२०६२/०६३ को जनआन्दोलन ताका भोजपुरको हाम्रो जागिर सकिएको थियो। आन्दोलन सकिएपछि भोजपुरबाट २०६३ साल वैशाख २६ गते झोला बोकेर पैदल पाख्रिबाससम्मको यात्रा गरेको अझै स्मरणमा ताजा छ।
मेरा मित्र रूपेशजी विराटनगर जाने जहाजको टिकटको खोजीमा हुनुहुन्थ्यो तर उहाँले टिकट पाउन सक्नु भएन। हामी अरु सबै काठमाडौं आउने हुँदा टिकटको व्यवस्था गरिसकेका थियौँ।
रुपेशजी टिकट नभएपछि हिँड्ने तयारी गर्दै हुनुहुन्थ्यो। उहाँ एक्लै हिँड्ने, हामी ४ दिनपछिको जहाज कुरेर बस्ने अलि नमज्जा हुने भयो।
अनि मैले मेरो टिकट अरु कसैलाई दिन सैलेन्द्र जीलाई भनेर रुपेशजी सँगसँगै पाख्रिबासको पदयात्रा हुँदै काठमाडौं फर्कने निर्णय गरेँ।
हामी दुई जना वैशाख २६ गते नै यात्रा गरी सप्तरीसम्म सँगै आएका थियौँ। रूपेशजीको घर सप्तरी भएकाले उहाँ घर बस्नु भयो, म काठमाडौं आएँ।
पहिला-पहिला काठमाडौं आएपछि पुनः जागिर खान भोजपुर फर्कनु पर्थ्यो तर यसपालिबाट एउटा टेन्सन समाप्त भएको थियो तर अरु हजार टेन्सन थपिएको थियो, पुनः बेरोजगार।
गोजीमा थोरै पैसा भएकोले केही दिनका लागि त पैसाको चिन्ता थिएन तर जागिर नभएकोले मनमा एकतमास चिन्ता चाहिँ थियो। तैपनि जेठको पहिलो हप्ता घर लागियो।
घरमा भने रोजगारीको कुनै चिन्ता थिएन। मकै गोड्ने बेला भएको थियो, खेतमा धान रोप्ने समय सुरु हुन लागेकोले रोजगारी भेटिने नै भयो। लगभग छ महिनापछि घर आएको, घरमा पूरै रमाइलो थियो। लाहुरबाट घर फर्किएजस्तो।
जेठ, असार, साउन, भदौ महिना घरको खेतिपातीमा व्यस्त भएकाले जागिरको कुनै चिन्ता भएन। असोज र कात्तिक महिना दशैँ र तिहार भएकाले अझ कुनै चिन्ता भएन।
दशैँ-तिहार सकिएपछि पुनः जागिरको चिन्ताले सताउन थाल्यो। मंसिर महिना पनि घरमा बिताएपछि पुनः जागिरको खोजीमा काठमाडौं छिरेँ।
जागिर खोज्न जाने ठाउँ पनि खासै थिएन। पहिला पूरानै अफिस जानु उपयुक्त सोचेर त्यतै गएँ। भाग्य नै बलियो हो कि, अफिसमा एउटा पुलको सुपरभिजनका लागि दोलखाको तत्कालीन गौरीशंकर गाविसको बेदिंग भन्ने गाउँ जानु पर्ने रहेछ।
सरोज सरले दोलखा जान भन्नुभयो तर मलाई पुल सम्बन्धी कुनै जानकारी नै थिएन। त्यसैले जान्छु भन्न पनि गाह्रो, जान्न भन्यो भने पाएको जागिर पनि फुत्किने डर। सरसँग आफूलाई पुलको जानकारी छैन, कसो गर्ने होला भनेँ।
सरले सामान्य हेर्ने हो, प्रगतिको फोटो खिच्ने, पुलको मिस्त्रीहरूले सबै काम गर्छन्, अनुभवी ठेकेदार छन् केही फरक पर्दैन भन्नुभयो। मैले पनि हुन्न भनिनँ।
पुसको अन्तिममा दोलखा जाने कुरो भयो। काठमाडौंमा अहिलेजस्तो सबै ठाउँमा मोबाइल थिएन। पुलको म्यानिफ्याक्चर कम्पनीबाट दुई जना मिस्त्री सँगसँगै जाने कुरो थियो तर कुनै प्राविधिक कारण जाने यात्रा सँगै भइएन।
