दाइ, गुड मर्निङ! कस्तो छ हजुरलाई?
हजुर भाइ, गुड मर्निङ!
हल्का ज्यान दुख्या छ। युरिक एसिडको लेभल बढेजस्तो छ। खुट्टा पनि सुन्निएर टेक्नै नमिल्ने गरी दुखेको छ।
यहाँदेखि अगाडि बढ्न सकिँदैन जस्तो छ भाइ। अब पनि गाह्रो भए तपाईहरू अगाडि बढ्नु, म विस्तारै तल झर्छु।
मलाई चुनौती थियो। अब उहाँलाई सगरमाथा आधारशिविर पुर्याएर सकुशल फिर्ता लिएर आउनु।
हामी २८८० मिटरको उचाईमा लुक्लाबाट साढे चार घण्टामा पुगिने मन्जो भन्ने ठाउँमा बसेका थियौं। दाइको खुट्टा दुखेता पनि सुस्तरी हिँडेर अगाडि बढ्ने कोशिस गरिरहेका थियौं। त्यसैले बिहानै हिँड्न सुरू गरेका थियौं।
रामेछापको मन्थली एयरपोर्टबाट पहिलो फ्लाइटमा उड्न पाएको भए सोही रात नाम्चे बजार पुग्ने योजना थियो। तर तेश्रो फ्लाइटमा उड्न परेका कारण नाम्चे बजार पुग्न नसकेका कारण नाम्चेभन्दा तीन घण्टा वर मन्जो भन्ने ठाउँमा बसेका थियौं। होटलबाट साढे पाँच बजे बिहानै निस्कियौं। ५-७ मिनेट अगाडि सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोष्टमा इन्ट्री गरी आर्मीले सुरक्षाजाँच गरेर पठाउने रहेछ। चेकपोष्ट सात बजे मात्रै खुल्ने रहेछ। त्यसैले चिसो ठाउँमा एकाबिहानैको डेढ घण्टा कटाउन निकै गाह्रो भयो हामीलाई। बिहानैको उर्जावान डेढ घण्टा समयले हाम्रो त्यसदिनको गन्तव्य पनि पुग्न नसकिने आँकलन गरेको थियो। हाम्रो त्यस दिनको गन्तव्य डोलेसम्मको थियो। सात बजे इन्ट्री गर्ने कर्मचारी आएपछि इन्ट्री गरी चारजना अगाडि बढ्यौं। माथिबाट बग्दै दुधकोशी नदि कलकल बगिरहेको देख्दा आँखाहरू नतमस्तक भएका थिए। केहि अगाडि बढेपछि जोर-सल्लेमा ता-तातो चाउचाउको सुप खाएर नाम्चेतिर उकालो लाग्यौं।
अंग्रेजी अक्षर सी आकारमा रहेको नाम्चे बजार एक्कासी आँखा अगाडि देख्दा उकालो हिँडि आएका सबै थकान मेटिएको आभास भएको थियो। मिलेका उस्तै घर, होटल अनि त्यहाँको सजावट र संरचना देख्दा कुनै सम्पन्न सहरमा भएझैं महशुस हुन्थ्यो। बढि पर्यटकको ट्रेकिङ गन्तव्य भएकोले होला, यताका होटलमा भौतिक सजावट र संरचनामा निकै लगानी गरेको प्रष्ट देखिन्थ्यो। नाम्चे बजारमा गएर केहि होटलमा खानाको लागि बुझ्दा आफ्नै मनमर्जी दर लगाएको पाइयो। हामीसँग विकल्प नभएपछि बाध्य भएर तीमध्ये एक होटलमा खाना अर्डर गर्यौं। खाना पाकुन्जेल घाममा बस्यौं। जुत्ता खोली हेर्दा दाइको खुट्टा अझ बढि सुन्निएको थियो। उहाँको ठाउँमा म भएको भए यति पेलेर हिँड्न सक्दिनथेँ होला। मुभ स्प्रे गरी केहिबेर आराम गर्दा थोरै राहत महशुस गर्नुभएको थियो। तर युरिक एसिडको लेभल बढ्दाँ छोटो समय राहत मिलेको थियो। तर पनि लामो समयको दुखाई कम गर्न सक्दैनथ्यो। खानापछि दुखाई कम गर्ने औषधि लिएर अगाडि बढ्यौं।
