मुलुकका ६२ जिल्ला पुगिसक्दा पनि आफ्नै लमजुङ जिल्लाको छिमेकको मनाङ चाहिँ टेक्न नपाउँदा मलाई लाजै भएको थियो।त्यसैले मनाङ घुम्न जाने भनेर केही साथीसँग 'दसैं बिदाको सुरूमा मनाङ घुम्न जाम्’ भनें।
कसैको केही कसैको केही, कोही पनि मसँग जान फुर्सदिला भएनन्, त्यही कारण म एक्लै घुम्न जाने भएँ।
दसैंको सुरूमा अर्थात् असोज १६ गते आइतबारका दिन बिहान ७ बजे लमजुङको सदरमुकाम रहेको बेशीसहर बजारको उत्तरी छेउ मनाङे चौतारा पुगेँ। त्यहाँ मनाङ जाने र मनाङबाट आएका सयौं विदेशी र नेपाली पर्यटकहरू रहेछन्। त्यहाँ काठमाडौंको धनाढ्य परिवारका सात जना युवायुवतीहरू एउटा बोलेरो गाडी रिजर्भ गरेर मनाङ जान लागेका रहेछन्।
उनीहरू ‘अर्को कोही यात्रु भेटियो भने भाडा सस्तो पर्थ्यो’ भनेर आठौं यात्रु खोजिरहेका रहेछन्। म उनीहरूसितै मिसिएर जाने भएँ।
मनाङ जाने बाटोको कठिनाइको कारण त्यो बाटोमा फोर ह्विलवाला बोलेरोमात्रै जाँदो रहेछ।
अंकलको साथी भन्ने थाहा पाएपछि त्यो समूहको तर्फबाट एउटी युवतीले 'हामीसितै घुम्न जाम् अंकल' भनिन्।
ती सात जनाको टोली तिलिचो जाने रहेछन्। तर त्यसको लागि खांङसार गाउँसम्म गाडी पुग्ने भए पनि आज चाहिँ मनाङ गाउँ पुगेर बस्ने उनीहरूको योजना रहेछ, म पनि आज मनाङ गाउँ नै पुग्ने भएँ।
भाडा २५ सय रुपैयाँ लाग्ने भयो। बेशिसहरबाट मनाङको पहिलो गाउँ ताल पुगेको रु १ हजार, मनाङको सदरमुकाम चामे पुगेको १५ सय, त्यसपछि हुम्डे पुगेको २ हजार र मनाङ गाउँको भाडा रु. २५ सय अनि खांङसार पुगेको रु ३ हजार रहेछ।
विदेशीसँग भने नेपालीको भन्दा दोब्बर भाडा लिइदो रहेछ। त्यहाँ भाडा तोक्ने कुनै निकाय नरहेको र गाडी साहुको मनखुसी अनुसार नै सबै कुरा निर्धारण हुने रहेछ।
बेशीसहरबाट आँखा अगाडि मुसुक्क मुस्कुराइरहेका अन्नपूर्ण र मनास्लु हिमालहरू देखिए। कतिबेला मनाङ पुगुँला झैं भयो।झोला मिलाएर बेशिसहर छोड्दा बिहानको आठ बज्यो।
गाडी मर्स्याङ्दी नदीलाई बायाँ पार्दै खुदी पुग्यो र झन्डै एक घन्टापछि खुदीखोला तरेर खुदी बजारलाई पार गर्यो। त्यसको केही क्षणपछि बाटोले मर्स्याङ्दी तरेर भुलभुले पुग्यो। त्यही बेला किनारामा रातो रंगको विशाल घर देखियो। त्यो ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजनाको विद्युत गृह रहेछ।
