट अघि बढ्ने ठाउँ थिएन। यो टापु चोयू, सगरमाथा, ल्होत्से र मकालु हिमालको साझा स्थान रहेछ। सोही टापुबाट आमादब्लम, थामसेर्कु र वरपरका थुप्रै हिमाल, तलको गोक्यो ताल, सो तालको पुर्वपट्टि लमतन्न परेर रहेको करिब ३६ किलोमिटर लम्बाईको गोजुम्पा ग्लेसियर, आदि आदि दर्शन सहज र मनमोहक ढङ्गले गर्न सकिन्थ्यो। वरपर नियाल्दा यस्तो आभाष हुन्थ्यो कि दुईवटा मात्र आँखाले एकैपटक कति पो हेर्नु?
हामीले मोबाइल र क्यामेराबाट फोटो तथा भिडियो खिच्यौं। चिसो हावा जोड्ले चल्न थालिसकेकोले धेरैबेर त्यहाँ टिक्न सक्ने सम्भावना क्षीण हुँदै गएको थियो। मैले चोयू र सगरमाथासँग त्यहीँबाट बलियो मित्रता गाँसें। सम्भव भएसम्म भविष्यमा मित्रभेटका लागि आईरहने दृढता मनमनै व्यक्त गरें। ल्होत्से चाहिँ सगरमाथाको अलिक छेकोमा रहेकोले त्यस मित्रताको उ साक्षि बस्यो। मकालुले अलिक टाढैबाट त्यसको मौन समर्थन गर्यो। वरपरका बाँकी सबै हिमश्रृँखलाले हर्ष व्यक्त गरे। केहीबेरको दृष्यपान, फोटो तथा भिडियो कार्यक्रम पश्चात हामी तल झर्यौं।
हामी करिब ११ बजे गोक्योको होटल आईपुग्यौं। एक अद्भुत स्थानमा पुग्न सफल भएकोमा मन धन्य भयो। तीनै भाइ हर्षित थियौं। गोक्यो छोडेर हामी त्यसदिन थाग्नाक पुग्ने योजनामा थियौं, अर्कोदिन चोलापास गर्नेगरी। थाग्नाक गोक्योबाट करिब २ घण्टाको दुरीमा रहेपनि हामीलाई त्योभन्दा आधाघण्टाजति बढी नै समय लाग्यो। गोजुम्पा ग्लेसियर पार गरेर जानुपर्ने थियो। ग्लेसियरको बगर र केही उकालो ओरालो बाटो हिड्न त्यति सहज थिएन।
ग्लेसियरको बाटोमा सानाठूला पानीका तलैयाहरू कतिपय जमेर त कतिपय सामान्य अवस्थामा पाईए। अग्लो र फराकिलो चोयूले भने हामीलाई निकैबेर पछ्याईरह्यो। हामी चार नबज्दै थाग्नाक पुग्यौं। केही खोँचजस्तो तर पारिलो घाम लाग्ने यो स्थान समुन्द्री सतहबाट ४,७०० मिटर उचाईमा अवस्थित रहेछ। थाग्नाकमा करिब छ सातवटा होटल तथा लजहरू रहेछन्। यस स्थानलाई चोलापासको आधार शिविरका रूपमा पनि लिईदोरहेछ। होटलमा केही समय हामीले पारिलो घाम ताप्ने अवसर पाएपछि केही राहत मिल्यो। थकाई र चूलोको तातोले बेलुका लुटुक्कै निदाईएछ।
सातौं दिन
यस दिन हामीलाई थाग्नाकबाट करिब ५ घण्टाको दुरीमा रहेको चोलापास गरी त्यस पछिको करिब ३ घण्टाको पैदलदुरीमा रहेको जोङ्गलामा बास बस्न पुग्नैपर्ने थियो। किनकी, थाग्नाक र जोङ्गला बीचको करिब ८ घण्टाको पैदलदुरी विचमा मानव निर्मित कुनै भौतिक संरचना लगायतका कुनै पनि वैकल्पिक खाना तथा वासको व्यवस्था थिएन। हामीले बास बसेको होटलमा विहानै रोटी, तरकारी, उसिनेको अण्डा र पानीको व्यवस्था गरी ६ बजेतिरै अघि बढ्यौं। बाटो उकालो बाहेक केही थिएन। त्यो पनि चट्टानले भरिएको। बिहानै भएकाले बाटोमा कतै कतै हिउँ जमेको थियो। बग्दै गरेको खोला कतै कतै जमेको देख्दा अचम्म र रमाईलो लाग्दै थियो। बाटोको छेउमा बगिरहेको ठाडो खोला बग्ने क्रममा विचविचमा जमेको पनि थियो।
जाडोले केही समय अत्याउन खोजे पनि हिड्दै गएपछि शरीर तात्न थालेको थियो। निकै माथि पुगेपछि घाम लाग्यो भने हावा पनि चल्न थाल्यो। हामी करिब ८.३० तिर माथि भञ्ज्याङमा पुग्यौं, जहाँबाट चोलापास सामुन्ने देखिन्थ्यो। घाम लाग्दै गएपछि वरपरका हिमाल खुलेर हाँस्न थालिसकेको थियो। अत्यन्तै रमणीय उक्त भञ्ज्याङमा केहीवेर थकाई मार्ने, वरपरका दृष्यपान गर्ने, फोटो तथा भिडियो खिच्ने र ल्याएको खानेकुरा खाएर अघि बढ्ने मेरो उत्कठ ईच्छा थियो। मलाई भोक र प्यास दुवै लागिरहेको थियो। तर म भञ्ज्याङमा पुग्दा साथीहरू उक्त भञ्ज्याङबाट पनि हिडिसकेका रहेछन्।
