छुट्टाछुट्टै यात्राको योजनामा रहेका हामी तीन जनाको संयोग नै भन्नुपर्छ यसपटकको दोलखाको गौरीशंकर गाउँपालिकामा समुन्द्री सतहबाट करिब ४६०० मि उचाईमा रहेको नेपालको ठूलो हिमताल च्छो–रोल्पा हिमताल।
एक जना सरको लाङटाङ जानलाई तयार भएको बेला सँगै जाने साथीको खुट्टामा समस्या आउनु, अर्को सरको सगरमाथा बेस क्याम्प जानलाई बुक गरेको लुक्ला फ्लाइट मौसमको कारणले तीन दिनसम्म रद्द हुनु, अनि मेरो पारिवारिक रारा यात्रापछिको समय मिल्नु सबै संयोग थियो।
चैतको अन्तिम साताको हाम्रो यात्राको तालिका रहेकाले जहाँ गए पनि नयाँ वर्ष घरमै मनाउने गरि बढीमा ६ दिनमा पुगेर फर्किन सकिने यात्राको सूची बनाउँदा मर्दी हिमाल, पुनहिल आदि स्थानहरूमा कसै न कसैको दोहोरिने देखिएर संकलन गरेको विकल्पमा अन्तिम गन्तव्यको रूपमा च्छो–रोल्पा परेको थियो।
अफिसबाट प्रदान गरिने अनिवार्य भ्रमण बिदा तीनैजनाको एकैपटक भएकाले पहिलो योजना सफल नहुँदा पनि दोस्रो योजना सफल भयो। सुरूमा च्छो–रोल्पा योजना बनाउँदा दुई जनाको मात्रै बनेको भए पनि अर्को सरको लुक्ला फ्लाइट लगातार तिन दिन रद्द भएपछि हाम्रो योजनामा थपिनुभयो।
अचम्मको कुरा त के थियो भने हामी अफिसियल रूपमा फोनमा कहिलेकाँही कुरा भएको र सामाजिक सञ्जालमा बेलाबेला कुरा भएकै भरमा यात्राको टोली बनेको थियो। एउटालाई अर्कोको आनीबानी थाहा थिएन, एक जना सरलाई पहिलो पटक च्छो–रोल्पा जानलाई बस चढेपछि मात्रै भौतिक भेट भएको थियो। उहाँहरूलाई नभेटिन्जेल यात्रा गर्ने योजना त बन्यो, तर अफिसियल प्रोटोकलले यात्रा थोरै असहज हुने होकि भन्ने डर थियो, किनकि मैले केही पहिलाको यात्रामा यहीँ समस्या भोगेको थिएँ। उक्त यात्राभर खुम्चिनुपर्ने भयो भने यात्राले त्यति सार नपाएको महसुस हुने हुँदा कतै यो यात्रा पनि उस्तै हुने होकि भन्ने लागिरहेथ्यो।
सुरूमा दुई जना मात्रै भए छेतछेतसम्म बाइकमा गएर त्यहाँ बाइक राखेर जाने सल्लाह भएको भएको थियो। तीन जना भएपछि त्यसो गर्न नमिलेपछि छेतछेतसम्म काठमाडौंदेखि गाडीमै जाने निर्णय भएको थियो।
सँगै यात्रा गर्ने व्यक्तिसँग पहिलोपटक भेट्दै थिएँ म। पहिलो छाप गमक्क परेको अनुहार, केही कुरामा रिसाएझैं लाग्ने उहाँ सरको अनुहार देख्दा यसपटकको यात्रा पनि पहिलेजस्तै पो बन्ने होकि भन्ने लागिरहेको थियो।
यात्रा सुरू भएको केहि समयमै हामी एकअर्कामा घुलमिल भैसकेका थियौँ। अनौपचारिक भ्रमण भए पनि कताकता मनमा एक किसिमको भय रहिरहेको थियो, तर यात्रा यति सहज भयो कि त्यो भय कुनबेला हरायो थाहा नै भएन।
बिहानै हिँडेकाले हामी खाना खान दोलखा सदरमुकाम चरीकोटमा पुग्यौ। हाम्रो गाडी छेतछेतसम्म जानुपर्ने थियो। बिचमा केही सामान झार्न र सँगै चिया खान रोराङमा रोकेको थियो।
