यस वर्षलाई ताल भ्रमण वर्षको रूपमा मनाउने मनसायले यस पटकको यात्रा समुन्द्री सतहबाट लगभग ३६०० मिटरको उचाइमा अवस्थित नेपालको सबभन्दा गहिरो ताल डोल्पाको से–फोक्सुण्डो सम्मको रह्यो। फागुनको तेस्रो हप्तामा हाम्रो योजना बनेको भएर माथिल्लो डोल्पासम्म पुग्न सकिने अवस्था नभएकोले से–फोक्सुण्डो तालसम्मको मात्र योजना बन्यो।
गाडीमा डोल्पाको सदरमुकामसम्म गएर ट्रेकिङ सुरू गर्न सकिने भए पनि गाडीमा जाँदा दुई दिन लाग्ने भएको हुँदा नेपालगञ्जदेखि जुफालसम्मको प्लेन टिकट बुक गरियो।
ट्रेकिङको लागि सम्पूर्ण तयारीहरू जस्तै: रुट, म्याप, ट्रेकिङ व्याग, हिउँमा लगाउन कालो चस्मा, पन्जा, पावर बैंक, प्राथमिक उपचारका सामान तथा औषधिदेखि लिएर लगाउने कपडादेखि खानेकुराहरूको सपिङ सकियो।
नेपालगन्जदेखि जुफालसम्मको यात्रा प्लेनमा भएको हुँदा हाम्रो यात्राको पहिलो रातको बसाइ नेपालगन्जमा भयो।
एकाबिहानै फोक्सुण्डो जाने हर्षले निद खुलेपछि जुफालसम्म जानको लागि नेपालगन्ज एयरपोर्ट पुगियो। हामीले तारा एयरको टिकट लिएका थियौं जुफाल जानको लागि, माइकिङ आयो।
‘तारा एयरबाट जुफाल जानुहुने सम्पूर्ण यात्रु महानुभावहरू सुरक्षा जाँच गरी बोर्डिङतर्फ प्रस्थान गर्नुहुन’ भनेर।
लाइन बसेर प्लेन चढियो। प्लेन झट्ट हेर्दा पुरानो सिट, कतै तारले बाँधेको, कतै केही टुटेको, एयर होस्टेसले जिन्स पाइन्ट लगाएकी, सिट कुनै पुरानो बसको जस्तो, सिट नम्बर त कता हो कता, जो अघि चढ्यो उसैले पहिलो सिट पाउने। प्लेनको पहिलो यात्राको सुरूआत थोरै खल्लो महसुस गराए पनि फोक्सुण्डो हेर्ने उमंग भने उतिकै थियो।
चारैतिर हिउँले ढाकिएका सेता नाङ्गा डाँडाहरूको बीचको खोंचबाट प्लेन उडिरहँदा कता-कता आङ सिरिङ हुन्थ्यो। अझ अगाडि क्याप्टेनहरूलाई प्रत्यक्ष देखिरहँदा, उनीहरूले गरिरहेको चाल हेरिरहँदा कुनै काम गर्न बिर्सने पो हुन् कि भन्ने पनि लाग्थ्यो।
बाहिर हेर्दा सेताम्मे हिउँको पछ्यौरी ओढेका पहाडहरू देखिए पनि क्याप्टेन जत्तिकै ध्यान अगाडि दिँदामै खोंच बीचबाट जुफाल एयरपोर्ट देखिँदा भने मनमा एक किसिमको आनन्द मिलेको थियो।
कताकता अब त बाँचियो भन्ने लागेको थियो।
हिमाली फ्लाइटको सबभन्दा सम्झनै नपरे हुन्थ्यो जस्तो लाग्ने यहाँको हवाई यात्रा हो, प्लेन सानो भएको हुँदा हल्लाउनु, एकातिर कोल्टिएझैं लाग्नु स्वाभाविक हो।