साथीहरूको मुड हेर्दा आजै लोबुचे बास बस्न पुग्ने छनक पाएँ, जुन मेरो दृष्टिकोणमा असम्भव र घातक थियो। सबै उकालो बाटो जतिमा हिड्न त्यति छिटो नसक्ने भएकाले म पछाडी नै हुन्थें। साथीहरूसँगै हिड्ने अवसर मैले विरलै पाउँथें। सँगै भएर पनि म साथीहरूसँग अधिकाँस बाटोमा एक्लै थिएँ। अब भञ्ज्याङबाट चोलापासका लागि अघि बढिहाल्नुको विकल्प मसँग थिएन। भञ्ज्याङबाट देखिएको चोलापासको दृष्य मेरा लागि पहूँचका हिसावले भयानक थियो। मेरा साथीहरू र अरू ग्रुपका स्वदेशी तथा विदेशीभन्दा म हिड्नमा पछि परिसकेको थिएँ।
भञ्ज्याङ पश्चात बाटो केहीबेर ओरालो र तेर्सो खालको थियो। त्यसपछि चढाई शुरू भयो। चढाईसँगै बाटो ठूला ठूला पत्थरले भरिएको र कठीन थियो। उकालो शुरू भएपछि मलाई केही डर लाग्यो, मलाई बीचमा केही समस्या भयो भने? किनकी मभन्दा पछाडीको बाटोमा तत्कालका लागि बाँकी कोही थिएन। मैले मेरै एकजना साथीलाई रोकिन बोलाएँ। तर साथी रोकिएनन्। केही अघि बढेपछि हाम्रै एकजना साथीलाई केही गाह्रो भएछ। त्यसपछि केहीबेरको हिडाई पछि साथीहरूले थकाई मारिरहेको पाएँ। उकालोमा केही समस्या थपिन सक्ने हुँदा अव उप्रान्त कम्तीमा भञ्ज्याङ पार नहुञ्जेल सँगै हिड्न पुनः साथीहरूलाई आग्रह गरें।
बाटोमा सगरमाथा राष्ट्रिय निकुञ्जले आयोजना गरेको म्याराथुनमा भाग लिएका धावकहरू दौडिरहेका भेटिए। गोक्यो क्षेत्रबाट खुम्बु क्षेत्रतर्फको लामो बाटोमा यसरी दौडिरहेका धावक धाविकालाई बाटोमा भेट्दा मलाई यसै पनि उदेक लाग्यो। मलाई विस्तार हिड्न हम्मे हम्मे पर्दैथियो। ऊनीहरु दौडिदै थिए, त्यो पनि जित्ने प्रतिस्पर्धा सहित।
उकालो बाटो पहरो पार गरेर जाने रहेछ। सहायताका लागि करिब ५०० मिटरभरीको बाटोमा धातुले बनेको विजुलीको मोटो तार लगाईएको रहेछ। हीउँ परेका बेला बाटो पत्ता लगाउन सहज होस् भनि चोलापासको यता र उतापट्टि लामै बाटोसम्म पोलहरू पनि ठड्याईएका थिए। ठाडो पहरोको बाटोमा तारको सहायताले हामी अघि बढ्यौं। उक्त समय बाटोमा हिउँ नथपिएकाले अझ डरलाग्दो अवस्थाको भने हामीले सामना गर्नुपरेन। पासको माथिल्लो भागका भित्ताहरूमा भने हीउँ जमेको थियो। हीउँ परेको बखत वा पदयात्राका क्रममा हीउँ परेमा चोलापास निकै चूनौतीपूर्ण र कहिलेकाहीँ त असम्भव हुने रहेछ। कठीन संघर्ष पश्चात करिब १०.३० बजेतिर हामी चोलापासको टापुमा पुग्यौं।
चोलापासको टापुमा पुगेपछि अघि पुग्नेले चढिरेहकालाई तालिले स्वागत गर्ने र एकापसमा बधाई साटासाट गर्दा रहेछन्। त्याहाँ पर्यटकहरूबीच उत्साहपूर्ण वातावरण देखियो। समुन्द्री सतहबाट ५,४२० मिटर उचाईमा रहेको चोलापासबाट उल्लेखनीय हिमाली दृष्यहरू नदेखिए पनि यसलाई गोक्यो र एभरेष्ट क्षेत्रबीचको आईरनगेटका रूपमा लिईने हुँदा पनि यसको महत्व बिशेष रहेको छ।
टापुमा मुटु छेड्ने खालको चिसो बतास चलिरहेको थियो। हामीले हाम्रो झोलाबाट नास्ता झिक्ने प्रयास गर्यौं। तर हातले भर दिईरहेको थिएन, शरीर काँपिरहेको थियो। बोल्न जाँगर थिएन। नास्ताको प्याकेट मुस्किलले खोल्यौं। स्वभाविक थियो, खानेकुरा सबै हीउँजस्तो चिसो थियो। थर्मसको पानीमा भने केही तातोपन बाँकी रहेछ।
दुईजनाले आ–आफ्नो नास्ता खायौं। एकजना मित्रले खान सकेनन्। केही दिनदेखि सुप र आलुफ्राईमा अघि बढेका मित्र झन् गल्नसक्ने सम्भावना बढ्यो। जाडोले गर्दा खासै जाँगर र ताकत नभए पनि हामीले केही फोटो र भिडियो लिई तलतिर झर्यौं। थोरैबेरको झराईपछिको बाटो पुरै हिउँमय तर तेर्साे खालको ओरालो रहेछ। बाक्लो रूपमा जमेको हिउँको बाटोमा नलडि हिड्न निकै मुश्किल थियो। आधाघण्टा जतिको उक्त हिमयात्रापछि पत्थर र ठाडो भिरालो बाटो पार गरी करिब २.३० तिर हामी जोङ्गला पुग्यौं।
