जीवनको व्यस्त तालिकाबाट एक अमूल्य जोगाई राखेका फुर्सदका समय खर्च गर्ने मन थियो। कोरोनाको कहरले रोकिएको घुम्ने दिनहरूबाट आफूले आफैंलाई समय नदिएको नि हेर्दाहेर्दै दुई वर्ष पुगेछ! त्यो नि झल्यास फेसबुकको मेमोरिज भन्नेले सम्झायो।
दुईवर्ष अघि गएको अन्नपूर्ण बेसक्याम्पको पदयात्रा, डुसी लागेका सम्झनालाई ताजा बनाइदियो फेसबुकले।
कुरा केही महिना अघिको हो।
यो पटक नि कतै जानुपर्ला भनेर सोचेको थिएँ त्यतिकैमा विवेकले सोध्यो- हामीहरू मार्दी बेसक्याम्प जान लाको जाने हो?
मैले सोधें- कैले?
‘यही हप्ताको शनिबार’, उसले भन्यो।
जान एकदमै रहर भएनि कार्यव्यस्तताले र नजिकिँदै गरेको परीक्षा बीचमै तगारो बनेर उभिदियो। निकै खिन्नताको स्वरमा मैले भनें- अर्को महिना भाको भए जन्थें यार। जा तिमीहरू रमाइलो गर!
त्यसपछि मार्दीको यात्रा जाने एक ग्रुप बनाउन थालें। वर्षाको मौसममा हिमाल हेर्नुको छुट्टै अनुभूति र आनन्द हुन्छ। भोटु भाइलाई सोधें। वास्तवमा मेरो दाइ हो उहाँ तर निकनेम चाहिँ भोटु भाइ!
‘जाने साउनको लास्ट हप्तामा?’ मेरो कुरा सुन्नासाथ उसको उत्तर यसो आयो।
‘हैन त्यतिखेर नजाम बरू भदौको पहिलो हप्ता जाम अफिसबाट छुट्टी नि मिल्छ’
दुवैको सहमतिमा भदौ ३ गतेको दिन मार्दी पदयात्रा जाने भनेर भारी बहुमतले पारित भयो।
यो कुरा चिया गफमा चिया सेलाएझैं सेलाउछ जस्तो लाग्या थियो। तर जाने भनेसि जाने नै हो! चाहे एक्लै भएनि जाने भनेर दुई जनाको कुरा भाथ्यो तर समय नजिकिँदै गर्दा यो समूहमा एक, दुई तीन चार गर्दैगर्दा एघार जना जोडियौं। आफ्नै घरका पाँच दिदी-बहिनी दाजुभाइ र साथीहरू।
अफिसबाट छुट्टी नि सहजै मिल्यो! हेर्दाहेर्दै भदौ ३ नि आयो। टिकेट नि काट्यौं वीरगंज टु पोखरा।
१० जना वीरगञ्जबाट पोखरा हानियौं। एक जना बैनीसँग पोखरामै भेट हुने कुरा भयो।
बिहान करिब चार बजेतिर हामी पोखराको पृथ्वीचोक पुग्यौं।
बैनीलाई त्यहीँबाट रिसिभ गर्यौं। बस बेनीसम्म जाने भएकाले हामीलाई झन् सहज भयो। बिहान आलो निन्द्रामा ट्याक्सी खोज्नुको झन्झट बेहोर्नु परेन!
करिब ६ बजे बिहान काडेमा छाडेर बस आफ्नै गन्तव्यमा लाग्यो र हामी हाम्रै गन्तव्यमा।
रोडको दायाँपट्टिको होटलमा बसेर कोही ब्यागमा लागेका धुलो टक्टक्याउन त कोही दैनिकी गर्नतिर व्यस्त भए। तर म भने लठ्ठी र ब्याग छोप्ने रेनकोट किन्न व्यस्त भए।
प्लास्टिकको कामचलाउ रेनकोट लियौं र हल्का खाजा र नास्तापछि हाम्रो पदयात्रा मार्दी सुरू भयो।
यात्रा गन्तव्यको थियो, यात्रा मनको मोहको थियो। समयका केही क्षणलाई साक्षी राखेर आँखाले एक जोर सपनाको पर्खाइको थियो। केही कठिन त केही मिठास थियो।
आ-आफ्नो गति र चालका रफ्तारमा पदयात्री छुट्टाछुट्टै हिँड्न थाले। तर अघिका ग्रुप जतिसुकै छिटोछिटो हिँडेनि पछिल्लोलाई पर्खिने बहानाले थकाइ मारिहाल्थे! देउरालीमा खाना खाने र फोरेस्ट क्याम्पसमा चाहिँ पहिलो दिनको पूर्णविराम गर्ने भनेर छुटेको हामी!