एभरेष्ट भ्यू होटल, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल। समुन्द्री सतहबाट ३८८० मिटरको उचाईमा रहेको उक्त होटलबाट प्रष्टै सगरमाथा देखिन सकिन्छ। नाम्चे बजारबाट करिब दुई घण्टा उकालो हिँडेपछि उक्त होटल पुगिन्छ। सोझो अगाडिको बाटो जान सकिने भएपनि यहाँसम्म आएपछि त्यहाँ पुग्नुपर्छ भन्ने लाग्यो। दाइको खुट्टा दुखेता पनि उकालो चढ्ने साहस गर्यौं। खाना खानेबित्तिकै उकालो, त्यसमाथि उचाई बढ्दा, केहि समय हिँड्नासाथ केही समय थकान मार्नुपर्थ्यो।
डाँडामाथिबाट देखिने नाम्चे बजारको रौनक बिछट्टै रमाइलो देखिन्थ्यो। ३४०० मिटरको उचाईबाट ३८०० मा चढ्दै थियौं। उचाईको कारणले स्वास फेर्न गाह्रो भएको महशुस हुन्थ्यो बेलाबखत। पहाड उक्लिँदै गर्दा पुरानो स्याङबोचे एयरपोर्ट हाम्रो दायाँ पर्थ्यो। पहिला कुनै समय प्रयोगमा आएको एयरपोर्ट अहिले प्रयोगमा थिएन। स्याङबोचे एयरपोर्ट प्रयोग नहुँदा तल पर्ने स्टेसनको व्यापारमा आउने मन्दीले गर्दा उनीहरुले सिन्डिकेट गरेको स्थानीयको बुझाइ थियो।
डाँडामा पुगेपछि विश्वकै अग्लो चुचुरो सगरमाथासँगै लहरै नुप्त्से, अमादाबलम र ल्होत्सेको हिमशृंखला देखिएको थियो। चिसो स्याठ चलिरहेको थियो, हिमाललाई हेरी क्यामेरामा कैद गरी मन भरिएको थिएन, तैपनि दिन ढल्न थालेको थियो। एभरेष्ट भ्यू होटलमा केहिबेर घुमेपछि सोलुखुम्बुको पुरानो सभ्यता बोकेको खुम्जुङ गाउँ हिलारी स्कुल नजिकैको अमादाबलम होटलमा त्यस रात बिताउने निधो गर्यौं।
कञ्चन दन्तलहर हिमालमा बिहानी सूर्यको किरण, चिसो स्वाठसँगै बिहानै आहारा खोज्न निस्केका हिमालयन मुनाल, कोङ्मा हिउँ कुखुरासँगै अर्को दिनको यात्रा सुरू भइसकेका थियो। चिसोको कारणले पन्जा लगाएका हातले लौरो समात्नसमेत मिलेको थिएन। मोजाभित्र भएका औंलाहरू हिउँमा टेकिरहेझैं हुन्थे। हामीले अघिल्लो रातै डोलेमा पुग्ने योजना बनाएका थियौं। तर उक्त स्थान टाढा रहेछ। बिहान करिब तीन घण्टा हिँडेपछि मोङ्लामा पुगी रोटी तरकारी अर्डर गर्यौं। त्यसबखत भोक लागेकाले सबैले मजाले खायौं, तर रोटी काचै थियौं। रोटी बाक्लो भएर भित्रसम्म पाकेको थियो। जसोतसो खाना खाएर बिहानभरी चढेको उचाईभन्दा धेरै ओरालो झर्नुपर्ने रहेछ।
यस यात्रामा जाने पदयात्रीहरू उचाईसँग घुलमिल हुन कुनै स्टेशनमा बसेर नजिकैको डाँडा चढेर ओर्लिएर त्यहिँ बस्ने रहेछन्। हामीले यहि ओरालो उकालोलाई घुलमिल हुने मानेर हिँडिरहेका थियौं। मोङ्लाबाट रोटी खाएर तीन घण्टा ओरालो, उकालो गरिसकेपछि मात्र डोले आइपुग्यौं। हामी नेपाली पदयात्रीलाई केही समय अघि पुग्यो भने सोही स्टेशनमा बस्न मनै नलाग्ने, दुई पाइला भएपनी अगाडी बढ्न पाए अर्को दिन हिँड्न कम पर्ला भनेर डोलेमा चिया मात्र पिएर अगाडी बढ्यौं।
डोलेबाट हिँडेको एक डेढ घण्टामा एउटा मात्र होटल भएको स्टेशन आयो। अचम्म लागेको कुरा त के थियो भने, लुक्लाबाट अगाडी बढ्नदेखि नै हरेक कुराको मोलमा आफ्नै मनमानी थियो। होटल बस्नुअघि केहि नसोधि बसियो भने बिहान हिसाब गर्दा खानाको भन्दा डबल पैसा तातोपानीको आउँथ्यो। मोबाइल चार्ज, तातोपानी, कोठा, खाना आदिको दर पहिले नै तय गरेर के-के निशुल्क पाइने नपाइने भनी बुझेर मात्रै बस्नुपर्ने।
