पुर्वी नेपालका पहाड आफैमा सुन्दर र रमणीय छन्। यहाँका पाखा-पखेरा, भीर-कन्दरा सबै प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन्। जीवनको सुरुआतदेखि नै तराई बसेकाको लागि यहाँको दृष्य हरेक दिन अलौकिक हुन सक्छ।
हाल पेशाको शिलशिलामा केही महिनादेखि तेह्रथुमको सदरमुकाम म्याङलुङमा बसोबस गर्दैछु। करिब दुई वर्षको बसाईं यस जिल्लामा रहने निश्चित जस्तै छ। यहि अवसरमा साथीहरूसँग केही स्थानको यात्रा गर्ने निश्चयका साथ यात्रा प्रारम्भ गरियो।
यात्राको सुनिश्चितताको भएसँगै अघिल्लो दिनदेखि नै यात्राका लागि आवश्यक सर-सामान तयार गरियो। भोलिपल्ट विहान ७ बजे सबैजना आ-आफ्नो झोला बोकेर गाडीमा तयार भएर यात्राका लागि प्रस्थान गर्यौं।
तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार प्रवेश गर्न तथा बाहिर निस्किन अरू जिल्ला जस्तो कहाँ सहज छ र! यहाँको सडक असार-साउनमा धान रोप्न ठिक्क पारे जस्तै हिलाम्मे हुन्छन्। म्याङलुङदेखि जिरिखिम्तिसम्मको करिब १० किलोमिटरको दुरी पार गर्न हम्मे-हम्मे नै पर्यो।
जिरिखिम्ति बजारदेखि वसन्तपुरसम्म चाहीँ सडक कालो-पत्रे रहेछ। हामी त्यहाँको दुश्य अवलोकन गर्दै करिब ९ बजेको आसपासमा खाजा खान पर्यटकीय स्थल वसन्तपुरमा गाडी रोक्ने सल्लाह बमोजिम विश्राम लियौं। यहाँ हिउँ पर्ने र गुराँस फुल्ने मौसम तथा गर्मी छल्न आन्तरिक पर्यटकहरूको घुइँचो थामि नसक्नु हुने रहेछ। केहीबेरको चियापानपछि वसन्तपुरबाट लेगुवा झरनाको लागि बाटो लाग्यौं।
वसन्तपुर बजारबाट अलि अघि गएपछि उत्तर तर्फबाट उन्नति नामका आयोजनाले निर्माण गरेको सडकको ट्र्याकबाट लेगुवा धनकुटातर्फ लागियो। बाटोमा रहेका फाटफुट घर तथा बस्ती छिँचोल्दै करिब डेड घण्टाको कच्चि बाटोको यात्रा पछि स्थानीय तथा पथ प्रदर्शक मित्रको घरमा गाडी रोक्यौं। त्यहाँबाट पैदल लेगुवा झरना तर्फ लागियो।
यस स्थानको स्थानीय बासिन्दाहरूसँग उक्त झरनाबारे जानकारी लिँदै बाटोमा भएको हरियाली फाँटको सुन्दर दृश्यलाई मोबाइल तथा आँखामा कैद गर्दै झरनातर्फ लम्कियौं। गुमनाम जस्तै रहेको यो झरनामा आजकाल फाटफुट व्यक्तिहरू अवलोकन गर्न आउने र हालसालै गएको पहिरोका कारण झरनाको वास्तविक सुन्दरतामा केही कमि आएको जानकारी लिँदै करिब एक घण्टाको उकालोपछि झरना भएको स्थल पुगियो।
थकित मुद्रामा पुगेका सबै जनाको थकान झर्नाको पानी देख्ने बितिकै स्वतः हराएर गएको अनुभुति भयो। अफ्ठ्यारो ठाँउ भएकोले झरनाको मुनि नै पुग्न नसकिए पनि सिंचाइका लागि बनाइएको कुलोमा उभिएर भित्ता समाएर एकछिन प्रकृतिसँग दिल खोलेर रमाइयो।
यात्राका गन्तव्य अरू स्थान पनि भएकाले झर्नालाई त्यही बिदा मागेर पुनः स्थानीय पथ प्रदर्शकसँगै विहानको खाना खाएर त्यहाँबाट बिदा भइयो। वसन्तपुरदेखि आएको बाटो जस्तै करिब थप एक घण्टाको उस्तै यात्रा गरी लेगुवाघाट पुगियो।
लेगुवा घाटबाट धनकुटा, भोजपुर र संखुवासभा गरी तीन जिल्ला जाने बाटो छुटिन्छ। त्यहाँको बाटो कालोपत्रे भएको रहेछ। लेगुवा घाटको उत्तर तर्फको बाटो अलि पर पुगेपछि सभा खोला पार गर्यौं। त्यसपछि खोलाको ताजा माछा खाने विचार गरियो र एउटा पसलमा गएर गाडी रोक्यौं। त्यहाँ साच्चिकै स्थानीय माछा पाइने रहेछ। माछाको स्वादसँगै केही चिसो पिएर फेरि गन्तव्यतर्फ प्रस्थान गरियो।