जुफाल एयरपोर्ट अवतरण गरेपछि डोल्पा जिल्ला पूरै हिँड्नुपर्ने भन्ने मानसिकतामा भैरहँदा डोल्पाको सदरमुकाम दुनैसम्म जाने बोलेरो जीप भेटियो।
हतारहतार गाडीमा बसियो, गाडी गुडिरहँदा बाहिर देखिने भौगोलिक बनावटहरूले नजरलाई आफैंतिर तानिरहे।
सदरमुकाम नपुग्दै केही अगाडि सुलिगढबाटै पुल तरेर हिँड्न सुरू गर्नुपर्ने भएता पनि जुफालका स्थानीयहरूले हिउँको कारणले फोक्सुण्डो जाने बाटोमा रहेका बस्तीका बासिन्दा तल झरेको हुँदा अझैसम्म फोक्सुण्डो यात्रा नखुलिसकेको अभिव्यक्ति दिनुभएको हुँदा दुनै पुगेर खाना पनि खाने, त्यसपछि त्यहाँ स्थानीयको राय बुझेरमात्रै अगाडि बढ्ने सल्लाहसहित दुनै पुगियो।
त्यहाँ पुगेर बुझ्दा केहीले जान सकिने बताउनुभयो भने केहीले अझै एक दुई हप्ता हिउँ केही कम भएको भए पनि तल झरेका स्थानीय होटलवालाहरू फर्किनसकेको हुनाले खाना बस्न समस्या हुन सक्ने बताउनुभयो।
फोक्सुण्डो गाउँपालिकाकै एक जना स्थानीय भेट हुनु भएपछि थोरै गाह्रो भए पनि जानै नसकिने हैन, फोक्सुण्डो तालको छेवैमा रहेको बस्ती रिङ्मोमा एउटा परिवार पूरै हिउँदमा नै गाउँदेखि तल नझरेर माथि नै बस्नुभएको कुरा जानकारी पाएपछि थोरै आँट आयो।
एक बजे दुनैबाट यात्रा सुरू गर्यौं। पहिलो दिनको बसाइ करिब चार घण्टा हिँडेर छेप्का भन्ने ठाउँसम्मको रहेको थियो। त्यसभन्दा अघि पुगिने गन्तव्यहरूमा हाल हिउँले गर्दा तल झरेका मानिसहरू फर्किसकेका थिएनन्। हिँड्न अबेर सुरू गरेको भएर हामीले बाटोमा अरू यात्री भेटिन गाह्रो थियो।
सुलीगढबाट रजिष्टर गरेर हिँडेपछि बीचमा कतैकहीँ दोबाटो आइहालेमा गुगल नक्साको प्रयोग गरेर हिँड्नुपथ्र्याे। सुलिगढबाट ठूलीभेरी नदीको पुल तरेर अगाडि बढ्दा से–फोक्सुण्डोबाट आएको फोक्सुण्डो खोलालाई कहिले देब्रे त कहिले दाहिने पारेर हिँड्नुपथ्र्याे।
निश्चल निलो सफा पानीको कलकल आवाज सुन्दै हिँडिरहँदा अर्कै दुनियाँमा पुगेझैं महसुस हुन्थ्यो।
पहिलो दिनको ऊर्जाले गर्दा थकाइ रत्तिभर पनि लागेको थिएन, थोरै सास बढेको महसुस भएमा उभिएर फोक्सुण्डो खोलाको पानीलाई केहीबेर हेर्दा थकाइ आफैैं हराउँथ्यो।
सुलिगढदेखि कागेनी, रक्तान हुँदै लगभग पाँच घण्टामा छेप्कामा पुगियो। यात्रा चार घण्टाको भनिएता पनि हिँडिरहँदा दायाँबायाँको दृश्यले रोकिएर फोटो खिच्न बाध्य बनाउँथ्यो। छेप्का पुग्नुभन्दा एक डेढ घण्टा अघिदेखि फोनमा नेटवर्क आउन छोडेको थियो।