हामी एउटामात्रै होटल भएको ठाउँमा पुगेका थियौं। लगभग विदेशीले भरिएको होटलमा बुझौं भनेर पसेको, सबै कुरामा चार्ज लगाउने बस्ने भए बस्नु, नभए पाहुनाको कमी छैन भन्ने खालको प्रतिक्रिया पाएपछि अर्को एक डेढ घण्टा अगाडी बढ्ने निर्णय गरी अगाडि बढ्यौं। अगाडिको स्टेशन लुजामा दुई होटल मात्रै थिए। झिसमिसे अँध्यारो भइसकेको थियो। अब यहाँभन्दा अगाडि बढ्न सकिने अवस्था थिएन। सोहिमध्ये एक होटलमा गएर डाइनिङमा बस्दै खाना, बस्नको भाउ बुझेर केहि दर मिलाउन खोज्दा साहुजी कराउन थाले।
बस्नुहुन्छ भने बस्नुस, नभए जान सक्नुहुन्छ।
सुरूमा बार्गेनिङ गरेको मन पर्दैन भनेर। यस यात्राको तितो पक्ष भनेको आतिथ्य लाग्यो। पर्यटनकर्मीहरूले बोल्ने लवज पुरै सामन्ती खालको, खाए खा, नखाए घिच भन्ने खालको, नहोस् पनि कसरी, यात्राभरीको कुनैपनि त्यस्तो पाँच मिनेट थिएन, जहाँ अर्को पदयात्री नभेटियोस्। आएका मध्ये ९० प्रतिशत डलर बोक्ने विदेशी, त्यसैले होला नेपाली पर्यटकलाई उपेक्षित गरिहाल्ने, नेपाली भएकै कारण बास नै नपाइने हो कि झैं लाग्थ्यो। यताका पर्यटनकर्मीको होटलको डेकोरेसन जस्तै बोलीमा थोरै मात्रै मिठास हुन्थ्यो त सुनमा सुगन्ध हुन्थ्यो। बिहान खाएको नपाकेको रोटीको असर बिस्तारै सबैमा देखिँदै थियो।
चिसोले टाउको दुख्ने, त्यसमाथि पेटमा पनि समस्या। ४१०० को उचाईमा रात बिताइरहँदा राति श्वासप्रश्वासमा समेत गाह्रो महशुस हुन्थ्यो।
दाइ, हामी त सगरमाथा बेस क्याम्प ट्रेकिङ जाने भयौं नि।
भर्खर १५-२० मिनेट अगाडि अनेक प्रयासमा रामेछाप मन्थलीबाट लुक्लालाई तिहारको पर्सिपल्टलाई बल्लतल्ल टिकट पाइयो भनेँ।
ए, हो र? कति जना?
सुरूमा चारजना जाने योजना बनाएका थियौं, एकको स्वास्थ्यमा समस्या र अर्को सरको समय नमिलेर अहिले दुईजना मात्रै भयौं। दुईजना मात्र हुँदा रूट परिवर्तन गरेर अर्को यात्रामा जाने कि भन्ने थियो, अन्तिममा यहि फाइनल भयो।
ए, अनि केहि खबर गरेनौ त, नभए म पनि जान्थेँ।
दाई अझै पनि टिकट पाइने भएमा त जान सकिन्छ, बुझौं म टिकटलाई?
तारा एयरमा फोन गरेर अर्को टिकटलाई बुझेपछि तत्काल तारा एयरको काठमाडौंमा सम्पर्क गर्नुपर्ने भएपछि दाइले काठमाडौंमा अर्को सरलाई बुझ्न पठाउँदा अर्को एक टिकट पनि फेला पारेपछि बनेको थियो हाम्रो चारजनाको टोली। जुम्लादेखि काठमाडौं अनि पोखरासम्मको दाजुभाइ यात्रासँगै गर्ने उत्साह मनमा आइसकेको थियो।
कहिले बिदा होला, तिहारमा घर जाउँला अनि यात्रा सुरू गरौँला भन्ने थियो। यसपटक सगरमाथा बेसक्याम्प जाने उत्साहले गर्दा तिहारमा खासै ध्यान नै भएन।
तिहार टिका लगाउने बितिकै काठमाडौंको टिकट लिएको थिएँ। भोलिपल्ट काठमाडौंदेखि रामेछाप पुग्नुपर्ने थियो हामीलाई। काठमाडौं पुगेपछि भोलिपल्ट रामेछापलाई गाडिको टिकट बुझ्दा केहि असहज देखिएपछि रामेछापसम्म बाइकमा जाने कि भन्ने प्रस्ताब गर्दा बिपि राजमार्ग बाइकमा हेर्दै, फोटो खिच्दै जान पहिलादेखिको इच्छा थियो। त्यसैले बाइकमा जाने निर्णय गर्यौं। घरमा हामी बाइकमा रामेछाप गएको कुरा थाहा पनि छैन।
