सुन्तले डाँडा हुँदै एकाबिहानै बाघखोर डाँडा जाने योजना बनाएर हामी बाटो लाग्यौं। बेलुकै जगतबहादुर दाइको बिहान ६ बजे हिँड्ने उर्दी थियो। ९० वर्षको बुढा मान्छेको जोशिलो उर्दी नमान्ने कुरै भएन।
बिहान ६ बजे नै हिँड्ने कुराले भने मनमा असहज लागेको थियो। किनकी हिँउदमा बिहान ६ बजे राम्ररी उज्यालो पनि हुँदैनथ्यो। फेरि पनि जाँगर निकालेर उठियो। हाम्रो गाउँबाट सुन्तले पुग्नु गाडीलाई आधा घण्टा जस्तो लाग्थ्यो।
भोजपुर बजारबाट भने गाडीलाई त्यस्तै २०/२५ मिनेटको बाटो हो। जगत दाइको घर काफ्ले भएर चियाको चुस्की लिँदै हामी साढे सात बजेतिर सुन्तले पुग्यौं। बाटामा पर्ने हात्तिगौडा, ढापखर्क, धन्सुरे गैरो हुँदै सुन्तले पुगियो। हामी पुग्दा घामका झुल्का हिमालका चुचुराहरूमा झलमलाउँदै रहेछन्।
पहिले जहाँ वनभोज खाइन्थ्यो र फुटबल खेलिन्थ्यो, अहिले त्यो धनसुरे गैरोलाई जंगलले खाएछ, देखिएन। बाटामा ठाउँ-ठाउँमा सेता बुकिफूलहरू देखिए। ठाउँ-ठाउँमा शेर्पा, तामाङ जातिका माने पर्खाल, छ्योर्तेन र पाटी पौवाहरू पनि भेटिए। कति त नयाँ पनि बनेका रहेछन्।
हामी रमाउँदै सुन्तले डाँडा पुग्यौं। त्यहीँ छेउ एउटा नयाँ छ्योर्तेन बनेको रहेछ। त्यसको एक ल्किप लिएर हामी उकालो लाग्यौं।
भोजपुर पुगेपछि मान्छेहरू एकपटक सुन्तले, बाघखोर डाँडा प्रायः पुग्छन् नै। किनकी पर्यटनका दृष्टिले यो ठाउँ एकदमै रमणीय ठाउँ हो। हामी पुग्दानपुग्दै बिहानको झुल्के घामले टपक्क टेकेको रहेछ सुन्तले डाँडालाई।
चारैतिर खुला निलो आकाश, बिहानको चम्किलो घाम, उत्तरमा टलल टल्कने मकालुलगायतका सेता हिमालहरू गज्जब रमणीय देखियो सुन्तले। आहा! मनै लोभ्यायो डाँडाकाँडा र हिम चुचुराहरूले। हिउँदमा त यहाँ वनभोज खाने र रमाइलो गर्नेहरूको भिड नै लाग्छ।
हामीले केही फोटाहरू लियौं र त्यहीँबाट उकालो लाग्यौं। सुन्तले पुग्नु अघिको अग्लो डाँडोमा भ्यूटावर बनेको रहेछ। भ्यूटावर अहिलेको विकासे नमुना मानिन्छ। नेपाल आफैमा टावरै टावरको देश हो भन्दा के फरक पर्छ र? तर अग्ला डाँडैपिच्छे यहाँ भ्यूटावर बनाइन्छ।
दावा भाइले भन्नु पनि भयो- 'यस्तै हो भने कुनै दिन सगरमाथामा पनि टावर बनाउँछन् होला।'
सुन्तले त्यस्तै डाँडा हो। उत्तरमा हिमालहरू सेतै भएर झललल हाँसेका थिए भने चारैतिर डाँडाकाँडाहरू घमाइलोमा रमाइरहेका थिए। त्यही डाँडाको सबभन्दा अग्लो डाँडामा भ्यूटावर बनेको रहेछ। जगत दाइ अघिअघि त्यहीँबाट उकालो लाग्नु भयो। हामी दाजुभाइ पछिपछि लाग्यौँ र साथमा दावा भाइ पनि। ढलान गरिएको खुट्किलो हुँदै ठाडै उकालो बाटो हिँड्नु पर्ने रहेछ।