काठमाडौंबाट अरनिको यातायातको बस लाग्थ्यो। त्यतिबेला काठमाडौंबाट धुलिखेल पूर्व पाँचखाल उता सिन्धुपाल्चोक, दोलखा र रामेछाप जाने अरनिको यातायात चर्चित थियो। त्यस समय बनेपा बर्दिबासको बाटो खुलेको थिएन।
काठमाडौंबाट अरनिको राजमार्ग अनि लामोसाँघु जिरी सडकको यात्रा पहिलो थियो। खाडीचौरसम्मको सडक सामान्य भए पनि त्यहाँबाट मुडे, खरीढुंगा हुँदै चरिकोटसम्मको सडक विशेष थियो।
ठूला घुम्ती, पिच सडक, सडकका दायाँ-बायाँ हरियाली सडक। बायो इन्जिनियरिङको प्रचुर प्रयोग थियो। यो सडक खाडीचौरबाट मुडे, खरीढुंगा, चरिकोट हुँदै जिरीसम्म ११० किलोमिटर स्विस सरकारको सहयोगमा बनेको रहेछ। अहिले पनि त्यस्ता सडकको देशभरि आवश्यकता देखिन्छ। खै कहिले बन्ला? सोचनीय विषय छ।
बिहान काठमाडौंबाट हिँडेको गाडी चरिकोट पुग्दा लगभग ३ बजेको थियो। गाडी चरिकोटबाट भिमेश्वर मन्दिर, सुस्माक्षमावती हुँदै सिंगटी जाने रहेछ तर भिमेश्वर मन्दिर काटेपछि कच्ची सडक भएकोले सिंगटी पुग्न लगभग ४ घण्टा लागेको थियो।
मोबाइल फोनको समय नभएकोले सम्पर्कको आधार ठेगाना खोजेर जानुको विकल्प थिएन। अफिसबाट सिंगटीमा चिनारी गेस्ट हाउस पुगेर धर्मराज आचार्य कता हुनुहुन्छ भनेर सोधेपछि भेट हुन्छ अनि उहाँसँगै जाने हो भनेर भन्नुभएको थियो।
म चिनारी गेस्ट हाउसमा पुगेँ। होटलको साहुलाई धर्मराज आचार्यजी बारे सोधेँ। उहाँले भोलिपल्ट आउनुहुने भन्दै एउटा रूम देखाइदिनु भयो। म थाकेको थिएँ र खाना खाने पनि समय भैसकेकोले फ्रेस भएपछि खाना खाएर सुतेँ।
भोलिपल्ट बेलुका काठमाडौंबाट मिस्त्री साथीहरू र धर्मराजजी पनि आइपुग्नु भयो। भोलिपल्ट बिहानै हिँड्ने सल्लाहअनुसार हाम्रो पैदल यात्रा सुरु भयो।
अपर तामाकोशीको लागि सडक निर्माणको काम भैरहेको थियो। बाटो धेरै घुम्न पर्ने थियो। सिंगटीबाट हिडेर हामी पहिलो बास गगोर खोला भन्ने ठाउँ बसियो जुन ठाउँ अहिले अपर तामाकोशीको पावर स्टेशन रहेको छ।
त्यहाँ धर्मराज जीको फर्माइसमा सिस्नो र ढिडो खाएका थियौं हामीले। तर मकै भुटेर पिसेको पिठोको ढिडो खाएको मेरो पहिलो अनुभव थियो। त्यो त्यता तिरको चलन नै रहेछ, पहिलै मकै भुटेर पिठो बनाएपछि ढिडो नपाकेर पेट दुख्ला कि भन्ने डर नहुँदो रहेछ। आइडिया गजब लाग्यो।
दोस्रो दिनको यात्रा गगोर खोलाबाट बेदिंगतर्फ लाग्यौँ। बेदिंग एकैदिनमा नापुगिँदो रहेछ। ठाडै उकालो बाटो, कतै तेर्सो बाटो देख्न पनि नपाइने। किताबमा दिदीले पढेको घनघस्याको उकालो जस्तै लाग्यो, सायद यस्तै थियो होला।
गगोरबाट हिँडेको दिन बीचमा बास बसेर भोलिपल्ट बेलुका मात्र बेदिंग गाउँ पुगियो। धर्मराजजी गौरीशंकर गाविसको स्थानीय भएकाले कुनै समस्या थिएन।
बेदिंग गाउँका सबै घरमा होमस्टेजस्तै रहेछ। खानबस्नको कुनै समस्या नहुने। हाम्रो टोलीमा ५ जना भएकाले एकै घरमा सबैजना बस्न समस्या होला भनेर धर्मराज जीले दुई जना एउटा घरमा र तीन जना अर्को घरमा बस्ने गरी व्यवस्था मिलाउनु भयो।