त्यसपछि त्यही परियोजनाले बनाएको साढे चार किलोमिटर सुरूङ भित्रबाट गाडी अगाडि बढ्यो। नेपालमा पनि यसरी सुरूङ भित्रभित्रै गाडीमा हिँड्न पाउँदा गज्जबको अनुभव हुँदो रहेछ। त्यसपछि केहीबेरमै मर्स्याङ्दी नदी मिल्न आइपुग्यो जहाँ अर्को विद्युत परियोजनाको लागि ठूलो सुन्दर जलाशय बनाइएको रहेछ।
त्यसलाई पार गरेपछि मनाङ जाने सडक नबन्दै र अहिले पनि धेरै पर्यटकले पदयात्रा गर्दा बिसाउने ङादी बजार आइपुग्यो। त्यसको अलिक अगाडि लमजुङको शान र देशकै पहिचानको लागि महत्वपूर्ण काम गरेका र केही वर्ष अगाडि ताप्लेजुङको घुन्सामा २००६ मा भएको हेलिकप्टर दुर्घटनामा जीवनको भारी बिसाएका प्रसिद्ध भूगोलविद् डा.हर्क गुरूङको घरगाउँ रहेछ र सडकबाट अलि पल्तिर तिनको सम्झनामा शालिक बनाइएको रहेछ।
त्यसपछि गाडी फेरि मर्स्यांङ्दी तरेर त्यसको पश्चिम किनाराबाट हिँड्न थाल्यो र पैदलयात्रा मार्गलाई पारिपट्टि छोडियो।
घनपोखरा, सिउरूङजस्ता चर्चित गुरूङबस्ती भएका डाँडाको फेदीफेदी पारिपट्टि परेको चर्चित कवि स्वर्गीय माधव घिमिरेको जन्मगाउँ बाहुनडाँडा हेर्दै अगाडि बढियो। तर ती दुबै कुरा अहिले मासिएजस्तो लाग्छ। त्यसपछि रामबजार हुँदै स्याङे बजार पुगियो जहाँ पारिपट्टिबाट पदयात्रामार्ग घेर्मुबाट मर्स्याङ्दी तरेर मिसिन आइपुग्छ।
त्यसपछि जगात भन्ने मनाङ जाने मार्गको पुरानो बजार आइपुग्छ। हामी १२ बजेतिर १४३० मिटर उचाइमा रहेको लमजुङको अन्तिम बस्ती च्याम्चेमा पुग्छौं जहाँ केही होटलहरू छन्। मर्स्याङ्दीको पारीपट्टि मनास्लु हिमालबाट झरेको आँखाले भ्याउन्जेलसम्मको विशाल च्याम्चे झरनाको ठीक वारीपट्टिको होटलमा खाना खान गाडी रोकिन्छ। फुत्त उफ्रेर पारिपट्टि नजिकै देखिने झरनाको पानी छुन जान मनलाग्छ।
त्यो झरना देखेपछि पर्यटकहरू खुसीले पागल झैं हुन्छन् र त्यो झरनासँगै देखिने गरेर सेल्फी वा समूह फोटो खिच्न थाल्छन्। त्यहाँ यात्रुलाई ३ सय रुपैयाँमा पाइने मिठो न मिठो सादा दाल भात तरकारी खुवाएर गाडी अगाडि बढ्छ।
त्यसपछि बाटो साँघुरिन थाल्छ र हिमाली भू-बनोटको झल्को लाग्न थाल्छ। बाटोमा झरनाहरू देखिन थाल्छन् र ती झरनाको पानी उछिट्टिएर गाडीभित्रका मान्छेलाई समेत लपक्कै भिजाउँछन्।
गाडी अन्नपूर्ण र मनास्लु हिमालको फेदीको डरलाग्दो चेपबाट मर्स्याङ्दीको डिलैडिल अगाडि बढ्छ। बाटो यस्तो छ कि गाडीको चक्का एक इन्चमात्रै बाहिर गयो भने भिरबाट २/३ सय मिटर तलको मर्स्याङ्दीमा खस्न पुग्छ र त्यसलाई खोज्न जाने शायदै कसैले भेट्न सक्छ।
यसभन्दा अगाडि केही वर्ष अघिसम्म गाडी नचल्दा छिनोले पहरो फोरेर बनाएका बाटालाई बिस्तार गरेर बनाइएको सडकको विभिन्न खण्डमा ढलान गरिएको रहेछ।