समुन्द्री सतहबाट करिब ६,४०० मिटर उचाईमा रहेको चोलात्से हिमालको काखैमा रहेको र करिब ४,८०० मिटर उचाईमा अवस्थित जोङ्गलामा छ सातवटा जति होटल तथा लजहरू रहेछन्। खानेकुराको राम्रो व्याकअप लिन नसकेका साथीलाई दिनभरीको हिडाईको थकानले बढी नै गाह्रो बनाएको थियो। दिनभरीको चिसो बतासले प्राहार गरिरहेको शरीरलाई हामीले त्यहीँ आराम दिने विचार गर्यौं। घरमा आफ्नो अवस्थाको जानकारी अपडेट गराएपछि केहीबेर तातो चुलोमा गफगाफ सकेपछि हामी सुत्यौं।
आठौं दिन
आज हामी खुम्बु ग्लेसियर क्षेत्र प्रवेश गर्दै थियौं। बिहान ६ वजेतिर हामी जोङ्गलाबाट अघि बढ्यौं। साथीहरूले हिडाईको स्पिड फेरि बढाए। स्वभाविकै थियो, मैले त्यसो गर्न सकिन। जोङ्गला पछिको बाटो तेर्सो र सामान्य नै थियो। दाहिनेपट्टि निकै तल निलो रङको चोला लेक देखिन्थ्यो। चोला लेकलाई दाहिने पारेर लामो बाटो पार गरेपछि थुक्लाको उकालो देखा पर्यो। सागरमाथा आधार शिविर जाने पर्यटकहरू डिङबोचे हुँदै आएपछि थुक्लाको उकालो हुँदै अघि बढ्ने गर्छन्। करिब ४५ मिनेटमा पार गर्न सकिने भए पनि यो उकालो ठाडो र कडा छ।
थुक्लाको उकालो पार गरेको केही समयमा जोङ्गलाबाट आएको बाटो एकासमा मिसिन्छ। हामीले याहाँबाट खुम्बु ग्लेसियर क्षेत्रको सतहमा प्रवेश गर्यौं। यी दुईवटा बाटो जोडिएपछि लोवुचे खोलाको किनारै किनार तेर्सो बाटो आधा घण्टा अघि बढेपछि लोवुचे गाउँ आईपुग्छ। समुन्द्री सतहबाट करिब ६ हजार मिटर उचाईमा रहेको लोवुचे हिमालको काखमा रहेको यस गाउँमा बाह्र तेह्रवटा जति सुविधा सम्पन्न होटल तथा लजहरू छन्। समुन्द्री सतहबाट करिब ४,९०० मिटर उचाईमा रहेको लोवुचेमा खाना तथा बासको राम्रै प्रवन्ध पाईन्छ।
हामी लोवुचे पुग्दा विहानको करिब ९ बजिसकेकोले भोक र थकाई व्यवस्थापन गर्न आवश्यक भैसकेको थियो। खाना अर्डर गरेको करिब डेढ घण्टाको प्रतीक्षा पश्चात हामीले खाना खाई करिब ११ बजेतिर त्यहाँबाट अघि बढ्यौं। घाम लागे तापनि चिसो हावा पनि चलिरहेको थियो। हिँडेको केही बेरमै साथीहरूसँग मेरो हिडाईंको दुरीमा फराकिलो अन्तर आईसकेको थियो। म वरपरका दृष्य नियाल्दै अघि बढिरहेको थिएँ। खुम्बु क्षेत्र मेरा लागि सुपरिचित नै थियो।
लोवुचेबाट १५ मीनेटमै पिरामिड जाने दोबाटो आईपुग्यो। समुन्द्री सतहबाट करिब ५ हजार मिटर उचाईमा रहेको पिरामिडमा गत वर्ष हामी बास बसेका थियौं। पिरामिड मौसम, वातावरण र क्लाईमेट चेञ्जले पर्यावरणमा पारेको असर बारेमा अध्ययन गर्न स्थापित एउटा अनुसन्धान केन्द्र थियो। पछिल्लो समयमा यस भवनबाट पर्यटकहरूलाई वास तथा खानाको व्यवस्था पनि हुँदै आएको रहेछ। त्याहाँ खाना तथा बासको लागि रहँदा उच्च हिमाली क्षेत्रको मौसम, वातावरण र क्लाईमेट चेञ्ज र पर्यावरणका बारेमा पनि जानकारी लिन सकिन्छ।
पिरामिडको दोबाटोबाट ४० मिनेट जति तेर्सो बाटो अघि बढेपछि केही उकालो बाटो चढ्न मलाई पुनः मुश्किल पर्यो। तर मेरो कठीनाई स्थायी प्रकृतिको नभई केहीबेर रोकिने वित्तिकै सामान्य हुने खालको थियो। यसकारण पनि म एक्लै यात्रा गर्दा पनि डराईन, हिम्मत हारिन। २० मिनेटको उकालो पश्चातको बाटो यो पुरै ट्रेलमध्येको सबैभन्दा कठीन बाटो भन्न सुहाउने खालको थियो। बाटो तेर्सो र केही मात्र उकालो ओरालो खालको भए तापनि पुरै ठूला ढुङ्गाले भरिएको र अप्ठ्यारो थियो। हीउँ परेका बेलामा यो बाटोबाट यात्रा गर्न निकै असहज र कठीन हुने निश्चित थियो। तेर्सो बाटोमा टाढासम्मका यात्रीहरू देखिन्थे। तर मेरा साथीहरू भने ओझेल भईसकेका थिए।