बिहान खाना खाएर दस बजे सल्लाघारीमा भेट भएर यात्रा सुरू गरियो। आफूले मन लागेको ठाउँमा रोक्दै, फोटो खिच्दै यात्रा गर्दाको मज्जा नै छुट्टै थियो। मन्थली पुगेर पुरानो सदरमुकामसम्म पुगेर फर्कियौं। बिहान हल्का ब्रेकफास्ट लिएर संभव भएसम्म पहिलो फ्लाइटमा जान पाइएमा सोहिदिन नाम्चे बजारसम्म पुग्न सकिएला भनेर एयरपोर्ट पुगेको भए ११ बजे मात्रै तारा एयर लुक्लातर्फ उड्यो।
लुजाको त्यो नरमाइलो बिहान, रातभर सुत्दा स्वास फेर्न अप्ठ्यारो भएको कारण अगाडि बढ्न नसक्ने भनेर हाम्रो एकजना सरले भनेपछि हामीले कर गरेर अघि लिएर जानसक्ने स्थिति पनि थिएन। तेस्रो रात बसिन्जेलसम्म होटलमा भेटिने पाहुनाहरू, गाइडहरूले चोला पास गर्न गाह्रो भएको कुरा सुनाउँदा उहाँको मनोबल कमजोर भएको थियो। हामी सबैजना सँगै फर्कने अवस्थामा पनि थिएनौं। धेरै पहिलादेखि सगरमाथा बेस क्याम्प जाने भन्दै गर्दाको योजना तत्काल छोड्न पनि सकिन्थेन। उहाँलाई बिदाई गरेर ओरालो पठाएपछि अघि बढ्यौं हामीहरू। सँगै आएको साथीलाई बिचमै फिर्ता गराउनुपर्दा उहाँलाई भन्दा हामीलाई बढि नरमाइलो लागेको थियो। मोछेर्मोमा बिहानको खाना खान पुग्यौं। चिसोले गर्दा खाना पनि रुच्न छोडिसकेको थियो।
त्यहिमाथि बाहिरी पर्यटकहरूको धेरै आवतजावत हुने क्षेत्र भएको हुँदा हामीले सोचेको जस्तो मसालादार खाना खान पाइन्थेन, खाएका सबैकुरा अल्नो लाग्थ्यो। मोछेर्माेबाट तीन घण्टामा गोक्यो ताल पुग्न सकिने भएता पनि खाना खाएपछि हिँडाई सुस्त भएको थियो। हामी चार घण्टामा गोक्यो ताल पुग्यौं। नेटवर्क अनि नेटबाट बञ्चित भएर बस्नुपर्ने थियो। समुन्द्री सतहबाट ४८०० मिटरको उचाईमा बसेका थियौं। बिहानै उठेर ५३५७ उचाईमा गोक्यो रि पुग्नुपर्ने भएकाले बिहानको लागि तयारी गरेर छिटै आराम गर्याैं।
भाइहरु माथि पुगेर आउनुहोला, मलाई गाह्रो भयो, यहाँदेखि माथि चढ्न सक्दिनँ।
गोक्यो तालदेखि बिहानै हिँडेर दुईघण्टाजति हिँडेपछि दाइलाई असहज भएर भन्नुभएको थियो। हामी गोक्यो री पुग्ने बाटोको करिब आधा बाटो पार गरिसकेका थियौं। सगरमाथा हिमालको चुचुरो देखिन थालेको थियो। श्वासप्रश्वासमा कठिनाई, खुट्टाको दुखाईले गर्दा गाह्रो भएर केहिबेर आराम गरेपछि ग्लुकोज पानी पिएर केहि समय उकालो उक्लन कोशिस पनि गर्यौं। अझै गाह्रो भएमा फर्कनुहोला भनेर अगाडि बढ्न लाग्यौं। त्यसदिन ग्लुकोजले यति छिटो राहत दियो, सबैभन्दा छिटो हामीमध्ये दाई गोक्यो रि पुग्नुभयो।