बेदिंग गाउँ पूरै शेर्पा गाउँ लगभग ४०-४५ घर सेर्पा समुदाय रहेछ। गाउँका प्रत्येक घरमा एकजना सगरमाथा आरोहण नगरेको कोही नहुँदो रहेछ। पूरै सगरमाथा आरोहीको गाउँ विशेष पेसा नै ट्रेकिंग रहेछ यहाँका प्रत्येक युवा को।
बेलुका बेदिंग पुग्दा रात परिसकेकोले गाउँ कस्तो छ पत्तो भएन तर बिहान उठ्दा त एउटा छुट्टै स्वर्गमा पुगेको अनुभूति हुने गाउँ। रुख बिरुवा चाहिँ नभएको ठूलो पहाडको फेदीमा एउटा सुन्दर गाउँ। गाउँका भित्ता र पहाडका कोप्चेराहरूमा गुम्बा नै गुम्बा, अत्यन्तै सुन्दर गाउँ। छेउमा रोल्वालिंग खोला जुन छोरोल्पा हिमतालको पानी बग्ने।
बेदिंग गाउँ अत्यन्तै चिसो थियो। यहाँका घरहरूको छुट्टै विशेषता हुँदो रहेछ, घरहरू प्रायः एउटा मात्र कोठा भएको, अन्डरग्राउण्डमा गाईवस्तु थुन्ने अनि माथिल्लो तलामा आफू बस्ने। घरको बीच भागमा ठूलो फलामको चुलो प्रायः जुनसुकै बेला पनि आगो बलिरहने र घरका भित्ताहरूमा ठूला-ठूला काठका दराजहरूमा सामनहरू सजाएर राखिएको एकदमै सुन्दर तरिका यो शेर्पा गाउँको विशेषता नै रहेछ।
चुलोको वरिपरि खाटहरू, किचेन, डाइनिङ, बेडरूम एकै ठाउँमा हुने रहेछ। अर्को विशेषता प्रायः महिलाहरूको दाँतमा सुन लगाएको पनि हुँदो रहेछ। बेदिंग गाउँको आलु र टिमुर विशेष किसिमको छ। जति खाँदा पनि नखाउँ जस्तो नहुने।
शेर्पा समुदाय बौद्ध धर्म मान्ने भएकाले गाउँमा लामा गुरुहरू धेरै हुनुहुँदो रहेछ। लामा गुरुहरूको वचन यो समुदायको कानुनजस्तै हुँदो रहेछ। गाउँमा काटमार र शिकार गर्न पूरै प्रतिबन्ध हुने तर कुनै घरमा शाकाहारी चाहिँ नहुने अनौठो चलन पने देखियो।
यहाँको अर्को विशेषता भनेको नुन चियो हो। प्रत्येक घरको चुलोमा नुन चिया तयारी अवस्थामा हुन्छ। चौरीको दूध, चौरीकै घिउ, पानी अनि नुनको मिश्रणबाट चिया बनाइँदो रहेछ। यसलाई सु चिया पनि भनिदो रहेछ।
सुरु-सुरुमा त खासै मिठो लागेन तर पछि-पछि मिठो लाग्न थाल्यो। यहाँ चौरीको मोही पकाएर कोदोको ढिडोसँग खानुको मज्जा बेग्लै थियो अनि साँझको खानामा सेक्पा भन्ने एक प्रकारको परिकार जुन बजारमा पाइने थुक्पाजस्तै हुन्थ्यो।
हाम्रो पुलको साइट बेदिंग गाउँ नजिकै थियो। हाम्रो काम अलिअलि भैसकेको थियो भने धेरै काम बाँकी रहेछ। स्काफोल्डिङको प्रायः काम सकिएको थियो। पुलको मुख्य काम भने बाँकी रहेछ।
सामानहरू सबै पुगिसकेकोले काममा कुनै समस्या थिएन तर घाम नलाग्ने, अत्यन्तै चिसो भएकोले धेरै समय काम गर्न गाह्रो हुँदो रहेछ। खोलाको दायाँ साइडको फाउन्डेसन बोल्ट ढलान गरिएको तर बायाँ साइडको बाँकी रहेछ।
अरु काममा कुनै समस्या भएन, फाउन्डेसन बोल्टको पोसिजन फिक्स गरिसकेपछि हामीले ढलान गरिदियौँ। ढलान सेट हुन केही दिन लाग्ने भएकाले हामीले दुई दिन काम नै गरेनौँ, क्युरिङ गर्न लगाएर छाडिदियौँ। तर दुई दिनपछि हेर्दा त ढलान सेट नै भएको छैन!