खुम्बु क्षेत्रको अन्तिम मानव बस्ति गोरक्षप पुग्नुभन्दा अगाडी नै पार गर्नुपर्ने यो पत्थरयुक्त बाटो करिब दुई किलोमिटर लम्बाईको भए तापनि यसले मेरो एक घण्टाभन्दा बढी समय लियो। यसपछि गोरक्षप गाउँ आईपुग्यो। समुन्द्री सतहबाट करिब ५,२०० मिटर उचाईमा रहेको गोरक्षपमा करिब १० वटा जति होटल तथा लजहरू छन्। सगरमाथाको मार्गस्थ गोरक्षपमा खानेपानीको सङ्कट बढ्दै गएको रहेछ। साथीहरू गोरक्षप पुगेको झण्डै आधा घण्टा पछि म पनि पुगें। हामी फेरि एकपटक सँगै भयौं।
म थाकेको र गलेको थिएँ। गोरक्षपको होटलमा म पुग्दा करिब २.३० बजिसकेको थियो। होटलमा पुगेर अदुवा पानी मगाएर पिएँ। साथीहरूले अघि नै अदुवा पानी पिएर आराम गर्न भ्याईसकेका थिए। अदुवा पानीले मलाई पनि नाटकीय ढङ्गले फुर्तिलो बनायो। केहीबेरमै साथीहरूले आजै बेसक्याम्प पुग्ने प्रस्ताव राखे। म जिल्लाराम परें। किनकी, झण्डै ५ हजार मिटर माथिको सतहमा बिहानदेखि जोङ्गलाबाट गोरक्षपसम्मको कठीन यात्रा पार गरेका थियौं। अव शरीरलाई आराम नदिई अरू हिड्नु हाम्रा लागि घातक पनि हुनसक्थ्यो।
मैले आज अरू अघि नबढ्न गरेको आग्रह साथीहरूले अस्विकार गरे। म गत वर्ष पनि बेसक्याम्प गईसकेको भन्दै म नगए साथीहरू दुईजना मात्रै पनि अघि बढ्ने बैकल्पिक प्रस्ताव पनि राखे। सम्भवतः साथीहरूले म गोरक्षप पुग्नुअघि नै यो निर्णय लिईसकेका थिए। यहाँसम्म आईपुगेर करिब डेढ घण्टा टाढाको सुन्दर बेसक्याम्प दोहोर्याउने मेरो ईच्छालाई म कसरी बलिदान दिन सक्थें ? मेरो थकान पनि मत्थर भईसकेको थियो। मैले पनि जाने निधो गरें।
हामी ३ बजेतिर होटलबाट तातोपानीको व्यवस्था गरी अघि बढ्यौं। म गतवर्ष हिँडेको बेसक्याम्प जाने अधिकाँश बाटोको बनोट यसपटक फरक भईसकेको रहेछ। मलाई उदेक लाग्यो। वरपरका हिमालि दृष्य नियाल्दै पत्थरले भरिएको बाटो छिचोल्दै हामी बेसक्याम्प पुग्दा साँझ पर्न लागिसकेको थियो। गोरक्षपदेखि बेसक्याम्पसम्मको बाटो धेरै उकालो ओरालो नभई तेर्सो खालको थियो। हामी करिब ४.३० तिर बेसक्याम्प पुग्यौं। बेसक्याम्प करिब करिब खोंचमा पर्ने हुँदा त्यहाँ चाँडै घाम अस्ताउने र अध्यारो हुने गर्दछ।
बेसक्याम्प पुगेर प्रशस्त फोटो तथा भिडियो खिच्ने, ग्लेसियरको अवलम्बन गर्ने तथा रमाउने समय हामीसँग थिएन। साँझ पर्न लागिसकेकोले फर्कदा अप्ठ्यारो अवस्था आउनसक्ने प्रति मनमा डर थियो। यति महत्वपुर्ण ठाउँमा प्रशस्त मनोरञ्जन लिने गरी नभई आगो लिन गए जसरी पुग्ने र पुग्नैपर्ने कर्तव्य मात्र पालना गरेजस्तो व्यवहार गर्नमा हामी नै जिम्मेवार थियौं। मैले गतवर्ष करिब ५० मीनेट समय बेसक्याम्पमा विताएको थिएँ। तैपनि बेसक्याम्पको केही उत्तरी भागमा गई सगरमाथा चढ्ने मार्गस्थ खुम्बु आईसफल नियाल्ने गतवर्षको मेरो अधुरो ईच्छा यसपटक त झन् पुरा हुने कुरै भएन। तैपनि केही फोटो तथा भिडियो खिचेर हामीले कर्तव्य पालना गर्यौं र फर्कियौं।
होटल आउँदा बाटैदेखि अध्यारो छाईसकेको थियो। होटल आई मैले खाना खाएँ। बाँकी साथीहरूले खानाको सट्टा सुप लगायत हल्का खानेकुरा मात्र खाई सुते। मलाई लामो समयदेखि चिसोको एलर्जीको समस्या छ। राती असह्य हुने गरी मेरो टाउको दुख्यो। मलाई दोधार भयो, टाउको यसरी दुख्नुको कारण एलर्जी हो की हाई अल्टिच्युड सिकनेस। मेरा एकजना मित्रलाई पनि राति हल्का ज्वरो आएछ। तैपनि औषधी लिएका रहेनछन्। मैले चाहिँ एउटा साईनेक्स खाएँ। म एउटा कोठामा सुतेको थिएँ भने दुईजना साथीहरू अर्को एउटा कोठामा।
नवौं दिन