बाहिर निकै चिसो थियो, एकछिन आराम गरेर होटलको डाइनिङमा आएर त्यहाँ रहेको स्काईको सेटबाट घरमा एक कल फोन गरेर यता फोन नलाग्ने जानकारी गरायौं।
डाइनिङमा एउटा टोली से–फोक्सुण्डो पुगेर फर्किसकेको, अनि अर्को तीन जना तुम्बा तानेर बसिरहेको टोली से–फोक्सुण्डो जानलाई अघिल्लो दिन दुनै बसेर भोलिपल्ट छेप्कासम्म पुगेको रहेछ।
हामी माथि जाने साथी भेटियो, सँगै जाने भनेर त भन्यौं, तर उनीहरूको पारा देख्दा हामीसँग साथ नमिल्ने कुरामा हामी ढुक्क थियौं।
स्थानीयले जे भनेको भए पनि पुगेर फर्केका यात्रीहरूसँग राय लिँदा गएर फर्किन सकिने, तर भोलिपल्टको लागि से–फोक्सुण्डोकै छेउमा रहेको रिङ्मो गाउँको एउटा घर नपुगिन्जेल बीचमा खाना खाजाको लागि कहीँकतै केही व्यवस्था नहुने हुँदा आफैंले व्यवस्थापन गर्नुपर्ने जानकारी पाइयो।
हिउँ बढी भएकोले माथि भ्यू–पोइन्ट जान नसकिने भनेपछि जान मिलेसम्म जाने भन्ने सल्लाहसहित बिहान ती केटाहरूसँगै निस्किने उनीहरूको बोलीलाई सहमति जनाएर कोठातर्फ लाग्यौं।
भोलिपल्ट बिहानै उठेर सक्दो चाँडो गन्तव्यतिरको यात्रा सुरू गरियो। हामीलाई त्यो दिन आठदेखि नौ घण्टा हिँड्नुपर्ने थियो। बीचमा आराम गर्दै फोटोहरू लिँदै जाँदा कम्तीमा दस घण्टा लाग्ने देखिएकोले सक्दो छिटो बाटो ततायौं।
हामीले छेप्कादेखि यात्रा गरेको केही समयदेखि हिउँहरू देखिन थाले। सुरू-सुरूमा बाटोभन्दा परपर हिउँ देख्दा पनि हिउँ खेल्ने उत्साह आउँथ्यो, हिउँ खोज्दै गएर फोटो खिच्दै गर्दागर्दै विस्तारै हिउँको मात्रा बढ्दै गयो। त्यसपछि बाटो पूरै सेताम्मे, कतै पग्लन थालेको, कतै ढुंगा जस्तै सारो भएर जमिसकेको, कतै भने हिउँ खेल्नलाई तयार पारेर राखेझैं हिउँका खादहरू देखिन्थे।
हिउँको पछ्यौरी ओढेको सेताम्य बाटो, छेउमा कलकल अविरल बगिरहेको सफा अनि निलो फोक्सुण्डो खोला, यो पल यस्तै रोकिइरहोस् झैं लाग्थ्यो। हिँउ खेल्दै, फोटो खिच्दै हिँडिरहँदा बाटो बितेको पत्तै भएन।
हामी पुङ्मी, सान्दवा, रेँची, सम्झना होटल, झरना होटल, चुनुवार, पलम, सुलीगढ हुँदै रिङ्मो गाउँ पुग्नुपर्ने थियो।
हाम्रो आजको अन्तिम गन्तव्यभन्दा अगाडि कुनै पनि स्टेसनहरूमा खाजा, खानाको व्यवस्था नहुने पूर्व जानकारी भएअनुसार आफ्नो हिसाबले तयारी गरेर हिँडेका थियौं।
