सेतोपाटीमा प्रकाशित, प्रिय भाइ विशालको ‘यस्तो पो त यात्रा’ पढेपछि गजबको ऊर्जा पाएँ।
आफूले पनि भर्खरै गरेको यात्राको अनुभूति बाँडौं जस्तो लाग्यो। कापी, कलम र कफी तयार पारेर सुरू गर्दैछु। कफीको बाफसँगै म ती अतीततिर उड्दै जाँदैछु। ती अनुभूतिहरू यहाँ प्रेषित गर्दैछु।
हामी तीन जनाले (बाबा, म अनि राकेश दाइ) अचानक पाथीभरा माता, ताप्लेजुङ जाने निर्णय गर्यौं। भोलिपल्ट बिहानै ५ बजे यात्रामा निस्कियौं।
इटहरी, विर्तामोड,चाराली हुँदै हरकटे (१६८४ मी) पुग्दा ७:३० बजेको थियो।
हरकटेको चिसोलाई तातो चियाले जित्छझैं लागेर एकुन्टा चिया मगायौं। नभन्दै अघिसम्म बुरूक्क उफ्रिने चिसो मत्थर भयो। चियाको चुस्कीसँगै अलि पर देखिएको चियाबारीको दृष्य साँच्चै लोभलाग्दो थियो। खासै कामको कदर नपाउने, मजदुर, किसानहरूलाई मनबाटै नमन गर्दै अगाडि बढ्यौ्। कन्याम, फिक्कल, इलाम हुँदै फिदिम (१७५६ मी) पुग्दा दिउँसोको १२ बजिसकेको थियो।
फिदिम मैले कल्पना गरेभन्दा निकै ठूलो पाएँ। त्यहाँ गाडी र मान्छे दुवैमा फ्युअल हालेर अगाडि बढ्यौं। काबेली, ताप्लेजुङ बजार हुँदै यात्रा सुरू गरेको १२ घण्टापछि सुकेटार बजार (२८४० मी) पुग्यौं। हाम्रो गाडी त्यहाँबाट अगाडि नजान सक्ने बुझियो।
कारण- खराब बाटो! सुकेटारदेखि काफ्ले पाटीसम्मको ९ किमी दूरी पार गर्न १ घण्टा बढी लाग्ने रहेछ, फेरि ‘फोरविल गाडी मात्र जान सक्ने जानकारी पाइयो।
हाम्रो गाडी सुकेटारको एउटा होटलमा पार्क गारेर, एउटा जीप रिजर्भ गरी हामी तीन जना जीपमा बसियो। म गुरूजीको आडमा बसें। अरू २ जना पछाडि बस्नुभयो। त्यस जीपमा १०-१२ जनासम्म हाल्ने रहेछन्। हामीमात्र ३ जना! भाडा अलि महङ्गो पर्न गयो।
करिब साझ ५:३० बजेतिर सुकेटार-काफ्ले पाटी यात्रा सुरू गरियो। धुलाम्मे बाटो थियो, वरिपरिका हरियो सबै धुलोमा गयल भएका थिए। गाडी सुस्तरी उफ्रिँदै अगाडि बढिरहेको थियो। अलि अगाडि पुगेपछि एउटा सानो केटो स्कुल पोसाकमा लुरू लुरू हिँडेको देख्यौं। हाम्रो गुरूजीले ति बालकको घर ४-५ किमी अगाडि देउराली भन्ने ठाउँमा रहेको जानकारी दिनुभयो।
हामीले ‘लिफ्ट दिऊँ न त’ भनेपछि फुच्चे केटो केही समयको लागि भएनी हाम्रो सहयात्री हुन पुगे। केटोले आफू ५ कक्षामा पढ्ने बताए अनि मलिन स्वरमा ‘सानी बैनी र दिदीलाई नि लिफ्ट दिनुस् न, बैनी सानी छ’ भनी आग्रह गरे।
