मलाई मैले गरेको सबै नेपाल यात्राहरू विशेष लाग्छ। मानिसको जीवनजस्तै मेरो यात्रा कहिले साल श्रवणसुख, कहिले दुःख। यस्तै यात्राहरूमध्ये संखुवासभाको यात्रा मलाई अझ विशेष लाग्छ।
यो यात्रा साउन महिना तिरको हो। त्यतिबेला हाम्रो सितारा कन्सल्टले उत्तर दक्षिण कोशी रोड अन्तर्गत संखुवासभाको नुम किमाथांक खण्डको ४०-४५ किलोमिटर जति सडकको सर्वेक्षणको जिम्मा पाएको थियो।
कामको सम्झौता भैसकेको हुँदा हामीलाई सर्वेक्षणको काम सुरु गर्न एक किसिमको प्रेसर थियो। अफिसको सल्लाहबमोजिम सर्वेक्षणमा मलगायत गणेशराज कडरियाजी, देवराज गौतमजी, सनम बलायजी र अफिस बाहिरबाट नारायण सापकोटाजीका साथै बिनोदजी हुनुहुन्थ्यो।
काठमाडौंबाट सुरुमा साइट भिजिटको लागि गणेशजी र देवराजजी संखुवासभाको भोटखोलाको यात्रामा निस्कनु भयो। उहाँ त्यहाँको वस्तुस्थिति बुझिसकेपछि काठमाडौंबाट कस्तो तयारीको साथ साइट जाने भन्ने नै हाम्रो तयारी थियो।
उहाँहरूले पहिलो चरणको काम सकेपछि काठमाडौंबाट के-कस्तो बन्दोबस्तको साथ आउने खबर गर्नुभयो। त्यसपछि हाम्रो दोस्रो टोली काठमाडौंबाट संखुवासभाको यात्रामा निस्कियौँ।
नारायणजी र बिनोदजी मेरो टोलीको सदस्य हुनुहुन्थ्यो। काठामाडौँदेखि पूर्वी पहाडी जिल्लाको यात्रा मलाई पहिलेदेखि नै विशेष रमाइलो लाग्दथ्यो। पहिला भोजपुर धेरै समय बसिसकेको हुँदा धनकुटा हिलेसम्मको लागि मेरो यात्रा नौलो थिएन भने हिलेबाट वसन्तपुर, चैनपुर हुँदै खाँदबारीको यात्रा अलि फरक थियो।
पूर्वको यात्रा गरिसकेकाले मैले काठमाडौंबाट धरानसम्म नाइट बसको टिकट बन्दोबस्त गरेँ। भोलिपल्ट बिहान धरान पुगेपछि त्यहाँबाट तुम्लिङटारको यात्रा गरियो। तुम्लिङटार पुग्न त्यति बेला वसन्तपुरदेखि चैनपुरसम्म सडक पिच थियो भने चैनपुरदेखि उता सडक कच्ची नै थियो।
तुम्लिङटार नपुग्दै बीचमा सभा खोला थियो। हाम्रो दोस्रो चरणको यात्रा त्यही सकियो। सभा खोलामा पुल थिएन, डुंगा चढेर पारि जानुपर्ने। काठको ठूलो डुंगा र डुंगालाई वारिपारि ठूलो डोरी लगाएर तान्ने व्यवस्था थियो।
सभा खोला अरुणसँगै नजिकै जोडिएको थियो। यदि डुंगा तान्ने डोरी केही गरी फुत्कियो भने फर्कने सम्भावना कम थियो। त्यसमा पनि म पौडी खेल्न नजान्ने। नदी पार गरियो। यो हाम्रो यात्राको तेस्रो सवारी साधन थियो।
खोलापारि पुगेपछि हाम्रो यात्रा अर्को जिप समातेर तुम्लिङटारसम्म अनि तुम्लिङटारबाट अर्को जिप चडेर खाँदबारीसम्मको थियो। दुई दिनको लगातार सवारी फेर्दै खाँदबारी पुग्दा हाम्रो शरीर पूरै थाकेको थियो।
