नाइट बस चढेर पहिलो पटक उपत्यका छाडेसँगै जागिरको नयाँ अनुभव लिने अवसर प्राप्त भएको थियो। भैरहवाबाट मुर्गिया जानुपर्थ्यो।
भोलिपल्ट खानेपानी उपभोक्तालाई तालिम संचालन गर्नुपर्ने र उक्त तालिमको लजिस्टिक व्यवस्थापन मेरो भागमा परेको थियो। लजिस्टिक व्यवस्थापनका लागि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले मेरो नाममा बीस हजार रुपैयाँ पेस्की दिनुपर्ने थियो।
तर तत्कालीन प्राविधिक कार्यालय प्रमुखले परामर्श दातासँग भएको सम्झौता अनुसार को-ओभरसियर नपठाएकाले मेरो नाममा पेस्की दिन सक्दिनँ भन्नुभयो। त्यसमा विभिन्न कारण हुन सक्छ।
मेरो नाममा पेस्की नदिने र तत्कालीन जिल्ला प्राविधिक कार्यालयका एक जना ओभरसियरको नाममा पेस्की दिने र तालिम भर उहाँले नै लजिस्टिक व्यवस्थापन गरिने भयो। तालिमको अन्तिम तयारी गर्नुपर्ने काम बाँकी नै थियो। त्यसैले हाम्रो टिम मुर्गियातिर लाग्यो।
अन्य चार जना सरहरू अनुभवी भएका कारण मलाई खासै कुनै समस्या थिएन। तर मेरो आफ्नो जुन कामका लागि आएको उक्त काम नै नभएपछि खल्लो महसुस भइरहेको थियो।
भोलिपल्ट तालिम सुरू भयो। सबै जना सरहरूको आफ्नो क्लास थियो। मेरो भने न आफ्नो क्लास न अरू कुनै काम नै। अलि नमज्जा लागिरहेको थियो। साँझ तालिम सकिएपछि सरहरूसँग आफ्नो भूमिका नभएकाले नबस्ने निर्णय गरेको बताए।
सके म भोलि नै काठमाडौं फर्कन्छु भन्दा सरहरूले तालिम सकेर फर्किन भन्नुभयो तर मानिनँ।
अफिसमा हाकिमलाई सम्पर्क गरेँ। सबिस्तार सुनाएँ। उहाँले फर्कन भन्नुभयो। मैले भोलिपल्ट बिहानै काठमाडौं जाने बस समाएँ। साँझ काठमाडौं आइपुगेँ। काठमाडौं फर्कंदा बसमा ननिदाई बाटोमा पर्ने सबै ठाउँ कण्ठ पार्दै आएँ।
भोलिपल्ट समयमै अफिस पुगेँ। सबै साइटका गतिविधि सुनाएँ।
‘केही छैन त्यो मान्छे त्यस्तै हो तपाईंलाई पेस्की दिँदा भाग छुट्छ भनेर हो ठिकै छ’, सरले भन्नुभयो।
कुन भाग हो मैले कुरो बुझिनँ तर अहिले बुझ्दैछु।
आफू गएको प्रोजेक्टमा सुरूको गाँसमा नै ढुंगा लागेजस्तो भयो। अब के काम गर्ने?