नभन्दै अलि अगाडि पुग्दा एक १०-१२ वर्षकी बालिका र एउटी सारै सानी नानी हिँड्दै थिए। हामीले गाडी रोकाएपछि दुवै जना गाडीमा बसे। मैले पछाडि फर्की सानी नानीलाई सोधें ‘नाम के हो नानी?’ मसिनो स्वरमा जवाफ आयो ‘एन्जल’।
एन्जल ५ वर्षकी रहेछिन्, शिशु कक्षामा पढ्ने!! ठ्याक्कै मेरी छोरीकी उमेरकी!! ती भर्खरै सर्न जानेका पाइलाहरू, दैनिक १०-१२ किमीको यात्रा गर्न बाध्य रहेछन्। ती साना खुट्टाहरूले कहिले नाच्न सिक्ने, कुन समयमा खेल्न!! उफ् कति संघर्ष एन्जलको! मैले मेरी छोरीलाई दैनिक, घर नजिकै रहेको स्कुल छाड्न र लिन गएको सम्झें।
एन्जलको अनुमति लिएर एउटा फोटो खिचें, गाडी हल्लिएर फोटो धमिलो आएछ।
अर्को फोटो लिने भनेको त एन्जलहरूको घर आएछ। मुसुक्क हासी ‘बाई’ भनेर बाटो लागे उनीहरू।
अलिबेरमै नानीहरू ओझल भए। मेरो दिमागमा भने एन्जलको संघर्ष ओझल हुन सकेन। फेरि आफ्नो छोरीलाई सम्झे। आफूहरूले पाएका हरेक साना ठूला सुविधाहरूप्रति कृतज्ञ हुनुपर्ने रहेछ।
हामी यो पुगेन, त्यो भएन भनेर जहिले गुनासो गरिरहेको हुन्छौं, जिन्दगीसँग। तर हामीसँग जे चिज छ त्यसको लागि कृतज्ञ कहिले हुँदैनौं। कृतज्ञ हुन जान्नु/सक्नु, खुसी जीवनको मुख्य मन्त्र हो जस्तो लाग्यो। मैले खिचेको फोटोझैं एन्जलको सपनाहरू चाहिँ धमिलो नहोस् भन्ने कामनासहित हामी अगाडि बढ्यौं।
काफ्ले पाटी पुग्दा सूर्यलाई पालो दिन जुन आइसकेकी थिइन्। करिब बेलुकीको ६:०५ हुँदो हो काफ्ले पाटी पुग्दा।
१० मिनेट जति त्यहाँ बसेर एकुन्टा लौरो बोकी हामी ठूलो फेदीतिर उक्लिन थाल्यौं। केहीबेरमै घडीले मुटुको चाल १६० देखाउन थाल्यो। जुनले हाम्लाई टर्च लाइटको आवश्यकता हुन दिइनन्।
माथि चढ्ने क्रममा एक जना बुवासँग भेट भयो। करिब सात दशक पार गरेका उहाँ, ठम ठम हिँडिरहनुभाको थियो। हामीलाई एकदमै गाह्रो भएको त्यस बाटोमा उहाँको ऊर्जा लोभलाग्दो थियो। ‘एज इज जस्ट अ नम्बर’ भन्ने भनाइमा झन् विश्वास लाग्न थल्यो। करिब १ घण्टा २० मिनेट हिँडेपछि ठूलो फेदी (३०५७ मी) स्थित होटल पुग्यौं। तातो चाउचाउ खाइ न्यानो भएर सुतियो।
अर्को दिन हामी बिहानै पौने चार बजेतिर मन्दिर उक्लिन सुरू गर्यौं। अघिल्लो दिनको विपरीत हामीलाई जुनले साथ नदिने स्पष्ट देखियो!
