हाम्रो गाउँमा रहेको फोक्सुन्डो ताल प्रकृतिको अनुपम उपहार हो। तालबाट एक दिन पदयात्रामा पुगिने ‘पाङ्रीगेपो’ पनि आकर्षक छ। त्यहाँ कान्जिरोवा हिमालको काखमा अर्को सुन्दर ताल ‘छोकार्पो’ पनि छ।
***
हिमाली जिल्ला डोल्पा धेरैको सपनाको गन्तव्य हो। प्रकृति र संस्कृतिको अतुलनिय गन्तव्य। वर्षेनी सयौं विदेशी र हजारौं नेपाली डोल्पा घुम्छन्। विदेशीहरू फोक्सुन्डो तालसम्म मात्र होइन, पुरै डोल्पा भ्रमण गर्छन्। उनीहरू महिना दिनको प्याकेजमा डुल्छन्। आन्तरिक पर्यटकहरू भने प्रायः फोक्सुन्डो तालसम्म पुगेर फर्कन्छन्।
जे होस्, जाजरकोटबाट दुनैसम्म सडक सञ्जाल जोडिएपछि अचेल आन्तरिक पर्यटकको राम्रो चहलपहल हुन थालेको छ। दिगो पर्यटनका लागि यो सुखद् संकेत हो।
म फोक्सुन्डो तालको किनारमा अवस्थित रिग्म गाउँमा जन्में, त्यहीँ हुर्कें। त्यसैले डोल्पाको जीवनशैली मेरा लागि नौलो होइन। हिजोआज म काठमाडौंको इचंगुस्थित बोन गुम्बामा बस्छु। बेलाबेलामा जन्मथलोमा पुगिरहन्छु। त्यहाँ पुग्दा बेग्लै आत्मगौरब अनुभूति हुन्छ। प्रकृतिको आँगनमा उतै बसिरहुँ जस्तो लाग्छ।
यसपालिको यात्रामा म करिब दुई महिना त्यहाँ बसेँ। त्यतिबेलाका अनुभूतिहरू तपाईंलाई सुनाउँदैछु।
गएको अगस्ट ८ तारिखका दिन काठमाडौंबाट बेलुकी ३ बजेको बुद्ध एयरबाट साथी गेसे सेराप् फुन्छोक र म नेपालगञ्ज उड्यौं। करिब १ घण्टाको उडान सुखद् बन्यो।
हामी एक रात त्यहाँको होटलमा बास बस्यौं। दोस्रो दिन बिहान हामी ६ बजे समिट एयरमा डोल्पाको जुफाल विमानस्थलका लागि उड्यौं। नियमित हवाई उडान नभए पनि हाम्रो विमानस्थल कालोपत्रे भैसकेको छ। यो डोल्पाको एक मात्र एयरपोर्ट हो।
यहाँ नियमित उडानको वातावरण मिलाउन सके स्वदेशी र विदेशी पर्यटकको आवागमन बढ्ने थियो।
जुफाल आफैंमा सानो बजार हो। यहाँ होटल तथा रेष्टुराँ छन्। यहाँबाट डोल्पाको सदरमुकाम दुनै बजार पुग्न गाडीमा १ घण्टा लाग्छ भने हिँडेर जाँदा ३ घण्टा लाग्छ।
अब एकैछिन डोल्पाकै कुरा गरौं है, भुगोलका हिसाबले डोल्पा नेपालको सबैभन्दा ठूलो जिल्ला। पहिलापहिला माथिल्लो भेकका तीन गाउँपालिकाहरू शे–फोक्सुन्डो, डोल्पो बुद्ध र छार्का ताङसोङलाई मात्र डोल्पा भनिन्थ्यो। नेपाललाई ७५ जिल्लामा विभाजन गर्ने बेला डोल्पाको क्षेत्रफल बढ्यो। र, डोल्पा ठूलो जिल्ला बन्न पुग्यो। अहिले गणतन्त्र नेपालमा ७७ जिल्ला पुगिसके तर ठूलो जिल्लाको उपमा भने हाम्रो डोल्पासँगै छ।
