अमेरिका घुमघामको दौरानमा हामी सन् २०२२ सेप्टेम्बर सातमा स्थानीय समय अनुसार दिउँसो दुईबजे क्यालीफोर्नियाको लसएन्जलसबाट नेभाडाको लसभेगासका लागि उड्यौं।
विमानस्थलबाट हवाईजहाज उडिसकेपछि लसएन्जलस सहरलाई तीनतिरबाट घेरेर राखेको प्रशान्त महासागर हामीतिर हेरेर मुस्कुराई रहेको थियो। जहाजले प्रशान्त महासागरमाथि एक फन्को लगाउँदै गर्दा मेरो मनमा एउटा रमाईलो अनुभूतिले प्रक्षेपित गरिरहेको थियो। हेर्दाहेर्दै भूँई कुहिरोले प्रशान्त महासागरलाई थोरै छोपिदियो। जादुगरले चटक गरेझैं ठाउँ वस्ती लुकाईदिने हुस्सुको चटक आफ्नै गतीमा उडिरहेका हवाइजहाजसँग मज्जा लिईरहेकी थिएँ।
मलाई बच्चैदेखि पानी देखेपछि साह्रै खुसी लाग्छ। अहिले यहाँको सूर्यको किरण र पातलो कुहिरोले छोपेको भूभाग अत्यन्त मनोरम तरिकाले पानीमा तेल तैरिरहेको जस्तो देखिदै थियो।
एकैछिनमा मरूभूमि र चट्टान एकपछि अर्को गरी देखिन थाले। मरूभूमि नै मरुभूमिको बीच हामी चढेको हवाईजहाजले एक घण्टापछि लसभेगास विमानस्थलमा अवतरण गर्यो। जहाजको ढोका छोडेर आगमनस्थलको द्वारमा पुग्ने बित्तिकै मेरो आँखा अगाडि जुवा खेल्ने स्लट मेसिनहरू दर्जनौंको संख्यामा प्रत्येक यात्रीको स्वागतार्थ देखिए। यो मैले पहिलो पटक विमानस्थलमा जुवाखेल्ने स्लट मेसिन देखेकी थिएँ। यो शहर विश्वको प्रख्यात जुवा खेल्ने ठाउँ भए पनि नयाँ ठाउँ घुमफिर गर्नु बाहेकको हाम्रा अर्को उद्देश्य नभएकाले हामी चुपचाप त्यहाँबाट बाहिर निस्क्यौं।
विमानस्थल बाहिर प्रचण्ड गर्मी थियो। तापक्रम ४२ डिग्री सेल्सियस थियो। विमानस्थलबाट उबरले हामीलाई एउटा ठूलो घर अगाडि क्यासिनो इन्ट्रान्स अर्थात क्यासिनो प्रवेश लेखेको ठाउँमा रोक्यो। हामी सबै अक्मकियौं। हाम्रो भावना बुझेका चालकले यहीँबाट भित्र पस्नुस्, तपाईँको होटलको प्रवेशद्वार यहीँ हो। तर, जुवा धेरै नखेल्नुहोला है भनेर गए।
ती उबर चालक पञ्जाबी मूलका रहेछन्। हामीलाई पनि उनले नेपालबाट आउनु भएको हो भनेर सोधिहाले। सामान्य औपचारिक बिदाई पछि हामी आफ्नो झोला बोकेर होटल छिर्यौं। होटल भित्र राम्रै भिड थियो। होटलको मूल ढोकामै विमानस्थलमा देखिएका जस्ता अनेकौं थरिका जुवा खेलाउने स्लट मेसिन भरिभराउ थिए।
मध्य दिनमा पनि उज्यालो आउने झ्याल कतै थिएनन्। जताततै झिलिमिलि बत्ती बलेको थियो। सयौंको सङ्ख्यामा मानिसहरू भरिभराउ थिए। कोही मेसिनमा बसेर जुवा खेल्दै थिए, कोही चुरोट तान्दै अगाडि भएको धुलो फाल्ने भाडोमा धुलो झार्दै थिए। कोही लामो सुस्केरा हाल्दै त्यो मेसिन छोडेर अर्को मेसिन रोज्दै थिए।