के गर्ने, कसो गर्ने भनेर सोध्न कोही छैन। परीक्षण गर्ने कुनै साधन नै छैन। काम छाडेर हिँड्ने कि के गर्ने सोच्न सकिरहेको थिइनँ।
तेस्रो दिन पनि हामीले काम गरेनौँ। बेलुका यसो सोचेँ, धेरै चिसो भएर पो ढलान सेट नभएको हो कि? धर्मराज जीलाई पनि सुनाएँ। कि त सिमेन्ट ड्यामेज हुनसक्छ, अब पूरानो ढलान झिकेर पानी तताएर ढलान गरौँ भनेर सल्लाह गरेँ।
गाउँबाट ठूला-ठूला पानी तताउने भाडाकुडा जम्मा गर्न लगाएर पानी तताएर ढलान गर्ने नयाँ प्रयोग गरियो अनि पुनः दुई दिन क्युरिंग गर्न लगाएर छाडिदिएको त ढलान पूरै सेट भएछ। मन अलि खुसी भयो, आफ्नो मनको इन्जिनियरिङले पनि कहिलेकाहीँ काम गर्दो रहेछ।
माघ महिनाको आधाआधी भैसकेको थियो तर हिउँ भने परेको थिएन। छोरोल्पा हिमातात जम्मा ३ घण्टा पैदल दूरीमा थियो। जान मन छ तर जाने कोही साथी छैन। लामा गुरुहरूले जोखाना हेरेर कहिलेदेखि हिउँ पर्न सक्छ भनेर जोखाना हेर्ने चलन रहेछ।
बेदिंग गाउँमा प्रत्येक पूर्णिमामा मेला लाग्ने चलन रहेछ। मेलामा हामीलाई पनि निमन्त्रणा गर्नु भएको थियो र हाम्रो टोली मेलामा गएका थियौँ।
त्यही मेलामा एकजना साथी भेट हुनुभयो। उहाँ छोरोल्पा हिमतालमा जल तथा मौसम विज्ञान विभागको कर्मचारी हुनुहुँदो रहेछ। त्यतिबेला छोरोल्पा हिमतालमा आवाको व्यवस्था थियो संचारको लागि।
मेला सकेर उहाँ छोरोल्पा नै फर्कने हुनुहुँदो रहेछ। मैले पनि जाने इच्छा भएको तर साथी नभएर नगएको भनेपछि उहाँले सँगै जानको लागि भन्नुभयो। फेरि जान त साथी भयो, फर्कने साथी हुँदैन के गर्ने म दोधारमा परेँ। मिस्त्री टोली लिएर जाँदा काम नै रोकिन्छ, अरु कोही साथी भेटिएन।
हाम्रो पुल मिस्त्री एकजना पन्त जीले 'आज काम रोकेर भए पनि सर जाने भएपछि म पनि जान्छु सर' भन्नुभयो।
मैले 'ठिकै छ नि त, काम भोलि गरौँला जाउँ' भनेर दुई जना जाने निर्णय गर्यौँ। चाउचाउ, बिस्कुट, अलिअलि उसिनेको आलु, नुन-खुर्सानी, टिमुरको जोहो गरेर हामी छोरोल्पा जाने तयारी गरेको देखेपछि लामा गुरुहरू चकित पर्नु भएछ।
एकजना लामा गुरुले 'भोलिबाट हिउँ पर्ने संकेत छ तिमीहरू जान सक्दैन, मर्छ नजाऊ' भन्नुभयो।
तर छोरोल्पा हिमताल हेर्ने हुटहुटीले म मानिनँ। हाम्रो जाने निर्णय फेरिएन। हिमतालमै बस्ने दाजुले 'सरहरू हिँड्दै गर्नुस्, म हजुरहरूलाई भेटिहाल्छु' भन्नुभयो।
हामीले बाटो ततायौँ आफ्नै सुरमा।
जति माथि गयो उति रमाइलो। बाटोमा खासै हिउँ नभए पनि दायाँ-बायाँ हिउँले सेताम्मे ढाकेका हिमालहरू। कलकल बगेको रोल्वालिंग खोलाको आवाज मनै आनन्दित हुने। पूरै खोला ठाटो जमेको छ, भित्र-भित्र कलकल गरेको छ।