केही क्षणमा गाडीले लमजुङ छोडेर सानो मार्दी नामको खोला पार गरी मनाङ प्रवेश गर्यो। मनाङ प्रवेश गर्ने बित्तिकै मर्स्याङ्दीको दायाँ किनारामा 'ताल' नामको मनाङको पहिलो बस्ती देखियो।
मनाङको प्रवेशद्वारको काम गर्ने यो बस्तीलाई पोहोर बर्खामा मर्स्याङ्दीमा आएको बाढीले सर्बनाश गरेको रहेछ र त्यस बजारबाट हिँड्ने बाटो बजारमाथिबाट जान थालेको रहेछ।
मर्स्याङ्दी नदीले मनास्लु र अन्नपूर्णा हिमश्रृंखलालाई छेडेर ताल बजार हुँदै लमजुङ प्रवेश गरेको रहेछ। यहाँसम्म उत्तरतिरबाट आइरहेको मर्स्याङ्दी नदीको दिशा पश्चिम उत्तरतिर मोडिन्छ। हामी यहाँबाट अन्नपूर्णा हिमाललाई बायाँ पार्दै मनाङ उपत्यकाभित्र प्रवेश गर्छौं।
त्यसपछि मर्स्यांङ्गदी नदीको किनारै किनार अगाडि बढ्दा अग्ला पहाड र झरनाहरू झरिरहेको भिरको फेदीमा घरपसल भएका स-साना बस्तीहरू भेटिन्छन्। तर यतिबेला पनि यहाँको वनस्पति र भूबनोटले गर्दा हामीलाई हिमालभन्दा पनि उच्च पहाडी क्षेत्रमा रहेजस्तो लाग्दैथियो। यहाँबाट २५ किमी अगाडि मनाङको सदरमुकाम चामे रहेछ र त्यहाँसम्मलाई तल्लो मनाङ भनिँदो रहेछ र चामेभन्दा माथिको भेगलाई भने उपल्लो मनाङ भनिँदो रहेछ।
तालबाट ३ किमी पर धारापानी आइपुग्छ जहाँ मर्स्याङ्दीमा पूर्वतिरबाट एउटा खोला मिसिन आउँदो रहेछ। गोर्खाको लार्केतिरबाट मनास्लु र हिमालचुली हिमाललाई दक्षिण पाटोमा बायाँतिर पार्दै आउने सो खोलालाई दूधखोला भनिँदो रहेछ भने मनाङतिर जाने मर्स्याङ्दीको मूलनदीलाई यहाँबाट भोटखोला भनिँदो रहेछ। यहाँबाट लार्केतिर हुँदै बूढीगण्डकी नदी भएर झर्ने प्रख्यात पदयात्रा मार्ग जाँदो रहेछ।
बाटोमा भएका पर्यटकीय होटल र फाट्टफुट्ट आउने स-साना पसलहरू पार गर्दै अगाडि बढेपछि नाचे हुँदै बगरछाप आइपुग्यो। त्यसपछि बाटो एउटा जंगलभित्र पस्छ र ढुंगैढुंगाको बिजोग पाराको बाटोमा अलिकति उकालो हुँदै केही क्षण गएपछि तिमाङ, कोतो हुँदै चामे आइपुग्छ। कोतो भन्ने ठाउँको पारिपट्टि 'नार फू' नामको खोला मर्स्याङ्दीमा मिसिन आइपुग्दो रहेछ। नार र फू नामका दुई खोला मिलेर नारफू बन्दो रहेछ। यी दुई खोलाको किनारमा नार र फू नामका तिब्बतको सीमावर्ती दुई गाउँ पर्दा रहेछन्।
२६५० मिटर उचाइमा रहेको चामे बजार जिल्ला सदरमुकाम भए पनि सानो रहेछ। यहाँका अधिकांश घरहरूमा होटल या पसल रहेछन्। छेउमा कतैकतै मकै बाली लगाएको पनि देखियो। यहाँबाट दायाँतिर पछाडि फर्केर हेर्दा गोर्खा जिल्लाको ८१५६ मिटर अग्लो मनास्लु र ७८७८ मिटर अग्लो हिमालचुली हिमाल देखिँदो रहेछ।