कोही समूह समूहमा फरक फरक खेल खेल्दै थिए। एउटा कुनामा भएको रिसेप्सनमा लामै लाईन लागेर भए पनि होटलको औपचारिकता पुरा गर्यौं।
त्यहाँको सुरक्षा प्रणाली कडा रहेछ। होटलमा दर्ता भएका आगन्तुक बाहेक अन्यलाई होटल प्रवेशमा निकै गाह्रो पर्ने रहेछ। लिफ्ट चढ्न ढोका खोल्ने कार्ड (साँचो) ले स्वीकारेपछिमात्र लिफ्ट चल्दोरहेछ। कर्मचारी भन्दा पनि होटलमा राखिएको प्रविधिले चिन्नु पर्दोरहेछ।
होटल सफा, शान्त र राम्रो थियो। भित्र छिरिसकेपछि भित्री सजावटले आफैंमा लोभ्यायो। तर अन्तका होटलका कोठामा हुने गरेको जस्तो चिया, कफी आदि केही कुराको पनि व्यवस्था थिएन। मैले आजसम्म यात्रा गरेका ठाउँका होटलमा कहीँ कतै नदेखेको सेफ दराजको एक कुनामा राखिएको थियो। चिया, कफी खानको लागि पनि तल क्यासिनोमा ओर्लुन् भन्ने उद्देश्यले होला सायद्, यात्रुकोठामा यस्को कुनै बन्दोबस्त नभएको।
साँझको ६ बजेतिर हामी फ्रेस भएर शहर हेर्न निस्कियौं। लस भेगासको उखरमाउलो गर्मी अझै कम भएको थिएन। तातो हावाले निर्मम तरिकाले हान्दथ्यो। उराठलाग्दो मरूभूमी बिचको एउटा बिशाल वस्तीको उपत्यका रहेछ लस भेगास।
हामी बसेको होटल त्यो बस्तीकै अग्लो र ठूलो थियो। जसलाई उपत्यकाको कुनै पनि कुनाबाट पनि सजिलै देख्न सकिँदोरहेछ। अठ्ठाईस तल्लाको होटलमा ३९८१ वटा कोठा रहेछन्।
साँझको वातावरण सामान्य देखिन्थ्यो। आकाश उघ्रिएर सफा थियो। सडक, चोक, वस्तीबाट क्रमशः माथि उठ्दै गरेका घामका टुक्राहरु छेउछाउका पहाडका थाप्लामा पुगेका थिए। लमतन्न परेको सडकमा हामी हिँड्दाहिँडदै ती टुक्राहरु पहेँला अनि सुन्तला रङका अनि राता भएर एकछिनपछि कतै बिलाए।
साँझको पहिलो चरण सुरू भएको थियो। पसल, घर, सडक जताततै बत्तीहरू अनेक भाँतीले चम्किन थाले। अनि सिङ्गो सहरको वातावरण पनि बत्तीको चम्किलोपनासँगै रसिलो हुँदै गईरहेको थियो। यो शहर संसारभरिका विलासी र धनाढ्यहरुका लागि जुवा खेल्ने, किनमेल गर्ने, राम्रो खाना खाने र रातसँगै रमाउनेहरुका लागि प्रसिद्ध रहेछ।
अमेरिकाको न्यूयोर्कको स्टाच्यु अफ लिवर्टी देखि फ्रान्सको आईफिल टावर लगायत विश्वका आश्चर्यहरुका नमुनाहरुले शहर निकै राम्रोसँग सजाएर राखिएको थियो। रङ्गीचङ्गी बत्तीहरूको झिलिमिलिले धपक्क बलेको यस शहरका प्रत्येक सडकहरुमा कतै पानीको झरना थिए, कतै पोखरी त कतै सुनौलो रङको बाघका नमुनाहरुले चिटिक्क पारिएको थियो।