गोक्यो री, वरपर पुरै हिमाल, तल गोक्यो तालसहित अन्य सहायक दुई ताल, सानासाना हिँउ जमेका कुण्डहरू, सबैकुराको एकैपटक आनन्द लिन सकिने ठाउँ रहेछ। सगरमाथा हिमाल सबैभन्दा राम्रो देखिने भएर पनि गोक्यो रीलाई सगरमाथा बेस क्याम्प सर्किटको प्रमुख गन्तव्यको रुपमा लिइने रहेछ। वरपरको दृश्य नियालिरहँदा त्यहिँ ठाउँमा बसिरहे झैं लागेपनि धेरैबेर चिसोमा बस्न नसकिने भएको हुँदा केहि फोटो भिडियो खिचेर ओरालो झर्न तम्सियौं। उकालो चढ्दा चार घण्टा लागेको बाटो ओरालो ४५ मिनेटमा झरीसकेका थियौं। बसेको होटलमा फर्केपछि खाना खाएर त्यस दिनको बसाइँ चोलापासभन्दा केहि अगाडि बस्ने योजना भयो। त्यसै अनुसार खाना खाएर ठाङनाकतर्फ लाग्यौं। गोजुम्पा हिमनदी पार गरेर जानुपर्थ्यो। बाहिर पानी बगेको देखिदैनथ्यो। हिमनदि पार गरिरहँदा अद्भूत महशुस ह्न्थ्यो। सानासाना हिउँ जमेका कुण्डहरू प्रशस्तै देखिन्थे। बगरमा हिँड्दा बाटो एकदमै अप्ठ्यारो लाग्थ्यो। पहिरोमाथि हिँडिरहेको अनुभव हुन्थ्यो। ढुंगा-ढुंगा फिड्केर अगाडि बढ्दा बेलाबेला बाटोको डोरी नै हराउँथ्यो।
ढिलो घाम उदाउने अनि छिट्टै अस्ताइहाल्ने पहाडको खोँचमा ५-७ वटा होटलसहितको चोलापासको आधारशिविर मानिने बस्ती रहेछ ठाङनाक। यहाँका साहुजी अन्यभन्दा धेरै मिजासिला र आतिथ्य जानेका थिए। भोलिपल्ट हाम्रो यात्राको सबैभन्दा गाह्रो दिनको रुपमा बुझेका थियौं। किनकी बसेको ठाउँबाट चोलापास गरेर नजिकको स्टेशन पुग्न ७-८ घण्टा लाग्थ्यो। बीचमा खाना, पानी सबै आफैंले व्यवस्था गर्नुपर्थ्यो। भोलिको लागि चाहिने खाजा प्याकिङ गर्न अर्डर दिएका थियौं। साँझ खाना नरूचेपछि काचाङकुचुङ खाएर आराम गर्यौं।
उकालो बाटो, छाती फुलेर सास फेर्न गाह्रो महशुस भइरहेको थियो। पानी बढि खाऊँ भने एक बोतल पानीले चोला पास गरेर जोङ्लासम्म पुग्नु थियो। भित्रभित्र खोला बगेको आवाज सुनिन्थ्यो, तर देखिन्नथियो। देखिएका ठाउँमा पानी जमेका बाटोहरू पछ्याउँदै साहुजीले प्याक गरेको खाजासहित उकालो लागिसकेका थियौं। पारी डाँडामा लागेको घामको न्यानोपनलाई महशुस गर्दै, घामलाई पछ्याउँदै जाँदा चोला पासको फेदमा गुग्यौं। केहि खानेकुरा, पानी खान बसेको बेला घामको दर्शन गर्न पनि पाइयो। अगाडिपछाडि भएका साथीसँगै लस्करै उकालो चढ्न थाल्यौं। झोलुङ्गे पुलमा राखिने लठ्ठालाई ढुंगामा खोपेर समात्न मिल्नेगरी बाटोमा सपोर्ट राखिएको थियो। अन्तिमको ठाडो उकालोले हामी सबैलाई प्याकप्याक समेत बनायो।
चोला पास, समुन्द्री सतहबाट ५३६१ मिटरको उचाईमा रहेको भन्ज्याङमा करिब ११ बजेतिर हामीले पाइला राख्दा हाम्रो खुशीको सिमा थिएन। बाटो वरपर केही हिउँ देखिन्थे तर बाटोमै पास हुनेगरी थिएन। हिउँ परेको समय हुँदो हो त चोलापास निकै चुनौतिपूर्ण हुने सहजै अनुमान लगाउन सकिन्थ्यो। चिसो सिरेटोले कानमा सुस्केरा हाल्थ्यो, कुनबेला तल झर्नु भनेझैं हुन्थ्यो। बिहान होटलबाट प्याकिङ गरेको खाजा चिसोले कठ्याङग्रिएको थियो। शरिर काँपेर खपिसक्नु थिएन। खाजा बल्लतल्ल खोलेर खायौं, तर चपाउन नै गाह्रो हुने रोटी खानै सकिएन। रूचेको जति खाएर ओरालो लाग्न थाल्यौं। करिब १.५ किलोमिटर जति जमेको हिँउमा हिँड्नुपर्थ्यो। कतिबेला जुत्ता चिप्लन्थे, कतिबेला लठ्ठीले भर पाउन्नथ्यो, थाहै हुन्नथ्यो यस्तैबीचमा हिँउमा हिँड्नुपर्ने बाटो पार गरिएको थियो। चोला पास गरेको रौनकमा ओरालो हिँडेर करिब दुई घण्टामा जोङ्ला पुगेको थाहा भएन। हामीले दुई बजे नै त्यस दिनको हिँडाइलाई बिट मार्यौं।