विगतमा डोल्पा विभिन्न राज्य अन्तर्गत शासित भएको इतिहास पाइन्छ। इतिहासअनुसार आठौं शताब्दीसम्म डोल्पा स्याङ्सुङ राज्यमा पर्दथ्यो। स्याङ्सुङ राज्यमा १८ वटा राजाले शासन गरेको पाइन्छ। त्यसपछि डोल्पा तिब्बत अन्तर्गत पर्यो। त्यसपछि पुर्याङ राज्यले डोल्पामाथि शासन गरेको पाइयो।
११ औं र १२ औं शताब्दीमा डोल्पा सिञ्जा राज्यमा आयो। त्यसैगरि १३ औं शताब्दीमा घुङथाङ राज्य अन्तर्गत आयो। त्यसपछि मुस्ताङ राज्यको मातहतमा आयो। र, १८ औं शताब्दीमा राजा पृथ्वीनारायण शाहको पालामा नेपाल एकीकरण भएसँगै बृहत नेपालमा डोल्पा पनि गाभियो।
हामी जुफालमा पुग्दा मौसम घमाइलो थियो। त्यहाँ हामीले नास्ता खायौं। अनि जिप रिजर्भ गरेर सुलिगाड पुग्यौं। सुलिगाडबाट एक जना सहयोगी लिएर हामी फोक्सुन्डोतिर उकालो लाग्यौं।
सुलिगाडमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय छ। त्यहाँ पर्यटकहरूले इन्ट्री गर्नु पर्ने नियम छ।
सुलिगाडबाट हामी फोक्सुन्डो खोला किनारैकिनार अघि बढ्यौं। हामी डेढ घण्टामा कागुने भन्ने ठाउँमा पुग्यौं। त्यहाँ केही होटल छन्, हामी खानाका लागि ‘होटल सुनिता’मा पस्यौं। हामीले त्यहाँ बिहानको खाना खायौं।
होटलमा बसेका बेला हामीले फोक्सुन्डो पदयात्रामा निस्केका धेरै नेपाली युवाहरू भेट्यौं। उनीहरू सबैका हातमा प्लाष्टिकका झोला थियो।
‘तपाईंहरूले झोलामा के बोक्नु भएको ?’ हामीले सोध्यौं।
‘चाउचाउ, बिस्कुट र चकलेट बोकेका छौं’, उनीहरूले भने, ‘यहाँ भन्दा माथि फोक्सुन्डो ताल नपुगुन्जेल केही पाइँदैन भनेर दुनैका पसलेले भने, त्यसैले खानेकुरा बोकेर आएका हौ।’
उनीहरूका कुरा सुनेर अचम्म लाग्यो। साँच्चै हाम्रो फोक्सुन्डो पदमार्गका बारेमा सबैतिर जानकारी पुगेको रहेनछ। जबकि, पदमार्गमा ठाउँठाउँमा होटल तथा खाजा घर छन् जहाँ धेरै खानेकुरा पाइन्छ।
हामी खाना खान बसेको ठाउँको खास नाम ‘काग्नी’ हो। अपभ्रंस हुँदै जाँदा कागुने भन्न थालियो। भोटे भाषाको शब्द ‘काग्नी’को अर्थ हुन्छ–ठूलो चैत्य। जसको मुन्तिरबाट हिँडिन्छ। त्यसको भित्तामा धर्मअनुसार विभिन्न चित्र बनाइएको हुन्छ।
यो ठाउँमा पहिला ठूलो चैत्य ‘काग्नी’ थियो। त्यहीँ भएर ठाउँको नाम काग्नी रहेको।
त्यहाँ खाना खाइवरी हामी हिँड्यौं। करिब डेढ घण्टामा साङ्टामा पुग्यौं। त्यहाँको होटलमा चिया खायौं। अघि भेटिएका युवाले झोलाभित्रको बिस्कुट झिकेर आपसमा बाँडे।