पसलमा थरीथरीका खेलौना देखेर मख्ख परेको सानो बालकझैं म पनि यी चम्किला दृश्यले मन्त्रमुग्ध थिएँ। अगाडि बढ्दैजाँदा बेल्लाजियो होटल एण्ड क्यासिनोको पोखरीमा देखाईने वाटर फाउन्टेन (पानीको नाच) ले हजारौंको सङ्ख्यामा रहेका हामीजस्ता सबै बटुवालाई झुम्म्याईरहेको थियो।
मिठो धुनसँगै आकास छुन खोज्ने पानीका फोहराहरू नाचिरहेको यो दृश्य पनि आफैंमा निकै रोमाञ्चक थियो। यस्तो पानीको नाच मैले पहिलो पटक सन् २०१६ मा दुबईमा देखेकी थिएँ। बाटोभरि पर्यटकको लाम थियो, कतैकतै त हिँड्ने बाटो पनि पाईदैनथ्यो।
माग्नेहरू कोही कनीकुथी आफ्नो कुनै कला देखाएर माग्दै थिए त कोही अगाडि कटौरा राखेर आफू मस्त पल्टिरहेका देखिन्थे। तर, अधिकांश ती माग्नेहरू अस्वाभाविक रूपले मोटाघाटा देखिन्थे। मागेको थोरातिनो पैंसाले स्वास्थ्य भन्दा पनि खाली पेट भर्नुपर्ने भएकोले यी बिचराहरु शरीरलाई अस्वस्थ हुनेखालका खानेकुराहरु खाएर आफ्नो छाक टार्छन् रे भन्ने सुनियो।
ठाउँठाउँमा सोह्र देखि बीस वर्षका सुन्दर एक एक जोडी केटीहरू टाउकोमा रङ्गीन चराका ठूला ठूला प्वाँखहरूले बनेको एउटै किसिमको श्रीपेच जस्तो लगाएका भेटिन्थे। खुट्टामा पनि दुबै जनाले उस्तै जुत्ता लगायका हुन्थे। उमेर र शौन्दर्यका कारण यिनीहरुले मुखमा गरेको श्रृङ्गारले यिनीहरुलाई अरू सुन्दर बनाएको थियो। तर, शरीरमा लाजछोप्ने लुगा भने खोज्नुपर्ने देखिन्थ्यो।
बाटोभरि फरक फरक रङ्गका देखिने यस्ता मैयाहरूसँग बसेर फोटो खिच्न चाहने पुरूषले दुईतिरबाट अँगालो हालेर फोटो खिच्ने र उनीहरूले मागे जत्ति पैसा दिने गर्दारहेछन्। नारी शौन्दर्यको यस्तो खाले प्रदर्शन र पेट पाल्नका लागि गर्ने गरिएको यो दृष्यले कता कता नरमाईलो लाग्थ्यो। अलि अगाडि बढ्यौं फेरि उही रमझमले बिर्साईदिन्थ्यो। फेरि हामी त्यहाँको भिडमा आफूलाई समाहित गर्दथ्यौं।
आज यहाँ आईपुगेको पहिलो दिन घुम्दाघुम्दै रातको एघार बजिसकेको थियो। त्यहीँ एउटा भोजनालयमा रातिको खाना खाएर हामी अगाडि बढ्यौं। बिचमा सानो नहर थियो यसमा सफा पानी बगिरहेको थियो। त्यो पानीमा चिटीक्क परेको अति सुन्दर डुङ्गामा कोही सयर गर्दै थिए, कोही डुङ्गा चालकहरु ग्राहकको पर्खाईमा देखिन्थे।
वारिपारि पसलहरू प्रशस्त थिए। ठाउँ, ठाउँमा पुलहरू पनि थिए। यो स्थान इटालीको ग्राण्ड क्यानल एण्ड रियल्टो ब्रिजको सानो रुप जस्तो बनाईएको थियो। मलाई यस ठाउँमा विशेष गरि एउटा अनौठो किसिमको रमाईलो आभास भईरहेको थियो।