बिहान ६ बजे म उठ्दा टाउको दुखिरहेको थियो, तर रातिको भन्दा केही कम। म ट्वाईलेट गएर आईरहँदा मेरो टाउको दुखाई निकै कम भईसकेको थियो, नाटकीय रूपमा। यस दिन हामीलाई कालापत्थर चढनु थियो। कालापत्थरबाट समयमै फर्कियौं भने हामी आजै तल झर्ने कुरामा पनि अघिल्लो दिनमै हामीले समझदारी गरिसकेका थियौं। हाम्रो मुख्य मिसन पुरा भएपछि हाई अल्टिच्युड स्थानमा बास नबसेकै राम्रो हुन्थ्यो।
विहान साँढे छ बजेतिर दुबैजना साथीहरू मेरो कोठामा आए। हामीले एकापसमा आ–आफ्नो स्वास्थ्य अवस्थाको विबरण सुन्यौं सुनायौं। राती ज्वरो आउने साथीमा केही विकनेस थियो। मैले बाहिरको मौसम उपयुक्त भएकाले आवश्यक पानी र हामीसँग भएका चाउचाउ, बदाम, काजु, चकलेट जस्ता खानेकुरा बोकी कालापत्थर विस्तारै उँभो लाग्ने प्रस्ताव राखें। शारिरिक रूपमा कमजोर भएका साथीले म पनि प्रयास चाहिँ गर्छु, माथि पुग्न नसके बीच बाटोबाटै फर्किन्छु, यति मेहनत गरेर आईएको छ, त्यति प्रसिद्ध र रमणीय स्थान पुग्न म पनि ईच्छुक छु भनेपछि हामी अगाडी बढ्नेमा सहमत भयौं। खानेकुरा कलेक्सन गरियो।
अर्को कोठामा गएका अर्का साथी करिब ५ मिनेटमा मेरो कोठामा पुनः आए। केही अस्वस्थ रहेका साथी मसँगै थिए। कोठामा छिरेका साथीले तुरून्तै फरक कुरा राखे। उनका अनुसार केही अस्वस्थ रहेका साथीलाई राती ज्वरो आएको छ। केही गलेका पनि छन्। अव माथि जान हामी दुई चाहिँ असमर्थ छौं। अव हामी चाहिँ तुरून्तै अगाडीको यात्रा त्याग गरी फीर्ता जान्छौं। उनका अनुसार मेरा अगाडी दुईटा मात्र विकल्प छन्ः कि एक्लै कालापत्थरतिर लाग्ने कि त सँगै फर्किहाल्ने, तुरून्तै।
यो कुराले म त चकित परें नै। अर्का साथी पनि अनमनयस्कमा परे। समझ्दारी सहित उँभो जाने तयारी समेत भईसकेको अवस्थामा ५ मिनेटमै यस्तो कुरा किन आयो, मैले बुझ्न सकिन। केही विमार रहेका साथी भने अझै पनि आफु सकेसम्म अघि बढ्ने र नसके बीच बाटोबाट होटल फर्किन तयार रहेको कुरा गर्दैथिए। उनले आफु होटलमा प्रतिक्षा गरिरहने भन्दै हामीलाई माथि पुगेर आउन पनि प्रस्ताव राखे। तर अर्का साथीले ‘आफु दाईलाई एकछिन पनि छोड्न नसक्ने’ बताएपछि मेरा अघि फेरि अर्को चुनौती थपियो। अन्तमा मैले समझदारीमै हामी अलग कोर्समा लागौं, म उँभो लाग्छु, तपाईहरू फर्किन सक्नुहुन्छ भनें। त्यसपछि साथीहरू फर्किने तयारीमा लागे। म माथि चढ्नका लागि खानेपानी व्यवस्था गर्नतिर लागें।
गोरक्षपबाट कालापत्थर पुग्न करिब ४०० मिटर थप अल्टिच्युड हासिल गर्नुपर्ने थियो। मेरो शरीरमा फुर्ती र मनमा उत्साह थियो। किनकी गएको वर्ष म कालापत्थर चढ्न पाएको थिईन। मैले करिब ७.४० तिर उकालो चढ्न शुरू गरें। घामले आफ्नो आकार र तापक्रम बढाउँदै थियो। केही उकालो चढ्ने वित्तीकै हेलिकप्टरहरू रोक्ने तल्लो कालापत्थर आउँदोरहेछ। बिहान उज्यालो बढ्दै जाँदा लुक्लादेखि पर्यटक लिएर आउने हेलिकप्टरहरूको याहाँ ताँती जस्तै लाग्दोरहेछ। उक्त ओरालो चौरमा मैले एकैपटक ६ वटा हेलिकप्टरहरू रोकेको देखें। तर सबै त्याहाँ स्टार्ट बन्द नगरी रोकिँदारहेछन्। केही समय पर्यटकलाई हेर्ने र फोटो खिच्ने समय दिएर तलतिर लागिहाल्दारहेछन्। मैले सुने अनुसार त्यो चिसोमा हेलिकप्टरको स्टार्ट बन्द गरेमा पुनः स्टार्ट गर्न सकिँदैन।
ओरोलो चौरको बाटो सकिएपछि ठाडो उकालो शुरू भयो। म यसैपनि उकालोमा हिड्न गाह्रो हुने मान्छे, मलाई हिड्न सजिलो पक्कै थिएन। बाटोमा आउनेजाने पर्यटकहरूको कमी त थिएन तर मसँग मुखबोल्ने कोहि अरू मानिस थिएन। झन् माथि झन् उकालोको ठाडोपन र कठीनाई बढ्दै गयो। टापुमा पुग्नुभन्दा करिब ३०० मिटर तलदेखि पत्थरहरूले भरिएको उकालो आयो। पत्थरहरूबीच फड्किएर हिड्नुपर्ने रहेछ। बाटोमा हीउँ परेको भने थिएन। त्यहाँ हीउँ परेका बखत त उकालो चढ्न पनि नसकिनेरहेछ।
