मंसिर ३ गते बिहान १० बजे, एक थाल भात बजाएर गुराँस छात्रावास अगाडि न्यानो घाममा ढाड सेकाउन बसेँ।
साथीहरू पनि खाना खाएर त्यहीँ आएर घाँसको म्याटमाथि बसेर जिउ सेकाउन थाले। आठ/नौ वटा जिब्रोहरू एउटा विषयमा एकीकृत नभई आ-आफ्नो पारामा चलिरहेको थियो। बीचमा एउटा जिब्रोले मर्दीको कुरा निकाल्यो।
त्यो चटपटे विषयमा सबैजना आआफ्नो हिसाबले बहस गरिरहेका थिए। एउटा मित्रले त्यति नजिकबाट हिमाल हेर्दा आँखामा नअट्ने, ट्रेकिङ एकदमै रमाइलो र फरेस्ट क्याम्पसबाट पनि नजिक भनेपछि मर्दी जाने सिरेटो हाम्रो मनमा पनि चलिहाल्यो।
अन द स्पट, निधो गरेर साथीहरूलाई गम्भीर भई सोधेँ 'जाम केटा हो' र साथीहरूले पनि तुँ 'जाऊँ न त तिमी' भनी खित्का छाडे।
कोठामा पुगेर समिरलाई 'मर्दी जान्छस्' भनेर सोद्धा उसले पनि 'जाम न त' भन्यो। त्यसपछि सिधै कुम्लो कुटिरो तयार पार्न लागियो। म साथी-भाइसंग मर्दी ट्रेकिङ रूटबारे सोधेर झोला कसुन्जेल समिरले 'समिर कट्' शैलीमा कपाल काट्न पनि भ्याएछ।
दिउँसो साढे एक बजेतिर क्याम्पसबाट मर्दीतिर हिँड्यौं। भोलि चुनावका कारण बन्द हुने भएकोले आज जसरी भए पनि हिँड्नु थियो।
पृथ्वीचोकबाट बाग्लुङको बस समात्यौं। हरिचोकमा केही खानेकुरा र औषधी किन्यौं। काँडेमा ओर्लेर फेरि केही खानेकुरा किन्यौं र अस्ट्रेलियन क्याम्पको बाटो तताउँदै मर्दी ट्रेकिङ आरम्भ गर्यौं। एक-डेढ घण्टा भनिएको काँडे-अस्ट्रेलियन क्याम्पको उकालोमा हामी ४० मिनेटमै उक्लियौं। १ हजार ७६४ मिटरको उचाइँमा रहेको अस्ट्रेलियन क्याम्प, ठूला खर्कमा ठूला लेन्सवाला तोपे क्यामरामाथि आकशतिर तेर्साउँदै, फोटो खिच्दै, दुरबिनले मङ्गोलियाबाट बसाइँसराइँ गरी नेपाल आउँदै गरेका सिकारी चरा अवलोकन गर्दै रहेछन् पंक्षी अनुसन्धानकर्ता।
बसाई सराई गरि ६० प्रजातिका सिकारी चरा नेपालमा रहेको अभिलेख छ। उठेको डाँडोमा रहेको यो खर्कमा नजिकैबाट चरा हेर्न सकिने र चारैतिरको दृश्य मजाले हेर्न सकिने भएकोले चराको चलखेल, गति, उडानको शैली, चालढाल, आदि सजिलै अध्ययन गर्न सकिने रहेछ। यस्ता स्थानहरूलाई अध्ययनकर्ताले 'भ्यान्टेज प्वाइन्ट' भन्ने रहेछन्। हिमाली गिद्द , गोमायु महाचिल, र कालो चिल आकाशमा कावा खादैँ गरेको हेरेर एकछिन हावा खाएर हामी पोथनातिर सोझियौं।