हामीले छेप्काबाटै केही खाजा प्याकिङ गरेर लग्ने कि भनेर पनि सोचेको हो, तै पनि हामीले बोकेकै खाजाहरूले पुग्ला भन्ने लागेर केही बोकिएन। हिँड्दै गर्दा विभिन्न स्टेसनहरू भेटिन्थे, तर सबै स्टेसनका घरहरूमा ताला मारिएका हुन्थे, सबैजसो घरका छानादेखि भुइँ पूरै हिउँले छोपिएका हुन्थे। हामीलाई केवल हामी सही बाटोमा हिँडिरहेका छौं भन्ने कुरामात्र यकिन दिलाउँथे यी स्टेशनहरू।
हामीले बिहान होटलदेखि बोकेको पानी सकिएको भएर अब पानीको समेत अभाव हुन थाल्यो।
चिसोले गर्दा बगिरहेको फोक्सुण्डोको पानी खान अलि गाह्रो लाग्थ्यो, तै पनि खोलाको पानी खानुको विकल्प रहेन।
अगाडि बढ्दाबढ्दै बीचमा आर्मीको क्याम्प भेटियो। बोतलमा पानी मागेपछि तल खोला पुगेर गाह्रो गरेर ल्याएको पानी केही अप्ठ्यारो नमानी उपलब्ध गराइदिनुभयो।
हामीले त्यस दिनको भोक चाउचाउ, दालमोठ, ग्लुकोज पानी आदिले मेटायौं।
करिब तीन बजेतिर हामी पलम भन्ने ठाउँमा पुग्यौं। अब हामी लगभग तीन घण्टा पूरै ठाडै उकालो चढ्नुपर्ने थियो।
हिँड्न धेरै गाह्रो भएमा त्यहीँ बास बसी बिहानै उकालो लागेर से–फोक्सुण्डो ताल अवलोकन गर्न सकिने सुझाव अघिल्लो रात बास बसेको ठाउँबाट आए पनि भोलिपल्ट उकालो चढ्नुपर्ने कुरालाई सम्झिएर जसोतसो आजै हिँड्ने निधो गरेर केही मिनेटको बसाइँपछि उकालो चढ्न थाल्यौं।
जति उकालो चढ्दै गयो, उति झोला गह्रौँ भएझैं लाग्थ्यो, चिसो बढ्दो थियो, बिस्तारै हावा चल्न पनि थालेको थियो।
एउटा डाँडा देख्दा त्यो डाँडा चढेपछि आउला भन्ने सोच्दै बल्लतल्ल चढ्यो, अर्को ठूलो डाँडा अगाडि आँउथ्यो। उकालो भिरमा साँघुरो बाटो, त्यसैमाथि हिउँले ढाकेको, बिस्तारै चुनौती बढ्दो थियो।
आँखा बाटोभन्दा बाहिर लागे भने डर लाग्थ्यो। माथि हेर्दा ओढार परेको भिर, तल हेर्दा कहालीलाग्दो भिर अनि पिँधमा फोक्सुण्डो ताल, त्यसैमाथि हिउँको चिप्लो बाटो अनि चिसो सिरेटो लागिरहेको मौसम, केही पल आफूलाई नै यस्तो ठाउँ किन आएको होला आफ्नै ज्यान जोखिममा राखेर भन्ने लागेको थियो।
बेलाबेला माथिबाट बहेको स–साना गेगर सहितको हावाले परिवार सम्झन बाध्य बनाउँथ्यो। फोन पनि नलाग्ने ठाउँमा केही भैहाल्यो भने परिवारले कसरी खोज्छन् होला भन्नेसम्म सोचाइ आइरहेको थियो।
तल हेर्दा सुन्दर निश्चल सुलीगढ झरना देखिन्थ्यो, क्यामेरामा कैद गर्न आँट आएन वातावरणको माहोल देख्दा। एक पाइला अगाडि बढाउँदा बाँच्न सकिन्छ कि भन्ने कुरा मात्र थियो मस्तिष्कमा। यावत डरहरूलाई आत्मसाथ गर्दै भिरको बाटो पार गरियो। भिरको बाटो सकिएर केही सम्म ठाउँहरू देख्न थालेपछि ठूलै कालले बाँचियो भन्ने लाग्यो।