चामे भने लमजुङ र कास्कीको उत्तरी छेउमा पर्ने गंगापूर्ण हिमाल (७४५५ मिटर), अन्नपूर्ण-१(८०९१मि), अन्नपूर्ण- २ (७९३७ मि) र अन्नपूर्ण- ३ (७५५५ मि) को उत्तरपट्टि काखमा बसेको रहेछ।
चामे बजारबाट ती हिमालको पनि अलिअलि झल्को देखिँदो रहेछ। चामे बजारलाई पनि गतवर्ष मर्स्याङ्दीमा आएको बाढीले सखाप पारेको रहेछ।
चामेबाट अगाडि लागेपछि भार्तांग हुँदै पिसाङ गाउँ आउँदो रहेछ। यहाँबाट उपल्लो मनाङ सुरु हुँदो रहेछ। यहाँबाट सल्ला र हिमाली रूखहरूको जंगल हुँदै अगाडि बढ्दा दायाँ मर्स्याङ्दीको उत्तरपट्टि सेतो बसिलाले तासेर सिनित्त पारेर बनाएको ऐनाजस्तो पहाड रहेछ। यसलाई स्वर्गद्वार भनिँदो रहेछ।
'यो स्वर्ग जाने बाटो हो र यहाँ गएका कोही मान्छे पनि फर्केर आएका छैनन्' भन्ने भनाइ रहेछ। यसपछि भने मर्स्याङ्दीले बनाएको साँघुरो गल्छी जस्तो पहाड अलिकति खुलेर फराकिलो हुँदै जाँदो रहेछ। त्यहाँ जंगलको बीचमा सम्म र फराकिला खर्क र बारीहरू रहेछन् जहाँ मानिसहरू जौ र उवाको बाली भित्र्याउने चटारोमा देखिन्थे। यहाँबाट अगाडि तिब्बती संस्कारका लामा गुरूङहरूको बसोबास रहेछ।
यहाँबाट १३ किमि अगाडि पिसाङ नामको गाउँ आउँदो रहेछ र त्यहाँ राम्राराम्रा स्याउ बगैंचाहरू रहेछन्। त्यहाँ मनाङको कोसेलीहरू पाइने पसलहरू थियो। पर्यटकीय होटलहरू त भैहाले। त्यहाँबाट उत्तरपट्टि रहेको पिसाङ पिक (जोंगरी- ६०९१ मि) हिमाल प्रष्ट देखिने रहेछ।
पिसाङबाट मनाङ उपत्यका फराकिलो हुँदै गएको रहेछ। यहाँबाट अलिक पश्चिमतिर पुगेपछि उत्तरपट्टि नै चुलु इष्ट (६५८४ मिटर) र चुलु वेस्ट ( ६४१९ मिटर) भन्ने हिमालहरू देखिँदो रहेछ।
करिब ९ किमी जति अगाडि हुम्दे भन्ने बस्ती आउँदो रहेछ, जहाँ २०३७ को माघमा सेवा सुरू भएको मनाङमा गाडी पुगेपछि बन्द भएको एकमात्र विमानस्थल रहेछ।
हुम्डेबाट ४ किमी अगाडि भ्राका गाउँ पर्दो रहेछ भने भ्राकाबाट १३ किमीको दूरीमा मनाङ गाउँ आइपुग्दो रहेछ। हुम्डेबाट मनाङ जाउन्जेल पारिपट्टि पाखामा घ्यारु, ङावल, भ्राकाजस्ता साना गाउँहरू पर्दा रहेछन्।
बाटोमा सयौं विदेशी पदयात्रीहरू र तिनका गाइड, भरिया अनि खच्चड घोडाहरू हिँडिरहेका थिए।