समुन्द्री सतहबाट ५,६४४ मिटर उचाईमा रहेको कालापत्थर मेरो यसपटकको गोजुम्पा–खुम्बु पदयात्राको सबैभन्दा बढी उचाईको लक्षित स्थान थियो। सबै कठीनाई र चुनौती समाधान गरेर भएपनि यसपटक कालापत्थरमा पाईला टेक्नुको मसँग विकल्प पनि थिएन। म २ घण्टाभन्दा कम समयमै बिहानको करिब ९.३० तिर टापुमा पुगेको थिएँ। म टापुमा पुग्दा केही विदेशी पर्यटक थिए भने एकजना स्थानीय मानिस पुजाआजा गर्दैथिए। टापुमा पुगेर मैले वरपर नियालें र जे देखें त्यो अवर्णनीय थियो।
कालापत्थरबाट उत्तरपट्टि पुमोरी हिमाल, ठीक पूर्वतिर सामुन्ने समुन्द्री सतहबाट करिब ७,९०० मिटर उचाईको नुप्त्से हिमाल, त्यसको माथिपट्टि विश्वको सर्वोच्च शिखर सगरमाथा र त्यसको दाहिनेपट्टि ल्होत्से हिमाललाई एकै नजरमा देख्न सकिन्थ्यो। टापुमा वरपरको दृष्य स्मरणमा कैद गरिसकेपछि मैले केही फोटो तथा भिडियोहरू लिएँ। तर मेरो फोटो खिच्ने व्यक्तिको भने अभाव थियो। एकजना विदेशी पर्यटकलाई मैले केही फोटो लिईदिन आग्रह गरें। उनले राम्रा राम्रा फोटोहरू खिचिदिए, मैले उनलार्ई धन्यवाद दिएँ। गोक्यो री बाट गाँसिएको सगरमाथासँगको मित्रता पुनः स्मरण गरें। तर त्यहाँबाट चोयू हिमाल भने देखिँदोरहेनछ।
करिब आधा घण्टा टापुमा रहेपछि म तल झरें। ओरालोमा झर्न अघिको भन्दा चाँडो भयो। म एकघण्टामै होटेल पुगें। खाना खाएँ। अव थप त्यहाँ बस्नुपर्ने आवश्यकता थिएन। मेरा याहाँसम्मका सबै मिसनहरू पुरा भएका थिए। हामीजस्ता सामान्य पदयात्रीका लागि सगरमाथाको दर्शन गर्न बेसक्याम्प र कालापत्थरको यात्राले भरपुर आनन्द दिने गर्दछ। साथीहरू समेत फर्किसकेकाले ईम्जा भ्यालीको यात्रा यसपटकका लागि स्वभाविक रूपमा स्थगित हुने नै भो। कालापत्थर नजीकको ढुङ्गे पैदलयात्रा बाहेक तल झर्न अरू बाटो त्यति धेरै समस्यामुलक थिएनन्। म करिब १२ बजे गोरक्षपबाट तलतिर लागें। साँझको करिब ५ बजे डिङबोचे पुगेर एउटा होटलमा बास बसें।
दशौंदेखि बाह्रौं दिन
अव घर फर्किने बाहेक मसँग थप एजेण्डा थिएनन्। स्वास्थ्य अवस्था सामान्य नै थियो। बिहान अलिक ढिलै उठें र चिया पिएर ओरालो झरें। सोमारेमा खाना खाने योजना बनाए वमोजिम करिब ११ बजेतिर खाना खाई पुनः झरें। गफगाफ गर्ने साथी कोही नभएपछि लगातार हिडियो। चाँडै टेङबोचे पुगें। टेङबोचे पश्चात मलाई हिड्न अलिक गाह्रो भो, थकाई लागेर हो कि। मलाई हाई अल्टिच्युडभन्दा टेङबोचे पछिको ओरालो ओर्लिन गाह्रो भो। त्यसपछिको उकालो पनि मुश्किलले हिड्दै नाम्चे पुग्दा साँझको ५ बजिसकेको थियो।
त्यसको भालिपल्ट बिहानै उठेर तल झरें। आज लुक्ला पुग्ने लक्ष्य राखेको थिएँ, भोलिपल्ट मन्थली पुग्ने योजना सहित। जोरसल्लेमा खाना खाई लुक्ला पुग्दा करिब ४ बजेको थियो। मेरो आजको हिडाई पनि थकाइयुक्त नै रह्यो। तारा एयरका स्टेसन मेनेजर अमृत मगरको होटलमा बास बसें। उनले मेरो आग्रह वमोजिम भोलि बिहानै मन्थली उडाईदिने भए। भोलिपल्ट बिहान ८ बजेतिर मेरो प्लेन चढ्ने पालो आयो। मन्थलीमा प्लेनबाट ओर्लिएपछि मोटरसाईकलको अवस्था बुझें। अवस्था सामान्य नै थियो। होटलमा खाना खाएपछि रामेछापको खाँडादेवी हुँदै नयाँबाटोबाट घरतिर लागें। यसपटक मन्थलीबाट ३.३० घण्टामै घर पुगियो। जम्मा १२ दिनमा यसपटकको हिमालयात्राले विश्राम पायो।
अन्त्यमा