साङ्टाको पुल तरेपछि फोक्सुन्डो क्षेत्र सुरू हुन्छ। त्यहाँबाट एक घण्टा हिँडेर हामी छेप्कामा पुग्यौं। त्यो दिनको बास छेप्कामा बस्यौं।
छेप्कामा एउटा सानो गाउँ छ, जहाँ केही होटल छन्। यो गाउँ शे–फोक्सुन्डो गाउँपालिका–८ मा पर्छ। हामी चाहिँ ‘फोक्सुन्डो गेट वे होटल’मा बस्यौं। त्यहाँ मिठो आतिथ्यता पाइयो।
भोलिपल्ट बिहान ७ बजे चिया नास्ता खाएर हामी निस्कियौं। सिन्टाक भन्ने ठाउँमा पुगेर हामीले कफी खायौं। त्यहाँ एउटा मात्र टि हाउस छ। त्यहाँबाट डेढ घण्टा हिँडेर र्याँचीमा पुग्यौं। र्याँची पनि सानो गाउँ हो जहाँ एउटा घरमा होटल सुविधा छ। सिजनमा पाल टाँगेर थुप्रै होटल थापिन्छन्।
हामीले त्यहाँको पाहुना होटलमा चिया खायौं। अनि त्यहाँबाट हामी उकालो लाग्यौं।
डेढ घण्टा हिँडेपछि साइजलस्थित तापिरिचा मा.वि.मा पुग्यौं। तापिरिचा हाम्रो रिग्म, पुग्मो लगायतका ६ गाउँको साझा विद्यालय हो। टासी डी नामक संस्थाको व्यवस्थापनमा सन् १९९८ देखि सञ्चालनमा आएको यो भोट क्षेत्रकै नमूना विद्यालय हो।
यहाँ करिब २०० विद्यार्थीले आवासीय रूपमा पढ्दै आएका छन्। त्यहाँबाट एसइई दिएर माथिल्ला कक्षामा डेढ सय भन्दा बढी विद्यार्थीले अध्ययन गरिसकेका छन्।
हामी सरासर विद्यालय नजिकैको ‘हिउँचितुवा होटल’मा पुग्यौं, जहाँ हामीले बिहानको खाना खायौं। खाना पछि हामीले विद्यालय भ्रमण गर्यौं। त्यहाँका व्यवस्थापक रामचन्द्र बुढा र शिक्षकहरूसँग विद्यालयको अबस्थाबारे छलफल गर्यौं।
त्यहाँबाट हामी आम्ची क्लिनिक घाङ्छेन मेन्खाङमा गयौं। आम्चीसँग जडीबुटी उपचार र मेन्खाङको बारेमा बुझ्यौं। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा सन् २००० मा घाङ्छेन मेन्खाङको स्थापना गरिएको हो।
आम्चीका सुखदुःख बुझेपछि साँझ हामी स्कुल नजिकको ट्रेकर इन होटलमा बस्यौं।
बिहान हामी झरना होटलमा चिया नास्ता खाएर उकालो चढ्यौं, फोक्सुन्डो तालका लागि। त्यहाँबाट फोक्सुन्डो झरना हेर्दै तालमा पुग्न पर्यटकलाई सामान्यतः तीन घण्टा लाग्छ। हामी भने छिट्टै पुग्यौं, दुई घण्टामै।
रिग्म मेरो आफ्नै गाउँ। जहाँ म जन्में र हुर्कें। अचेल धेरैजसो समय म काठमाडौंको इचंगुस्थित गुम्बामा बस्छु। बेलाबेलमा जन्मथलो पुगिरहन्छु। मलाई हरेक पटक डोल्पा पुग्दा मिठो अनुभूति हुन्छ। फरकपनको आभाष हुन्छ। आफ्नै ठाउँको तस्बिर र रंगहरू फरकफरक लाग्छन्।