खासमा यो अन्नपूर्ण परिक्रमा मार्ग बेशिसहरबाट सुरू भयेर मनाङ र त्यहाँबाट थोराङ पास कटेर मुस्ताङ हुँदै पोखरा निस्कने २८ दिनको पैदल यात्रा मार्ग हो र त्यतिबेला यो संसारका उत्कृष्ट पदयात्रा मार्गमध्ये एकमा गनिन्थ्यो। तर सडकमार्गको निर्माणपछि यस मार्गको महत्व र आकर्षण खस्केको रहेछ। तै पनि पदयात्रा गर्न रुचाउने पर्यटकहरूले गाडीको धूँवा र धुलो अनि त्यसले छेपेको धुलो झेल्दै भए पनि पदयात्रा गर्न छाडेका रहेनछन्।
हामी बेशिसहरबाट यात्रा सुरू गरेको ८ घन्टापछि दिनको ४ बजे मनाङ बजार पुग्यौं, होटल खोजेर बस्नुपर्ने भयो। मसँगै जाने भाइ बैनीहरूको नाइकेलाई , 'तिमीहरू सितै मिलेर रात बिताउन सकिन्छ कि ?' भनेर सोधेँ।
तर उसले बडा रूखो पाराले 'हामी तपाईंलाई एडजस्ट गर्न सक्दैनौं' भन्यो।
हाम्रो गाडीको ड्राइभर बडो हावा पाराको देखिन्थ्यो, बाटोमा देखेको ठाउँको बारेमा सोध्यो भने ‘ए बाजे, कति मास्टरले जस्तो प्रश्न सोधेको?’ भनेर जवाफ दिन्थ्यो। तर उसले दया गरेर मलाई तिनै भाइबैनीहरू गएको होटलमा लगिदियो र साहुनीलाई मलाई बस्ने व्यवस्था गरिदिन अनुरोध गर्यो। तर त्यो रूखो केटाले भने परैबाट होटल साहुनीलाई 'उहाँ हाम्रो ग्रुपको होइन है' भनेर बडो टिमुर्केको व्यवहार गर्यो।
तर ‘माउन्टेन लेक’ नामको त्यो होटलकी साहुनी ‘छिरिंग ओंगमा गुरुंग घले’ कमलो मनकी बडो सद्भावयुक्त महिला रहिछिन्। तिनले मलाई त्यहाँको सबभन्दा सस्तो कोठामा बस्ने व्यवस्था गरिदिइन्। उनको अतिथी सत्कार र उनीहरूप्रति गर्ने उत्कृष्ट व्यवहार देखेर म प्रभावित भएँ।
त्यो होटलका एट्याच बाथरूम कोठामा एक जना बसे १५ सय, धेरैजना बसे २००० र नन एट्याच १००० पर्दो रहेछ। सादा दालभात तरकारीको ६०० पर्दो रहेछ, मांसाहारी खाए त कति हो कति। जे होस्, यहाँ त काठमाडौंभन्दा खानाको मूल्य तेब्बर र कोठाको मूल्य दोब्बर पर्दो रहेछ। तर त्यति टाढाको हिमालमा खानाको गुणस्तर, कोठा र सिंगो होटलको सजावट र यो स्तरको सरसफाइ हुँदा कत्ति पनि महंगो जस्तो लाग्दैन।
झन् मनाङका मान्छेले सिजनमा ६ महिना काम गरेर वर्षभरि पालिनु पर्ने हुँदा यसरी पैसा लिएको ठीकै जस्तो लाग्छ।
म लेखक हो भनेपछि उनले त्यो होटलको सस्तो कोठा खालको ननएट्याच कोठा मिलाइदिइन्। ननएट्याच भने पनि बाथरूम नजिकै रहेछ र चौबीसै घन्टा तातो र चिसोपानी आउँदो रहेछ। कोठामा वाईफाई पनि थियो। तिनले एक कपको १०० जति पर्ने कालो चिया चाहिँ तिन कप सित्तैमा खुवाइन्।
