अघिल्लो साताको बुधबार। दिउँसो रिपोर्टिङबाट फर्केर डेस्कमा बसेकी मात्रै थिएँ। सहकर्मीले सुनाइन्– लमजुङ जाने कार्यक्रम छ, जाउँ कि नजाउँ भयो।'
उत्साहित हुँदै सोधेँ, 'के कार्यक्रम हो? कहिले जाने? कहिले फर्किने?'
भोलिपल्टै हिँड्नु पर्ने भएपछि उनले नभ्याउने भएकी रहिछन्। मलाई चासो भयो। उनले कार्यक्रम तालिका सुनाइन्।
साहसिक पर्यटन प्रवर्द्धन गर्न लमजुङको भुजुङ गाउँमा 'हनी हन्टिङ' हुँदै रहेछ। स्पार्क कार ग्रुपले आयोजना गरेको कार्यक्रममा पर्यटन, सञ्चारमाध्यम, फिल्म लगायत केही क्षेत्रका व्यक्तिहरूलाई निम्तो थियो। मह काढेको कहिल्यै देखेकी थिइनँ। जाने रहर भयो।
लमजुङ मेरा लागि एकदमै नौलो ठाउँ त थिएन। कलेज पढ्दा घलेगाउँसम्म पुगेकी थिएँ। भुजुङ गाउँ भने नयाँ थियो। सहयात्री पनि नयैँ थिए।
झोलामा आवश्यक सामान मिलाएँ। भोलि छिट्टै जानु छ भन्दै खाना खाएर सुत्न गएँ। निद्रा पटक्कै लागेन। जबरजस्ती आँखा चिम्लिएँ।
शरीर मात्रै ओछ्यानमा थियो, मन भुजुङ गाउँ पुगिसकेछ। यात्रा कस्तो हुन्छ होला भन्ने उत्तर नपाई एक्लै प्रश्न गर्दा गर्दै कतिखेर निदाएछु पत्तै भएन।
टिरिङ टिरिङ कानमा बजेको आवाजले ब्युँझिएँ। घडी हेरेँ। ५ बजेको थियो। हातमुख धोएर फ्रेस भएँ। प्रायः म बिहान हिँड्दा ब्रेकफास्ट खाएर हिँड्छु। त्यो दिन भने समयमा पुग्दिनँ कि भन्ने डरले पानी मात्रै खाएर निस्किएँ।
फर्किँदा आयोजकले नै घरसम्म ल्याइदिने भएकाले दैनिक यात्रामा सघाउने स्कुटर घरै छाडेँ। गाडी चढ्न घरबाट १० मिनेट हिँडेर चोकसम्म पुगेँ। स्कुटर किनेपछि सार्वजनिक सवारी साधन त्यति चढ्नु परेको थिएन। यति बिहानै त गाडी खाली होला भन्ने ठानेको थिएँ तर कोचाकोच थियो। म पनि त्यसमै कोचिएँ।
गाडी हुइँकियो।
मानिसको कोचाकोचले बाहिर देख्न सक्ने अवस्था थिएन। एकै पटक रत्नपार्क पुगेपछि ढाड सिधा गरेर गाडीबाट ओर्लिएँ र माइतीघर जाने अर्को गाडी चढेँ।
घडीमा ६ः३० बजेको थियो। माइतीघरमा ओर्लिएर खाद्य संस्थानतर्फ लागेँ।
चौरमा १०–१५ जना मान्छे थिए। कसैलाई चिनेकी थिइनँ। अलि पर पुगेर आफ्नो सामान बिसाएर त्यहीँ बसेँ।
केही समयपछि इभेन्ट म्यानेजरलाई फोन गरेर आफू आएको जानकारी गराएँ।
खुला फराकिलो चौर एकैछिनमा मान्छेले भरिए। दुई सय जना सहभागी रहेछौं।
कार्यक्रमका प्रमुख अतिथि राजेश हमालले रिबन काटेर यात्राको उद्घाटन गरे। विपीन कार्की, रामकृष्ण ढकाल, वर्षा सिवाकोटी, विजय लामा लगायत अरू कलाकारहरू पनि सहभागी थिए।