काठमाडौंको धुलो धुवाँसँग आत्तिएकी म, यहाँ कतै धुलो धुवाँ थिएन, नत कतै कानै खाने गाडीको आवाज नै। थियो त केवल सुन्दर शान्त र आनन्दीत क्षण। रमाईलो वातावरणले गर्दा होला, त्यहाँका सबै खुसी र आनन्दीत मुद्रामा देखिएका थिए। यस भवन भित्र अघि बाटोमा भेटिएका फोटो खिच्ने हो भन्ने नानीहरू पनि कतै थिएनन्, नत बाटोमा अनेक थरिका टिठलाग्दा माग्नेहरू नै थिए। बिबाह उत्सवको लागि सजाइएको घर आँगन जस्तो सबै खुसी देखिन्थे। सबैले त्यो क्षणको भरपुर आनन्द लिई रहेका थिए ।
अगाडि बढ्दै जाँदा विस्तारै उज्यालो हुँदै गएको आभाष भएको थियो। मलाई यहीँ बाटो हिड्दै जाँदा कता कता अनौठो अनुभूति पनि भईरहेको थियो। एउटा चोकमा पुगेर माथि आकासतिर आँखा लगाउँछु त उज्यालो देखिएको थियो। निलो आकासमा कतै कतै सेतो बादलका गुच्छा थिए। मलाई आश्चर्य लाग्यो। म अलमलमा परेँ। म कतै सपनामा त छैन जस्तो अनुभूति भयो।
म अक्क न बक्क भएँ। हातमा लगाएको घडीमा हेरे आधारात भएको रहेछ। मैले मेरो श्रीमानलाई भने माथि हेर्नुस् त आकास त नक्कली पो रहेछ । हामी सबै एकचोटी मुसुक्क मुस्कुरायौं ।
त्यहाँको केहीवेर रमाईलो हेर्दै अर्को चोकमा पुग्यौं, त्यो चोकमा पुग्दा साँझ पर्नलागेको जस्तो अवस्था थियो। त्यहाँ अब साँझ पर्नलाग्यो बेलैमा घर जाउँ भन्ने आभास् हुन्थ्यो। त्यो चोकलाई छोडेर अर्को चोकमा पुग्दा फेरि पहिलेको जस्तै उज्यालो दिन भेटिएको थियो। उहीँ अघिको चोक जस्तै आकासमा फाट्टफुट्ट बादल अनि कन्चन निलो आकास । यो बनावटी हो भन्ने कत्ति पनि लाग्दैनथ्यो। त्यहाँ देखिने मानव जमात सबै आफ्नै दुनियाँमा मस्त थिए, अर्थात भनौं प्रकृति र कृतिमताको रसास्वादन गर्दै थिए।
म मन भित्रका अनेकौं पत्र पल्टाई रहेकी थिएँ। लाग्दै थियो-यो उजाड मरूभूमि, कृषि उत्पादन केही नहुने भएकोले यस क्षेत्रलाई पर्यटकीय स्थल बनाईएको होला। यस्तो बालुवै बालुवा भएको ठाउँलाई यति आर्कषक बनाएर यत्रोविधि पर्यटक प्रत्येक वर्ष निम्त्याउन सफल थियो, अमेरिकाको यो लस भेगास।
त्यस जमानामा जसले यो सोचको परिपल्पना गरे उनीलाई धन्यवाद र जसले यस्तो ठाउँलाई यो रूप दिए, उनीहरुलाई पनि धन्यवाद् । बचपनमा मलाई गाउँघरतिर सुनेको ‘बनाए तकिया हुन्छ, लेकमा हुन्या झ्याउको,.......’ अर्थात बनाएमा के बन्दैन, लेकमा पाईने झ्याउबाट तकिया पनि बन्न सक्छ भन्ने देउडा गीतको एउटा टुक्रा याद आयो।
चाहेर गरेमा नहुने के रहेछ त यो संसारमा! आधा रातलाई दिन बनाई दिएका छन्। उजाड मरूभूमिमा एकै दिनमा हजारौं पर्यटक भित्र्याएर वर्षेनी करोडौं करोड डलर फलाएका छन्, हजारौंलाई रोजगारी दिन सफल भएकाछन्।