घाम ओरालो लाग्दै गर्दा घना जंगलमा सकसपूर्ण छिरेका किरणले पोथ्रा र रूखलाई सुनौला बनाइदिन्थे। खस्रू र चिलाउनेका रूखहरूमा सोइरने तोरिगाँडाको बथानले कृडा गरेको हामीले दुरबिनका दुलाबाट हेर्यौं, मनै आनन्दित भयो। रूखका छत्रमुनि बाटोभरी खसेका पातहरू हरेक पाइला पिच्छे एक लयमा बजिरहेको, सिबियाको मिठो गीत गुन्जिएरहेको, गोधुलिमा जंगलभित्र छिरेका किरण, तनक्क तन्केको त्यो वातावरणले रोबर्ट फ्रस्टको 'स्टपिङ्ग बाइ द उड्स इन द स्नोवी इभिनिङ्ग' भन्ने कविताको याद दिलायो। ठ्याक्कै उस्तै परिवेश नभए पनि अनुभव एकदम मिल्दो थियो।
क्याम्पबाट हिँडेको तिस मिनेटमै पोथना पुग्यौं। पोथनाबाट सरासर उक्लेर हामी पितम देउराली पुग्यौं। साझँ हुँदै थियो। त्यसैले अगाडिको बाटोमा होटलको व्यवस्था कस्तो छ भनेर सोध्यौं, किनकी हामीले आज जसरी नि फरेष्ट क्याम्प पुग्ने निधो गरिसकेका थियौं। 'आजै फरेष्ट क्याम्प त पुगिँदैन, देउरालीबाटै ६-७ घण्टाको बाटो हो' भन्थे त्यहाँका होटलका दाइहरू।
ठिकै छ, रातै परे पनि ८-९ बजेसम्म त मोबाइलको फ्ल्यास लाइट बालेर र छामछुम पार्दै भए पनि फरेष्ट क्याम्प पुगिन्छ भन्ने आत्मविश्वास हामी दुबैको मनमा थियो। पाइला लम्काउँदै फेरि उकालो लाग्यौं। उमो उक्लिँदै गर्दा बाटोमा ४ जनाको एक झापाली टोली भेट्यौं। रिता ढुंगाना दिदीले अगुवाई गरेको त्यो टोलीमा रितेश, स्मारिका र दीक्षा थिए। चार दिने चुनावी बिदाको सदुपयोग गर्दै पूर्वबाट पश्चिमि नेपालको सात तालको सहर, पोखरा आएका रहेछन्। संयोगबस उनीहरू पनि मर्दी तिरै हुत्तिँदै हिँडेका रहेछन्। हामीलाई देख्नेबित्तिकै 'कता जाने हो भनेर' सोधेँ। हामीले मर्दी भन्यौं। छोटो परिचयपश्चात 'होटल कता भेटिएला' भनेर सोध्यौं।
अब बाटोमा होटल कहाँ भेटिन्छ थाहा थिएन, त्यसैले हाम्रो फोन नम्बर टोलीलाई दियौं अनि उनीहरूको पनि लियौं। हामी फटाफट अगाडि जान्छौं, होटल भेटिए टोलीलाई फोन गरेर बुक गरौंला भनेर रफ्तार हान्यौं। फेरि हामी दुवैको मूर्ख अडान थियो, फरेष्ट क्याम्प आजै पुग्ने। थोरै माथि हिँड्ने बित्तिकै आयो एक्लो होटल। टोली पनि आयो, 'तपाईंहरू यही बस्नुस हामी फरेष्ट क्याम्प सम्म पुग्छौं ' भनेर हिड्यौं फेरि। ब्यर्थको जोश लिएर घाम डाडाँको तालु पछाडी पुगेका बेला हामी फेरि उकालो उक्लियौं।