त्यहाँ उपेन्द्रजीको एकजना साथी हुनुहुन्थ्यो, उहाँले होटलको राम्रो बन्दोबस्त गरिदिनु भएको थियो। उहाँले हामीलाई ठूलो गुन लगाउनु भयो। उहाँलाई अहिले पनि धन्यवाद दिन चाहन्छु।
खाँदबारी पुगेको भोलिपल्ट त्यहाँबाट सोलार ब्याट्रीलागायत केही बन्दोबस्तीका सामान किनेर दुई जान भरियाको साथ पैदल यात्रा सुरु गरियो। दुई दिनको लगातार गाडीको यात्राले थाकेको हुँदा पहिलो दिनको यात्रा हाम्रो देउरालीसम्म मात्र भयो।
हामीले त्यहाँ एकजना शेर्पा दाइको होटलमा बास बस्यौँ अनि भोलिपल्ट बिहानै यात्रा सुरु गर्यौं। चौथो दिन नुम हुँदै अरुण नदी तरेर गडी (नेपाल तिब्बत युद्ध हुँदाको गडी) भन्ने ठाउँ बास बसी पाँचौं दिन हाम्रो कामको सुरु हुने ठाउँ एकुवा भन्ने ठाउँमा पुगियो।
त्यहाँ पनि एकजना शेर्पा दाइको पसल थियो। हाम्रो बस्ने स्थान त्यही थियो। सबै ठाउँमा टेलिफोन लाग्दैन थियो। हामी त्यहाँ पुग्दा हाम्रो टोली गोला भन्ने ठाउँमा छ भन्ने सुनेँ। त्यसपछि मैले नारायणजी र बिनोदजीलाई त्यहाँ बस्ने बन्दोबस्त गर्न भनि गोलातर्फ लागेँ।
साथीहरूले पनि काम सुरु गरिसक्नु भएको थियो। हामी पुगेको दिनदेखि लगातार पानी पर्न थाल्यो। हामीलाई तीन दिनसम्म काम सुरु गर्नु त कता हो कता, बाहिर निस्कन पनि गाह्रो भयो। तीन दिनपछि पानी केही कम भएपछि हामीले सर्वेक्षण सुरु गर्न सकियो तर पानी पर्ने/रहने नियमित नै थियो।
केही दिनपछि सनमजी पनि हाम्रो टोलीमा सहभागी हुन पुग्नुभयो। त्यसपछि हाम्रो टोली ६ जनाको भयौँ। हाम्रा सर्वेक्षण सहयोगी अरु ६/७ जना त्यहीँका स्थानीय केटाहरू थिए। सुरुमा काम राम्रै गर्थे, पछि तिनीहरूलाई पनि मात चढेको थियो।
अविरल वर्षा नजिकिएको, दसैं टाढा अनि बिरानो ठाउँ, अनकन्टार अरुणको गडगडाहटले कहिलेकाहीँ झसङ्ग गराउथ्यो। सबै पाखा जंगलमा अलैंची खेती, दिनभरि अलैंचीको घारीमा सर्वेक्षण गर्ने, पानीमा रुझ्दै जुका टिप्ने।
सिदुरे भन्ने एउटा किरा हुँदो रहेछ, त्यो शरीरमा गडेपछि शरीर चिलाउने, बिझाउने हुन्थ्यो। बेलुका बास बस्ने ठाउँमा आएर खरानी दलेर उपचार गर्ने चलन थियो। यो सम्झना अझ विशेष लाग्छ।
एकुवाबाट अलि पर एकजना गुरुङ बाजेको घर थियो। मान्छे असाध्यै रमाइलो। उहाँको अलैंची बारी सबै सडकमा पर्थ्यो। यस विषयमा उहाँको असहमति थियो। अहिले सडक कसरी बन्यो त्यो त थाहा भएन।