अफिसले के भन्ने हो मनमा कुरा खेलिरहेको थियो। सरोज सरले मलाई बोलाउनु भयो।
सरले फेरि डोटी जानको लागि आग्रह गर्नुभयो। भर्खर जुन कामको लागि गएको थिएँ त्यो नभएर फर्किएको थिएँ। तर पनि सरको अफर नकार्ने कुरै भएन। हुन्छ, जान्छु भनेँ। यस पटक एक्लै थिइनँ। हरेकृष्ण श्रेष्ठ सर, शंकर पोख्रेल सर, नारायण आचार्य सर अनि म, चार जनाकै टोली थियो। यस पटकको यात्रामा म सहभागी मात्र भैदिँदा हुने अवस्था थियो। सम्पूर्ण व्यवस्था नारायण सरले गर्दै हुनुहुन्थ्यो।
पुसको पहिलो हप्ता, गते त ठ्याक्कै याद भएन। हाम्रो यात्रा सुरू भयो। धनगढीको नाइट बस बसपार्कबाट दिउँसो ३ बजे नै लाग्दो रहेछ। हाम्रो टिम धनगढी यात्रामा लाग्यो।
पहिलो यात्रा काठमाडौंमा नै झमक्कै साँझ परेपछि सुरू गरिएकाले राजमार्गको बाहिरी वातावरण खासै अनुभव गरिएको थिएन। तर यसपटक यात्रामा ननिदाउने निधो गरेको थिएँ। साथमा सरहरू हुँदा गफ गर्दै यात्रा गर्नुको रमाइलो बेग्लै थियो। भर्खर काममा जान लागेको नयाँ पठ्ठो जोस अलि बेग्लै हुने भयो नै।
काममा खारिनु भएका हरेकृष्ण सरले अनुभवहरू सेयर गर्नुहुन्थ्यो। मलाई साह्रै रमाइलो लाग्थ्यो। यात्रा गरेको पत्तो नै नहुने। यो यात्रामा स्टाफ खानाको जोहो पनि थिएन। सहचालकले छुटाउने हो कि भन्ने चिन्ता पनि थिएन। तर देशभरी माओवादी र सरकारको द्वन्द्व चलिरहेको थियो। जसका कारण राजमार्गको सुरक्षा व्यवस्थापन कडा थियो।
सैनिक चेकपोस्ट राजमार्गका धेरै ठाउँमा थिए। जति चेक पोस्ट आयो, प्रत्येक पटक बसबाट झर्ने आफ्ना झोला झाम्टा चेक गर्दै जानु पर्ने अवस्था थियो। यो यात्रा मेरो लागि बुटवलसम्म पुरानो भैसकेको थियो। बुटवलबाट पश्चिमको यात्रा भने नयाँ थियो।
सुदूरपश्चिम यातायातको भिडिओ कोच यस पटक नेपाली फिल्म हेर्ने सुवर्ण मौका पाइयो। तर फिल्म पुरानै एक दुई पटक हेरिसकेकोले मज्जा खासै भएन।
मलेखु पुग्दा लगभग ७ बजिसकेको थियो। गाडी नास्ताको लागि रोकियो। मलेखु माछाको लागि चर्चित रहेछ। सरहरूले माछा खाने भन्नुभयो। मैले सही ठोकेँ।
मलेखुको माछा खाएको पहिलो अनुभव थियो। काँडा छुट्याएर माछा खानु मेरो लागि युद्ध जित्नुजस्तै भयो। सरहरूले थपेर खानु भयो तर मैले आँट सकिनँ।
पश्चिमको यात्रा भएकाले नास्तापछि निदाउने निर्णय गरेँ।
बुटवलसम्मको यात्रा मेरो लागि पुरानो भैसकेकाले पनि निदाउन मन लाग्यो। कहिले निदाउँदै त कहिले ब्युझिँदै लगभग १२ बजे अरूण खोलामा गाडी खाना खानको लागि रोकियो।
भात रोटी जे खान पनि मिल्ने रहेछ। सबै जनाले रोटी खाइयो। अनि मेरो दाल र रोटी खाएको पनि पहिलो अनुभव। मलाई दालसँग रोटी खुब मिठो लाग्यो।
अरूण खोलाबाट लगभग १२:३० मा नै गाडी बुटवलतर्फ हिँड्यो। बुटवल, गोरूसिंगे, चन्द्रौटा, भालुबाङ, लमही, कोहलपुर, चिसापानी, घोडाघोडी, सुखद, अत्तरिया हुँदै भोलिपल्ट लगभग ३ बजे धनगढी पुग्यौं। नर्मल अवस्था हो भने बिहान ९-१० बजे नै धनगढी पुग्ने सम्भावना हुन्थ्यो।