मैले यसरी उच्च पहाड र त्यसमा पनि यति धेरै दिनका पदयात्रा केही वर्ष पहिलासम्म गरेको थिईन। यो आँट, र ईच्छा कहाँबाट आयो ठ्याक्कै भन्न सक्दिनँ। अब म धेरैलाई यस्ता यात्रा गर्न उत्प्रेरित गर्न थालेको छु। यसप्रकारका यात्राका लागि अत्यावश्यक चारवटा विषय सबैका लागि साझा र महत्वपूर्ण हुने विश्वास पनि मैले लिएको छुः सहयात्रीहरूको समूहको बनोट र भूमिका, यात्रीको हिम्मत वा सुझवुझ, यात्रीको स्वास्थ्य अवस्था र मौसमको अनुकुलता।
यी सबै कुराको अनुकुलता भएमा यस्ता यात्राको मज्जा, ज्ञान र मनोरञ्जन बेग्लैप्रकारको हुँदोरहेछ। हरेकले सके साहसिक पदयात्रा गर्नु वेस र त्यो नसके आफु अनुकुलको सामान्य यात्रा पनि गर्न सकिन्छ।
२०७८ सालभित्र मात्र सगरमाथा बेसक्याम्पको पहिलो पदयात्रा, खप्तडक्षेत्रको पदयात्रा र च्छोरोल्पाको यात्रा सम्पन्न गरेपछि मलाई हिमालयात्रा र लामो पदयात्राप्रति म थप उत्प्रेरित भएको छु। छिटपुट कमीकमजोरी बाहेक यसपटकको यात्रा पनि यादगार रह्यो। यसपटक गोक्यक्षेत्र र खुम्बुक्षेत्रको यात्राले केही पाठ पनि सिकाएको छ। यात्रा तयारीमा क्रममा भएका केही त्रुटीलाई पनि भविष्यका लागि सम्झना राख्नेछु। उल्लिखित चारवटा विषयको तादात्म्य मिलाई आगामी दिनका यात्रा र सहयात्रा अझ बढी उपलब्धिमुलक बनाउने मेरो योजना छ।
अन्य यात्रीहरूका लागि सुझाव
एकदुई दिनभन्दा बढी समयका र त्यसमा पनि उच्च पहाडीक्षेत्रमा गरिने पदयात्रा गर्दा केही कुरामा यात्रीहरूले विशेष ध्यान दिन आवश्यक छ। यसमा प्रमुख रूपमा स्वास्थ्यको रक्षा, बाटोखर्चको बन्दोबस्त, लजिस्टिक सामानको व्यवस्था, आदि हुन्।
स्वास्थ्यको रक्षा गर्न यात्रीले नियमित लिने गरेका औषधी लक्षित यात्रा अवधिभन्दा केही थप समयका लागि समेत पुग्ने गरी बोक्न आवश्यक छ। गोक्योक्षेत्रमा त औषधी पसल कहीं पनि छैन भने लुक्ला, फाक्डिङ, नाम्चे र डिङबोचेमा सानातिना स्वास्थ्यकेन्द्र, अस्पताल र औषधी पसल छन्। तर औषधी निकै महँगो पर्दछ।
साथै, हरेक व्यक्तिले नियमित सेवन गर्ने गरेका औषधी त्यता नपाईन पनि सक्छ। यात्रीहरूले गोक्यो वा लोवुचेको हाराहारीमा पुगेपछि शरीरमा रहेको अक्सिजन लेभल चेक गर्ने उपाय खोज्नु बेस हुन्छ।
त्यस्तै, जगेडा र आकस्मिक औषधीका हकमा भने यात्रा पहिलेनै कुनै फिजिसियन वा अनुभवी मेडिकल प्राक्टिसनरको सुझाव वमोजिमको औषधी बोक्नु राम्रो हुन्छ। तर अनावश्यक र बढी मात्राका औषधी भने नवोक्दा राम्रो। सामान्यतयाः रूघाखोकीको औषधी, एन्टि एलर्जी, पखाला लाग्दा सेवन गर्ने, टाउको दुखेको निको पार्ने, भोमिट रोकिने, ज्वरो आउँदा लिईने, अल्टिच्यूड सिकनेसको आधारभूत औषधी, ईन्डियन भिक्स, बैण्डेज, ह्याण्डिप्लास्ट, सामान्य पेनकिलर औषधी, आदि जोगाड औषधी बोक्नु राम्रो हुन्छ।
अल्कोहल पिउने बानी हुनेले बढीमा नाम्चेमुनिका क्षेत्रसम्म मात्र स्वास्थ्यले धान्ने गरी अल्कोहल सेवन गर्नसक्ने र सामान्यतया, माथितिर जाँदा ३ हजार मिटरमाथि अल्कोहल सेवन नगर्न स्थानीय होटलवाला नै सुझाव दिने गर्छन्। लक्ष्य पुरा गरी फर्किदा भने अल्कोहल सेवन गर्ने विषयलाई त्यति गम्भिरतापूर्वक नलिईने रहेछ। बाटो खर्चका हकमा लजिस्टिक सामान आदिको खर्च बाहेक प्लेनखर्च सहित बास तथा खाना खर्चका लागि औसतमा प्रतिव्यक्ति दैनिक ३ हजार रूपैयाँ भए पुग्ने देखिन्छ। अर्थात, १२ दिनजतिको गोक्यो तथा खुम्बुक्षेत्रको यात्राका लागि सबै गरेर ३५ हजार जति भए पुग्छ। तर अलिक बढीकै जोगाड गरेर हिँडनु बेस्।
हिमाली क्षेत्र भएकाले बास तथा खाना बाहेक फुर्मास खर्च हुने गुञ्जायस देखिन्न। किनकी यी क्षेत्रमा अरू केही पनि पाईन्न। लजिस्टिक सामानका हकमा पनि धेरै हेभि र अनावश्यक कपडा तथा खाद्यान्न बोक्दा पछि आफैंलाई गाह्रो हुन्छ।
