मानिसले निरन्तर मनको यात्रा त गरिरहेकै हुन्छ, सँगसँगै कहिलेकाहीँ तनको यात्रा पनि जरूरी हुन्छ। यात्रालाई जसरी सोंच्यो उस्तै भइदिन्छ।
मंसिर ९ गते शुक्रबारदेखि मन विचलित बनिरहेको थियो। कतै निस्कूँ भन्दा कता निस्कौं? ननिस्कौं त मन अडिएकै थिएन।
मन न हो कहिलेकाहीँ भौंतारिदिन्छ।
कताकता समय परिस्थिति सबैबाट एक्लो हुँदैछु जस्तो महसुस भइरहेको थियो।
मनलाई शान्त राख्न खोजें–अहँ हुँदै भएन।
भाइबुहारीलाई फोन गरें।
‘भोलि शनिबार कतै घुम्न जाउँ’ भनें।
उनीहरूले पनि सहजै भने, ‘हुन्छ जाऔं न त। बरू कता जाने ?’
अब मैले घुम्न जाने ठाउँको चयन गर्नु थियो।
एक जना ट्रेकिङ गरिरहने साथीलाई ‘साना केटाकेटी लिएर घुम्न जान उपयुक्त ठाउँको खोजीमा छु, कता जाँदा राम्रो होला’ भनेर सोधें।
उहाँले काठमाडौंका सुन्दर हिलस्टेसनको नाउँ लिनु भयो। तर केटाकेटीसँग गइहाल्न अलिक टाढै पर्छ कि भन्ने लाग्यो।
अनि छोरीलाई गुगल सर्च गर्न लगाएँ।
गुगलले काठमाडौंका अति सुन्दर ठाउँहरूको खोजी त गरिदियो तर सबै ठाउँ पैदल यात्रा नै कम्तीमा पाँच–छ घण्टाको यात्रा गर्नै पर्ने। र, एकरात उतै बास बस्नै पर्ने देखायो।
अब के गर्ने ? यसो सोचें, कागेश्वरी मन्दिरको सम्झना भयो।
त्यहीँ लोकेसन गोकर्णमा बस्ने कवि गोविन्द नेपाललाई फोन गरें। उहाँ आफ्नै साधनमा गएको र सार्वजनिक साधन प्रयोग गर्दा कताबाट नजिक हुन्छ थाहा रहेनछ। उहाँले त्यही लोकेसनमा बस्ने अन्य साथीहरूलाई सोधपुछ गरेर गागलफेदी भएर जाँदा नजिक पर्ने सुझाव दिनुभयो।
फेरि मेरो काम गुगल सर्च गर्ने भयो।
गुगलले गागलफेदीबाट बीस मिनेट हिँडेर पुगिने देखायो। मैले शनिबारलाई कागेश्वरी मन्दिर घुम्न जाने निधो गरें। बिहान ११ बजे चाबहिलमा भेट भएर जाने भनेर बुहारी र केटाकेटीलाई भनें। केटाकेटीसहित बुहारी र म गरी हामी ६ जना निस्कियौं।
गागलफेदीको सार्वजनिक बस एकदम थोरै चल्दोरहेछ, कुर्दाकुर्दै चाबहिलमै बाह्र बज्यो।
‘यसरी भएन पठाओ ट्याक्सी लिएर जाऊँ’ भने।
पठाओमा कागेश्वरी मन्दिर सर्च गर्दा ४३० रुपैयाँ देखायो।
हामी गुड्यौं। गुगलले देखाएको कागेश्वरी मन्दिर त डाँछीदेखि तीन सय मिटर दायाँ साइडबाट भित्रको पो रहेछ, परेन फसाद!