राजमार्गमा हुने सुरक्षा जाँच भालुबाङबाट अत्तरियासम्म कम्तीमा पनि १० ठाउँ जति थियो होला। राति दिउँसो केही भन्न नपाउने, खाक्क खुक्क थुक्नसम्म नपाउने। आफ्ना झोला झाम्टा बोकेर चेक गराउँदै हिँड्नु पर्ने। लगभग एक ठाउँमा ३०-४५ मिनेट समय लाग्थ्यो।
धनगढी पुग्दा दिउँसै थियो तर डोटीको लागि भोलिपल्ट बिहान नभई गाडी नपाउने हुँदा हामी होटलमा झोला थन्काएर टिकट काट्न बसपार्क गयौं। त्यस समय दिनेश यातायात भन्ने नयाँ बस सेवा थियो। डोटीको लागि एकदम राम्रो। टिकट काटेपछि हाम्रो सल्लाह इन्डियाको गौरीफन्टा जाने कुरो भयो।
हामी रिक्सा चढेर गौरीफन्टा गयौं। मेरो रिक्सा चढेको पनि यो पहिलो अनुभव भयो। रिक्सा काठमाडौंमा पनि अलि अलि देखेको थिएँ तर रिक्साकै यात्रा गर्ने अवसर भने जुरेको थिएन।
गौरीफन्टा बजार जंगलको बीचमा रहेछ। हेर्दा फुटपाथजस्तो तर सम्पूर्ण सामानहरू खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा लगायतका सबै सामान पाइने रहेछ।
हामीले पनि केही लुगा, साबुन, स्याम्पुहरू लियौं। पुस महिनामा ५ बज्दै अँध्यारो हुन्थ्यो। त्यसैले हामी धनगढी फर्कियौं।
धनगढीबाट गौरीफन्टा जाँदा ओरालो हुनाले रिक्सा सजिलै जाने रहेछ। फर्किंदा उकालो हुँदा रिक्सावालालाई साह्रै कठिन हुने रहेछ। तै पनि हामीले रिक्सावालाको दुःख हेर्न मात्र सक्यौ अरू केही गर्न सकेनौं।
भोलिपल्ट बिहान ६ बजे नै हाम्रो सिलगढीको यात्रा सुरू भयो। दिनेश ट्राभल्सको बस, मिनी बस नयाँ भएकोले राम्रो थियो। धनगढीबाट अत्तरिया, गोदावरी, भातकाड़ा, बुडर, सहजपुर, साहुखार्क, अमरागाडी हुँदै बेलुकी हामी सिलगढी पुग्यौं।
हाम्रो काम सुरू गर्नुपर्ने राजापुर थियो। तत्कालीन जिल्ला विकास समितिअन्तर्गत जिल्ला प्राविधिक कार्यालयसँग समन्वय गर्नुपर्ने हुँदा हाम्रो यात्रा सिलगढीसम्म थियो। भोलिपल्ट बिहान डोटी शैलेश्वरीको दर्शन गरी दिनभर सरहरू कार्यालयसँग समन्वयमा व्यस्थ रहनुभयो। म भने दिनभर होटलमा नै बसेँ।
साँझ कार्यालयको काम सकेपछि हामी हाम्रो काम सुरू गर्नुपर्ने हुँदा राजपुर फर्कियौं।
राजापुर तत्कालीन सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम थियो। सामान्य कुनै ठूलो होटल थिएन। पिपल्ला बजार अहिले जस्तो विशाल पनि थिएन। पूरै जस्तापाताको टहरामा होटल पसलहरू थिए।
हाम्रो काम राजापुरबाट सुरू गर्नुपर्ने भएकाले हामीले राजापुर नै बसेर काम सुरू गर्ने निधो गर्यौं। हाम्रो काम त्यस बेला राजपुर-तिखातर- चमराचौतारा सडकको विस्तृत सर्भे गर्नुपर्ने थियो त्यसको लागि लेबर व्यवस्थापनका लागि दिनभर व्यस्त भइयो।
तेस्रो दिन हामीले राजापुरबाट सर्भे स्टार्ट भयो।
दुर्गा सिंह रावल हाम्रो सर्भे टिममा त्यहाँको लोकल साथी हुनुहुन्थ्यो। हाल वडा अध्यक्ष हुनुहुन्छ। अति मिलनसार सधैं स्मरणमा हुनुहुन्छ।
सुदूरपश्चिम विकास क्षेत्रको सदरमुकाम भए पनि लगभग ५ सय मिटर अगाडि पुग्दा कुनै सदरमुकामको झल्को थिएन।
सर्भे गर्दै जाँदा मलाई तिर्खा लाग्यो। अहिले जस्तो जता पनि मिनिरल वाटरको बोतल किन्न पाइन्न थियो। मैले लहरै तीन वटा कुवा देखेँ। पानी खानमात्र के लागेको थिएँ माथिबाट एउटा भाइ (हाम्रो सहयोगी) ले ‘सर त्यो पानि नखाऊ’ भन्यो।