६५ वर्ष कटिसकेका दुई इन्डियन पर्यटकसँग हाम्रो जोङ्लामा भेट भयो। एकजना सरकारी सेवाबाट निवृत र अर्को पारिवारीक व्यापार नयाँ पुस्तामा हस्तान्तरण गरी घुम्न निस्केका रहेछन्। यो उमेरमा आएर पनि यतिको आँट लिएर यहाँसम्म आउनुभएका ती घुमन्ते एक्लैएक्लै इन्डियामै घुम्ने क्रममा भेट भएको रोचक कथा सुन्न खुब रमाइलो भयो। उनीहरूको त्यो उत्साह देख्दा आफूले पनि त्यस उमेरसम्म यस्तै स्वस्थ जीवन पाए नेपालका धेरै सुन्दर ठाउँहरु पुग्न सकिने अनुमान लगाएँ।
लोबुचे, सगरमाथा बेस क्याम्प जान बास बस्ने दोश्रो नजिकको स्टेशन थियो। करिब पाँच हजार मिटरको उचाईमा रहेको बस्तीमा बेलुकी साढे नौ बजे पुगेका थियौं। आज हाम्रो गन्तव्य गोरखसेप लोबुचेबाट साढे तीन घण्टामै पुगिन्थ्यो। त्यसैले खाना खाएर आरामसँग जाने सल्लाह गर्यौं र खाना खाएर निस्कियौं। निस्किँदा ११ बजिसकेको थियो। खाना खाएपछि हिँडाइ सुस्त भयो।
बाटोमा सगरमाथा राष्ट्रिय निकुञ्जले आयोजना गरेको म्याराथनमा भाग लिएका धावकहरू भेटिन्थे। गोरकसेप पुग्नुभन्दा अगाडिको अन्तिम उकालो, हेर्दा कम लागेपनि छिचोल्न निकै समय लाग्यो। हामी हिमनदी किनारै किनार हिँड्दै बाटो पार गरिरहेका थियौं। स्थानीयका अनुसार यहाँ कतापटि हिमनदिले खोलेर कता बाटो बनाउनुपर्छ थाहा नै नहुने रहेछ। पहिरोको बाटो हिँडेभन्दा खतरानक बाटो थियो।
डाँडामा पुगेपछि आधारशिविर पुग्नलाई अन्तिम बस्ती ५१९० मिटरको उचाईमा रहेको गोरखसेप भनी देखिन्थ्यो। पर आधार शिविरसँगै देखिने आइसवर्ग, माथि कालापत्थरको डाँडा, वरपर हिमालको मनोरम दृश्य अनि अगाडि गोरखसेप सबै एकैपटक देख्दा स्वर्गीय आनन्द महशुस भयो। कम मात्रामा होटल तथा लजको व्यवस्था भएको गोरखसेपमा बास नपाइने अवस्था आउन सक्छ भनेर पदयात्रीहरूले सुनाए थिए। त्यसैले पनि हामी जतिसक्दो छिटो बासको व्यवस्था गर्नतर्फ लाग्यौं। कोठा लिई तातोपानी लिएर बसुन्जेलसम्म हाम्रो एकजना साथी आइपुग्नुभएको थिएन। साढे दुई बजेको हुँदा त्यसैदिन सगरमाथा बेसक्याम्प पुग्न सक्ने कुरा थाहा पायौं। उक्त कुरा होटलमा सोधेर थाहा पाएका थियौं। एकजना साथी आइपुग्न अझै बाँकी थियो। त्यसैले जान कुरा त्यही रोकियो।
पछि पर्नुभएको सर आइपुगेपछि कुरा गर्दा आजैको हिँडाइ धेरै भएको बताउनुभयो। उहाँ पहिले पनि आधारशिविर पुगिसक्नुभएको थियो। त्यसैले उहाँको कुरालाई हामीले आत्मासाथ गरी उक्त दिन हामी मात्र जाने निधो गर्यौं। पानी र केहि खानेकुरा बोकी आधार शिविरतर्फ लाग्यौं।
हामी आधार शिविरतर्फ अगाडि बढिरहँदा फर्किने यात्रीहरू मात्रै भेटिन्थे। घाम अस्ताउँदै थियो। आधार शिविर पुग्दा पौने पाँच भइसकेको थियो। एभरेष्ट बेस क्याम्प ५३६४ मि लेखेको ढुंगामाथि चढेर ढाकाटोपी लगाई, हातमा नेपालको झण्डा फर्फराउँदा गौरवान्वित महशुस भएको थियो। घाम अस्ताइसकेको भएर तस्वीर सोचेजस्तो राम्रो नआएपछि फर्कियौं। जुनको उज्यालोमा हामी गोरखसेपतर्फ फर्कँदै थियौं। फर्केर होटल आएपछि खाना रुच्न छोडेको थियो। अन्य खानेकुरा खाएर डाइनिङमा बसिरहेका थिए। ट्रेकिङ गाइडहरू सुत्नुपर्ने भएकाले अन्य पाहुनाहरूलाई आफ्नो कोठामा गइदिन आग्रह गरेपछि हामी पनि कोठामा लाग्यौं।