थोरै चिसो महसुस भएर तातात्तो चियाको चुस्कीसँगै हामी केहीबेर भुल्यौं। हामी बसेको सिट पछाडि बसेका दुई जना यात्री हामीहरू गाडीमा चढेदेखि नै घुमघाम, ट्रेकिङको कुरा गरिरहेको सुनिन्थ्यो। उनीहरु घुमघाममा बढी हिँडिरहने कुरा उनीहरुको गफबाट थाहा पाईन्थ्यो।
उनीहरू पनि कतै घुमघामकै लागि आएका होलान् भन्ने लख काटेर हामीले यात्राको योजनाबारे बुझ्दा उनीहरू पनि च्छो–रोल्पासम्म जानलाई भनेर आएका रहेछन्। हामी तीन जना यात्रामा निस्केको, अब उनीहरू दुई जना समेत गरेर पाँच जना भयौं।
उनीहरूसँग गफ गर्दै जाँदा गाडीका स्थानीयले हाम्रो कुरा सुनेर छेतछेतमा करिब ४ बजेसम्म पुगिने भन्दै दुई तीन घण्टा अलि हिँडाई तन्काएर केहि अगाडि पुग्न सके अर्को दिनलाई सहज हुने सल्लाह दिए।
हामी पनि त्यहीँ आधारमा अघिल्लो बासमा गएर बस्ने भयौँ। पहिलो दिन उत्साह भएर दुई तीन घण्टा हिँड्नु गाह्रो भएन।
तामाकोशी नदी छेउको बस्ती हो- छेतछेत । उक्त नदी तरेर करिब दुई घण्टा उकालो हिँडेमा सिमिगाउँ पुगिने भए पनि हामी अर्को बाटो भएर सिमिगाउँभन्दा लगभग डेढ घण्टा अगाडिको बासस्थान सुर्मुच्चेसम्म जाने भयौँ।
करिब पाँच बजेको हुँदो हो, हामी गाडीबाट ओर्लेर केही समय हिँडिसकेका थियौँ। बिस्तारै पानी पर्न थाल्यो। हामी सिमिगाउँ हुँदै नगएकाले सुर्मुच्चे पुग्नु अगाडि कहीँ पनि बास बस्ने ठाउँ थिएन।
हामीलाई पानीले भेटे पनि सुर्मुच्चे नपुगी कुनै उपाय थिएन। हामी तीन जनालाई पुग्नेगरी सरले ल्याउनुभएको प्लास्टिक ओढेर जंगलको उकाली मोबाईलको टर्च बालेर चढ्न थाल्यौं।
अँध्यारो, त्यहीँमाथि पानीभित्र हाम्रो यात्रा निकै कष्ठकर भइरहेको थियो। जति हिँड्दा पनि अगाडि बस्तीको जस्तो केही संकेत नदेख्दा हामी आत्तिएका थियौं। जता हेर्यो अनकन्टार जंगल, अन्धकार अनि धिपधिप बलेको हाम्रो मोबाईलको बत्ती, जुनकिरिझैं देखिँदो हो। लगभग ८:३० भएको थियो, हामी सुर्मुच्चे पुग्यौं।
प्लाष्टिक ओढेको भए पनि पानीले निथ्रुक्क भिजिएको थियो। हाम्रो झोलामा भएका कपडाहरू केही भिजेका थिए। त्यहाँदेखि फोनको नेटवर्क लाग्दैनथ्यो, बेला बेला बास बस्ने घरको एउटा कुनामा नेटवर्क टिप्थ्यो। बिहान सबेरै उठेर यात्रा अगाडि बढाउनुपर्ने भएकाले खाना खाएर आराम गर्नतर्फ लाग्यौँ।
आज दोस्रो दिन, हाम्रो लक्ष्य ना गाउँ सम्मको थियो। त्यसको लागि हामी लगभग दस घण्टा हिँड्नुपर्ने थियो।
हामी होटलदेखि निस्केर अगाडि बढियो। करिब दुई घण्टा हिँडेपछि दोङयाङ भन्ने ठाउँमा पुगेर नदी छेउमा बसेर तातात्तो चियाको चुस्की लिनुको बेग्लै मजा थियो। वरपर चारैतिर विभिन्न रङका, विभिन्न प्रजातिका लालीगुँरास फुलेका जंगलहरू पछ्याउँदै हिँडिरहेका थियौँ।
