नेपालबाट भारतमा घुम्न जाने नजिकैको स्थान हो नैनीताल। २-३ दिनको समय मिलाए सुदूर पश्चिम नेपालबाट नैनीताल घुम्न जान सकिन्छ। त्यसै पनि गर्मी मौसममा केही सितल हुने ठाउँ हो नैनीताल।
हामी महेन्द्रनगर बसपार्कबाट गड्डाचौकीसम्म अटोमा गयौं। प्रतिव्यक्ति ५० रूपैया लाग्ने रहेछ।
उक्त नेपाली अटोले नेपाली सीमासम्म मात्रै छोड्ने रहेछ। त्यहाँबाट भारतीय अटो, सानो भ्यान या मोटरसाइकलमा भारतको वनवासा जानुपर्नेरहेछ। करिब ६-७ कि.मीको बनबासा पुग्न प्रति व्यक्ति भा.रु. ५० लिने रहेछन्।
हामी दिउँसोको करिब ३:३० मा बनबासा पुग्यौं। त्यतिबेला सिधै नैनीतालसम्मको बस नपाइने रहेछ। हल्द्वानीसम्म जानुपर्ने र त्यसपछि अर्को गाडी फेर्नुपर्ने भयो। हल्द्वानी उत्तराखण्डको एक मुख्य सहर रहेछ। यो उत्तराखण्ड राज्यकै तेस्रो ठूलो सहर रहेछ। हल्दवानीसम्म ८८ किमीको यात्राको लागि सार्वजनिक बसमा भा.रू १६० रूपैयाँ लाग्दो रहेछ।
उत्तराखण्ड परिहवनको उक्त बस त्यति स्तरीय भने थिएन। ४ बजे चढेको बस २ घण्टा १५ मिनेट पछि बेलुकी करिब ६ :१५ मा हल्द्वानी पुग्यो।
हल्द्वानी बसपार्कमा पुग्नासाथ नैनीतालको बस लागिरहेको देखियो। बस ६ :३० मा जाने रहेछ। उक्त बसमा सिट भने पाईएन। अब के गर्ने? जसो तसो मिलेर जाने या रात यतै बस्ने दोधारमा पर्यौ। अन्त्यमा जानेनै निर्णय गर्यौं।
भारू १५० सेयरिङ ट्याक्सीमै पनि जान मिल्ने रहेछ। नैनीतालबाट फर्कने बेला मात्र यो कुरा थाहा भयो। सार्वजनिक बसमा प्रति व्यक्ति ८५ भारू लाग्नेरहेछ। पहाडी बाटो निकै घुमाउरो थियो। करिब ४३ कि.मि.को उक्त बाटो तय गर्न २ घण्टा भन्दा बढी लग्यो। रातको ९ बजे हामी नैनीताल पुग्यौं।
चिसो हावा, बत्तीको झिलिमिली, पहाडी क्षेत्रका घर, नैनीताल निकै सुन्दर देखियो। केही समय अघि घुमेको श्रीलंकाको केन्डी सहर जस्तै महसुस हुँदै थियो।
हामीले बुकिङ गरेको होटेल त ७ किलोमिटर उतै छोडेर आइएछ। भारतको सिम कार्ड नभएकाले इन्टरनेट र फोनमार्फत होटलमा सम्पर्क गर्न सकिएन। त्यहीँ नजिकैको अर्को होटेल खोज्न तिर लाग्यौं। हामीले भारू २००० मे तालको दृश्य देखिने कोठा भेटियो।
कोठामा झोला राखेर खाना खान निस्कियौं। ताल वरिपरीको बाटो घुम्दा निकै रमाइलो महसुस हुँदै थियो। भाडाका बाईक र साइकलमा मान्छेहरू घुम्दै थिए। जोडीले चलाउन मिल्ने दुई जोडी पेडल भएको साइकल पनि पाइनेरहेछ। जुन राति ८ बजे पछि मात्र चलाउन मिल्थ्यो।
बाटो छेउमा होटेल अनि रेस्टुरेन्ट झिलिमिली बत्ति बालेर ग्राहक बोलाउँदै थिए। हामी एक रेस्टुरेन्टमा इन्डियन खाना खाएर होटलतर्फ फर्कियौं।
भोलिपल्ट बिहान सुन्दर पहाड अनि ताल देखियो, दृश्य निकै मनमोहक थियो। केही बेरमा सोही तालमा बोटिङ गर्न गयौं। १६० भारू तिरेपछि एक घण्टाको लागि आफैं चलाउन गर्न मिल्ने डुंगा भाडामा पाइने रहेछ। डुंगा भाडामा दिने कर्मचारी नेपालकै बझाङका रहेछन्। त्यसअघि जाने बेलामा बसमा र बसेकै होटलमा पनि केही नेपाली भेटिएका थिए।
त्यसपछि नैनीदेवी मन्दिरमा लागेको मेला हेरेर हामी दिउँसो फर्कन लाग्यौं। हल्द्वानीसम्म ट्याक्सीमा आएर त्यहाँबाट बनबासाहुँदै नेपाल फर्कियौं। नैनीताल यात्रा यादगार अनुभवसँगै बिट मार्यौं।
लेखक एक विश्व यात्री हुन्।