'मैले किन?' भनेँ।
‘उपल्लो कुवाको खाऊ’, भन्यो।
मैले त्यसै गरी सबैभन्दा माथिको उपल्लो कुवाको पानी खाएँ।
बाटोमा आएपछि मैले दुर्गा जीलाई सोधेँ ‘किन मलाई त्यो तल्लो कुवाको पानी नखाऊ भनेको।’
‘यी सबै कुवामध्ये सबैभन्दा माथिको कुवा कठायत कुवा, त्योभन्दा तल्लो सार्की कुवा अनि त्यो भन्दा तल्लो पार्की कुवा हो। सर हामीले पानी खान मिल्ने कुवा चैं कठायत कुवा हो’ भन्नुभयो।
म तीन छक्क परें।
'कुवामा पनि यस्तो विभेद हुन्छ?' मैले उहाँलाई प्रश्न गरेँ।
उहाँको उत्तर ‘यो त हाम्रो चलन नै हो’ भन्नुभयो। त्यतिबेला जिल्लाभरि नै यस्तो विभेद थियो। यो त प्रतिनिधि उदाहरण मात्र थियो। यो किसिमको विभेद सुदूरपश्चिम प्रदेशभरि नै थियो।
हाम्रो सर्भे राजपुर, रानागाउँ, जमलकट्टे, वाइल हुँदै तिखातरसम्म थियो। तिखातर नेपालका पूर्व प्रधानमन्त्री डा. के. आई. सिंहको गाउँ हो। त्यति बेलासम्म डा.के.आई. सिंह जन्मनु भएको घर बाँकी थियो। त्यो हेर्ने अवसर पनि पायौं।
डा.के.आई. सिंह जन्मेको गाउँमा पनि यस्तो विभेद थियो। मैले यो कुरो मनमनै सोचेँ तिखातर अहिले राजापुरबाट ३६ कि.मि. मोटर बाटोमा पुगिन्छ।
३६ कि. मि. मा यस्ता कुवा गाउँ-गाउँमा थिए। हामीले उपल्लो कुवाको पानी खानु पर्थ्यो। डोटीको अर्को बिर्सन नसक्ने चिज निसनिसे रोटी पनि हो।
पुस १५ गतेलाई डोटीमा पुसे तिहार भनिँदो रहेछ। हामी सर्भे गर्दै रानागाउँ पुगेका थियौं। हामी उत्तम रानाको घरमा बसेका थियौं। गाउँ सबैले आज पुसे तिहार मनाउने भन्नुभयो। हामीलाई केही पनि थाहा थिएन। बेलुका निसनिसे रोटी खाने चलन रहेछ।
बेलुका हामीलाई पनि उक्त परिकार उत्तम जी र दुर्गा जीले ल्याउनुभयो। अनौठो किसिमको परिकार थियो। तर बहुतै मिठो, केकभन्दा कम थिएन। हामीले मिठो मानेर खायौं। सबै जना खुसी हुनुभयो।
'यो निसनिसे रोटी कसरी बन्छ?' भनेर दुर्गा जीलाई सोधेँ।
यो परिकार बनाउन दही, पाकेको फर्सी र चामलको पिठो चाहिने बताउनुभयो। पहिला फर्सीलाई उसिन्ने अनि चामलको पिठो र दहीसँग मुछेर केराको पातमा बेरी तामाको तसलामा राखेर कोइलाको भुंग्रोमा पकाउने रहेछ। यो परिकार बनाउन कुनै ओभन चाहिँदैन रहेछ। यो मेरो जीवनमा कहिल्यै नबिर्सने परिकार हो। अहिले यो परिकार डोटीमा बन्छ, बन्दैन थाहा छैन।
यस्तै यस्तै रमाइलो गर्दै हाम्रो सर्भे सकियो। सर्भे सकेर हामी पिपल्ला बजार फर्कियौं। पिपल्ला बजार आएपछि सरले हाम्रो फिल्डको खर्च हिसाब गर्न भन्नुभयो। फिल्डभरि खाएको हिसाब गर्दा मेरो भागमा ४१०० रुपैयाँ पर्न आयो। त्यति बेला मेरो तलब जम्मा ४५०० थियो। हरेकृष्ण सरले मेरो भागको सम्पूर्ण हिसाब अफिसबाट मिलाइदिन्छु भन्नुभयो।
मेरो खुसीको सीमा रहेन। (कोभिडको महामारीमा हामीले हरेकृष्ण सरलाई गुमायौं) सर्भेको सम्पूर्ण सामग्री अनि डाटा बोकेर काठमाडौं फर्कियौं। अनि एक महिनामा नै डोटीको जागिर नखाने निधो गरेँ। यो महिना पो हरेकृष्ण सरले अफिसबाट मिलाई दिनुभयो। सधैं त मिल्दैन। माघ महिनामा काठमाडौं फर्केपछि मैले डोटी नजाने भनेर अफिसमा कुरो गरेर जागिर छोडेँ।