सुदूरपश्चिमको खप्तड, मध्य पश्चिमको राराताल, फोक्सोन्डो, पश्चिमको मुस्ताङ अपर मुस्ताङ, मध्यश्चिमको पाँच पोखरी आादि जस्ता मेरो देशमा भएका हजारौं धार्मिक तथा पर्यटकीय स्थलहरूको याद आयो। यी स्थलहरु हाम्रो देशलाई प्रकृतिले दिएको अनुपम उपहार हुन्। तर, त्यहाँ जाँदा यात्रुहरूले पाउने दुःख र कष्टको बयान गरेर साध्य छैन।
असजिलो डरलाग्दो जोखिमपूर्ण बाटो हुनेगर्दछ, वर्षेनी यही बाटो र खराब यातायातका साधनहरुका कारण सयौंको अमूल्य जीवन जोखिममा पर्छ। खानेपिउने राम्रो व्यवस्था छैन, बाटोमा गाडी बिग्रीएर यात्रुहरुलाई अलपत्र पर्नुपरेको हुन्छ, रारा र फोक्सोन्डो जाँदा हवाई जहाजको टिकटमा धाँधली भएर कैयौ दिनसम्म हाम्रा पर्यटकहरु विमानस्थलमा नै वस्नु परेको घटनाहरू अनगिन्ती हुने गर्छन्।
महिला र अपांगमैत्री शौचालयको कुरा त कल्पना भन्दा धेरै टाढाको कुरा भयो । राजधानीमा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयको व्यवस्थापन समेत राम्रो हुँदैन भने दुर्गम क्षेत्रको के कुरा गर्नु र खै। कुनैमा ट्वाईलेट पेपर पनि हुँदैन त कुनैमा त्यो राख्ने भाडो नै भाचिएको हुन्छ, कतैबाट पानी चुहिएर बिजोक। नेपाल घुमेर फर्कने पर्यटकले के प्रभाव लिएर फर्केलान्, त्यो सोच्ने फुर्शद हाम्रोमा धेरै कममा मात्र छ होला । नेपालको पर्यटन विकासको लागि सरकारले सन् २०२३ देखि २०३२ को पर्यटन अवधारणा अगाडि ल्याएको रहेछ।
यसले सन् २०३२ सम्ममा पैतीस लाख पर्यटक देशभित्र भित्र्याउने लक्ष्य राखेको छ भन्ने सुन्नमा आएको छ। यो निश्चित हो, सरकारले कागजी घोषणा गर्दैमा पर्यटक आउँदैनन्। पर्यटकलाई आर्कषण गर्न उचित वातावरण र सुविधा उपलव्ध गराउन पर्यो। मनमा यस्तै उल्टोसुल्टो सोच्दासोच्दै हाम्रो यात्राको पहिलो दिनलाई बिदा गर्यौं।
भोलिपल्ट हामी त्यहाँको प्रख्यात हुभर ड्याम (हुभर बाँध) हेर्न जाँदै थियौं। लसएन्जेलसको जस्तै यहाँ पनि त्यहाँ बसुन्जेलसम्म प्रयोग गर्न लागि गाडीको व्यवस्था गरेका थियौं। केही घण्टाको यात्रापछि एउटा जादुमयी, स्वच्छ, अलग ठाउँ हेर्न पाउने आशामा मन चञ्चल हुँदै थियो। मध्य दिनको अत्यन्त चर्को गर्मीका बिच हामी त्यहाँ पुग्यौं।
यो बाँध सन् १९३१ मा बनाउन शुरु भएर सन् १९३६ मा निर्माण सम्पन्न भएको रहेछ। ठ्याक्कै ७२६ फिट अग्लो यो बाँध निभादा र एरिजोना राज्यको सिमानामा पर्दोरहेछ । यो ड्याम बनाउँदा दैनिक एक हजार भन्दा बढी सङ्ख्यामा मानिसले काम गर्दथे रे। ती श्रमिकलाई हप्तामा छुट्टिको दिन मनोरञ्जनका लागि भनेर लस भेगासमा एउटा जुवाघर बनाईएको रहेछ। बिचरा श्रमिकले यहाँ आएर कति मनोरञ्जन गर्नपाए त्यसको त लेखाजोखा भएन तर कालान्तरमा यहीँ ठाउँ लस भेगास शहर बन्यो र विश्वभरिका पर्यटकहरुको लागि आर्कषणको एउटा केन्द्र बन्न सफल भयो।