कोठामा पुगेर झोला बिसाउँदा बित्तिक्कै चक्कर लागेजस्तो भयो, फनक्क घुमायो, वाकवाक आउला जस्तो भो। मैले चाल पाइहालेँ, मलाई लेक लागेको भनेर। हतार हतार रिसेप्सनमा झरेर तीनपोटी लसुन मागेर तीन गिलास तातोपानीसित खाएँ। होटलमा त युरोपको जस्तो पिज्जा, बर्गर, थुक्पा जस्ता हरेक खालका खाना पाक्दो रहेछ, मैले एक प्लेट थुक्पा मागेर भिनेगर हालेर खाएँ। अनि आफैंले लगेको औषधी खाएँ, चक्कर लाग्न कम भयो। अनि मोबाइल बोकेर चार तलामाथि छतमा गएर हेरेँ। अन्नपूर्ण पहिलो र दोश्रो आँखै सामुन्ने देखियो, थपक्क फूल टिपे जसरी टिपूँ कि जस्तो। हिमालबाट हिउँ बग्दै पानीको खोल्सा र झरना बनेर तल झरेको दृश्य जति हेरे पनि नअघाउने खालको थियो।
होटलबाट वरिपरि चिटिक्क परेका होटलहरू थिए, जहाँ कुनैमा नेपाली पप, कुनैमा तिब्बती र कुनैमा अंग्रेजी संगीत गुन्जिरहेको रहेको थियो।
अलि पर किसानहरू उवा टिप्दै र जाडोको बेला पशु चौपायाहरूलाई खुवाउन भुसा तयार गर्दै थिएँ। दक्षिणतिर दुब्लाएर कुलो जस्तो भएको मर्स्यांङ्दी नदी बगिरहेको थियो। अलि पर पहाडको भित्तामा गुम्बाहरू देखिन्थे र त्यहाँ ‘ओम माने पेमे हुं’ को आवाज आइरहेको थियो।
जाडोको बेला होटल बन्द गरेर परिवारको एक जना घर कुर्ने मान्छे राखि बाँकी सदस्य काठमाडौं, पोखरातिर जाँदा रहेछन्। पहिले पहिले भने उनीहरूमध्ये धेरैजसो लमजुङको भोटेवडार झर्थे।
साँझ परेपछि होटलको लबिमा झरेँ, त्यहाँ विभिन्न देशका विदेशी र आन्तरिक पर्यटक र गाइडहरू थिए। उनीहरूसित यस यात्रामा उनीहरूले गरेको अनुभवको बारेमा छलफल भयो।
कुरा गर्दागर्दै खाना खाने बेला भयो। खाना महंगो भए पनि अत्यन्त स्वादिलो थियो। सफा पनि उस्तै।
बिहान उठेर खांङसार हुँदै कोही पर्यटकहरू कोहि तिलिचोतिर र कोही याकखर्क हुँदै थोरांग पास पार गर्दै मुस्ताङतिर जान हिँडे।
मनाङबाट ६ किलोमिटर पर पर्ने खांगसारबाट २.२ किमी हिँडेपछि ४१४४ मिटर उचाइको तिलिचो बेसक्याम्प पुगेर बस्नु पर्दो रहेछ।
थोराङ पास गर्नेहरू भने खांगसारबाट हिँडेर त्यहाँबाट कोही ६.६ किमी परको आफूलाई एक्लामाटाइज गर्न याकखर्क बस्दा रहेछन्। कोहि अझै १०.५ किमि परको ५४५१९ मिटर उचाइको थोराङफेदी पुगेर बस्दा रहेछन् र त्यहाँबाट बिहान ५/६ घन्टामा ५४१६ मिटर उचाइको थोरांग्ला पास कटेर मुस्ताङको मुक्तिनाथतिर जाँदा रहेछन्।
कोही यहाँबाट भ्राका गुम्बा र कोही आइसलेक अनि कोही मिलोरेपा गुफातिर लाग्दा रहेछन्।