गोला बजार अलि विशेष थियो हाम्रो टिमका लागी। लामो समय हाम्रो बस्ने स्टेशन नै थियो। हामी रुद्र दाइको घरमा बस्थ्यौं। उहाँ मात्र हैन, उहाँको सबै परिवार असल र मिलनसार। हामी आफ्नै घर जसरी बसेका थियौँ।
हामी सर्वेक्षण गर्दै गोलाबाट बरुण, सिम्बुन हुँदै हटिया पुगियो। योबीच हाम्रो सर्वेक्षण त विशेष नै थियो, सर्वेक्षण गर्ने भूगोल अत्यन्त डरलाग्दो थियो। ठूला-ठूला ढाँडहरू थिए। त्यहाँ पसियो भने जे पनि हुन सक्ने खतरा थियो। एकदिन सर्वेक्षण गर्ने क्रममा एक्कासी एउटा ढाँडभित्र खसेको थिएँ। दैवसंयोग केही भएन।
हटियामा हाम्रो क्याम्प सिफ्ट गरेपछि अलि दुःखद् हुँदै गयो। एक्कासी गणेशजी र सनमजी बिरामी पर्नुभयो। नजिकैको मेडिकलबाट औषधि किनेर खाने बन्दोबस्त गरियो। दुवै जना साथीहरूलाई आराम गर्नुस् भनेको सनमजीले मान्नुभयो तर गणेशजीले मान्नु भएन।
औषधि खाँदै दिनभरि पानीमा रुझ्दै सर्वेक्षण गर्ने। एन्टिबायोटिक खाएपछि आराम नपुगेर होला गणेशजीलाई चाप्न थाल्यो। ५-६ दिनपछि गणेशजी पूरै सिकिस्त हुनुभयो। ज्वरो थामी नसक्नु। दिनभरि रातभरि ज्वरो मात्र आउथ्यो। खाना केही खान नसक्ने, केही खायो भमिट गरिहाल्ने।
अवस्था जटिल हुँदै गइरहेको थियो। नजिकै मेडिकलमा थप औषधिको सम्भावना थिएन। त्यस स्थानबाट खाँदबारी पुग्न पनि हामीलाई चार दिन लाग्थ्यो। भरियाले बोकेर लानु वा हेलिकप्टर खोज्नु दुई वटा विकल्प थियो।
हामीले हेलिकप्टरको विषय सोचेनौँ, भरिया खोजेर खाँदबारी पुर्याउन प्रयत्न भने गरियो। तर हामीले सकेनौँ, व्यथाले गणेशजी झन्-झन् गल्दै गइरहनु भएको थियो। अस्पताल पुर्याउने हामीसँग विकल्प केही बाँकी रहेन।
बोकेर अस्पताल पुर्याउन मानिस त पाइएन तर दिनरात हाम्रा दुई बिरामी साथीहरूको सेवा गर्ने लाजुंग बहिनी, लामु बहिनी र उहाँहरूको परिवाले लगाएको गुन हामीले तिर्न सकेनौँ कि भन्ने अहिले पनि लागिरहन्छ।
गणेशजीलाई अझै यस्तै अवस्थामा छाड्ने हो भने उहाँलाई काठमाडौं पुर्याउन सकिँदैन भन्ने लाग्न थाल्यो। सनमजीलाई केही कम थियो। राति १२ जति बजेको थियो, गणेशजी निदाएजस्तो लोलाउनु भएको थियो।
दिनभरि पानीमा भिजेर सर्वेक्षण गर्ने साथीहरू एकनास घुरिरहेका थिए। म र लाजुंग बहिनी गणेशजी र सनमजीलाई पानीपट्टी लगाइरहेका थियौँ। सनमजीलाई ज्वरो केही कम भएको थियो, उहाँ जुरुक्कै उठ्नु भयो अनि 'अब यहाँ बसेर हुँदैन, जानुपर्छ' भन्नुभयो।
मैले प्रश्न गरेँ, 'हिँडेर जान सक्नुहुन्छ?'