राम्रो कम्पनीको ट्रेकिङ सू, कम्तिमा छ सात जोर मोजा, चार पाँच वटा जति भित्री बस्त्र, ऊने वा कानेटोपी, घूँडाको सूरक्षाका लागि नी गार्ड, २ थानजति हाईनेक, एकजोर हलुका चप्पल, कम्तिमा एउटा ट्रेकिङ स्टिक, लक्षित बाटोमा हीउँ परेको जानकारी भएमा वा पर्ने सम्भावना देखिएमा जुत्तामा लगाउने क्रेम्पन, एउटा हेभी र एउटा लाईट एयरप्रुफ ज्याकेट, राम्रो खालको गगल्स, पन्जा, अलिक बलियो खालको ट्रेकिङ व्याग, आदि लजिस्टिक सामान बोक्न आवश्यक छ।
गोक्यो र खुम्बु दुवै रूटमा होटलको अभाव नरहेकोले सिमित ड्राई फुड र केही ड्राइफ्रुट बोक्दा राम्रो हुन्छ। यसो गरेमा होटलका गुणस्तरहीन र महँगा लन्च र ब्रेकफास्ट प्याकेटका खर्चबाट केही हदसम्म बच्न सकिन्छ। गोक्यो र खुम्बु दुवैक्षेत्रमा खाना र वासको खासै समस्या त छैन। तर अधिकांश होटलमा खाना तथा वासको दररेटमा एकरूपता वा रीतिथितीको सट्टा मनोमानीको अवस्था पाईयो भने गुणस्तर पनि आशातित् पाईएन।
अधिकांश होटल तथा लजहरूमा सरसफाईको अवस्था चाहिँ प्रशंसायोग्य थियो। केही पहिला यी क्षेत्रका अधिकांश होटल तथा लजमा विदेशीलाई मात्रै प्राथमिकतामा राखि नेपाली पर्यटकलाई वेवास्ता गर्थे भन्ने सुनियो। तर आजकल चाहीं खासै त्यस्तो देखिने विभेद पाईएन। होटलमा पाईने थप सेवाहरू जस्तैः मोवाईल चार्ज, तातोपानी, वाईफाई आदिको गुणस्तर र मूल्यका बारेमा पनि विभिन्नता रहेको छ।
लोवुचे, जोङ्गला र गोरक्षप बाहेकका स्थानमा प्रायः खानाको पैसा लिन्छन् भने वासको पैसा नलिने चलन रहेछ। लुक्लादेखि गोरक्षपसम्म साकाहारी खानाको दररेट ४०० देखि १००० रूपैयाँसम्म रहेछ। शुरूमै होटलवालासँग आपसी मूल्य समझदारी नगरेमा खानावास बाहेकका सेवाहरू जस्तै मोवाईल चार्ज, वाईफाई र तातोपानीको अलग र आफुखुशी पैसा लिँदारहेछन्। गतवर्ष बेलैमा होस नपुर्याउनाले हामी १२ जनाले समूहले नाम्चेको एउटा होटलमा एक साँझदेखि विहानसम्म पिएको तातोपानी मात्रको नौ हजार रूपैयाँ तिर्न बाध्य भएका थियौं। अधिकाँश स्थानमा लिईने सेवाको बारेमा सोधपुछ र बार्गेनिङको प्रशस्त गुञ्जायस रहेको छ।
पदयात्रा जाने समूहका सदस्यहरूले आपसि सल्लाह गरेर अलग अलग सामान बोकेमा राम्रो हुन्छ। लगाईएको कपडा बाहेक झोला सहित एक व्यक्तिले छ सात किलोभन्दा बढी सामान बोकेमा हिडाईलाई प्रतिकूल असर पार्नसक्छ। बाटोमा आकस्मिक रूपमा पर्नसक्ने हीउँ वा बर्षातबाट बच्न एकथान ओढ्ने प्लास्टिक, केही आकस्मिक प्रयोजनका लागि सानातिना डोरीको एक मूठा, केही थान खालि पोलिथिनका झोला बोक्दा पछि काम लाग्नसक्छ।
पैदलयात्रा गर्दा करिब चार हजार मिटर उचाईसम्म दैनिक बढीमा ८ घण्टा र उक्त उचाई माथिका हिडाईमा दैनिक ६ घण्टाभन्दा बढी यात्रा गरेमा शारीरिक कठीनाई उत्पन्न हुनसक्छ। यसले पनि सिकनेस निम्त्याउन सक्ने र यात्रालाई प्रतिकूल असर पार्नसक्छ। करिब ४ हजार मिटर भन्दा कम उचाईको बाटोमा निरन्तर हिड्ने क्रममा शरीरबाट निस्कने पसीना शरीरमा सुक्न दिएमा कतिपय यात्री विरामी पर्नसक्ने हुँदा त्यसको राम्रो व्यवस्था मिलाउनु वेश हुन्छ।
त्यस्तै, गोक्यो जाँदा नाम्चेदेखि खुम्जुङ क्षेत्रमा र खुम्बुक्षेत्रपट्टि जाँदा डिङबोचेमा थप १ दिन एक्लाइमेटाईज गरेमा बाँकी यात्रालाई सहयोग पुग्छ। पैदलयात्राभर बाटोमा प्रशस्त धूलो उड्ने हुँदा कम्तिमा १५ थानजति फेसमास्क बोक्नु आवश्यक छ। पदयात्रा गर्दा तत् सम्बन्धी केही यूट्युव भिडियो हेरेमा थप जानकारी प्राप्त हुन्छ। यसले यात्रा थप सहज, किफायति, सुरक्षित र मनोरञ्जक बनाउन मदत गर्दछ।
सूर्यविनायक–५, कटुञ्जे, भक्तपुर
हेर्नुहोस् केही तस्बिहरू