प्यास लागेर पानी अन्जुलीमा लिएर खाँदा पेट भित्रसम्म चिसो, त्यो आनन्दको व्याख्या गर्न नै सकिँदैन।
लगभग छोरोल्पा नजिकै पुग्दा एउटा अर्को सुन्दर गाउँ रहेछ। त्यो गाउँको नाम ना गाउँ रहेछ। अर्कै सुन्दर संसार, एकान्त। हिउँ नै हिउँको बीचमा यति सुन्दर गाउँ तर सबै घरका ढोका बन्द। ती सबै घरहरू बेदिंग गाउँकै बासिन्दाको रहेछ।
चिसो मौसम सुरु भएपछि पर्यटक नआउने अनि चिसोमा बस्न गाह्रो हुने भएकाले सबै बेदिंग गाउँ झर्ने चलन रहेछ। ना गाउँबाट भने छोरोल्पा हिमताल पुग्न ठाडै उकालो रहेछ। मन डराई-डराई उकालो पनि काटियो।
छोरोल्पा पुग्दा एउटा अर्कै आनन्द महसुस भयो। साँच्चै स्वर्ग भनेको यही पो हो कि! पूरै ताल बरफ भएर जमेको थियो। छोरोल्पा हिमताल फुट्न लागेको छ अरे भन्ने समाचारमा सुनेको थिएँ। त्यही भएर हिमतालको उचाइ घाटाईएको रहेछ।
तालको आउटलेटबाट निस्कने पानीबाट एउटा विद्युत आयोजना पनि संचालन गरिएको रहेछ। तालको वरिपरी रहेका ठूला-ठूला ढुंगाहरूमा तारहरू जेलिएका थिए। यो सबै केही गरी ताल फुट्यो भने तल-तलका वस्तीहरूमा साइरन बज्ने व्यवस्था गरिएको रहेछ। तर हामी जाँदा ती साइरनहरू अनि त्यसमा प्रयोग भएका सोलार प्यानलहरू प्रायः गायब भैसकेका थिए भन्ने सुनियो।
अहिले जस्तो सेल्फी खिच्ने मोबाइल हुन्थ्यो भने कति फोटो कैद हुन्थ्यो होला, कल्पना गर्छु अहिले। हामीसँग एउटा एनालग क्यामेरा थियो। रोल लगभग सकिन लागेकोले बाटोमा फोटो नै नखिची तालमा पुगेर फोटो खिच्ने भनेर जतन गरेका थियौँ।
तालको बीचमा एउटा टापु जस्तो थियो। ताल पूरै जमेको हुँदा त्यो टापुमा पुग्न खासै गाह्रो थिएन। हामी तालमाथि हिँडेर त्यो टापुमा पुग्यौँ। तालमाथि जमेको बरफ चट-चट गरेको आवाज आउने रहेछ। मनभित्र चाहिँ डर पनि नलागेको हैन।
टापुमा पुगेपछि अटो मोडमा राखेर दुवै जना तालमाथि बसेर फोटो खिच्न क्यामेरा मिलाउन पन्त जीलाई लगाएको थिएँ।अटो मोडमा थिच्नु पर्ने, रिवाइन्ड मोडमा थिचिदिनु भएछ। हाम्रा सबै सपना चकनाचुर। छोरोल्पा हिमतालमा फोटो खिच्न पनि पाइएन, एउटा नरमाइलो अनुभव भयो। फोटो खिच्ने सपना पूरा नभए पनि छोरोल्पा हिमताल पुग्ने सपना पूरा भएकोमा मन प्रफुल्लित थियो।
हावा धेरै चल्ने हुँदा तालमा धेरै समय बस्न भने गाह्रो हुने रहेछ। छिट्टै तल ना गाउँ झरेर लगेको खानेकुरो खायौँ र साँझ बेदिंग गाउँ आइपुगियो। यो यात्रा माघ महिनाको १४ गते थियो हाम्रो। हामी फर्किएपछि लामा गुरु पनि छक्क पर्नुभयो। ताल त पुगेन होला भन्नुभयो। पुगेको प्रमाण दिने फोटो पनि थिएन हामीसँग।