काँडेबाट केही समयको र दुई चार वटा डाँडापछि अस्ट्रेलियन बेसक्याम्प आयो। बिहानीको पहिलो मुस्कान मुस्कुराउँदै विभिन्न हिम श्रृङ्खलाहरूको सुन्दर दृष्यले मनै प्रफुल्ल भयो।
एक जना साथी हाँस्दै भन्छ- यो ठाउँका मानिसहरू कति भाग्यमानी है! बिहान झ्याल खोल्यो यति सुन्दर हिमाल! छेउकै पसले दिदी हाम्रो कुरा सुनेर मुसुक्क हाँसी रहनु भएको थियो। वास्तवमा त्यहाँ भाग्यमानी को थियो यो कुरा चाहिँ बहसको लागि छोडदिम्ला!
अस्ट्रेलियन बेसक्याम्पपछि झल्यास झुलुक्क गर्दै हिमाल देखिन्थे।
हामीभन्दा अगाडिको एक साथीले खाना बनाउन भनिराखेका थिए। एकैछिन भारी बिसाएर थकाइ मार्नसाथ खाना रेडी भयो। मस्त थकाली खाना र बाटोमा भएका ठट्यौली गफसँग केहीबेर त्यतै बस्यौं र पुनः फरेस्ट बेसक्याम्पको लागि लाग्यौं।
सायद त्यो दिनको यात्रामा हामी मात्र थियौं। अफसिजन भएकाले प्राय: बाटाका होटलहरू बन्द थिए।
दिनभरिको हिँडाइ र बाटामा रहेका घना र रमाइलो जंगल र त्यहाँ रहेका मसिना जुका हेरेर हाम्रो ग्रुपको प्राय:जसो अत्तालिएका थिए।
पहिलो पटक पदयात्रा गर्नेलाई त झन् लामो हिँडाइले झनै गाह्रो गरेको थियो।
यो डाँडा लास्टै हो यो पछि आइहाल्छ! जस्ता झूटो आश्वासन बाँड्दै थाकेकाहरूलाई म भने हौसला प्रदान गरिरहेको थिएँ।
साँझ पर्न लागिसक्यो त्यतो घना जंगल र रूखका बोटमा गरिएका पेन्ट पछ्याउँदै थियौं। एक्कासि अर्को दु:ख पानी पर्दियो। त्यसपछि काँडेमा किनेको प्लास्टिक र रेनकोट ओढेर हिँड्दै थियौं। पानी परेसी बाटो नि चिप्लो भयो र हिँड्नलाई कष्ट।
साथीहरू फरेस्ट क्याम्पको तल रहेको ‘होटल धोड खड्क’ को एक नयाँ होटलमा अब माथि नजाने पानी र जुकाले दु:ख दिन्छ भनें। पहिलो दिनको अपुग गन्तव्यमा नै हाम्रो यात्रा बन्द भयो। झोला र शरीरमा लागेको जुका एक/ अर्काले टिप्न थाल्यौं।
वास्तवमा बर्खाको बेलामा पहाडी भेगको त्यो जुका हाम्रो तराई भेगका भन्दा भिन्न थियो। हाम्रो ग्रुपका अधिकांश केटीहरू शरीरमा जुका टाँसिन साथै त्यो शान्त ठाउँको वास्तविकता नै भंग गर्ने गरेर कराइ हाल्थे।
पहिलो दिनको यात्रामा हाम्रो नयाँ साथी बनेका जुकाहरू बाँकीका अन्य दिनमा त सामान्य भैसकेको थियो। पहिलो दिनमा कराउने उनीहरू फर्कने दिनमा आफैंले जुका टिपेर फाल्ने भैसकेका थिए।
सायद जुकाप्रतिको डर यो यात्रामा पानीले पखालेझैं पखालेछ!