दोङयाङबाट चिया पिएर अर्को डेढ दुई घण्टा हिँडेपछि ठाङ्दिङ भन्ने ठाउँ पुगियो। बिहानदेखि चियाको भरमा यहाँसम्म आइपुगेका हामी ठाङ्दिङ पुग्दा थकान सँगसँगै भोक पनि धेरै लागिसकेको थियो।
हामी अर्को दुई जनासहित सँगै यात्रा गरिरहेका थियौं। अर्को टोलीको दुईमध्ये एक जना हिँड्न सिपालु रहेछन्, उनको ट्रेकिङ पार्टनरलाई हामीसँग जिम्मा लगाएर उनी हामीभन्दा आधा एक घण्टा अगाडि सम्बन्धीत गन्तव्यमा पुगिसक्थे।
त्यसदिन हाम्रो यात्राको गन्तव्य केही टाढाको भएकाले हतारमा नै थियौं। त्यसैले उनी अगाडि जाने भएपछि ठाङदिङमा पुगेर खाना अर्डर गरेर बस्ने भए। हामी त्यहाँ पुग्दा खाना तयारी भएपछि थोरै समय निस्कने हुन्छ। जसले गर्दा ना गाउँ पुग्न सहज होला भनेर उनलाई अगाडि पठाईयो। अर्को यात्री हामीसँगै थिए।
ठाङदिङ पुग्दा खाना पाकिसकेको होला अब खाना खाएर निस्किनुपर्छ भन्दै एउटा मात्रै सञ्चालनमा रहेको होटल छिर्दा उनी भित्र बसिरहेका थिए। तर अपशोच, उनले हाम्रो लागि खाना अर्डर नै गरेका रैनछन्। भोकले गर्दा आँखा नदेखेको बेला खाना पनि अर्डर नभएको सुन्दा उनी प्रति रिस उठ्यो। अब हामीसँग अर्डर गरेर खाना पाकुन्जेल कुर्नुको विकल्प थिएन।
त्यो चिसो ठाउँमा आधा एक घण्टाको पर्खाइपछि दालभात, साग कम्ता मिठो लागेन। खाना खाइसकेर केही बेरमा हामी अगाडि बढ्न थाल्यौँ। हामीले खाना खाइसक्दा दिनको १:३० बजेको हुँदो हो।
साधारण समयभन्दा फरक समयमा खाना खाएकाले होला खाना खाएको केही समय हामीलाई यात्रा छोट्याउन निकै कठिन भयो। विस्तारै यात्राको गति बढ्दो थियो, किनकि हाम्रो उक्त दिन पार गर्ने भनिएको बाटोको आधा भन्दा केही बढी मात्रै पार गरिसकेका थियौँ।
समय त्यति अबेर नभएकाले पानी पर्न लागेको भएर विस्तारै मौसम अँध्यारो हुँदै थियो। बेदिङ भन्दा करिब आधा घण्टा अगाडि लामा गाउँ नपुग्दै पानीले भेटिसकेको थियो।
प्लाष्टिक ओढेर बाटो पार गरिरहेका थियौँ। पानीमा भिज्दै भए पनि हाम्रो हिँडाई रोकिएको थिएन। लगभग पाँच बजेको हुँदो हो, हामी बेदिङ पुगेका थियौँ। अघिल्लो दिन भन्दा बढी भिजेका थियौँ।
बेदिङको कुनै होटलमा केही समय बसेर चिया खायौं। ना गाउँसम्म पुग्ने योजना भए पनि होटलको डाईनिङमा बसेर जाडो भगाउन तात्तो चियासँगै भुटेको मकै अनि पोलेको आलु खाएर बस्दा अगाडि बढ्ने जाँगर नै भएन। पानी अझै रोकिएको थिएन।
बिहान सबेरै उठेर बाटो तताउने भनेर त्यस रात हामी बेदिङमा बस्यौं।
भोलिपल्ट बिहान करिब ४:३० बजे मोबाइलको टर्च बालेर नक्सा हेर्दै अघि बढ्न थालियो। बिहान उज्यालो नभइसकेकाले हिंस्रक जनावरहरूको डर पनि उतिकै थियो। एक घण्टा जति अगाडि बढिसकेपछि मिर्मिरे उज्यालो हुँदै थियो। चिसो बढ्दो थियो, बिहानै होटलबाट तताएर थर्मसमा राखेको पानी घुटुघुटु पिउन मिल्नेगरी चिसो भइसकेको थियो।