खुम्बु क्षेत्रमा गाइड अनि पोर्टरलाई गरिने व्यवहार सुरूदेखि असामान्य लाग्थ्यो। गाइडहरूले डाइनिङमा सुत्ने व्यवस्था पाउने भएपनि पोर्टरहरू होटलमा सामान छोड्न र लिन जान मात्र छिर्न पाउने रहेछन्। अन्यथा उनीहरू खानाबस्नको लागि छुट्टै पोर्टर हाउस भनी भट्टीजस्ता ठाउँ बनेका हुँदा रहेछन्। खानाको दरमा जहाँ पनि मनोमानी थियो। दिनभरको कमाइले मुस्किलले ४०० -५०० बचाउने सक्ने कुरा एकजना पोर्टर दाइले गर्नुभएको थियो।
कोठामा पुगेर आराम गर्नुअघि हल्का टाउको दुखिरहेको, सामान्य ज्वरो आइरहेको जस्तो महशुस भएपनि हामीले कुनै औषधी नलिई आराम गर्यौं। बिहान दुई बजे अर्को कोठामा आराम गर्नुभएको सरले ढोका ढक्ढकाएपछि ब्युँझिएँ। ज्वरो आएका कारण औषधि लिन बोलाउनु भएको रहेछ। औषधि लिएर गएपछि हामी दाजुभाइ निदाउन सकेनौं। चिसो ठाउँमा कसैले निद्रा बिथोलि दिएपछि फेरि निदाउन गाह्रो हुने रहेछ। स्वास्थ्य प्रतिकूल रहेको बेला निद्रा बिथोलिँदा झनै गाह्रो बनाउने देखियो।
हाम्रो योजना कालापत्थर जाने थियो। बिहान उठ्दा पनि टाउको दुखाई उस्तै थियो। केहि दिनदेखि खाना राम्रो नरूचेको भएर ज्यान कमजोर महशुस भएको थियो। जति सकिन्छ अगाडि बढ्ने नसके फर्कने भनेर सल्लाह गर्यौं। तर दाइको ज्यान कमजोरीले गर्दा काँपेको जस्तो भयो। दाइको स्वास्थ्यलाई मध्यनजर गर्दै तलै झर्यौं। हामीले गोक्यो रीबाट सगरमाथाको सबैभन्दा राम्रो रुप नियालीसकेका थियौं। त्यसैले पनि खासै उत्साहित थिएनौं, कालापत्थर पुग्नको लागि। अर्को सर पोहोरसाल पनि बेस क्याम्पसम्म मात्रै पुग्नुभएको भएर यसपटक पुगेरै फर्किन्छु भनेपछि उहाँ माथितिर लाग्नुभयो। सँगसँगै आएको एकजना सर पहिला नै छुटिसक्नु भएको थियो। फेरि अर्को सरसँग छुटिनुपर्दा हामी सबैजना दुःखी थियौं, यद्यपी स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नै पर्थ्यो।
ओरालो झर्न सुरू गरेका हामी डेढ घण्टामै लोबुचे पुगिसकेका थियौं। हामीलाई अघिल्लो दिन त्यहि बाटो पार गर्न चार घण्टा लागेको थियो। लोबुचेमा खाना खाएपछि आज नाम्चे बजार पुग्ने निधो गर्यौं। ओरालो झर्दै जाँदा उचाई कम भएकाले सहज महशुस भइरहेको थियो। केही खानेकुरा अझै बाँकी थियो। त्यसैले होटलमा खाजाका लागि पस्नुपर्ने थिएन।
थुक्लाबाट डिङबोचेतर्फ नगई सोझै तल फेरूचे हुँदै तल लाग्यौं। साँझ पर्न थालिसकेको थियो, हामी नाम्चेभन्दा एक डेढ घण्टा पर थियौ।
घुम्न आउने मान्छेहरू गोरखसेपदेखि नाम्चेसम्म एकैदिन बिरलै हिँड्ने रहेछन्। हाम्रो हिँडाइले साहुजी दंग मान्दै थिए। बिहान सक्दो सबेरै निस्किनुपर्ने हुँदा साँझ हिसाब गरी झोलाहरू तयार पारेर आराम गर्यौँ।
दाइ कहाँसम्म पुग्नुहुने हजुर?