'गणेशजी हिँड्न सके त म पनि सक्छु।'
मेरा आँखाभरि आसुँ भए र मनमनै भनेँ- 'मानेँ तिम्रो साहस।'
'सुत्नुस्, बिहान सल्लाह गरौँला' भनेर सुताएँ र हामी पनि सुत्यौँ।
बिहान भएपछि गणेशजीलाई हिँडेर जान सकिन्छ भनेर सोधेँ।
गणेशजीको उत्तर- 'म त यहीँ मरिदिन्छु, हिँडेर जाने साहस छैन। सर्वेक्षण सक्नुस्, सँगै जाने।'
यही सुतेर मर्नुभन्दा हिँड्दै गर्दा बाटोमा मर्यो भने एउटा बिरामी प्राविधिक भरिया नपाएर उपचार हुन नसकेर मर्यो भन्छन्, हिँड्ने आँट गर्नुस् भनेर जबर्जस्ती दुई बिरामी साथीलाई केही परसम्म पुर्याउन देवराजजीलाई पठाइयो। यो क्षण जीवनको नरमाइलो क्षण थियो।
साथीहरूलाई बिदाइ गरियो तर कुनै सम्पर्क छैन। हामी बसेको स्थानमा टेलिफोन लाग्दैन, साथीहरूले कुनै खबर पठाउँदैनन्। आज खबर आउँला छैन, भोलि आउँला छैन। एक हप्ता भैसक्यो कुनै खबर छैन।
सर्वेक्षण सक्न एउटा ट्राभर्स क्लोज गर्नुपर्ने थियो। सर्वेक्षणको विभागको तेस्रो अर्डर ट्रिक पोइन्ट हटियाभन्दा माथि हुंगुङको डाँडामाथि थियो। दिनभरि पानी पर्ने र कुहिरो लाग्ने हुँदा हामीलाई सर्वेक्षण सक्न हम्मे-हम्मे भैरहेको थियो। साथीहरू गएको छैटौँ दिन एउटा हेलिकप्टर आकाशमा घुम्यो।
हामीले सोच्यौँ कि साथीहरू फोन लाग्ने ठाउँसम्म पुगेछन्। अफिसमा सम्पर्क गरेर अफिसबाट हेलिकप्टर लिन आयो भन्दै खुसी भयौँ। त्यो दिन हामी ट्राभर्स क्लोज सक्न हुंगुङतर्फ जाँदै थियौँ।
हुंगुङमा एकजान सरको घरमा 'भि-स्याट' टेलिफोन रहेछ। पहिला साइट भिजिटमा जाँदा गणेशजीले उक्त नम्बरबाट काठमाडौं फोन गरेका रहेछन् र कृष्ण सरले त्यो दिन हामी त्यस टेलिफोन बुथमा पुग्दा काठमाडौंबाट फोन गर्नु भएको रहेछ।
कृष्ण सरले भन्नुभयो, 'कमलजी, गणेश र सनम कहाँ छन्? एक हप्ताअगाडि फोन गरेर हामी बिरामी परेर फर्कंदै छौँ भनेर फोन गर्नु भएको थियो, त्यसपछि सम्पर्क छैन। तपाईंहरू पनि काम छाडेर तुरुन्त फर्कनुस्, सकिँदैन भने काम गर्नु पर्दैन।'
तर गरेको काम छाडेर हिँड्यो भने फेरि यो मुग्लानमा कसरी आउनु भनेर भोलिपल्ट ट्राभर्स क्लोज सकेर साँझ हटिया आइपुग्यौँ। हटियामा एउटा सनमजीले पठाएको चिठी आएको रहेछ। सनमजीको चिठीको व्यहोरा यस्तो थियो-
'साथी हो, हामी गोलासम्म जसरी तसरी आइपुग्यौँ। यहाँबाट अगाडि बढ्न सकिएन। लक्ष्मणजीले हाम्रो उपचारमा सक्दो प्रयास गर्नु भएको छ। म केही फ्रेस भएको छु। गणेशजीको अवस्था नाजुक छ, तपाईंहरू छिटो काम छाडेर आउनूस्।'
पत्र पढिसकेर भोलिबाट काम नगर्ने निर्णय गरियो। झिटीगुन्टा प्याक गर्न लागियो। त्यो दिनबाट फेरि दाँत दुख्न थाल्यो। एक्कासी दाँत दुखेर केही खान सकिनँ। बेलुका त्यत्तिकै सुतेँ, बिहान उठेर सबैको हिसाबकिताब सकेर हटियाबाट बिदा भयौँ।