हामी रिग्म गाउँमा पुगेको भोलिपल्ट थासुङ छोलिङ गुम्बा दर्शन गर्न गयौंं। यो गुम्बा टेतोन छेवाङ छुल्ठिमले १५ औं शताब्दीमा स्थापना गरेका हुन्। अन्यत्र भन्दा यहाँ योग, ध्यान र साधना गर्दा चाँडै उपलब्धि प्राप्त हुने लामाहरूको अनुभव छ। यही ठाउँमा हामीले पनि तीन वर्ष, तीन महिना र तीन दिन गुफा बसेका थियौ।
डोल्पामा बोन धर्मावलम्बीको बाहुल्यता छ। फोक्सुन्डो तालको किनारामा रहेको यो गुम्बा पनि बोन धर्मावलम्बीको आस्था केन्द्र हो। बोन धर्मका संस्थापक तोन्पा शेन्राव मिओ हुन्। उनी १८ हजार वर्ष भन्दा पहिले स्याङसुङ राज्यको होल्मो लुङरिङ भन्ने ठाउँमा जन्मेका थिए।
तालको किनारामा साना ठूला गरी १३ वटा गुम्बाहरू छन्। यहाँ दुई वटा मुख्य गुम्बा छन्। नयाँ गुम्बा चाहिँ सन् २००० मा बनाइएको हो।
हामी गुम्बा दर्शनमा पुगेको दिन पूर्णिमा परेको थियो। मेमेढाँसोंको पूजा गर्ने दिन। यसरी पूर्णिमामा हाम्रोतिर दिवंगत लामाको स्मृतिमा उनीहरूप्रति श्रद्धा सुमन दर्शाउने चलन छ।
हामीले गुम्बाका लामाहरूसँग दिउँसो ३ बजेसम्म पूजा गर्यौं। तीन बजेपछि हामीले पुरानो गुम्बाको जिर्णोद्धार कसरी गर्ने भनेर लामा, झोमो र गाउँलेसँग कुराकानी गर्यौं।
अगस्ट १३, २०२२ गतेका दिन हामी घाङ्छेन मेन्खाङका लागि ओरालो झर्यौं। त्यो दिन मेन्खाङमा विशेष वैठक थियो। त्यहाँ शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका वार्डेन, डब्लुडब्लुएफका प्रतिनिधि, गाउँपालिकाको वडा नं ८ र ९ का वडाध्यक्षहरू, तापिरिचा मा.वि.का प्रतिनिधि र मेन्खाङ्को समितिसँग घाङ्छेन मेन्खाङको व्यवस्थापनका विषयमा छलफल गरियो र उपलव्धिमूलक नै भयो।
अर्को बिहान गाउँ नजिकैको एउटा चैत्यको पुननिर्माण र सुद्धिकरण पूजामा सामेल भयौं । पूजा समापन पछि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि, डब्लुडब्लुएफका प्रतिनिधि र गाउँलेसँगको छलफलमा हामी सहभागी भयौं।
अगस्ट १७, गते हामीले पुराना गुम्बाका सबै सामान नयाँ गुम्बामा ओसार्यौं। भोलिपल्ट लामा ढाबा र झोमो सबै जम्मा भए। पूजाआजा र धुपवत्ति गरि पुरानो गुम्बा जिर्णोद्धार गर्ने काम शुभारम्भ गर्यौं।
त्यसपछि पनि हरेक दिन म गुम्बाको काममा खटिएँ। अगस्ट १९ मा तापिरिचा मा.वि.का विद्यार्थीलाई बोन धर्मको इतिहास, कला, संस्कृति, गाउँको रितिरिवाज र नैतिक शिक्षाको विषयमा प्रवचन दिने अवसर मिल्यो।