ड्राइभर गनगन गर्न थाल्यो अनि मैले भनें, ‘हामी गागलफेदीको कागेश्वरी मन्दिर जान हिँडेका हौं। हामीलाई अरू पनि कागेश्वरी मन्दिर छ भन्ने थाहा भएन जति पैसा पर्छ दिन्छौ हिँड्नुहोस्।’
ड्राइभर गनगने नै रहेछ गनगन गरेको गर्यै गर्यो। हामी केटाकेटीसित हिँडेका रिसाउनु पनि भएन। शान्त भएर मैले जाऊँ भन्दै लगिरहें, अन्ततः गागलफेदी त पुग्यौं तर मन्दिर कहाँ हो थाहा थिएन। त्यहाँ स्थानीयलाई सोध्यौं।
‘अलिक माथि जानुहोस् आउँछ’ भने पछि फेरि ट्याक्सी उतै गुडायौं।
ट्याक्सी उकालो उक्लिरहेको थियो, उकालोसँगै ड्राइभरको गनगन पनि उक्लिरह्यो। बाटोमा उतै कागेश्वरी र मणिचुड जाने युवा भेटिँदै गए, उनीहरूसँग सोध्दै हिँड्यौं।
छोटो बाटो मर्मत हुँदै रहेछ। हामी लामो बाटो लाग्यौं। जति माथि गए पनि हामीले खोजेको कागेश्वरी आउँदै आएन।
‘यहाँ भन्दा माथि ट्याक्सी चढ्दैन’, ड्राइभर उकालिन मानेन। अनि उनलाई खुसी हुने गरी १३ सय रुपैयाँ दिएर बिदा गर्यौं।
केटाकेटीलाई फकाउँदै उकालो हिँड्दै र सोध्दै गर्दा त हामीले जान चाहेको पहेँलो कागको प्रतिमा भएको ठाउँसम्म जाने बाटो पार गरेर धेरै अघि बढिसकेका रहेछौं। धन्नधन्न पहाडको टुप्पोमै पुग्यौं। त्यहाँ अर्को पनि तीर्थ रहेछ, ‘कागेश्वरी सहिद पार्क’।
हामी जान चाहेको र गाउँलेले भनेको कगेश्वरी फरक भएता पनि अति सुन्दर सहिद पार्क रहेछ।
भर्याङ उक्लिएर पहाडको टुप्पोमा पुग्दा भेटिएको कागेश्वरी खास गरी वनभोजस्थल रहेछ। त्यहाँ पनि कालो कागले मुखमा चिट्ठीको खाम चेपेर उड्न लागेको प्रतिमा र टिनले छाएका वनभोज गर्ने टहराहरू रहेछन्। वरपर धुपीका बोटहरू मिलाएर रोपिएका थिए। केही वनभोजमा रमाइरहेका थिए।
पार्कको मैदानबाट तल हेर्दा सहर अति रमणीय देखियो। हामीले त्यहाँ केही तस्बिरहरू लियौं र ओर्लियौं। ओर्लने बित्तिकै एउटा खाजा घर रहेछ त्यसैमा पस्यौं। त्यहाँ खासै केही पाइएन, त्यही चाउचाउ र अन्डा सुप बनाउन लगाएर खायौं।
त्यहाँबाट निस्कँदा लगभग साढे दुई बजिसकेको थियो। हामीले छोटो बाटो सोध्दै भए पनि फेरि बाटोमा पर्ने पहेँलो कागको प्रतिमासम्म पुग्ने निर्णय गर्यौं र पसलकी साहुनीलाई सोध्यौं। उनले बताए अनुसार पहाडका कान्लैकान्ला ओर्लियौं।
घाम ढल्किँदै थियो तर पनि केटाकेटी लप्सीको रूख देखे त्यसैमा झटारो हान्न थाल्ने, बाख्राका पाठा देखे त्यसैमा रमाउन थाल्ने गर्न थाले।
हामी ओर्लिएर अलिकबेर पिच बाटो हिँडेपछि फेरि एक जना स्थानीयलाई मन्दिर पुग्ने छोटो बाटो सोध्यौं। अलिक पर सानो गल्ली ओर्लिएको ओरालो देखाइदिए।
अहो! बाटो त अति नै डरलाग्दो कतै साँघुरो, कतै गुफा जस्तो, कतै पहाडबाट रसाएर पानी बगिरहेको बाटो, कतै पँधेरा भएको बाटो रहेछ।
मैले ‘अलिक छिटो हिँड है रात पर्ला जंगलमा बाघ भालु आउला’ भन्दै जिस्काएँ।
हत्त न पत्त ६ वर्षे भदा आरम्भले भन्यो, ‘म अघि अघि हिँड्छु बाघ भालु आयो भने यै लौरोले हान्दिछु।’
यति भनेर ऊ अघि लाग्यो। त्यति सानो फुच्चेलाई पनि यस्तो हिम्मत आउने के होला?