हामी बस्ने कोलोराडो राज्यबाट बग्दै आएको कोलोराडो नदीलाई थामेर नै यो ड्याम बनाईएको रहेछ। यस ढ्यामले खासमा नेभाडा, क्यालिफोर्निया र एरिजोना रान्यका जनताको पानीको आवश्यकता परिपूर्ति गर्दोरहेछ।
यसको भूवनोट देख्दा मान्छेले यस्तो आश्चर्य कसरी बनाए होलान् भन्ने गहिरो आभास् हुन्छ। पत्थर फोडेर अमृत उत्पादन गरिएको रहेछ। दुबैतिर ठूला ठूला पहाड जत्रा चट्टान र यिनै चट्टानका बिचमा पानीलाई कैद गरेर बाँध बाँधिएको थियो। रूखा डाँडाहरुका बिचमा आहा कति राम्रो बाँध र कति सुन्दर पानी। देख्दा कुनै चित्रकारले कुशलता पूर्वक कोरेको क्यानभास जस्तै लाग्दथ्यो।
म मन्त्रमुग्ध भएँ । पर परसम्म आँखा झिमिक्क नगरी हेर्न मन लाग्यो। त्यहाँ पुग्दा त्यस्तै ४३ डिग्री सेल्सियस थियो होला तर, पनि त्यहाँ विभिन्न देशहरुबाट आईपुगेका पर्यटकहरु खचाखच थिए। फोटो खिच्नलाई पनि पालो कुर्नपर्ने। धन्य त्यहाँ भेटिएका मानिस जतिसुकै गर्मी भए पनि आफ्नो पालो कुर्न तयार देखिन्थे। तँछाड र मछाडको कुनै अवस्था थिएन। ईच्छाएका केही फोटो त खिचियो तर आँखाले जे देखे त्यो सबै क्यामरामा कैद गर्न सक्षम भईएन। मनले जे अनुभूति गर्यो त्यो पनि पूर्णरुपमा शब्दले बयान गर्न सकिनँ।
ड्याम हेरेर फर्कदै गर्दा मेरो मन त्यो रोमाञ्चक वातावरणलाई उछिन्दै घरी पूर्व नेपाल र घरी पश्चिम नेपाल दगुरिरहेको थियो। मानिसले चाहेमा के गर्न सक्दो रहेनछ र? यस्तै यस्तै कुराले मेरो मन एकछिन भावबिह्वल भयो।
प्रकृतिको उपहारलाई पनि हामीले व्यवस्थित गर्न नसकेकोमा आफूलाई सारै दुःखी जस्तो महसुस् गरेँ। मानिसलाई सबैभन्दा धेरै जिम्मेवारी बोध त्यतिखेर हुन्छ, जब उसले आफ्नो अगाडि लक्ष्यको अजङ्गको पहाड देख्छ।
मैले विश्वका बिकसित आठ-दश देश देखेकी छु। हाम्रो जस्तो सर्बगुण सम्पन्न देश कहीँ पनि देखेकी छैन। प्रकृतिले हामीलाई सम्पन्न बनाएको छ। सबैथोक दिएको छ। भौगोलिक हिसावले अति शुन्दर तराई, पहाड र हिमाल दिएको छ। नदी, ताल, झरना भरिभउराउ छन्। भाषा, संस्कृतिको विविधताले देश सज्जिएको छ। हाम्रा वीर पुर्खाले बनाई दिएको गौरवशाली इतिहास छ।
साँच्चै नै भन्ने हो भने नेपालमा बनावटी अर्थात कृतिम चिजको केही आवश्यकता छैन। प्रकृतिले दिएका सुन्दरतालाई मात्र व्यवस्थित गरिदिए प्रशस्त पुग्ने थियो । हामो जस्तो सानो देशलाई आत्मनिर्भर बनाउन किन पछि परेका हामी?