हामी पुग्दा त अघि नै जगत दाइ टावरमा पुगेर सिठी बजाउँदै हुनुहुँदो रहेछ। ९० वर्षको मान्छे, त्यो उकालो बाटोमा पनि ठमठमी हिँडेको देख्दा दावा भाइले हँसाउनु भयो- 'हाम्रो त बेइज्जतै हुने भयो आज।'
हुन पनि जगत दाइलाई कसैले ९० वर्षको भन्दैनन्। बढीमा ८०, नत्र ७६/७७ कै भन्छन्। हामी पनि छक्क पर्नु स्वभाविकै भयो।
त्यहाँबाट हामीले उत्तरमा पर्ने सेता हिमालहरूको रहरलाग्दा फोटाहरू खिच्यौं। ट्याम्के डाँडा, मैयुलगायत अग्ला पहाडहरू खुलेर हाँसेका देखिए। तिनको फोटो नखिची हिँड्ने कुरै भएन। त्यसपछि हामी बाघखोरतिर लाग्यौँ।
बाघखोर डाँडा त्यहाँबाट तेर्सै डाँडैडाँडा जानुपर्छ, गाडीमा करिव ५/७ मिनेट जति। केही छिनमा नै हामी बाघखोर पुग्यौं। बाघखोर र सुन्तले डाँडा दुवै ठाउँमा दुई/चार वटा, दुई/चार वटा खानाखाजा खाने रेष्टुरेन्टहरू छन्। तर मान्छेहरू प्रायः बाघखोरमै गएर रोकिन्छन्। दिनको १ बजेपछि चिसो हावा चल्ने र बादलले ढाक्ने हुँदा मान्छेहरू सकेसम्म चाँडै पुग्ने गर्छन् त्यहाँ।
बाघखोरको बीच बाटोमै एक जोडी बाघको रमाइलो मूर्ति बनाइएको रहेछ। उजण्ड बाघ जोडीको फोटो फूर्तिले खिचियो। त्यसैको भित्तामा लहरै मान्छे बस्ने काठका मुडाहरू राखिएका रहेछन्। सँगै, सेतो रङले पोतेको मानेपर्खाल पनि बनाइएको रहेछ।
त्यहीँबाट अलि पर बाघखोर डाँडाको पल्लो छेउमा पनि आँखा डुलाएँ। त्यहाँ झन् विश्व शान्तिका दूत बुद्धको १२/१५ फिट जति अग्लो मूर्ति ठड्याइएको रहेछ। त्यस्को फोटो लिएर खुसी हुँदै हामी नजिककैको खाना खाने घरमा पस्यौं। लेकको साग, दालभात मिठो मानेर खायौं र त्यहाँबाट ११ बजेतिर भोजपुर बजारतिर लाग्यौं।
भोजपुर बजार हिजो र आजमा आकाश पाताल फरक भएको रहेछ। हामी भोजपुरमै जन्मेको भए पनि गाउँ छाडेको धेरै भइसकेको थियो। गाउँमा अहिले किसानको जीवनमा धेरै फरक आएछ। घरघरमा पानी त आएछ नै, गाउँमा बाटो पनि आएछ तर वनजंगल ढपक्क बढेकाले घरआँगनमा नै बाँदर पनि आउन थालेछ।
बाँदरका कारण अहिले किसानहरूले मकैको खेती गर्नै छाडेछन्। अतः अहिले गाउँमा मकैको थाँक्रा देख्नै नपाइने अवस्था भएछ। पहिले-पहिले गाउँमा को धनी भनी मापन गर्ने कुरा त्यही मकैको थाँक्रा त हुने गर्थ्यो।
अहिले गाउँमा होइन, यदाकता मात्र मकैको थाँक्रा देखिदो रहेछ। यो दुःखद् समाचारका साथमा गाउँका खेतबारीहरू बाँझै भएको देख्दा नरमाइलो लाग्यो। यस्तो कुरा सुनेपछि युवायुवतीहरू गाउँबाट पलायन किन हुन्छन्, गाउँ किन उजाड हुँदैछ भन्ने प्रश्नले घोच्नु स्वभाविकै भयो।
गाउँमा बाँदर, चितुवाले दुःख दिन थालेको कथा अलि अघि नै सुनेको हो मैले तर सरकार आजसम्म पनि निदाएरै बसेको रहेछ भन्ने चाहिँ त्यहीँ थाहा भयो। देशभरिका किसानको यो राष्ट्रिय समस्याबारे किन कोही नबोलेको होला?