बिहानको करिब ८ वजे ना गाउँ पुग्दासम्म घाम देखिन थालिसकेको थियो। होटलकी दिदीको मिठो मुस्कान सहितको चिया अनि रोटी खाँदा बिहानदेखिको थकान कम भयो।
रोटी खाँदै गर्दा छो-रोल्पा भन्दा माथिल्लो उचाईमा रहेको दुधकुण्डबारे बुझ्यौं। बाटो अलमलिने भएकाले कुनै स्थानीयलाई लिएर जान त्यहाँ सुझाव पायौं।
हामी मध्येको एक जना सरले दिउँसोको यात्रा भएकाले गाइड नपर्ने, उहाँले रूट हेरेको आधारमा गएर आउन सकिने भनेर भन्नु भए पनि नयाँ ठाउँमा अप्ठ्यारो होला भन्ने हिसाबले गाईड नै लैजान बल गरियो। त्यसपछि हामी अर्को टोलीको दुईजना सहित गाईड लिएर निस्क्यौँ। गाईडको पदलाई पछ्याउँदै हामी अगाडि बढ्यौँ।
विस्तारै अगाडि बढ्दै जाँदा बाटो उकालो, त्यसैमाथि उचाईको कारणले केही अप्ठ्यारो महसुस हुँदै गएको थियो। खाजा खाने ठाउँमा भरेको पानी र केही खाजा पनि गह्रौँ हुन थालिसकेको थियो।
दुई पाइला हिँडेपछि दश सेकेण्ड थकाई मार्नुपर्ने भएको थियो। सँगैको साथी ३० मिटर माथि पुगेर हात हल्लाउँदा पनि त्यो ठाँउसम्म कुन बेला पुग्ने भन्ने अत्यास लागिरहेको थियो। बल्लतल्ल उकालो पार गरेर माथि डाँडा पुगेपछि वरपरको मनोरम दृश्यलाई केहि राहत मिलेको थियो।
डाँडामा पुगेपछिको यात्रा त्यहीँ डाँडैडाँडा हिँड्नुपर्ने रहेछ। चिसो सिरेटोले हानेर टाउको दुख्न थालेको थियो। हामी हिँडिरहेको डाँडाको तल खोँचमा सानो खोला थियो, जुन सम्भवत दुधकुण्डबाट आएको हुनुपर्छ। यहीँ खोला तल पुगेर च्छो–रोल्पाबाट आएको निकासमा मिसिएको थियो। खोँचभन्दा पारी च्छो–रोल्पा ताल देखिँदै थियो। शान्त भावमा बसिरहेको ताल हामीलाई स्वागत गर्न आतुर थियो।
ना गाउँबाट तीन-चार घण्टामा दुधकुण्ड पुगिने भनिएको थियो। हामी करिब साढे तीन घण्टा हिँडिसक्दा पनि दुधकुण्ड आएको थिएन। हामीलाई अचम्म त के कुरामा लागिरहेको थियो भने, गाईड भनेर हामीलाई लिएर गएका ती व्यक्तिलाई गाईडको धर्म नै थाहा थिएन। आफ्नो हिसाबले हामीभन्दा अलि अगाडि हिँडेका छन्, बेलाबेला रोकिएर पछि फर्किन्छन्, फेरि आफ्नो सुरमा हिँडेका छन्। बेलाबेला त लाग्थ्यो कि उनी पनि हामीसँग पहिलोपटक घुम्न आएका छन्।
जसोतसो दुधकुण्ड पुगियो, आधाजसो ताल हिँउले भरिएको थियो। करिब ४८०० मिटरको उचाईमा अवस्थित यस कुण्डको छुट्टै महत्व रहेछ। अहिलेको ताल हेर्दा केही दिन अगाडिसम्म ताल पुरै हिँउले गर्दा दुध जस्तै सेताम्य भएको अनुमान गर्न सकिन्थ्यो।
क्षेत्रफलको हिसाबले धेरै क्षेत्र नओगटे पनि यसको सुन्दरता नगन्य थियो। च्छो–रोल्पा भन्दा उचाईमा रहेको यति सुन्दर कुण्ड आखिर किन यति ओझेल परेको होला भन्ने लाग्यो। च्छो–रोल्पा ताल घुम्न आउनेले दुधकुण्डसम्म पुग्दा यात्राले पूर्णता पाउने निश्चित छ। बाटोमा पुग्दा जति सास्ती, थकान थियो, दुधकुण्ड पुग्दाको मनमोहक दृश्यले सबै बिर्साइदिन्छ। केही समय बसेर त्यहाँको आनन्द लिइसकेपछि फर्कन थाल्यौँ।