भोलिपल्टको यात्रा लोक्याम्प भनेर निस्किएको हामी त्यसदिन भने पहिलो दिनको तुलनामा कमै हिँड्यौं र मौसमको आनन्द लिँदै।
फरेस्ट क्याम्पतिर दुई जना काठमाडौंको दाजुहरूसँग भेट भयो। यहाँबाट कति पर छ लोक्याम्प भनेर एकै साथ माइली र पूर्णिमाले सोधिहाले। ‘२ घन्टा’ दाजुको उत्तर आयो। मैले त्यो उत्तर खस्नसाथ सोधें- सबैभन्दा बिस्तारै हिँड्नेलाई नि?
‘हाहा’ दाइ हाँस्दै भन्छन्- ३/४ घन्टा लिएर हिँड्नुस न!
ती दाइमध्ये एक दाइले सोध्नुभयो- आज काँ पुग्ने हो र ? बादल डाँडा बस्नु राम्रो भ्यू देखिन्छ! हामी त त्यहीँबाट फर्केको एक जना विदेशी दुई दिनदेखि हाइक्याममा बसेर मौसम नराम्रो भएर केही हेर्न पाएनन् अनि फर्किए। हामी नि बादल डाँडाबाटै फर्क्यौं।
मैले नि ‘हुन्छ’ भन्दै मुन्टो हल्लाएर उहाँको कुरामा सहमति जनाए। तर थाकेर गलेका बैनीहरूको मुख हेर्दा बादलडाँडा हैन आज लोक्याम्पमा पुगेर बस्नु पर्छ जस्तो लागेको थियो।
बाटोमा फेरि पानी दर्कियो र बाटोको एक होटलमा खाना खाएर पानी रोकिने प्रतीक्षा गर्यौं। भाग्यबस हामी हिँड्न ठिक पर्नुको केही समयअघि नै मौसम पुन: सफा भयो। र हामी लोक्याम्पको लागि हिड्यौं।
दिउँसोको करिब २-३ बजेतिर हामी सबैजना लोक्याम्पमा पुग्यौं र त्यहीँ बस्यौं।
पानीले रूझेको जुत्ता र भिजेका कपडालाई तातो बालिरहेको हिटरको अगाडि सुकायौं। अनि त्यहाँ भेट हुन्छ जापनिज पर्यटक ‘थोमाया’ हाम्रो ठूलो समूह कतै कोही लुडो खेलेर बसिराथे त कोही गीत गाएर।
उसलाई नि हाम्रो ग्रुपमा झ्यामिनलाई खासै समय लागेन। यहाँसम्मकी उसको गाह्रो जापनिज नामलाई उच्चारण गर्न गाह्रो भयो भन्दै हामीले उनलाई एक नेपाली नाम दियौं- सानोमाया।
वास्तवमा ऊ एक्लै आएको रहेछ जापानबाट नेपाल घुम्न। हामी बसेको होटलभन्दा छेउको होटलमा ऊ बसेको थियो।
एक अर्का निकै मिलनसार तामाङ दाजुसँग भेट भयो। उहाँको 'होटल म्याजिम' भन्ने होटल हाइक्याम्पमा थियो र भोलि तपाईंहरू मेरैमा बस्नुपर्छ भनेर हामीलाई भन्नु भाथ्यो।
‘हुन्छ दाजुकोमा बस्ने हो!’