त्यसपछि यो अनुभव न त परिवारलाई सुनाइयो, न त अरू कसैलाई, परिवारलाई सुनाउँदा अर्कोपटक यात्रामा जानबाट रोक्न सक्ने भएकाले भनिएन। सम्म बाटो हिँडिरहँदा पनि मनमा एउटै डर यो थियो कि फर्कंदा यही बाटो फर्किनु छ। केहीबेरको हिँडाइपछि टाढा एउटा गेट देखियो। त्यसबाट थाहा हुन्थ्यो कि हामी नजिकै आइपुग्यौं भनेर।
यतिबेलासम्म साँझको ६ बजिसकेको थियो। गेट पार गरेर केही अगाडि बढेपछि बस्ती देखियो। मन्द साँझ पर्न थालेको थियो। मुख्य चुनौती त अब थियो, किनकि तीस पैंतीस घरधुरी भएको त्यस गाउँमा एउटामात्रै परिवार बसेका थिए। गाउँको पनि अन्तिम घर, जहाँबाट फोक्सुण्डो तालको पहिलो स्पर्श आँखाले गर्न पाउँछ, त्यहाँ पुग्दा थाहा भयो, त्यही अन्तिम घरमा मान्छे थिए। केही समय अघिदेखि अँध्यारो हुन थालेको मौसम गन्तव्य पुगेको केही समयमा हिउँ बर्सन थाल्यो।
से–फोक्सुण्डो तालमा पुग्दा नेटवर्क लाग्छ भन्ने थियो, तर हिउँको कारणले टावरमा समस्या आएको, मर्मत गर्नलाई जान नसकेको भनेर त्यहीँ पुगेपछि थाहा भयो।
हिउँदमा सबै जना बासिन्दाहरू जाडो कटाउन तल झरेकाले त्यहाँ हाल एउटा मात्र होटल संचालनमा रहेको र कोठा कम भएकाले अर्को चार जनाको टोली बसिदिँदा हामीले डाइनिङमा व्यवस्थापन गर्नुपर्ने भयो। बाहिर हिउँ परिरहेको भएर पनि डाइनिङमा बसिरहँदा आगोको रापलाई छोड्न मुस्किल थियो। चाउचाउ भनेपछि त्यति ठिक नलाग्ने हामी यस यात्रामा चाउचाउमा अभ्यस्त भैसकेका थियौं।
चिसो मौसममा तातात्तो चाउचाउको सुपले विशेष न्यानो दिन्थ्यो। चिसोको कारणले विद्युतीय उपकरणहरूको चार्ज केही समयमै सकिइहाल्थ्यो।
सोलारमा बाँकी रहेको पावरमा मोबाइल, क्यामेरा चार्ज गर्न छोडेर तातात्तो चाउचाउको सुप खाएपछि केहीबेर फोक्सुण्डो अवलोकनलाई हामी बाहिर निस्क्यौं। हिउँ परेको भएर चिसो बढेकाले होटलभित्र फर्केर डाइनिङमा बलिरहेको अँगेनामा घेरा हालेर बसेर भोलिपल्ट माथि भ्यू-प्वाइन्ट जान सकिने/नसकिने बुझ्न थाल्यौं।
अहिले त्यहाँ बसिरहेको टोली दुई दिनदेखि बस्दै आइरहेको रहेछ। दुई दिनसम्म माथि जान कोसिस गरे पनि हिउँ बढी भएको कारण जान नसकेको बताउनुभयो।
बिहानै निन्द्रा खुल्नेबित्तिकै बाहिर पुगेर हेर्दा खुलेको मौसम, निलो आकाश, चारैतिर हिउँले ढाकिएका पाखा, माथि कान्जीरोवा हिमाल अनि निश्चल आकाशजस्तै देखिने फोक्सुण्डो ताल, यी सबै आँखा अगाडि देख्दा चिसो छ भन्ने कुरा बिर्सिहालिन्थ्यो। हामी ब्युँझदा होटलवालाहरू हाम्रो लागि नास्ता तयार पार्दै थिए।