दुई मिनेट हिँड्ने बित्तिकै जंगलभित्र अँध्यारो पस्यो। रूखहरू कालाकाला देखिए , गुजुम्म परेका हाँगाले आकाशलाई छ्पक्कै छोपिदिए, वातावरण सुन्सान थियो। केबल हाम्रो डेकको एकहोरो आवाज छ। मनमा त्रास र चरम एकान्त मिसिएको त्यो माहोल रोमाञ्चक थियो। अनकन्टारले सास फुलाएको बेला एकान्त चिर्दै फोन बज्यो।
'फरेष्ट क्याम्पको बाटो बीचमा पर्ने दुधखर्क पनि टाढा रहेको र अँध्यारोमा जंगली जनावरको डर पनि हुने भएकोले फर्केर भोलि सँगै जाँदा ठिक हुन्छ' रिता दिदिले फोनमा भन्नुभयो।
ठिकै हो, रात परिसक्यो फेरि पुग्नु एकै ठाउँ छ त सँगै जाम। फर्किउँ फेरि तल, बास उतै हुने भयो। सिधिङ्गका गुरूङ दाइले सामुदायिक वनको सानो जग्गामा त्यो होटल बनाएका रहेछन्।
'वार्षिक रूपमा उपभोक्ता समुहलाई रोयल्टीको रूपमा निर्धारित रकम बुझाउनुपर्छ' उनले भने। चनक्क तातो पानी पिउँदै खाना खानु अघि एकछिन तास खेलेर रमाइलो गर्यौं। खानापछि गोडा सेक्दै होटले दाजुसँग थोरै गफगाफ भयो।
पानी थोरै धेरै पिइएछ, ट्वाइलेट जान राति उठ्नै पर्ने स्थिति भयो।
झ्यालबाहिर उत्तर पश्चिममा घान्द्रूक रातको अँध्यारोमा झिलिमिली थियो। सिरानैमा अन्नपूर्ण हिउँको सिरक भित्र गुट्मुटिएर गहिरो निन्द्रामा तल्लिन थियो। उता पोखरा बत्ती ननिभाएरै निदाइ सकेको थियो र माथि संघर्ष गर्दै पिल्पिल बलिरहेका तारालाई गिज्याउँदै जून टहटह चम्किरहेको थियो। हैट! रात पनि यत्ती बब्बाल हुँदो रछ भन्ने लाग्यो।
बिहान चरा बासेपछि चियापान गरि हाम्रो संयुक्त टोली उकालो लाग्यो। प्रभात र शन्ध्यामा वन त स्वर्णिमै हुँदो रहेछ, लंका नगरी छिरे जस्तो लाग्ने। दुधखर्क पुगेर बोतलमा चिसो पानी भरेर फेरि लागियो, उकालो। बीचमा दुई ठाउँमा होटल भेट्टिए, बिस्तारै आराम लिँदै दश बजे फरेष्ट क्याम्प पुग्यौं। बाटोमा रितेशको खुट्टा मर्कियो। गाह्रो भए पनि ऊ निरन्तर हिँड्यो। सानो मान्छेको पनि कस्तो संकल्प, कस्तो दृढता, वाह! मुखमा तितौरा च्याप्दैँ, बात मार्दै सुस्त-सुस्त हामी लो-क्याम्प पुग्यौं। पश्चिमतिर काँटा चम्चा प्रयोगमा नआएकोले हातैले तीन थाल भात खायौं, तब मात्र भोक शान्त भयो। पुर्वेलीले चम्चाले ठुङ्दै खाए। आधा थालमै तृप्त। मसिनो आन्द्रावाला रहेछन् कि!