अगस्ट ३१ का दिन अरू तीन जना लामाहरूसँग भ्रमणमा निस्क्यौं। बिहानको खाना छोलोफुकमा खाना खायौं। यो ठाउँ फोक्सुन्डो तालको शिर भित्री भागमा पर्दछ। यो अति रमणीय स्थल हो। फोक्सुन्डो ताल घुम्न आउने पर्यटकहरु तथा हरेक व्यक्ति एक पटक त पुग्नै पर्ने ठाउं हो। रिग्म गाउँबाट लगभग तीन घण्टामा पुगिन्छ।
खाना खाएर पाङ्रीगेपो ठाउँ जानको लागि उकालो लाग्यौं। यो ठाउँ यार्चागुन्बु राम्रो पाइन्छ। यस ठाउँ गाई चरनका लागि पनि उपयुक्त छ। रिग्मका गाई यहाँ चराइन्छ। यहाँ रिग्म गाउँको चौंरी गाईका गोठहरू छन्।
पहिलादेखिनै पुग्ने इच्छा भए पनि जान पाएको थिइनँ, यसपालि पुग्ने अवसर मिल्यो। हाम्रो गाउँ रिग्मबाट त्यहाँ पुग्न एक दिन लाग्छ।
त्यस ठाउँमा ‘छोकार्पो’ भन्ने एउटा सुन्दर ताल छ। भोटे भाषाको शब्द ‘कार्पो’को अर्थ सेतो हो। यो ताल सेतो छ। ताल नजिकै हिमाल पनि छ। पहिलापहिला त्यो हिमाल चढ्न विदेशीहरू आउँथे।
तालको दक्षिणतिर कान्जिरोवा हिमालको लामो श्रृङ्खला नै छ। त्यसैगरि उत्तर दिशामा रिग्म गाउँको चरन क्षेत्र। फराकिलो पाटन रमणीय छ। त्यसको बीचबाट फोक्सुन्डो खोला बग्छ। त्यहीँ खोला तालमा पुगेर मिसिन्छ।
फोक्सुन्डो तालसम्म आउने आन्तरिक पर्यटकका लागि समेत पाङ्रीगेपो आकर्षक गन्तव्य बन्न सक्छ। यसका लागि राम्रो प्रचारप्रसार आवश्यक छ।
हामीले ५ दिन पाङ्रीगेपो यात्रा गरेर रिग्म गाउँ फर्कियौं। यसपालि गाउँको बसाई निकै उपलब्धिमुलक बन्यो। सेप्टेम्बर १३ तारिखका दिन मेमेढाँसोङ (१८ औं शताव्दीमा जन्मेका टेतोतन वंशजका लामा) को चैत्य जिर्णोद्धार गर्न सुरु गरियो। त्यसैगरि १७ तारिखका दिन खुङ्फुक तिर्थस्थलका व्यवस्थापकहरुको अनुरोधमा हामीले खुङ्फुक तीर्थस्थल परिक्रमा गर्यौं।
यो तीर्थस्थल १२ औं शताब्दीमा थासि लामा दुल्बासिंघे लामाको ध्यान केन्द्रका रुपमा चर्चित थियो। उनले त्यहाँ गुफा बसेर ज्ञान प्राप्त गरेका थिए।
यो तीर्थस्थल तापिरिचा मा.वि.बाट एक घण्टा पदयात्रा दूरीमा छ। त्यहाँ पुगेर हामीले अभिषेक गर्यौं। रिग्म, पुङ्मो र तापिरिचाका विद्यार्थीसहित करिब ४०० जना सहभागी भई रातो गरूडको पूजाआजा गरी अभिषेक गर्यौं।
यसरी घुमफिर र धर्मकर्ममा दिन विताएँ । अनि सेप्टेम्बर २५ का दिन बिहान गाउँलेहरूसँग गुम्बा निर्माण सम्बन्धमा छलफल गर्यौं।
त्यहीँ दिन प्यारो जन्मथलोलाई छाडेर म काठमाडौं फर्कें। फेरि मेरो गाउँ डोल्पा जानेछु। प्यारो डोल्पा ! पर्खिबस है, म छिट्टै आउने छु।
हेर्नुहोस् तस्बिरहरू