हाम्रो जक्सन बसन्तपुर हो। त्यो दिन अफिस सकिएपछि म सिधै बसन्तपुर पुगेँ। साथी गोविन्द मलाई कुरेर बसिरहेको थिए। गएको बर्खामा हामी गोसाइँकुण्ड जाँदा यहीँ भेटेर प्लान फिक्स गरेका थियौं।
गोसाइँकुण्ड जाँदा सँगैको साथी सुजन डेनमार्क फर्किसकेको थियो। अरू साथीहरूले यसपालि पनि उसैगरि कतै पनि जान नभ्याउने तर्क दिएर टारटुर पारे।
चिया सुरूप्प तान्दै गोविन्दले भन्यो, ‘दसैं बिदा नजिकिदै गरेको छ कतै न कतै घुम्न जाउन यार’, मैले पनि चियाको घुट्कोलाई बिस्तारै घाँटीबाट तल धकेल्दै ‘जाने भए जाम् तर एकदम नौलो र नयाँ ठाउँमा जाम् न’ भनेर प्रस्ताव राखेँ।
उसले मलाईनै कहाँ जाने हो उसो भए तै निर्णय गर् भन्यो। मैले फ्याट् आईसलेक जाम् भनेँ। मनाङ् भन्ने बित्तिकै मानिसको आँखामा तिलिचो तालको चित्र कुद्न थाल्छ। तर मनाङ्, तिलिचो पुगेर मात्रै सकिँदो रहेनछ। हामीले यसपालि आईसलेक, अर्कोपालि तिलिचो जाने भाका राखियो।
मनाङमा रहेको आईसलेकबारे दुई चार वटा गुगल ईन्फरमेसन, म्याप र युट्युव हेरेपछि थाहा भयो। यो नन् एक्स्प्लोर चाहिँ हैन कम एक्स्प्लोर भएको ठाउँ रहेछ। विशेषगरि विदेसी पर्यटकहरू मात्रै जाने गरेको बुझियो। त्यहीँ बसन्तपुरबाट चियाको चुस्किसँगै आईस लेक जाने निर्णय गरियो।
यो वर्ष दसैं तिहार बिदा राम्रै थियो। यसपालि घुम्न जानुपर्छ भन्ने कयौंका युवा साथीका योजना थिए होलान्। कतिपय साथीहरूका प्लान प्लानमै सिमित भए होलान् भने कति त ट्रेकिङका लागि उकालो पनि लागिसके होलान्। शनिबारका दिन हिँड्नु हुँदैन भन्ने एउटा विश्वासलाई अन्धविश्वास मानि साथ गोविन्द र म दसैं विदा शुरू भएकै दिन तनहुँको थर्पु बजारमा रहेको मेरो घर गएर बस्ने निधो गरियो। यात्रा तालिका बनाएर सजिला, हलुका र न्याना कपडा लगायत आवश्यक सामाग्री प्याक गरि झोला भिरेर हिँडियो। साँझ मेरो घर पुगियो।
भोलिपल्ट बिहान करिब ५ बजे हामी लमजुङ जिल्ला प्रवेश गर्ने विन्दु रहेको तनहुँको डुम्रे सम्मका लागि माईक्रो चढियो। बिहानै पोखराबाट काठमाडौंमा लागि छुटेका हायसहरू तुफान नै कुद्छन् त्यसैले म यिनलाई तुफान यातायात भन्न रूचाउँछु। तुफान यातायात चढेर डुम्रे पुग्दा ६ बजेको थियो। बिहानै बेसिसहरका लागि सार्वजनिक बस पाउन मुस्किल भयो। हामीले तीन हजारमा स्कार्पियो रिजर्भ गर्नुपर्ने भयो। बिहानको करिब ८:३० तिर हामी बेसिसहर पुग्ने वित्तिकै मनाङ्को लागि बोलेरो फेला पार्यौं।
मनाङ जाने चार वटा बोलेरो पालो कुरेर बसेका थिए। प्रतिव्यक्ति २५०० रूपैयाँका दरले हामीले अघिल्लो बोलेरो जिपमा झोला राख्यौ। गाडीले सामान लोड गरिञ्जेल हामी समोसा चिया जस्ता सामान्य खाजा खाईवरि काजु, पेस्ता, चकलेट लगायतका केही थप सामान किनियो। बोलेरोले हर्न बजाउँदै हामीलाई खोजेपछि बोलेरोको अगाडिको सिटमा बसेर मनाङ् तर्फ गुडियो।
ड्राइभर दाइ अन्दाजी ३४-३५ वर्षका देखिन्थे। मैले सोधे, ‘दाइ मनाङ कति घण्टामा पुगिएला?,’ ड्राइभर दाइले गियर खिच्दै भने, ‘खै भाइ बाटो राम्रो भए र सरासर जान पाए नौ दस घण्टा, नत्र यसै भन्न सकिन्न। जे होस् छिटै हिँडेका छौ साँझ सम्म पुगिएला कि?’