मनाङबाट वरको भ्राकाबाट पारिपट्टि पाखामा पर्खालै पर्खाल जाने बाटो रहेछ। सो बाटोबाट माथि करिब ६०० वर्ष पुरानो बुद्धमार्गीहरू भित्रको काग्यु सम्प्रदायको प्रख्यात भ्राका गुम्बा पर्दोरहेछ। यो गुम्बा मनाङबाट ३ किमी पर पर्दोरहेछ। मनाङबाट १६ किमी पर त्यही दिशामा पन्ध्रौं शताब्दीका प्रख्यात तिब्बती धर्मगुरु मिलोरेपाले ध्यान गरेको मानिने ४१ सय मिटर उचाइमा रहेको गुफा र मनाङबाट ४६०० मिटरको उचाइमा भएको प्राय: हिउँ जमिरहने बरफ ताल (आइसलेक) रहेछन्।
म चाहिँ उनीहरू सबैलाई छोडेर मनाङ बजार घुम्न थालेँ। यति विकट ठाउँमा भएर पनि अति सुविधासम्पन्न ठमेलका जस्ता होटलहरू, त्यहीँ स्पा जस्ता सुविधाहरू, ठमेलमा जस्तै सामान बिक्रीको लागि राखिएका। टन्न दाउरा जम्मा गरेर राखेका मनाङका पुराना परम्परागत घरहरू पनि त्यहीँ देखियो। घरको वरिपरि बेमौसमी बन्दाकोभीको खेती, गज्जब लाग्यो। मलाई त्यो ठाउँ पुराणमा पढेको स्वर्गजस्तै लाग्यो, उठेर हिँड्नै मन लागेन।
मनाङ जानेहरूमध्ये कतिपयलाई मलाई जस्तै लेक लाग्दो रहेछ, कतिपय विभिन्न कारणले बिरामी पर्दा रहेछन्। पर्यटकहरूलाई उपचार गर्न मनाङमा एउटा सामान्य क्लिनिक पनि रहेछ, तर त्यसले के काम गर्थ्यो र! तिनीहरूलाई हेलिकप्टरमा उद्धार गरेर या पोखरा यात काठमाडौं लगिँदो रहेछ।
गह्रौं मन गरेर फर्किएँ। म चढेको बोलेरोमा लेक लागेर झरेकी एउटी चेक केटी बिरामी भएर थोराङ फेदीबाट पास कट्ने आँट नभएर फर्केका एक जोडी डच र तिनका २ अनि दसैं बिदामा घर जान लागेका अरू ४ गरी ६ जना गाइडहरू थिए।
यसरी मसहित १० जना यात्रु लिएर बोलेरो हिँड्यो। बोलेरोको पछाडि ढालामा पर्यटकहरूका ठूला ठूला झोलाहरू थिए र गाइडहरू त्यसैमाथि बसेका थिए। म पनि सबैतिर खुला तरिकाले हेर्न पाइने लोभमा पछाडि नै बसेँ।
बाटोमा गाडीले उफार्नु उफार्यो, तर गाइडहरूको गफले यति रमाइलो भयो कि हाँस्दा हाँस्दै गाडी उफ्रेको थाहै भएन।
बाटामा हिँडिरहेका पर्यटकहरू हामीलाई देखेर हात हल्लाउँथे। गाइडहरू पर्यटक देख्दा बित्तिकै कुन देशको भनेर ठ्याक्कै पत्ता लगाउँदा रहेछन्।
यसरी आउँदा गाइडहरूले मनाङको बारेमा धेरै कुरा बताए। पिसांङ आएर स्टोरबाट बोटबाट टिप्दा टिप्दै ल्याएको स्याउ एक सय पचास रुपैयाँ किलोमा किनियो भने चामेमा १८० रुपैयाँ किलो आलु भेटियो।
हामी मनाङ छोड्नु पनि, झरी पर्नु पनि भयो। हामी दुई तीन घन्टा मात्रै ढिलो भएको भए बाटो बिग्रेर मनाङ मै अड्किने रहेछ। जे होस्, यस वर्ष दसैंमा मनाङ घुम्ने बाल्यकाल देखिको पुरानो धोको पूरा भयो।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)