‘पुरूष हर्मोन कि प्राकृतिक देन?’
मनले सोचिरह्यो।
हिँड्दाहिँड्दै बाटो दोबाटो फेला पर्यो।
अब कुन बाटो जाने?
अलमल पर्यौं। सोध्नलाई जंगल र रूख बिरूवाबाहेक केही थिएनन्। पर-परसम्म हेर्न कतै केही देखिन्थेन।
बुहारीले भनिन्, ‘जे पर्ला दायाँ लागौं दाहिने परिक्रमा शुभ हुन्छ।’
छोरीहरू प्रकृतिसँग रमाउँदै, कहिले गीत गाउँदै कहिले कविता जस्ता “यी रूखहरू यी पातहरू“ भन्दै टुक्का हाल्दै हिँडिरहे।
हामी ओह्रालै ओह्रालो झरिरह्यौं। अलिक पर अर्को पहाडमा फुटबल मैदान रहेछ। फुटबल खेल्दै गरेका ठिटाहरू देखिएपछि मनमा अलिक राहत मिल्यो। हामी ओर्लंदै थियौं, फेरि दोबाटो भेटियो।
अब कता जाने ?
ती फुटबल खेलाडीहरूबाट हामी एउटा पहाडदेखि अर्को पहाडको दूरीमा थियौं। हामीले नसोधी जानु भएन भन्यौं। सानोतिनो श्वरले बोलाएर उनीहरू सुन्नेवाला थिएनन् अनि गाउँघरमा चिच्याएर बोलाए झैं गरी–, “ए$$$ दाइ“ भन्दै जोड जोडले ३/४ पटक बोलाए पछि उनीहरूले सुने। अनि हामीले इशारा र चिच्याएर मन्दिर जाने बाटो सोध्यौं।
उनीहरूले पनि इशाराले नै बाटो बताइदिए अन्ततः हामीले आउन चाहेको सुनौलो काग भएको कागेश्वरी मन्दिरमा पुग्यौं।
त्यहाँ पाइला राख्दा साँझको ४ बजिसकेको थियो।
सुनौलो काग लामो स्तम्भमाथि कमलको फूलमा विराजमान छन्। स्तम्भ पोखरीको बीचमा बनाइएको छ। त्यसको पछिल्तिर माथिबाट निकै सुन्दर झरना बगिरहेको छ। पोखरीमा बच्चाहरू पानीसँग रमाउन थाले।
पानी निकै चिसो थियो, एकछिन अडिँदा पनि चिसोले खुट्टा दुखिहाल्ने खालको।
केही क्षण रमाएपछि सानी भदैनी माथिबाट झरिरहेको झरना र पोखरीमा जम्मा भएर बगिरहेको पानी देखेर निकै सोच्दै बोलिन्, ‘यो पानी कहाँ गएर सकिन्छ होला?’