दाइले यति भन्दै गर्दा अगाडि बाटो छेकेर बसेको कुखुराको पोथीलाई टिट:टिट गर्दै हर्न बजाउनु भयो। पोथी हुर्ररर.. उड्यो। हाम्रो गाडि अगाडि गुड्यो।
बाटो मनाङ जिल्ला नटेक्दासम्म अत्यासलाग्दो थियो। मौसम अझै खुल्न सकेको थिएन। बाटाहरू भासिने र पहिरिने क्रम रोकिएको थिएन। ठूला ठूला झरनाहरू हाम फालेर मर्स्याङ्दीमा विलय भएको देख्न सकिन्थ्यो। छाँगाहरूले उधारेको सडक के गतिलो हुथ्यो र बोलेरोले घरि तीन पाङ्ग्रा टेक्थ्यो घरि चार पाङ्ग्रा।
ड्राइभर दाइले पनि स्टेरिङ् भुरूम रिगेझैं रिगाउनि र बटार्नि गरेको देख्दा भित्र भित्रै डर लाग्थ्यो। फेरि ड्राइभरकै आडमा बसेर यात्रा गर्दा झन् डर लाग्नी रैछ। कतै झुक्केर स्टेरिङ उल्टो बटारे भने?......तल धमिलो मर्स्याङ्दी गडगडाईरहेको थियो।
ड्राइभर दाइको फोन बज्यो। दाइले गाडि चलाउँदै मोबाईल लाउड स्पिकरमा गराएर कुरा गर्न थाले। उताबाट कोही भन्दै थिए, ‘के रे केही खबर आको छ र भाइ तिमीलाई?’ यताबाट ड्राइभरले छैन दाइ केही छैन भने। उता बाट फेरि बोलेको सुनियो, ‘अनि त्यो तिम्रो भन्द पछाडि हिँडेको गाडी कता के के भयो रे भन्ने सुनियो के हो कुरो भनेर बुझ्न खोजेको, ल राखे उसो भा।’
यता ड्राइभरले फोन राखेपछि हामी सित बोल्न थाले। ‘जे जसो भए पनि मान्छेलाई केही नभए हुन्यो।’
गोविन्दले मलाई पुलुक्क हेर्यो। भित्र भित्रै आङ सिरिङ भयो। अनि अलिकति तन्केर तल मर्स्याङ्दीको आकार हेरेँ।
बेलुका करिब ७ बजेतिर हामी मनाङको भ्राका पुगियो। यहीँ बाट हो आईसलेकको लागि उकालो लाग्ने ठाउँ। हामीलाई ड्राइभरले यहीँ झरेर बास बसेमा भोलि सबेरै उकालो लाग्न सजिलो हुने कुरा सुझाए।
बोलेरो बाँकी ३ जना ठिटा बोकेर एक किलोमिटर जति अगाडि रहेको मनाङ् बजारतर्फ हुईकियो। भ्राका समुन्द्री सतहबाट ३४७५ मिटर उचाईमा थियो। हामी भ्राका बजारमा रहेको सबैभन्दा पुरानो र काठै काठबाट बनेको होटेल बुद्वमा बास बस्यौ।
खाना खाईवरि भोलिपल्ट बिहान ५ वजेको अलार्म राखेर निदायौं। भोलिपल्ट बिहान अलार्म सँगै उठियो। बाहिर अधेरै थियो। उठेर तातोपानी खोज्दै होटेलको भान्सामा पुगेँ। थर्मसमा पानी भेटियो। दुई कप तातो पानी पिईयो। गोविन्दले स्याउ काटेर तातो पानीमा डुवायो।
खाली पेटमा तातो स्याउ पर्यो। राम्रै भयो। धेरै जसो सामान होटेल रूममै छोडेर हलुङ्गो झोला बोकेर होटेलबाट निस्कियौं। ६ बजेछ। माथि हिमालहरु चादिका मुकुट जस्ता सेता देखिएका थिए। हामी आईसलेकको लागि आज ठाडो उकालो लाग्दै थियौं।
उकालो यति ठाडो थियो कि, जति माथि जहाँ पुगेर तल हेरे पनि भ्राका बजार छेकिन्थेन। आउला भन्यो आउला भन्यो उकालो नै नसकिने।
गएको हप्तादेखि मौसम खुल्नै सकेकै थिएन रे। मौसम खुल्न नसकेको कारण अगाडिका अटल हिमशिखरको मजा उति लिन सकेनौं। तथापि छिनभरमै हुस्सु भित्र हराउँदै हावाको झोकासित समालिदै अघि बढ्दा मन उसै रमाईरहेको थियो।
हिमालहरू पनि लुकामारी खेलेझै घरि खुल्थे घरि लुक्थे। यात्रा अवधिभर बिच बाटोमा न बस्ने ठाउँ, न टी हाउस, न चौरि गोठ , जताततै शून्य थियो। अत्यासलाग्दो उकालो थियो। बल्ल्तल्त करिव पाँच घण्टाको हिडाईपछि एउटा टि सप भेटियो। तर निर्जन।