मेरो दाँत असाध्यै दुखेको कारण केही खान सकिनँ। साथीहरू यत्रो दिन बिरामी परेर त सहेर बसेका छन्, मलाई जाबो एकदिनको दाँत दुखाइ त हो भन्दै सम्झँदै गोला आइपुगियो। गोला आउँदा सनमजी त बाहिर बाटोमा नै भेट भयो। केही दुब्लाएको भए पनि मुसुक्क हाँस्नुभयो। खुसी लाग्यो।
म सरासर गणेशजीकोमा गएँ। उहाँलाई हालखबर सोधेँ। उहाँले ठिक छ भन्नुभयो। मेले ठट्टा पारामा 'उसो भए हिँडेर जान सकिन्छ गणेशजी?' भनेर सोधेँ।
गणेशजीले 'सक्दिनँ कमलजी, म अब फर्कन्नँ होला' भन्नुभयो।
साथीको यस्तो कुरा सुनेर मेरो दुखेको दाँत अझ दुख्न थाल्यो। अनि लक्ष्मणजीलाई भेट्न गएँ। सोधेँ साथीहरूको बारेमा।
'सरहरू ठिक भैसक्नु भएको छ, एन्टिबायोटिकको ओभरडोजले कमजोर हुनु भएको छ, आत्तिनु पर्दैन,' उहाँले भन्नुभयो।
अलि आशा बढेर आयो। लक्ष्मणजीलाई मेरो दाँतको पनि उपचार गर्नुहुन्छ कि भनेर सोधेँ।
उहाँले दाँत त निकाल्नु पर्छ भन्नुभयो। उसो भए निकालिदिनुस् भनेँ। ५ मिनेटमा मेरो दाँत निकालिदिनु भयो अनि बल्ल सन्चो भयो।
आफूलाई अलि सन्चो भएपछि रुद्र दाइलाई भेटेँ। दाइसँग बिरामी साथीहरूलाई खाँदबारी पुर्याउन भरिया खोजिदिन भनेँ। दाइले तीन/चार जना मानिस बोलाई त दिनुभयो तर अरु जे भारी बोक्न तयार, बिरामी बोक्न कोही तयार भएनन्।
मैले उनीहरूलाई 'पैसा कति भन्छौँ त्यति दिन्छु, कुनै बार्गेनिङ गर्दैनौँ' भने पनि कोही तयार भएनन्।
त्यसपछि नारायणजीले 'कोही खोज्नु पर्दैन, म बोकेर लैजान्छु। ठाउँ-ठाउँमा पालो दिनुपर्छ, साथीहरू सक्नुहुन्छ?' भन्नुभयो।
मेरो खुसीको सीमा नै रहेन।
'नारायणजी र म गणेशजीलाई बोकेर लैजान्छौँ, साथीहरू हाम्रा सबै सामान बोकेर हिँड्नुस्। हाम्रो बिरामी बोक्ने भरिया नभएपछि हामी किन सामान बोक्न भरिया लगाउने?' भनेर आफ्नो सामान आफै बोकी बाटो लाग्ने तर्खर गरियो।
लक्ष्मणजीले हिँड्ने बेलामा एउटा 'भिटामिन बी कम्प्लेक्स' र 'ग्लुकोज स्लाइन' लगाइदिनु भयो। हामीले पछौराको नाम्लोजस्तो बनाएर गणेशजीलाई बोक्ने बनाएका थियौँ। गणेशजीलाई बोक्न खोज्दा उहाँले 'म अलि परसम्म हिँड्छु, जहाँ सक्दिनँ त्यहाँ बोक्नु होला' भन्नुभयो।
भिटामिन बी कम्प्लेक्स र ग्लुकोजको कारण होला गणेशजी विस्तार हिँड्न थाल्नुभयो। लक्ष्मणजीले हिँड्ने बेलामा रेडबुल र जुसहरू बोक्नु होला भन्नुभयो। सोहीअनुसार मैले एक झोला जुस र रेडबुल बोकेको थिएँ।
तीन गोलाबाट चार दिन पैदल हिँडेर हामी देउराली आइपुगेका थियौँ तर गणेशजीलाई बोक्नु परेन। देउरालीबाट जिप चल्न सुरु भएको रहेछ। दसैं नजिकै आएकोले होला हामी जाँदाभन्दा फर्कंदा खोलानाला कम हुँदै गएको थियो।
हामी खाँदबारीमा एकदिन बसेर भोलिपल्ट काठमाडौं फर्कियौँ। त्यसैले यो यात्रा सधैँ विशेष छ।