हामी भने टन्न भात खाएर गीत बजाउँदै, गाउँदै, गुराँसको जंगल छिछोल्दै लाग्यौं। उकालो बाटोमा भेटिएका हिमालको डकुमेन्ट्री बनाउने यन्त्र बोकी हिँडिरहेको एउटा विदेशी टोली र मर्दी घुम्न हिँडेको ७०-८० वर्षे वृद्ध जोडि (फ्रेन्च) हाम्रा लागि प्रेणादायी थिए। डकुमेन्ट्री टोलीले ड्रोन उडाउथ्यो हामी माथी हात हल्लाइदिन्थौं।
एक घण्टापछि बादले डाँडा आइपुग्यो जहाँ हिम लिलाको चलचित्र विमोचन भइरहेको थियो, हिमालको। हुस्सोभित्र लुकमारी कहिले, कहिले सिरमा वृताकार टोपीको पहिरन त कहिले तेजस्वी मुहार अनि अटलताको चियाइ। त्यो हिमालयको रङ्गमन्चमा एकछिन हराएपछि फेरि उकालो लाग्यौंं। त्यो ठाडो उकालोमा रितेशको संघर्ष जारी थियो। अँध्यारो हुन थालेपछि हाइ-क्याम्पसम्मै जाने कि बादले डाँडामै बस्ने भन्ने दुविधामा पर्यौं एकछिन। हाइ-क्याम्पमा सबै होटल प्याक भएकोले बादल डाँडामै बस्ने निर्णय गर्यौं। खर्सुका मुडा जोतिएको त्यो चुलाको राप हामीलाई अति प्यारो लाग्यो।
होटल हिमचुली एन्ड रेस्टुरामा गोर्खाली दाइको डाडु-पन्यु चलाउने सिप हेर्न पाइयो, खाना ट्वाक्कै थियो। त्यहाँ पनि मस्तले खाना खाइयो। खानापछि रिता दिदीको गोसाइँकुण्ड, मुस्ताङ, तिलिचो, रारा जाँदाका अनुभव सुन्यौं। बिहानै चार बजे उठेर अप्पर भ्यू पोइन्ट पुगेर सुर्योदय हेर्ने योजना बनाएर सुत्न गयौं। होटलमा त्यस दिन बेस्सरी हुरी चल्यो।
बिहानै योजनानुसार हातमा टर्च र झोलामा दुई थर्मस पानी बोकेर चिसो सिरेटोमा उकालो लाग्यौं। त्यो उषाको अँध्यारोमा चम्केका तारा, नक्षेत्रपुञ्ज, पुछ्रेतारा हेर्दै मगनमस्त भएकी स्मारिकाले हामीलाई तारा र ग्रहको आआफ्नो छुट्टाछुट्टै चम्किने रवैयाबारे सिकाइ दिइन्। ताराको आफ्नै ज्योती भएर पनि पृथ्वीबाट निकै टाढा हुनाले मिल्मिल गरि बल्दा रहेछन्। जब ग्रह (उपग्रह) नजिक हुनाले सूर्यकै प्रकाशले भएपनि एकनासले चम्किरहने रहेछन्।
रूघाले रिता दिदीलाई उकालोमा औधी कष्ट दियो। हरेक खुट्किलो पिच्छे रोकिँदै हिँड्नु पर्ने। उनले घुडा टेक्ने कुरा थिएन, उकालोलाई हाँक दिँदै जसोतसो हाइ-क्याम्प पुग्यौं। आरामले दिदीहरूसँगै गए त भ्यू पोइन्टसम्म मात्र पुगिन्थ्यो तर हामीलाई मर्दी बेस-क्याम्पसम्म पुग्नु थियो। होटलका दाइले टिमुर मरिच हालि दिएको थर्मस थमाई हामी उनीहरूलाई बिस्तारै आउनु भनी अगाडि लाग्यौं। कसैको छैटी वा रत्यौलीमा जान लागे जसरी ती उकालीका खुट्किला हिँडिरहेकाहरू टर्च लस्करै थिए।