होटेल बन्द थियो। हामी भोकले टट्टु भइसकेका थियौं। पुनः हरेस खादै केही माथि लाग्दै गर्दा चौरी गोठ भेटियो।
केही विदेशी पर्यटकको क्याम्पिङ रहेछ। रमाईलो पनि लाग्यो। चौरि गोठका दाइले हामीलाई हेर्दै मीठो मुस्कानले स्वागत गर्नुभयो। गोविन्दले झोला बिसाएर लामो सुस्केरा हाल्यो। करिब पचास साठिका संख्यामा चौरिहरु वरपर चरिरहेका देखिन्थे।
घरबाट हिँड्ने बेलामा ममीले अनदिको चामल पकाएर चिचर (कतिपय ठाउमा लट्टे भनिन्छ) झोलामा हालिदिनुभएको थियो, झोलाबाट चिचर निकालेर चौरिको तातो दूध मिसाएर खाइयो। चौरी गोठको दाइले आँत भरिने गरि चौरिको तातो दुध खुवाउनुभयो। एकछिन केही आराम गरि पुनः उकालो लागियो।
चौरी गोठबाट उकालो लागेको करिब ४५ मिनेटपछि हामिले पहिलो सानो ताल देख्यौं। हामी समुन्द्री सतहबाट ४६०० मिटर भन्दा माथिको उचाईमा पुग्यौं। तल्लो र माथिल्लो गरि १०० मिटरको दुरिमा दुई तालहरु थिए।
माथिल्लो आईसलेक ठूलो र फराकिलो थियो भने तल्लो ताल आकारमा केही सानो थियो। यसलाई त किचो ताल पनि भनेर भनिँदो रहेछ। चर्चा चाहीँ मनाङ्को आईलेक भनेर छ। त्यहाँ तालकै कान्ला मुनि आडमा एउटा चौरी गोठ भेटियो। गोठभित्र धुवाँ आइरहेको थियो।
यसो चिहाएर हेरेको हाम्रै उमेरका गोठाला दाइ दाल बसाल्दै रहेछन्। गोठालो दाइले मिठो तातो कफी खुवाउनुभयो। चिसोले कक्रक्क परेको हाम्रो शरीर आगाको वरिपरि बसेर तातो कफी खाएपछि फक्रियो। अनि फेरि गोठाला दाइसितै ताल तिर गफिदै भुल्न थाल्यौं।
आईलेक र अगाडिको पर्वत हेर्दै परपर चरिरहेका चौरीहरु देख्दा मन यसै पुलकित भएको थियो। साथी गोविन्द र म धित मरिञ्जेल अनेक पोजमा फोटो र भिडियो खिचियो। गोठालो दाइ पनि रौसिदै हामीसितैं फोटो खिच्ने र हाम्रो पनि खिचिदिने गर्न थाल्नुभयो।
शरीरमा कफीको तातो हराउँदै गएको र तालबाट बहेको चिसो सिरेटोले हानेर हामीलाई जाडो हुन थाल्यो। हामी करिब एक घण्टा जति ताल वरिपरि समय विताएर तल झर्यौं। अब हामी ४६२० मिटरको उचाईमा रहेको आईसलेक बाट ठाडो तल झर्न थाल्यौं।
उक्लँदा उक्लन गाह्रो,
ओर्लदा लाग्थ्यो होइन उक्लन धेरै सजिलो रहेछ बरू।
चिसो र दिनभरिको हिँडाईले गर्दा घुँडाका जोर्नीहरू करकर दुःखेका थिए। मेरो जुत्ताको ग्रिप खिईसकेको रहेछ क्यारे बेलाबेलामा म पछारिरहन्थेँ। त्यो देखेर गोविन्दे मरिमरि हास्थ्यो। ट्रेकिङ्को मजा नै यही हो। खुईय.. सुस्केरा हाल्दै हिँडेको शरीर टुस्स कतै बस्यो भने उठ्न मान्दैन।
आज पुगेका ठाउँहरुको चित्र भोलि कुनै दिन पुग्दा फेरिन सक्छ। आज देखिएको प्रकृतिका ती सुनसान चित्रहरू भोलिको भिडले गिजोलिन सक्छ। हामीले यहाँ आएर आज जे देख्यौ प्रकृतिको यथार्थ चित्र देख्न पाईयो। धन्य छ हामी भित्र पैदा भएको यो जाँगर र रहरलाई। जस कसलाई दिउँ? साथी गोविन्दलाई दिउँ कि, बसन्तपुरमा बसेर चिया पिउदै गर्दा निर्णय लिईएकाले त्यो तातो चियालाई दिऊ?
खैर.. हाम्रा थकान र दुखान सबै भुलाउने ती सुन्दर दुई तालहरू। यात्रामा देखएका प्रकृतिका हरफ हरफका फरक फरक चित्रसँगै गोठाला दाइहरूको त्यो मिठो आत्मीयता र मुस्कानलाई आँखाभरि संगालेर भोलिपल्ट हामी घर फर्कियौं।