जुन कतै बादल ओढेर सुतेकी थिइन्। हामी टर्चको रोशनी बाली अगाडि बढ्यौं। आफ्नो साससँग यति नजिक कहिले भएको थिइनँ सायद।
अँध्यारोमा आफ्नो सास अनुभव गर्दै लगभग १ घण्टा ४० मिनेटमा मन्दिर (३७९४ मि) पुगें म। सायद ध्यान यसैलाई भन्छन्। खासै समय बितेको चाल नै पाइनँ। दाइ र बाबालाई अलि बढी समय लाग्या थियो। अत्यन्त उत्कृष्ट दर्शन पाइयो माताको। गजबको अनुभूति भयो। घामको आगमनसँगै हिमालहरू मख्ख परे। हामी नि हिमाल देखि धेरै मख्ख अलिकति चै छक्क पर्यौं।
बादल हामीभन्दा तल थिए। बादलको न्यानो स्वीटर लगाइ टाउको मात्र देखाई हिमाल हामीतिर हेरी हाँसेझैं लाग्यो। फटाफट फोटो लिन मस्त भैयो। तर मेरो मोबाइलको लेन्सले त्यस दृष्यलाई न्याय दिन नसके झैं लाग्यो।
अब पालो तल झर्ने आयो। बिस्तारै तल झर्यौं। बाटोमा थुप्रै भाइहरू नाम्लोझैं केही बोकी तल माथि गरेको देखे। उनीहरू मानव ट्याक्सी रहेछन्। किलोको १०० रुपैयाँ लिने रहेछन्।
हामीलाई हिँड्न हम्मे-हम्मे परेको बाटोमा उनीहरू ७०-८० किलोको मान्छे बोकी ठमठम हिँडेको देख्दा अचम्म लाग्यो। तल झर्ने क्रममा एक जना दिदीसँग भेट भयो। झापाकी ती दिदी माता बस्त्र (शिरदेखि पाउसम्म रातो) मा हुनुहुन्थ्यो। प्राय: हरेक वर्षयता आउनु हुँदो रहेछ। यसपालि चाहिँ एकल यात्रामा निस्किनु भएको रहेछ। कुरा गर्ने क्रममा आफ्नो माताको दर्शन यात्रा सुखका लागि भन्दा नि खुसीका लागि हो भन्दा म अकवक्क परें।
मैले प्रश्न गरें, ‘सुखी हुनु र खुसी हुनुमा के फरक छ र ?’
‘सुख भोगसँग जोडिएको हुन्छ तर खुसी स्वतन्त्र हुन्छ। खुसी हुन कुनै वस्तुको आवश्यकता हुँदैन भाइ।’ दिदीको जीवन दर्शन दामी लाग्यो।
हामी सुस्तरी हिँडेको देखेर नाम्लो बोकेका भाइले दिदीलाई बोकेर लाग्दिने अफर गरें।
‘देवीको दर्शन गर्न आको छु भाइ, तिमीलाई यत्रो ज्यान बोकाएर पापको भागीदार बन्नु छैन’।
‘मानव ट्याक्सी’ भाइले मुस्कुराउँदै भने, ‘यो त मेरो रोजीरोटी हो दिदी, तपाईंले पाप होइन, पुण्य कमाउनु हुन्छ। अरे वाह! एउटै कुरो- कसैलाई पाप कसैलाइ पुण्य!! यी सब कुरो मनमा खेलाउँदै हिँड्दै थिएँ, हामी बसेको होटल नजिक आएछ। मैले पछाडि फर्केर बाटो हेरें। बाफ रे!! भयङ्कर उकालो। सायद उज्यालो भएको भए बिहान उक्लिन सक्दिनँ थिएँ।
बिहान सोचेझैं जूनले साथ नदिएको होइन रहेछ। कस्तो अचम्म! उज्यालोमा भन्दा अँध्यारोमा हिँड्न सजिलो। जीवनमा नि सायद यो लागु हुन्छ होला कहिलेकाहीँ।
कफीको बाफ गायब थियो। मलाई अतितमा पुराइ आफू चैं टाप! अर्को कप कफी बनाउन उठें है। यसपालि बाफले कता लाने हो खै!