सूर्योदय हेर्न भ्यू पोइन्ट पुग्यौं। पूर्वपट्टि आकाश गुलाबी, रातो, पहेँलो हुँदै निलो भयो। ४२०० मिटरको उचाइमा रहेको भ्यू पोइन्टबाट भिमकाय अन्नपूर्ण, सुन्दर माछापुच्छ्रे र मर्दी हिमालको त्यो मिठो सौन्दर्यको पनि अनुभूति गर्यौं। एकछिन तातोपानी पिएर हामी मर्दी बेस-क्याम्पको लागि हिँड्ने वाला थियौं, ठ्याक्कै स्मारिका पुगिन्। भ्यू पोइन्टमै सिमित गरेका उनीहरूको यात्रालाई हामी बेस क्याम्प सम्मै पुग्ने भनेपछि उसले पनि बेस-क्याम्पसम्मै तन्काउने सोचेर दीक्षा र रिता दिदिलाई बिस्तारै आउन भनी छोडेर आइछे।
ओहो! मिरा राईहरू दमकको तराईमा पनि हुँदा रहेछ्न भन्ने लाग्यो। सानै मान्छे भए पनि बलियी रहिछ।
एकछिन फोटो खिचेर डाँडा उक्लियौं। हामीभन्दा अघि एकजना थाई पर्यटक थिए। स्मारिकाले 'सवाद्दि-का' (थाईमा 'हेलो') भनेपछी उनले संवाद सुरू गर्दै आफू अन्नपूर्ण सर्किट ट्रेकिङ र अन्नपूर्ण बेस क्याम्प पुगेर अब मार्दी बेस क्याम्पसम्म पुग्ने बताए।
हावाले उडाएर फालेछ सायद, मर्दी बेस-क्याम्प लेखेको बोर्ड हामीले देखेनौं। बाटो पनि सकियो अब त! चट्टानी पाखामा मसिनो धागो जस्तो साँघुरो बाटो जस्तो मात्र देखिन्थ्यो।
चट्टानमाथि चढेर वरिपरीको संसार हेर्यौं। तल पखेटा फिजाएर बसेका पहाडका लराहरू क्षितिज सम्मै देखिन्थे। बायाँपट्टि मोदि खोला र दायाँमा मार्दिखोलाले खोपेका खोँचहरूका छेउमा बसेका गुरूङ बस्तिहरू अत्यन्त अदभूत देखिन्थे। आँखा डुलाउँदै गर्दा तल घमाइलो डाडाँमा चर्दै गरेको थारको एक बथान देखियो। ओहो ! सहपाटी दृष्टिको त्यो दुरबिनलाई धन्यवाद दिँए। अघान्जी दुरबिनले थारको बथान हर्यौं।
बेस-क्याम्पभन्दा हामी माथी पुगिसकेका रहेछौं। पछि आएका मान्छेले हामीलाई बेस क्याम्प तल हो भनी तल बोलाए। हामी तल झर्यौं, गन्तव्यभन्दा माथि पुगेर!
त्यहाँ पुग्दाको अनौठो अनुभव थियो। त्यहाँ पुगेका सबै खुशीले गद्गद थिए। अग्रेंजी मितिअनुसार समिरको जन्मदिन थियो त्यो दिन। त्यहाँ पुगेका सम्पूर्णले खुशी व्यक्त गर्दै उसको लागि जन्मदिनको गीत गाएर शुभकामना दिए। त्यसैको अवसरमा समिरले र मैले अन्नपूर्णतिर फर्किएर स्वरमा थाडो भाका हाल्यौं।
'जन आएई छाल भेलका लड्कन्या माछा जन आएई छाल,
नहोई माया जाल जिउ झुराई परानै खान्या नहोई माया जाल'
त्यस्तो खुशीको बेला यो बिरहको गीत गाउनु पछाडि एउटै कारण 'हामी दुवैलाई आउने त्यहि मात्रै गीत' थियो।
होटल झर्दा ढिला भइसकेको थियो। रिता दिदी र दीक्षा भ्यू पोइन्टबाट फर्केर होटल पुगिसकेका रहेछन्। रितेसको खुट्टा हिँड्न नमिल्ने भएर ऊ होटलमै आराम गरी बसेको थियो। न्यानो घाममा हिमालको आँगनैमा बसि खाजा खाई हामी बादल डाँडाबाट बिदा भयौं।
चुनावको बिदामा घुम्न आएको झापाली टोलीलाई आज जसै पोखरा पुगेर घर जाने गाडी समात्नु थियो। लो-क्याम्प पुगेर उहाँहरूलाई सिधिङ्गको बाटो झरेर त्यहीँबाट जिप चढि पोखरा जानुहोला भनेर बिदाईको हात हल्लायौं।
हामी पनि ओरालोमा हान्निएर दौडिँदै देउराली झरेर धम्पुसको बाटो हुँदै होस्टल पुग्यौं।