उनको बाल कौतुहलता र प्रश्न।
पानीसँग खेलेपछि झरनासँगै माथि पहाडको छेउमा सानो गुफा र त्यसभित्र मन्दिरमा हामी पुग्यौं। र, पूजा गर्यौं। कागेश्वरीको मूल मूर्ति त्यहीँ रहेछ।
हिन्दू धर्म अनुसार कागले छोएमा अशुभ मानिन्छ। तर, भदौ अष्टमीका दिन कागेश्वरी मन्दिरमा नुहाएमा शुद्ध भइने र गोसाइँकुण्डको पवित्र जल कागेश्वरी महादेवको मूर्तिमा चढाएमा मनोकामना पूर्ण हुने जनविश्वास रहेछ।
श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले मृत सतीदेवी बोकेर हिँड्दा उनको मुटु यही ठाउँमा पतन भएको र नारी (सतीदेवी)को अंग पतन भएकोले कागेश्वर नभएर कागेश्वरीधाम भन्न थालिएको जनविश्वास छ।
पूजा सकेपछि हामीलाई पूजारीले टीका लगाइदिए। पालैपालो टीका र चन्दन लगाई सकेपछि उनले सोधे, ‘यतिखेर केटाकेटीसँग कहाँबाट आउनु भयो?’
‘हामी बानेश्वरबाट आएका अब गागलफेदी पुगेर बस चढ्ने’, मैले भनें।
‘अहो! त्यहाँ त चार बजेपछि बस पाइँदैन म बाटो देखाइदिन्छु तपाईंहरू फटाफट सुन्दरीजल भएर जानुहोस्’, उनले सुझाए।
उनको भनाइ अनुसार बाटो जंगल भएको र एकान्त बुझियो। अब भने मन आत्तिन थाल्यो।
उनले देखाए अनुसार बाटो पहिल्याउँदै हामी सुन्दरीजल झर्ने भर्याङ्गै भर्याङ्ग ओर्लन थाल्यौं। अहो! कति धेरै हो भर्याङ पनि।
बच्चाहरू थाक्न थाले, ओर्लंदा रोकिँदै थकाइ मेट्दै ओर्लने समय थिएन। ओर्लंदा थाकेर खुट्टा काम्यो भन्न थाले हामीले फकाउँदै हिँड्दै गर्यौं।
पूजारीले भनेका थिए, ‘भर्याङ सकिएपछि ढकाल गाउँ आउँछ अनि दाहिने भित्तो भएर जानुहोला।’
हामी झरून्जेल झमक्कै अँध्यारो भैसकेको थियो डर कतै नलागे पनि अबेर भएर मन आत्तिरहेको थियो।
त्यो सानो ६ वर्षे फुच्चे अहिले पनि लौरो हातमा लिएर अघि अघि हिँडिरह्यो।
हामी ६ जनाको माझमा त्यही एउटा फुच्छे पुरूष थियो। फुच्चेलाई हेर्दा र उसको हिम्मत हेर्दा फेरि मनले आफैंसँग सोध्यो, ‘आखिर के छ पुरूष हर्मोनमा?’
ढकाल गाउँबाट अझै निकै नै हिँड्नु पर्दोरहेछ सुन्दरीजल पुग्न पनि। दिउँसो दायाँ परिक्रमा गरे राम्रो भन्दै हिँडेकी बुहारी अहिले पनि भगवान दाहिना रहेछन् भनेर खुसी हुँदै थिइन् कारण हामी हिँड्दै थियौं ढकाल गाउँ मै फ्रिज पुर्याउन आएको ट्याक्सी भेटियो।
रित्तो ट्याक्सी देखेपछि खुसी भयौं। त्यसमै चढेर सात बजे साँझ हामी घर पुग्यौं। यदि ट्याक्सी नभेटिएको भए ९ /१० कति बज्ने थियो होला घर पुग्दा।
जाडोको समय सात बज्दा त निकै अँध्यारो पो हुन्छ। दिउँसो चाउचाउ र अन्डाको सुपले थाकेको शरीरलाई थेगेर हिँडेको कागेश्वरीधामको यात्रा अति रमणीय र स्मरणीय बन्यो।