ना गाउँबाट केही समय बढेपछि दुई बाटो छुटिने रहेछन्। एकातिर गए च्छो–रोल्पा पुग्ने, अर्कोतिर गए दुधकुण्ड। नक्सामा हेर्दा दुधकुण्डबाट केही तल झरेपछि च्छो–रोल्पा जाने बाटो देखिएको थियो। तर हाम्रो गाईडले सिधै जान सकिने बताएका थिए।
केही तल झरेपछि हामीले उनलाई सोध्यौँ, तर उनी आफैँ बाटो झुक्किए। अब च्छो–रोल्पा जान सुरूमा छुटिने बाटो पुग्नुपर्ने भयो। हामीलाई ती गाईडदेखि रिस पनि उठ्यो।
च्छो–रोल्पा ताल यहीँबाट देखियो अब फर्कियौं भन्न थालिसकेका थियौं। हामीमध्ये जुन सरले गाईड नपर्ने सल्लाह दिनुभएको थियो, उहाँलेनै गाईडलाई छोडौँ, म यतैबाट च्छो–रोल्पा लिएर जानसक्छु भनेर तम्सिनुभयो।
उनले यसो भन्दा ती गाईडले गाह्रो छ, सक्नुहुन्न भन्दै थिए।
गाईड र अरू दुई जनाको टोली छोडेर हामी सरको पछि लाग्यौँ। गाईडले हामीलाई मिस्गाईड गरेको महसुस गर्यौ। च्छो–रोल्पा पुग्न तल खोलाको खोँच झरेर खोला पार गरेर जानुपर्ने थियो।
खोला सानो थियो तर्न समस्या थिएन। हामी बाटोको निशाना नै नभएको ठाउँमा पनि जतिसक्दो पूर्वतर्फ लाग्दा कसो नपुगिएला भनेर त्यतैतर्फ लाग्यौं। खोलाको तिरमा हिँडिरहँदा झट्ट हेर्दा सुकिला बालुवाको फाँट लाग्ने ठाउँमा पनि खुट्टा गड्ने सुख्खा दलदल भेटिन्थ्यो। खोलाको पानी साह्रै धमिलो थियो। लाग्दै थियो-माथी कतै पहिरो गइरहेको छ।
माथितिर हेर्दा नाङ्गो पाखा, अहिले नै पहिरिने हो कि जस्तो लाग्थ्यो। मनमा त्यहीँ डर बोकेर हिँडेको हामीलाई त्यो खोला वरपर पुग्दा एक किसिमको डर लागिरहेको थियो। डरैडरमा खोला पार गरेर ताल पुग्नलाई उकालो लाग्न थालेपछि डर केही हल्का भयो।
उकालो चढेर तालको छेउसम्म नपुग्दासम्म ताल यता छ भन्ने अनुमान नै गर्न नसकिने च्छो-रोल्पा उकालोको थाप्लोमा पुगेर हेर्दा सरप्राइजझैँ लाग्नेरहेछ। वरपर सुख्खा पहिरो बगिरहेजस्तो लाग्ने च्छो–रोल्पाको बिचमा सानो टापु पनि रहेछ।
तालको पानी फोहोर लाग्थ्यो, भने सायद सुख्खा पहिरोले गर्दा होला। सुख्खा पहिरोले घेरेको ताल संरक्षणको पर्खाइमा थियो।
समून्द्री सतहबाट करिव ४५५० मीटरको उचाईमा रहेको चौडाई करिव ६५० मीटर र लम्वाई ४ किलोमिटर रहेको च्छो–रोल्पा हिमताल पदयात्राका लागि अत्यन्त रमणीय गन्तव्य रहेछ।
ताल वरपरका विभिन्न हिमालबाट जम्मा हुँदै गएको पानीको बढ्दो मात्राले ताल फुट्नसक्ने र सुनकोशी नदी आसपासका धेरै बसोबासलाई विनाश गर्नसक्ने सम्भावनाका कारण करिव २५ वर्ष पहिलेदेखि साईफन विधि अपनाई तालको पानी कटाउन थालिएको रहेछ।