केही समयको अन्तरालपछि हामी संखुवासभाको प्रख्यात स्थल तुम्लिङटार पुग्यौं। हाम्रो यात्राको उदेश्य अलिक पर रहेकाले तुम्लिङटार बजार नघुमि गन्तव्यतर्फ अघि बढ्यौं। बजारबाट करिब ३ किलोमिटर पर पुगेपछि प्रसिद्ध धार्मिक स्थल मनकामना पुगियो तर दिउँसो माछा-मासु सेवन गरेका कारण भोलिपल्ट विहान मात्र दर्शन गर्ने सल्लाह गरी अरुण नदिको किनारै-किनार अघि बढियो।
अरुण नदिले वारी संखुवासभा र पारी भोजपुर छुट्याएको रहेछ। हाम्रो स्थल खोला पारी भोजपुर जिल्लामा अवस्थित थियो। पारी जान झोलुंगे पुल मात्र भएकाले गाडीलाई वारी नै बिसाएर मकालु इको रिसोर्ट तर्फ लाग्यौं।
दिनभरि यात्राबाट भएको थकानसँगै झोला रिसोर्टको कोठामा बिसाएर रिसोर्टको वातावरण नियाल्न आतुर भयौं। कल-कल बग्ने अरुणको बगरमा चारैतिरबाट हरिया पहाडले घेरिएको ठाँउ वास्तवमै अति सुन्दर थियो।
प्राकृतिक सुन्दरताले भरिएको ठाँउमा सहरी सुविधायुक्त रिसोर्टको बसाईं अविश्वनिय थियो। केही समय अरुण नदिसँगै किनारमा सुस्ताएर फेरि रिसोर्ट भित्र नै रमाइलो गर्ने निर्णय भयो। रिसोर्ट भित्रै रमाइलो गर्दै बेलुकाको खानपिन सकेर हामी आराम गर्नतर्फ लाग्यौं।
भोलिपल्टको हाम्रो दिन तातो चियाको चुश्किसँगै सुरुआत भयो। अघिल्लो दिन गरेको वाचासँगै मनकामनाको दर्शन गरेर मात्र यात्रा अघि बढाउने भइयो। त्यसैले हामी मनकामनातर्फ अघि बढ्यौं।
प्राचिन किम्वदन्ती अनुसार यस ठाउँलाई सती देवीको अंग पतन भएको स्थान मानिन्छ। उक्त स्थानलाई सतीघाट समेत भनिन्छ।यहाँ हरेकले मनले चिताएको कुरा पूरा हुने विश्वासले मनकामनाको नामले प्रख्यात छ।
केही समयको धार्मिक दर्शनपछि पुनः यात्रा संखुवासभाको सदरमुकाम खादँवारी तर्फ अघि बढाइयो। करिब १२ किलोमिटरको यात्रा पछि बजार क्षेत्र प्रवेश गर्यौं। लसुन-प्याजको लागि तथा छाते सक्खरको लागि खाँदवारी बजार प्रसिद्ध रहेछ। संयोगवश उक्त दिन हाट लाग्ने दिन परेकाले हाट हेर्ने अवसर समेत प्राप्त भयो। कोसेली स्वरुप छाते सख्खर खरिद गरी विहानी खाना खाएर यात्रालाई म्याङलुङतर्फ मोड्यौं।
हामीसँग दुईवटा विकल्प थिए। पुनः त्यही बाटो फर्किने वा नयाँ बाटो (रूट) प्रयोग गर्ने। सबैको साझा सहमतिमा नयाँ बाटो भई फर्किने निर्णय बमोजिम अघि बढ्यौं।
नयाँ बाटो प्रयोग गर्दा यात्राको दुरी पनि केही कम रहेछ। दुरी कम हुना साथ बाटोको उचाइ भने निकै उकालियो। धनकुटाको चानुवा हुँदै डाँडा गाउँ करिव ९ किलोमिटर जति ठाडो उकालो लागे पछि बल्ल बाटो केही समथर भयो। त्यसपछिको बाटोमा कालोपत्रे भने थिएन।
लगभग ४६ मिनेटको सवारी पछि पुनः संखुवासभा जिल्लाकै मुडे बजार पुग्यौं। त्यहाँ रहेको यलम्बर पार्क घुम्यौं। बजार क्षेत्रबाट नै देखिने पार्क यहाँका वासिन्दाको इतिहासको धरोहरको रूपमा रहेको बुझियो। एकछिन यलम्बर पार्कको अवलोकन गरेपछि फेरि गतन्वय तर्फ लागियो।
अघिल्लो दिनको यात्राको सुरुवातदेखिको दृश्यलाई मनमा सजाउँदै त्यो चिसो झरनाको पानी, अरुण नदीको कलकल आवाज, त्यो प्राकृतिक सुन्दरता, धार्मिक भावनाको आनन्द लिँदै तथा बाटोका कठिनाइलाई भुलेर म्याङलुङमा आएर पुनः अर्को यस्तै यात्रा तय गर्ने अठोट सहित विश्राम गरियो।
(लेखक जलस्रोत तथा सिंचाइ विकास डिभिजन, तेह्रथुमका छैटौ स्तर अधिकृत हुन्।)