उद्घाटनमा पञ्जेबाजा बज्यो। यात्राका लागि ४० वटा स्कर्पियो गाडी व्यवस्था गरिएको रहेछ। प्रत्येक गाडीमा चारदेखि पाँच जना यात्रु थिए। यात्रुलाई सहज होस् भनेर आयोजकले गाडीमा नम्बर र यात्रा गर्ने पाहुनाको नाम राखिदिएका रहेछन्। त्यो व्यवस्थापन मलाई निकै मनपर्यो।
म लगायत सबै आफ्नो गाडीमा चढ्यौं। त्यसपछि लावालस्कर भएर बिहान ९ बजेतिर गाडी भुजुङतर्फ हुँइकियो। सबैभन्दा अगाडि प्रहरीको गाडी थियो। मेरो गाडीमा दुई जना महिला र एक जना सानो बाबु थिए। ती मध्ये एक जना नर्स, एक जना मोबाइल व्यवसायी रहिछन्। सानो बाबु भने उनकै छोरा रहेको परिचयपछि थाहा पाएँ। एकैछिनमा उनीहरूसँग मित्रता गाँसियो।
करिब साढे तीन घन्टाको यात्रापछि हामी खाना खान चुम्लिङटारमा ओर्लियौं। त्यहाँको एक रिसोर्टमा खाना खाएर कत्ति अबेर नगरी हामी फेरि गाडी चढ्यौं।
अब हामी बेँसीसहर पुगेर चिया खान्छौं– आयोजक भनिरहेका थिए।
दिउँसोको खानाले गाडीमा निदाइएछ। ब्युँझिँदा लमजुङको सुन्दरबजार आइसकेछ। सिसा खोलेर सुन्दरबजार नियालेँ। बजार साँच्चै सुन्दर थियो। त्यसको केही समयपछि हामी बेँसीसहर पुग्यौं। घडीमा बेलुकीको साढे ५ बजेको थियो।
पुरानो चिनजान भएका दुई जना व्यक्तिलाई देखेँ। उमेर र अनुभवले उनीहरू 'सिनियर' भए पनि साथी भेटेझैं लाग्यो। तीमध्ये एक जना त्यो कार्यक्रममा सामेल हुने रहेछन्। यात्रा अझै रमाइलो हुनेमा ढुक्क भएँ।
त्यहाँ आधा घन्टा जस्तो चिया खाएर हामी फेरि गाडी चढ्यौं। त्यहाँको प्रहरीको गाडी अगाडि लाग्यो। खाल्डाङ खुल्डुङ बाटो पहिलेको जस्तै रहेछ। त्यो देख्दा बाटोमा केही सुधार भएझैं लागेन। करिब तीन घन्टा यात्रापछि भुजुङ गाउँ पुग्यौं। हामीलाई स्वागत गर्न स्थानीय बाजा बजाउँदै हातमा माला लिएर बसेका थिए।
उनीहरूबाट टीका र माला लाएर हाम्रो समूह बास बस्न घर नम्बर ६ तर्फ लाग्यो। हामीलाई लिन घरबाट आमा आउनुभएको रहेछ। घर पुग्नासाथ आमाले चिया र मकै दिनुभयो। आँगनमा आगो बाल्ने काम बाले गरिदिनुभएको रहेछ। आगो ताप्दै चिया र मकै खायौं।
बा–आमा मिलेर भित्र खाना पकाउन थाल्नुभयो। हामी केही समय हामी फ्रेस भएर खाना खान गयौं।
खानासँगै दाल, रायोको साग, गोलभेँडाको अचार, आलु भुजुरी र खसीको मासु। यी सबै खानेकुरा स्थानीय स्तरमै उत्पादन हुने आमाले जानकारी दिनुभयो। गाउँमा आउने प्रत्येक पाहुनालाई साँझ त्यहाँको नृत्य देखाइने रहेछ। हामी पनि खाना खाएर लोक सांस्कृतिक कार्यक्रम हेर्न गयौं। मानिसहरूको भिडले ठेलमठेल थियो।