नाम्चे बजारबाट ओरालो सकिने बेलाको पुल नजिक खाली डोको बोकेर तलतिर जाँदै गरेका स्थानीय देखेर हामीले सोध्यौं। उनी पनि लुक्लासम्म जाने रहेछन्।
हामीलाई लुक्ला छिटो पुग्नु थियो। मैले खाली डोको देखेर उहाँलाई झोला बोक्दिनुहुन्छ भनेर सोधें। तलबाट आएको सामान लिनलाई ओरालो झरेका उनी माथीबाट झर्दापनि भारी पाएपछि खुशी हुँदै हुन्छ भने। सामान उनको डोकोमा राखेपछि अब हामी आजै लुक्ला पुगेर मन्थली उड्न सकिने सम्भावना अझ बढ्यो। हामीभन्दा अगाडि अगाडि हिँडिरहेका उनी एउटा बिसौनीमा भारी बिसाएर ‘सरहरू अगाडि बढ्दै गर्नुस्, म चिया पिएर एकैछिनमा भेटिहाल्छु’ भनेपछि हामी उनलाई पछि छोडेर अगाडि बढ्यौं। अबको डेढ दुई घण्टामा लुक्ला पुग्न सकिने भएपछि समिट एयरमा फोन गरेर दुई टिकट होल्ड गराएका थियौं।
हामी अगाडि बढिरहँदा पछाडि देखिने परसम्मको बाटोमा पनि भारीवाला दाइ आएका थिएनन्। उनीलाई झोला बोकाएपछि छिटो होला भनेको उनैको कारणले ढिलो हुने देखियो। लुक्ला पुग्नुभन्दा आधा घण्टा अगाडि पुगेर धेरैबेर कुरेपछि हल्लिदैँ आएको देखियो। चिया खान पसेका उनी साथीहरू भेटेर बिहानै मद्यपान गरेछन्। भेटेपछि उनलाई अघि लगाएर लुक्ला पुग्दा एक बजेको भएर त्यसदिनको फ्लाइट नभेटिएपछि भोलिको लागि तारा एयरको टिकट लिएर त्यसरात तारा एयरकै स्टेशन मेनेजरको होटलमा बास बस्यौं। भोलिपल्टको पहिलो प्लेनमा उड्ने बुकिङ लिएर छिट्टै पुगेका हामी त्यस दिन आराम गर्ने मेसो गर्यौं।
बिहान साढे पाँच बजे नै एयरपोर्ट पुगिसकेका थियौं। हामी दाजुभाइलाई नै पहिलो फ्लाइट भनेता पनि सबै यात्रुहरूलाई मिलाउँदा पहिलो र दोश्रो फ्लाइट गर्नुपर्ने भयो। दाइलाई पहिलो फ्लाइटमा चढाएर म अर्को फ्लाइटको बोर्डिङ पास लिएर भित्र बसेँ। मन्थली ओर्लेपछि खाना खाएर काठमाडौंलाई गाडी चढेर साँझ काठमाडौं पुगेपछि हाम्रो यस यात्राको समापन भयो।
खुम्बु क्षेत्रको ट्रेकिङ गर्ने आँट आफैंमा एउटा साहस हो।
यहाँभन्दा पहिले तीन हजार मिटरको हाराहारी मात्रै पुगेका व्यक्तिले मौसमसँग घुलमिल हुन कुनै दिन नखर्चि सकुशल ५ हजार ३६४ मिटरको यात्रा तय गर्न अन्तरमनको साहस चाहिन्छ। हामीले केहि लचिलो समय लिएर विश्राम गर्दै जाँदा अझ सहज हुने देखिन्छ। विशेषतः नेपालीहरू यस क्षेत्रमा घुम्न जाँदा अल्नो खाना खान सक्ने अनि उनीहरुको हेपाहा प्रवृतिलाई सहनसक्छु भन्ने कुरा मनन् गरेर जानुभयो भने सहज हुन्छ।
अन्तमा, अनुभव तितोमिठो जे-जस्तो भएपनि पुगी फर्किँदासम्म प्राकृतिक सौन्दर्यले यी सबैकुरा बिर्सन बाध्य बनाउँछ। उक्त यात्रामा कतिपय स्थानमा नेटवर्कको पहुँच नभएकोले कसैलाई गाह्रो, अप्ठ्यारो पर्दा आपतकालीन उद्दार समेत पाउन गाह्रो हुने महशुस भएकोमा नेटवर्कको पहुँच अझै विस्तार गर्न सके अझ उत्तम हुने देखियो। यस क्षेत्रमा रहेका पर्यटन व्यवसायीहरूले विशेष गरी आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्न हस्पिटालिटीको गुणस्तर बढाउन सकेमा समग्र पर्यटन क्षेत्रले अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ। समग्रमा, खुम्बु क्षेत्र ट्रेकिङ रूट आफैंमा एउटा साहसिक यात्रा हो। उचाईको हिसाबले उच्च, अनि बाटोको हिसाबले पनि कठिन मानिने यस यात्रा धर्तीको एउटा सुन्दर उपमा हो। प्रकृतिमा रमाउने जो कोहि एकपटक पुग्नै पर्ने ठाँउ हो खुम्बु क्षेत्र। हिमाल, पहाड अनि ताल सम्पूर्ण अनुभव एकैपटक लिन मिल्ने अमूल्य उपहार हो खुम्बु क्षेत्र।
सगरमाथासँग हरेक प्रश्नको उत्तर छ भनेर हिन्दी फिल्म उचाइँमा भनेको कुरालाई उदृत गर्दै एकपटक सगरमाथासँग साक्षात्कार हुनलाई खुम्बु क्षेत्र जानैपर्ने ठाउँको रूपमा लिनुपर्ने देखिन्छ।