नास्ता खाइन्जेल त्यहीँबाट दृश्यावलोकन गरी त्यसपछि तालतर्फ लागियो।
जताततै हिउँको रास थिए, कहीँ टेक्दा बसेको हिउँ त कतै भने घुँडासम्म डुबिहाल्थ्यो।
जता अघिल्लो दिनको पाइलाहरू छन्, त्यतै पछ्याउँदै हिँड्दा भने केही सुरक्षित लाग्थ्यो।
हिउँमा सबै खाले पोज गर्दै पृष्ठभूमिमा निलो ताल राखेर क्यामेराको चार्ज कम भइन्जेल फोटो तथा भिडिओ खिचियो। अर्काे मौज्दात ब्याट्रीलाई प्रयोग गर्दै तालभन्दा पारिको पाल शेनतेन थासुन छोलिड्ग गुम्बातर्फ लागियो।
माथि भ्यू-प्वाइन्ट जान नसकिए पनि सतहभन्दा केही उचाइमा रहेको उक्त गुम्बादेखि राम्रो दृश्य देख्न सकिने भनेर अघिल्लो दिनको टोलीले तालको छेउछेउबाट हिउँलाई छिचोलेर बाटो बनाएका रहेछन्, त्यही बाटोलाई पछ्याएर गुम्बा पुगियो।
गुम्बा पुगेर केही समय घुमिसकेपछि फेरि होटल फर्केर खाना खाएपछि माथि भ्यू-प्वाइन्ट जान नसकिने भएकाले सोही दिन छेप्का पुग्नको लागि हामी फर्किने भयौं। फर्कंदा भने उक्त भिरमा हिजोको झैं डर लागेन।
बीचमा कहीँ पनि बास बस्नको लागि व्यवस्था नभएकोले हामीलाई छेप्का नै फर्किनुपर्ने दबाब पनि थियो। फर्कंदा भने त्यति आराम पनि नगरी फोटोहरू पनि खिच्न नपर्ने भएको हुँदा केही छिटो भयो, तै पनि साँझ भने परिसकेको थियो।
छेप्कामा आइपुगेर त्यहीँको फोनबाट घरमा कल गरेर पुगेर फर्किसकेको कुरा सुनाउँदा पनि कम्ता खुसी मिलेको हैन। त्यो साँझ त्यहाँ बसेर भोलिपल्ट बिहानै हिँडेर साँझसम्म जुफाल एयरपोर्ट पुगियो, सबैभन्दा पहिला त टिकट काट्नु थियो।
भोलिपल्ट दुई फ्लाइट रहेकोले सजिलै टिकट पाइयो र यात्राको सुखद अन्त्य भयो।
अन्तमा, फोक्सुण्डो तालको अनुभव तीतो मीठो जे जस्तो भए पनि पुगेर फर्कंदासम्म प्राकृतिक सौन्दर्यले बिर्सन बाध्य बनाउँछ।
उक्त यात्रामा कतिपय स्थानमा नेटवर्कको पहुँच नभएकोले कसैलाई गाह्रो, अप्ठ्यारो पर्दा आपतकालीन उद्धार समेत पाउन नसकेको घटना घटेको सुन्दा नेटवर्कको पहुँच विस्तार गर्न सके अझै उत्तम रहने देखिन्छ।
समग्रमा, फोक्सुण्डो ताल ट्रेकिङ रूट आफैंमा एउटा साहसिक यात्रा हो। बाटोको हिसाबले पनि कठिन मानिने फोक्सुण्डो धर्तीको एउटा सुन्दर उपमा हो।
प्रकृतिमा रमाउने जोकोही एकपटक पुग्नैपर्ने ठाउँ हो फोक्सुण्डो ताल। हिमाल, पहाड अनि ताल सम्पूर्ण अनुभव एकैपटक लिन मिल्ने अमूल्य उपहार हो से–फोक्सुण्डो ताल।