पानी कटाइएको विधि हेर्दा उक्त ताल अब खतरारहित देख्न सकिन्छ। तालमा पुगेपछि त्यहाँको बद्ली भईरहने मौसम, कठ्याग्रिंने बतासका कारण धेरैबेर टिक्न भने निकै कठिन रहेछ। केहीबेर तालको छेउमा बसेर यहाँको सुन्दरताको अवलोकन गरिसकेपछि हामी ना गाउँतर्फ ओरालो लाग्न थाल्यौँ।
हाम्रो बिहानदेखि खानाको मेसो भएको थिएन। भोक पनि लागेको थियो । ना गाउँमा झरेर तातात्तो चाउचाउको सुप खाँदा तातोको स्पर्श भित्र कहाँसम्म पुग्यो महसुस गर्न सकिन्थ्यो। ना गाउँ झरेर खाजा खाँदासम्म ५ बजिसकेको थियो। फर्किदाँ ओरालो पर्ने भएकाले बेदिङ फर्किन सकिने समय पुग्छ भन्ने लागेर ओरालो यात्रा सुरू गरियो।
फर्किदाँ ओरालो र उचाइ पनि कम हुँदै गएकाले हिँड्न सहज लागिरहेको थियो। साँझ पर्दै थियो। फेरि विस्तारै पानी पर्न सुरू भयो। दिनभरको मौसम सफा भए पनि पानीले हामीलाई कुनै दिन पनि छोडेन।
एक हातले प्लाष्टिक अनि अर्को हातले मोबाईल बालेर हिँड्दै बेदिङ आइपुग्दा ७:३० भइसकेको थियो। पुरै भिजेका हामी कोठामा झोला राखेर भिजेका कपडा सुकाउन अनि ज्यान तताउन आगोमै पसौँलाझैँ गरेर नजिक बसियो।
भोलिपल्ट हाम्रो यात्राको योजना गाडी लाग्ने ठाउँसम्म पुग्ने भन्ने थियो।
बिहान चिया पिएर बेदिङदेखि ठाङदिङ, दोङयाङहुँदै फर्किंदा सिमिगाउँ भएर फर्किन लागियो। सिमिगाउँ आईपुग्दा ४ बजेको हुँदो हो।
चिया पिएर लाग्ने भनेर चिया अर्डर गर्यौ। स्थानीयको पाहुना सत्कार अनि त्यस साँझ साँस्कृतिक कार्यक्रम भएकोले त्यहीँ बसेर बिहानै ओरालो लाग्ने कि जाने भन्ने अन्यौलबीच हामी जाने नै निर्णय गर्यौ।
‘सिमिगाउँमा त्यो रात बसेको भए खुव रमाईलो हुन्थ्यो होला’, हामी अहिले पनि भेटैपिच्छे यहीँ कुरा हुन्छ।
लामो यात्राको थकित शरीरलाई विश्राम दिँदै छेतछेत पुगेर सबैजना हाँसिखुसी रमाईलो साँझ पनि मनायौं। हाम्रो यात्रा सुरु गर्दा तीन जनाको भएको भए पनि अन्तिम दिनसम्म हामी छुट्टै ग्रुप हौँ भन्ने बिर्सिसकेका थियौँ। भोलिपल्ट छुट्टिनुपर्ने भएकोले त्यस साँझ यात्राको समिक्षा स्वरुप रमाईलो गरियो। साथै पुन आगामी यात्राहरु मिलेसम्म सँगै गर्ने बाचासहित हाम्रो ग्रुप छुटियो।
कुनै पनि यात्रा आफैंमा रमाईलो विषय त हो नै। त्यसमा पनि उपयुक्त मौसम, सबै यात्रीको सामान्य स्वास्थ्य अवस्था, सबैको समान मनोवल तथा ईच्छाशक्ति सबै यात्राको सफलताको प्रमुख आधार हो।
छोटो समयमा योजना बनाएर पनि सफलतापूर्वक सम्पन्न भएको हाम्रो पैदलयात्राको अर्को अझ सुखद गन्तव्यको छनोट गर्ने समझदारी सहित यसपटकका लागि बिट मार्यौं । हामीले ५ दिनमा पूरा गरेको काठमाडौंदेखि च्छो–रोल्पासम्मको यो यात्रालाई ७ दिन खर्च गरी सोही अनुसारको यात्रा योजना बनाई सम्पन्न गर्न अरू यात्रीलाई सुझाव पनि दिन सकिन्छ।
यात्राका केही तस्बिरहरू