काम खासै सुरु नभएकोले भोलिपल्टबाट द्रुत गतिमा गर्नुपर्ने थियो। दुई दिन राम्रो काम भएको थियो तर तेस्रो दिनबाट मौसम अलिअलि परिवर्तन हुन थाल्यो। नभन्दै तेस्रो दिन हिउँ नै पर्यो।
पुल आधा मात्र भएको थियो। दिउँसोबाट हिउँ अलिअलि परेको थियो। ओडारमा आगो बाल्दै हिउँ हेर्दै दिनभरि बसियो। साँझ रहने कुनै संकेत नभएपछि हामी बासस्थान फर्कियौँ। कम्मरभन्दा माथि हिउँ थियो। बासस्थान पुग्दा जुत्ता, पाइन्ट केही ओभानो थिएन।
जीवनमा यसरी हिउँ पनि देखेको थिएन। चिसोले पूरै शरीर कठ्याङ्ग्रिएर मारिएला जस्तो भयो। बास बस्ने घरमा पुगेपछि घरबेटी आमाले चिसो लुगा जुत्ता खोल्न लगाउनु भयो र बाक्लो बक्खुले बेरिदिनु भयो।
आफूलाई आगो ताप्न मन लागेको थियो तर उहाँले 'औँला झर्छ आगो ताप्न हुन्न' भन्नुभयो।
हाम्रा देवता नै उहाँहरू हुनुहुन्थ्यो। एक घण्टा बक्खुमा बेरिएपछि केही न्यानो भयो अनि तातो सु चिया चार/पाँच कप खाएपछि शरीर न्यानो भयो।
त्यो रातभरि पनि हिउँ पर्यो। बिहान भने हिउँ बन्द भएको थियो। घाम राम्रो लागेको थियो। हामी बिहानको खाना खाएर साइट आउँदा हिजो र अस्ति जोडेको पुल हिउँ लोड थाम्न नसकेर स्काफोल्डिङ नै लच्किएछ। फेरि अर्को तनाव।
अब के गर्ने? पुल उठाउने कुनै सम्भावना देखिएन। पुल पुनः खोल्नुको कुनै विकल्प नै थिएन तर हिउँ कसरी पन्छाउने अर्को समस्या थियो।
धर्मराज जीले गाउँबाट केही मान्छे बोलाएर ल्याउनु भयो र हिउँ पन्छाएर दुई दिन गरेको काम पूरै खोलियो। पुनः काम जिरो भयो। दिउँसोबाट पुनः हिउँ थपिन थाल्यो। अब त्यहाँ बस्न सकिने अवस्था रहेन। हामीले फर्कने निर्णय गर्नुको विकल्प नै थिएन।
भोलिपल्ट बाटो तताइयो। फर्कँदा भने एकैदिनमा बेदिंगबाट गगोर खोला आइपुगिँदो रहेछ। त्यो रात गगोर खोला नै बसियो र जगत भन्ने ठाउँमा भिस्याट टेलिफोन थियो। अफिसमा फोन गरेर इतिवृत्तान्त बताएँ तर सरहरूले पत्याउनु भएन। केही दिन बाटो हेरेर काम सकेर मात्र फर्कनु भन्नुभयो।
दुई दिन जगत आएर बसियो। जगतमा पूराना मित्र अमितजी त्यही रोड प्रोजेक्टमा काम गर्नु हुन्थ्यो। रमाइलो नै भयो तर मौसम झन्-झन् खराब हुँदै गयो। तलतिर पानी पर्न लागेको थियो भने माथि-माथि डाँडाहरू सेताम्मे भएका थिए।
यस्तो अवस्थामा माथि फर्किएर काम गर्न सकिने अवस्था देखिएन र दुई दिनपछि हामी काठमाडौं फर्कियौँ। अफिसमा हिउँ परेर काम गर्न नसकेको भनेर विश्वास गर्न गाह्रो मान्नु भयो। त्यो वर्ष केही दिनपछि काठमाडौंमा पनि हिउँ पर्यो अनि बल्ल सबैले विश्वास गर्नुभयो।