त्यसपछि तेस्रो दिनको यात्रामा दाजु हामीहरू सँगैसँगै माथि गयौं। सटकट बाटोमा कोरेर दाजुले बाटो देखाउने चिना कोरिदिनु भयो र त्यहाँ विभिन्न फूलहरूको ठाउँहरूको र उहाँले भेटेका जंगली जनावरहरूको कहानी सुन्दै हाम्रो एक समूहलाई हाइक्याम्प पुर्याउनु भयो र म भने लास्टको ग्रुपमा थिएँ।
बहिनी र दिदीहरू हिँड्नलाई लास्टै विस्तार थिए, त्यसैले उनीहरूलाई नछोडिकन जसोतसो गन्तव्यमा पुर्याउने जिम्मा थियो।
पहाडको उचाइ, बढेसँगै मौसमको चिसोपन र खर्च पनि महंगो हुँदै गइरहेको थियो र अक्सिजन कम। लेकै नलागेनी थकाइ चाँडै लागिराथ्यो त्यसदिनको क्रममा उरुसालाई भने हल्का गाह्रो भएको थियो।
हामी बिस्तारै हिँड्दै गर्दा एक दिदीसँग भेट भयो।
दिदीको टि-सप माथि भ्यूपोइन्टमा रहेछ। सिदिङदेखि भ्यूपोइन्ट सम्मको यात्रा दिदीको गतिलाई हामीले भेट्न सकेनौं। केहीछिनमा नै दिदी धमिलो हुँदै जानुभयो!
तामाङ दाजुले कोरेको बाटोलाई पछ्याउँदै जसोतसो हामी चाहिँ हाइक्याम्पसम्म पुग्यौं। साँझ परेर होला या उचाइ बढेर होला मौसम निकै चिसो र आोसिलो थियो।
त्यहाँ पुगेसी थाहा भयो कि तामाङ दाजुले आफ्नो होटलको चाबी सिदिङमै बिर्सेर आउनु भएको रहेछ! तर दाजुको आतिथ्यमा बस्न पाएनौं हामीले र दाजुले हामीलाई छेउको एक होटलमा बस्ने प्रबन्ध गरिदिनु भएको थियो त्यसदिन हामी त्यही बस्यौं।
सानोमाया तलको निकै परको होटलबाट पानीमा भिज्दै हामीलाई खोज्दै रहेछ रुगेनले उसलाई हामी बसेको होटलमा लग्यो र त्यसदिन पनि हामी त्यहाँ रमाइलो गरेर नै बितायौं!
भोलिपल्ट बिहानै ४ बजे भ्यूपोइन्टमा जाने भएकोले हामी छिट्टै सुत्यौं।
बिहान ४ बजे अर्लामको सुरमा उठ्यौं। होटलका दाजुले राति भन्याझैं हामीलाई चाहिने जति पानी थर्मसमा भरेर डाइनिङ हलमा राखिदिनु भएको रहेछ।
हाइक्याम्पसम्म ११ जानै पुगेनि प्रायलाई सन्चो नभएको हुँदा हामीले माथि जान नखोज्नेलाई कर गरेनौं र हामी छ जना आसिस, रुगेन,भोटुभाई, सन्दीप, गोमा र मसहित बिहान छ जना चाहिँ भ्यू पोइन्टमा गयौं सूर्याेदयको सुन्दर दृश्य हेर्न गयौं।
निकै ठाडो उकालोमा स्वाँ स्वाँ र फ्वाँ वा फ्वाँ गर्दै थकाइ मार्दै हामी चलिरहेको थियौं।
भनिन्छ नि जति गाह्रो यात्रा उतिनै सुन्दर गन्तव्य!
ठ्याक्कै त्यस्तै हिमालको फेदमा पुगेर तातो चियासँग बिहानीको पहिलो घामका किरणले हिमाललाई चुम्बन गर्दा देखिएका दृश्यले निरन्तर ३ दिनको हिँडाइको थकाइ कहाँ हरायो, हरायो थाहा नै भएन!
हामी निकै भाग्यमानी रहेछौं त्यसदिन चाहिँ कति दिनपछि यसरी हिमाल खुलेको भन्ने कुरा त्यहाँका स्थानीय एक जना दाइले गर्दै हुनुहुन्थ्यो।
मनसुनको मिठो मौसममा हरियो घार र विभिन्न बुट्यानका फूलहरूले नाङ्गा डाँडालाई प्रकृतिले नयाँ बेहुलीझैं सजाएको थियो।
केहीछिन त्यतै तस्बिर लियौं र पुन: पोखरातिर फर्कियौं।
माछापुच्छ्रे, मार्दी हिमाल, हिमचुली र अन्नपूर्ण साउथको सुन्दर अवलोकन गरियो। हिमालहरू बादलसँग लुकामारी खेलिरहेका थिए र हामी आफैंसँग!