साँच्चै पर्यटकीय स्थल नै रहेछ भुजुङ गाउँ। माटा र ढुंगाले बनाइएको साना घर। ठूलाठूला ढुंगा बिछ्याइको आँगन। एउटा वडा, एउटा गाउँ प्रमुख विशेषता भएको भुजुङमा पाँच सय घर धुरी रहेछन्। तीमध्ये ३० घरधुरीमा होमस्टे सञ्चालन भएको रहेछ। उनीहरूको मुख्य आम्दानीको स्रोत पनि पर्यटन नै रहेछ। प्रायः घरमा बुढाबुढी मात्रै। छोराछोरी रोजगार र पढ्नका लागि सहरी क्षेत्रमा बस्दा रहेछन्।
कार्यक्रममा साना केटाकेटीदेखि बुढा हजुरबा–आमाले समेतले नाचगान गर्नुभयो। कृष्ण चरित्र नाच, घाटो नाच र झाँङ्ग्री नाच त्यहाँको प्रमुख नाच रहेछन्। हामी पनि नाच्यौं।
यहीबीच राजेश हमाल स्टेजमा उक्ले। मान्छेको भिड झनै बढ्यो। त्यो माहोल देख्दा लाग्यो, राजेश हमाल फिल्मको पर्दामा उभिएका छन्। अनि अगाडिको भिड हलमा बसेर फिल्म हेरिरहेको छ।
कलाकारहरूको उपस्थितिले कार्यक्रमको माहोल रमाइलो भयो।
कार्यक्रम सकिएपछि पछि सुत्न आयौं। रातको दुई बजिसकेको थियो। थकाइले होला भुसुक्कै निदाइएछ। बिहान बाहिर मान्छेको होहल्लाले ब्युँझिएँ।
भान्सामा आमाले खाजाका लागि कोदाको सेल, आलुको तरकारी र चिया तयार गरेर राख्नुभएको रहेछ। खाजा खाएर हामी मुख्य कार्यक्रम हनी हन्टिङका लागि निस्कियौं। करिब डेढ घन्टाको उकालो ओरालो गर्दै हामी मह काढ्ने ठाउँमा पुग्यौं।
हेर्न निकै उत्सुक थिएँ।
भिरमा मौरीले बनाएको मह काढ्न तलबाट आगो लगाइयो। आगो लगाएपछि त्यसको धुवाँले मौरी भाग्छ र मह निकाल्न सजिलो हुन्छ भने स्थानीयले। मौरीले आक्रमण गर्न सक्छ भनेर हामी भने त्यहाँबाट भाग्यौं। डोरीमा झुन्डिएर एक स्थानीय मह काढ्न गए। हामीले परैबाट हेर्यौं र दंग पर्यौं।
नजिकैबाट मह काढेको हेर्ने रहर भने रहरै भयो। त्यति जोखिम मोलेर मह निकाल्नेहरू साहसिला हुन्! न भिरको डर, न मौरीको! सायद उनीहरूलाई बानी परिसक्यो! हामी भने नजिकै एउटा मौरी आउँदा नि तर्सिने!
यस्तै सोचेर हाँस्दै, कुरा गर्दै हामी होमस्टे फर्कियौं।
आमाले सिस्नो र भेडाको मासु पकाउनुभएको रहेछ। लोकल खानेकुरा खान पाउँदा सहरको खान्कीमा बानी परेको हाम्रो जिब्रोले सायद अचम्म मान्यो।
केही समय आरामपछि हामी बेँसीसहरतिर लाग्यौं। बेसीसहर आउँदा साझँको सात बजिसकेको थियो। बस्न दुइटा होटल बुक गरिएको रहेछ।
साँझ रामकृष्ण ढकालको सांगीतिक कार्यक्रम रहेछ। सांगीतिक माहोलमा सबै झुमे। खानपिनसँगै आयोजकले त्यहीँ सबैलाई भिरमौरीको मह पनि चखाए। बजारमा किनेर खाएको महभन्दा बेग्लै स्वादको।
भोलिपल्ट बिहान खाजा खाएर हामी काठमाडौं हिँड्यौं। करिब ४ घन्टा यात्रापछि हामी खाना खान ओर्लियौं। सबैजना एकै ठाउँमा भेला भएका बेला आयोजकले कार्यक्रम औपचारिक रूपमा समापन भएको जानकारी गराए।