अहिलेको चुनावी दौडमा पनि राजनैतिक दलका नेताहरूले जनताका दिनदिनैका समस्याबारे बोलेको सुनिएन। नेताहरूको भाषण सुन्दा केवल एउटाले अर्कोलाई मनलाग्दी गाली गर्नु बाहेक अरु आउँदै आउँदैन जस्तो पो लाग्यो।
सरकारी अनुदान र कृषिमा योगदानका कुरा पनि आफ्ना कार्यकर्ता पोस्ने कार्यक्रम मात्र बनेछन्। यसरी देश र जनताको समस्याबारेमा नेताहरूले बोल्नै छाडेकाले जनताले विकल्पको खोजी गर्न थालेको हो कि भन्ने पनि लाग्यो।
दिउँसो हामी बजारबाट भोजपुरको पारि पश्चिममा पर्ने अन्नपूर्ण हुँदै अग्लो सुन्दर चखेवा डाँडा हेर्न गयौं। चखेवा डाँडा ट्याम्के डाँडाको उत्तरतर्फ रहेको पहाडी लोकमार्गले छोएको दिक्तेल र भोजपुरलाई छुट्याउने सुन्दर डाँडा हो।
अहिले चखेवा डाँडाबाट भोजपुर बजार पुग्न मात्र एक घण्टा लाग्दोरहेछ। सलल कार चिप्लने बाटोले हिजो चार घण्टा हिँड्नु परेको कथा भुसुक्कै बिर्साउँदो रहेछ। चखेवा डाँडा अहिले राम्रो वनभोज खाने, घुम्ने रमणीय ठाउँ बनेको रहेछ।
हिजो गाई बाख्रा बाहेक केही नदेखिने थलोमा अहिले त्यहाँ बिदाको दिन मान्छेको घुइँचो लाग्न थालेको रहेछ। त्यहाँ विस्तारै खाने बस्ने रेष्टुरेन्टहरूको विकास हुँदै गरेको पनि देखियो।
भोजपुर हिँडेको दिन काठमाडौंबाट दिक्तेल हुँदै चखेवा पुग्नु अघिको बाटो देखेर हामी छक्क परेका थियौं। त्यहीँ पुगेर हुस्सु लाग्नु, बाटो राम्ररी नदेखिनु, वर्षातको पानीले बिगारेको बाटो, गाडी फँस्ने डरले बामे सर्दै हिँड्नु र त्यहीँ पुगेर साँझ पर्नुले हामी हायलकायल भएका थियौं।
भोजपुरको साँधैमा दिक्तेलको सिमानामा रहेको चखेवा छेउको दश किलोमिटर बाटो अहिले पनि पिचको आशमा तड्पिरहेको रहेछ। पहाडी लोकमार्गको रुपमा खनिएको त्यो बाटो मजाले दोहोरो गाडी चल्ने ठूलै रहेछ।
पिच गर्न नसके पनि स्थानीय गाउँपालिकाले दुई दिन डोजर लगाइदिए पनि बाटो सलललै हुन्थ्यो भन्ने लाग्यो। अहिले चुनावका बेला सबै नेताहरू जनताका घरदैलोमा पुगेका छन् तर आफ्नो आँखैअघि बिग्रेको त्यो उखडखावड बाटो त नबनाउने नेताबाट जनताले के आशा गर्लान् हौ?
त्यति मात्रै होइन हलेसीबाट ठाडै ओरालो घुर्मि झर्ने बाटोको पनि त्यस्तै बिजोग देखियो। बाटो छ, देखरेख छैन। गत दुई वर्षअघि जाँदा पनि त्यो बाटो त्यस्तै थियो। अर्थात् बाटोमा वर्षातमा झरेका ढिस्का माटाहरूले बाटो ढाकेका थिए र ठाउँ-ठाउँमा स-साना खाल्डाखाल्डीहरू थिए, ती अहिले पनि उस्तै रहेछन्। विरक्त लाग्यो।
भोजपुर बसाइ धेरै लामो थिएन हाम्रो। हामी सातौं दिनमा नै काठमाडौंतिर लाग्यौं। बिहान पाँच बजे नै घरबाट निस्किएका हामीलाई चखेवा अघिको त्यही बाटोको चिन्ता थियो। त्यस्तै बिहानको सवा ६ बजेतिरै हामी चखेवा डाँडामा टेक्न पुग्यौँ।
चखेवा डाँडामा पुग्नै लाग्दा पूर्वबाट घाम उदाउँदै गरेको राता किरणहरू धर्तीमा झरेको देख्न थालियो। हामीले गाडी हतारहतार त्यतै रोक्यौं र सूर्योदयको दृष्य क्यामरामा कब्जा गर्ने धुनमा चिसो सिरेटो बिर्सेर हामी त्यतै बस्यौं। हेर्दाहेर्दै विस्तारै हाम्रै अघि सूर्योदय भयो। यसपाला सुन्दर सूर्योदयको दृष्य देख्न पाइयो। गज्जब लाग्यो।
पहिले भोजपुर जान धरान भएर धनकुटा हुँदै गाडीमा डेढ दिन कुद्न पर्थ्यो। गत वर्षदेखि भोजपुर जाने बाटो धेरै छोटो भएको छ। अहिले काठमाडौंदेखि हलेसी (मारातिका) घुम्दै डाँडैडाँडा चारैतिर रमणीय दृष्य हेर्दै दिक्तेल बजार भएर एकैदिनमा सहजै भोजपुर पुग्न सकिन्छ।
ठाउँ-ठाउँमा भएका ती स–साना उल्झनहरू हटाउने हो भने त ४ बजे नै पुग्न सकिने रहेछ भोजपुर। यो पटकको भोजपुर यात्राले त्यो अनुभूति भयो। भोजपुरको सुन्दर रमणीय डाँडा पाखा, सेता हिमाल, झर्ना, भन्ज्याङ चौतारीहरू र गाउँबस्तीहरू देखेर को नरमाउला र?
के अबको गन्तब्य भोजपुर नहोला त? हाम्रो आन्तरिक पर्यटनको विकास पनि यसैबाट हुने त हो। अनि बिहानको सूर्योदयको चमक हेर्दै हामी चखेवा भएर काठमाडौंतिर लाग्यौं।