त्यहीँ जन्मेर हुर्केका हामी हाम्रो आफ्नै देशको प्राकृतिक सौन्दर्यका बारेमा कति अनभिज्ञ छौं । यसलाई हामीले बाहिरी संसारमा देखाउन, चिनाउन नसक्नु त झनै टाढाको कुरा भयो । मेरो मस्तिष्कमा यस्तै कैयौं प्रश्नहरू ज्वारभाटा झैं आफैमा उठ्न र बस्न थालेका छन्।
यस्तो लाग्दै थियो-कुनै देशको भौतिक विकासका लागि कुनै राजनीतिक वाद् र विचारले फरक पार्दोरहेन छ, यसका लागि नेता र नेतृत्वमा एकप्रकारको दृढ आत्मविश्वास चाहिँदोरहेछ। यस्तै सोच्दा सोच्दै हाम्रो गाडी फ्रिमोण्ट स्टेण्टमा आएर अडियो।
यो एउटा यहाँको विशेष पर्यटकीयस्थल मध्येको एक रहेछ। वारिपारि पसल, रेष्टुरेण्ट, जुवाघरहरू थिए। बीचमा कोही गीत गाउदै थिए । कोही नाच्दै थिए, कोही चटक देखाउँदै थिए। आकासलाई रङ्गीन कपडाले छोपिएको थियो। त्यसमा बिभिन्न तस्वीर, बिज्ञापन र फिल्महरू आईरहेका देखिन्थे। त्यसैमा कति पर्यटकहरु जिप लाईन (डोरीमा बाँधिएर एउटा कुनावाट अर्को कुनासम्म पुग्ने) खेल पनि खेलिरहेका थिए। सडकमा धनाढ्यवर्ग मात्र हैन माग्नेहरू पनि अनगिन्ती थिए।
त्यहाँ पर्यटक र स्थानीयहरू रमाईलो गर्न, जुवा खेल्न, नसालु पदार्थ सेवन गर्न आउँदारहेछन्। नसाले लठ्ठ परेका ब्यक्तिहरू बाटोमै लडिरहेका थिए । यस्तो लाग्दथ्यो, तिनी मानिसहरुलाई आफ्नो बहुमूल्य जिन्दगीको कुनै प्रवाह नै छैन। गाँजाका पसलहरू पनि त्यत्तिकै थिए । यहाँको यस्तै रमाईलो हेर्दाहेर्दै रात पनि पर्नलाग्यो हामी आफ्नो वासस्थानतिर लाग्नको लागि गाडी चढ्यौं।
मलाई हिजो रातिको सडकको दृश्य र आज हेरेको ड्यामको सुन्दरताले पछ्याई रहेको थियो। म भौतिकवादमा विश्वास गर्ने मान्छे हुँ, तर पनि मलाई महाभारतका पात्र देवब्रत (भिष्म पितामह)ले आफ्नो भौतिक शरीरलाई त्याग्नु अगाडि देशको लागि मागेको वरदानको याद आयो।
उनले आकासतिर आफ्ना दुबै घाईते हात फैलाउँदै ‘हे आकास, मेरो देशलाई घाम, पानी, छाया, वर्षाको कमी कहिल्यै नहोस्, रूखहरूमा सधै फल लागिरहुन्, कमलका फूलहरूले सधै सुगन्ध दिईरहुन्, जलासय स्वस्थ र जीवीत रहिरहनु्, राजनीतिमा कहिल्यै ग्रहण नलागोस्’ भन्ने मागेका थिए।
सायद् यस्तै एउटा ब्यक्तिको जन्मको आवश्यकता छ हाम्रो देशमा, जसले आफू मृत्युसैयामा हँदा पनि देशको उन्नती माग्न सकोस्, देशमा खुसीयाली माग्न सकोस् । हाम्रो देशका नेता, उनका तीन पुश्तेसम्मका साखा सन्तान र आसेपासेको जीवनस्तर दिन दुना रात चोगुणका दरले बढ्दै जानु, देश गरिवीको रेखा मुनी जानेक्रम नजिकिनु, सरकारी संघसस्थाहरू डुब्दै जानु, कार्यालयमा कार्यरत कर्मचारीहरु आफ्नो जिम्मेवारीप्रति ईमान्दार नहुनुले हाम्रो देश नबन्नुको कारण हामी जनता दोसी कि देश हाँक्ने जिम्मा लएिका नेतागाण दोसी हुन् मेरो मन यहीँ प्रश्नमा अल्मलिनपुग्यो।
मानिसको भौतिक शरीर जहाँ पुगे पनि मन आफ्नै भूमिमा हुँदोरहेछ। खाना दाल भात नै मिठो लाग्दोरहेछ। उन्नती प्रगति आफ्नै देशको देख्ने चाहना हुँदो रहेछ। मनभित्र आईरहेका यी र यस्तै यस्तै सकारात्मक, नकारात्मक सोचहरुले पनि म सँगसँगै बाटोभरि एकोहोरो यात्रा गर्दै थिए। ढ्याक्क गाडी रोकिएपछि मात्र हामी बसेको होटल आईपुगेको थाहा भयो, आजलाई यत्ति नै भनेर सोचमा बिट मारेँ।